भोकै मर्नुभन्दा मागी खानु निको लकडाउन कथा

भोकै मर्नुभन्दा मागी खानु निको

आज ४२ दिन भयो घरमा बसेको । म गाडीमा सहचालकको काम गर्छु । यो काम २०७० सालदेखि गर्दै आएको छु । महिनामा ७ देखि १० ट्रिपसम्म गर्थ्यो मेरो गाडीले । वीरगन्जदेखि पोखरासम्म र पोखरादेखि वीरगन्जसम्म आइपुग्दा कमाइ त्यस्तै ३००० देखि ३५०० रुपैयाँसम्म हुन्थ्यो । महिनाको तीसदेखि पैँतीस हजारसम्म मेरो कमाइ हुन्थ्यो । यही कमाइले घरमा मसहित चार जना पालिन्थ्यौँ ।

मेरो पाँच जनाको परिवार छ । म, मरी श्रीमती, दुईवटी छोरी र एउटा छोरा । एउटी छोरीको बिहे भइसकेको छ । पोहरसाल छोरीको बिहे गर्दा दुई लाख पचास हजार ऋण लिएको थिएँ । घर भाडामा दश हजार, छोराछोरीको पढाइमा सात हजार, घर खर्च दश हजार र ऋणको किस्ता तिर्न छ हजार लाग्छ । मेरो श्रीमती पनि निजी स्कूलमा सहयोगी छिन् । उनले काम गर्न थालेको पनि दश वर्ष भइसक्यो ।

म लकडाउन सुरु भएको अघिल्लो दिनदेखि नै घरमा छु । एक-दुई दिन त घरमा बस्दा सजिलै भो तर म डुलिरहने मान्छेलाई घरमा बस्दा-बस्दा अल्छी लागिसक्यो ।

पैसा आउने ठाउँ पनि कतै छैन, खर्च मात्रै छ तर घरमा बस्नेबाहेक अरू केही गर्ने उपाय पनि त छैन । किनभने लकडाउन हाम्रै लागि हो । तर अझ केही दिन लकडाउन चलिरहने हो भने म र म जस्ता काम गरेर परिवार पाल्ने र पालिनेहरू कोरोनाले भन्दा भोकमरीले मर्ने दिन नआउला भन्न सकिन्नँ । लकडाउनले म जस्ता धेरैको गरिखाने बाटो बन्द गरिदिएको छ, लकडाउनसँगै आर्थिक अवस्था पनि डाउन भएको छ अहिले ।

आजसम्म त पहिलाकै कमाइबाट खान पुगेको छ तर कामै नगरी बसीबसी कहिलेसम्म खान पाइन्छ र ? अहिले खानेकुरा पाउन पनि गाह्रो छ र पाइए पनि भाउ बढेको छ । आम्दानीको स्रोत सुकेको छ खर्च बढेको छ । नुनदेखि सबै किनेर खानुपर्ने । त्यसमाथि भाडाको घर । अझै कति समय लम्बिन्छ होला है यो लकडाउन ?

अब छिट्टै नै लकडाउन खोल्छ रे भन्ने पनि हल्ला सुनिन्छ । तर खुल्ने दिन आएपछि जहिले थप्यो मात्र भन्छ । अझै केही महिना यस्तै हुने हो भने छाक टार्न गाह्रो पर्छ । मेरा विचारमा कि लकडाउन खोल्नुपर्छ कि त सरकारले सबैलाई राहत बाँड्नुपर्छ । गाडीमा तेल हाल्न भनेर साहूसँग लिएको तेह्र हजार पनि खर्च भयो । अब त्यो पैसा पनि कहाँबाट तिर्नु भनेर डर लागेको छ । चैत र वैशाखको तलब साहूले दिन्छन् कि दिँदैनन् कुन्नि ! गाडी चलेकै छैन, तलब माग्नु पनि कसरी ?

समाचार सुन्दा झन् डर लाग्छ आजकल । म जुन बसपार्कमा चिया खान्थेँ त्यही बसपार्कमा चिया पसल गर्ने एक महिलामा कोरोना सङ्क्रमण भएको समाचारमा आयो । कोरोना हाम्रोमा भन्दा भारतमा धेरै फैलिएको समाचारले भनिरहन्छ । म पोखरा जाँदा प्रायःजसो मेरो गाडीमा भारतकै यात्री हुन्थे । त्यसैले मनमा डर लागिरहेको छ ।

थाहै नपाई लकडाउन भएकाले गाडीमा काम गर्ने मेरा धेरै साथीहरू बसपार्कमै अलपत्र परेका छन् । म त वीरगन्जकै भएकाले धन्न घर आउन पाएँ । उनीहरूसँग फोनमा कुरा गर्दा मलाई सारै नाराम्रो लाग्छ । नजिकैको भएर पनि सबै साथीलाई घरमा ल्याएर राख्न सक्दिनँ ।

मेरो गाडीका साहू पोखराका हुन् । बेलाबेलामा फोन गरेर खबर सोधिरहन्छन् । साहूसँग अचल सम्पत्ति भए पनि हातमा नगद छैन । एक हिसाबले सबै मारमा छौं । म जस्ता गाडीको लाइनमा काम गर्ने धेरै साथीहरूको अवस्था दयनीय छ । आम्दानी छैन । किनेर खाने पैसा छैन । साहूसँग पैसा लिने अवस्था पनि छैन ।

अरू बेला एक जनालाई केही समस्या पर्दा अर्कोसँग सापटी गरिन्थ्यो तर अहिले त सबैको एउटै अवस्था छ । गाडी बन्द छ । आम्दानीको अरू कुनै बाटो छैन । मेरै गुरुजी जीतपुरमा बसिरहनु भएको छ, पैसा सकियो भन्नुहुन्थ्यो फोनमा । बारीमा जे छ त्यसैबाट काम चलाइरहनु भएको छ रे ।

मलाई दुई-चार जना साथीले राहतका लागि प्रयास गरौँ भनेर फोन गरेका थिए । भोकै मर्नुभन्दा त मागेर भए पनि खानुपर्छ । अहिलेसम्म त्यसो गरेका छैनौं । लकडाउन थपियो भनेचैं राहत नखोजेर उपाय छैन । अहलेसम्म त यसरी मागेर खानुपरेको थिएन अब नमागी नहोला जस्तो छैन । हामी ज्याला मजदुरी गर्नेहरूको यही त हो पीर । पैसा बचत हुँदैन, एक महिनाको तलबले एक महिना घर धान्नुपर्छ । अब त दुई महिना भइसक्यो तलब नआएको । काम भए पो तलब आउनु । धन्न बच्चाहरूको फि तिर्नुपरेको छैन तर किस्ता त मेरो काम भएन भनेर रोकिदैन । यो दुई महिनाको तलब पाइएन भने कहाँबाट ल्याएर तिर्नु ?

मलाई घरी आफ्नो समस्या ठूलो लाग्छ, घरी साथीहरूको । म त जे भए पनि यस्तो गाह्रो बेलामा आफ्नै घरमा र घरपरिवारसँग त छु । उनीहरू त घरभन्दा टाढा छन् । यतिका दिनसम्म खान, सुत्न कसरी गर्दै होलान् ? एक दिन होइन, दुई दिन होइन । उनीहरूलाई धेरै कठिन छ । घर जान नपाएकाहरूलाई त जान दिए हुने जस्तो पनि लाग्छ । आफ्नै घरमा, आफ्नै परिवारसँग भइयो भने दुःखका दिन जसोतसो कट्थे होला । तर अब जे भए पनि हामीले सरकारको निर्णय मान्नै परिहाल्यो क्यारे !

यो कथा खेम बहादुरसंग गरीएको कुराकानीमा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।