समाजबारे केही नयाँ कुराहरु बुझ्न पाएँ

म धापासीमा बस्छु। अहिले १६ वर्ष पुगे। कक्षा १२ मा अध्ययनरत छु। साथीभाइसँग घुम्दा, घरबाट बाहिर हिंड्न पाउँदा रमाउने म यो कोरोनाले गर्दा चैत देखि नै घरभित्रै थुनिन बाध्य भएँ।

सुरुसुरुमा त केही नभए पनि घर परिवारसँग रमाउँदै बसेको थिएँ। त्यस्तै १५-२० दिन बितिसकेपछि अल्छिपना सुरु हुन थाल्यो। घरमै बस्दा बस्दा वाक्क भइसकेको थिए। लकडाउनको बेला मलाई कतै केही सामाजिक कार्यमा स्वयंसेवक भएर काम गर्न पाए हुन्थ्यो भने कुरा मनमा आउन थाल्यो। मैले आफूले चिने जानेको क्लबको केहीलाई भने तर मौका पाइएन। त्यसैले घरमा नै बसे।

तर अस्तिको निषेधाज्ञाको बेलातिर भने मलाई एक जना दाइले स्वयंसेवकको रूपमा स्थानीय क्लबबाट बोलाउनुभयो। टोखा नगरपालिका र केही संस्थाहरू मिलेर जनचेतनाको काम गर्ने खोजेको रहेछ म पनि त्यसमा सहभागी बने ।

त्यो बेला हामी २० जना स्वयंसेवकहरु जम्मा भएका थियौँ। ५-५ जनाको एक समूह गरेर हाम्रो जम्मा ४ वटा समूह थियो। अनि प्रत्येक समूहमा एक जना लिडर पनि तोकिएको थियो।

हामी भेटेको पहिलो दिन के गर्ने, कसरी गर्ने, कताबाट काम सुरु गर्ने मास्क लगाउने र सामाजीक दूरी कायम गर्न जस्तो कुराहरू सिकाउनुभयो।

हामी जम्मा २० जनाको समूहबाट मास्क स्यानिटाइजर बाँड्न जाँदा भने ५-५ जनाको समूह बनेर काम गर्थ्यौं। तर पसल बन्द गराउन र सामाजिक दूरी कायम गरौं भन्दै सचेतना दिने बेलामा भने १०-१० जनाको २ वटा मात्र समूह बनाउने गर्थ्यौं। एउटा टिमले बिहानीपख काम गर्थ्यो भने आर्को टिमले भने साँझपख ।

यसरी नै हामीले भेटेका माक्स नलगाउने मानिसहरूलाई सम्झाउने माक्स दिने, पसलहरूमा सामाजिक दूरीको कुरा बुझाउने, मानिसहरूलाई टोल-टोलमा सामाजिक दूरीको र माक्सको प्रयोगबारे सम्झाउने जस्ता कामहरू गर्दै आफ्नो समुदायलाई समय दिइरहेका थिए।

हाम्रो नेपाली समाज त हो राम्रो काम गरे पनि नराम्रो काम गरे पनि कुरा काटिहाल्छन्। कति मान्छेहरुले मलाई के गरेको यस्तो, घरमा चुप लागेर नबसेर किन स्वयंमसेवक भएर हिँड्नु पर्यो समेत भन्नुभयो।

एकदिन त म सामान किन्न जाँदा पसलमा एक जना अंकलले “ल हेर तिमीभन्दा म कति ठूलो छु। तैपनि म आफ्नो र घरपरिवारलाई कोरेना नलागोस् भनेर घरमै छु। तिमी किन स्वयंमसेवक भन्दै हिंड्नु पर्यो” भन्नुभयो । मैले “अंकल, मलाई आफूले सक्ने चाहिँ समाजका लागि गरिहाल्न पर्छ भन्ने लागेर म स्वयंमसेवक बनेर हिँडेको हुँ” भनेर म आफ्नो सामान लिएर घर फर्किए।

म प्रायः आफ्नो बाबाआमा दुवैलाई सबै कुराहरु सेयर गर्ने गर्छु। घर फर्किएपछि मैले बिहानको घटनाको बारेमा बाबालाई सुनाएँ । बाबाले मलाई “हेर छोरी अहिले सबै जना लुकेर बस्ने अवस्था छ। त्यहीमाथि तिमी सानी नै छौ। तर यदि तिमी जान चाहन्छौ भने म केही भन्दिन । आई एम सो प्राउड अफ यु छोरी” भन्नुभयो। बाबाको त्यो कुरा मेरो लागि त झन् प्रेरणाको स्रोत नै साबित भयो र मैले झनै आफ्नो समय स्वयंमसेवामा दिन पाएँ । घरपरिवारले नै सपोर्ट गरेपछि कसको के लाग्छ र समाजले जे भने पनि मलाई बालै भएन ।

यसरी यो बेला समाजको लागि सचेतनाको काम गर्न पाउँदा कहिले खुशी त कहिले दुःखी हुन्थे। कहिले भने कता-कता खुशीसँगै डर पनि लाग्थ्यो मानिसहरू सामाजिक दूरी कायम गर्नुभन्दा झन् झन् नजिक भैदिन्थे, स्वयंमसेवक देखेपछि मास्कहरु लिन हूल बनेर पनि आउँथे, फेरि टोलटोलमा पुग्दा कसैलाई कोरेना छ कि भनेर डराउनुपर्ने अवस्था त अहिले पनि छ नै।

स्वयंमसेवक भएकोले धेरै मान्छेसँग भेटघाट गर्नुपर्ने हुन्थ्यो। फेरि कोरोना कसलाई लागेको छ। कसलाई छैन भनेर हेरेर थाहा हुने कुरै थिएन। त्यसैले पनि मनमा अलिकति केही डर पलाउँथ्यो।

सावधानी अपनाएको थिएँ तर मन न हो मैले मेरो घरमा कोरोना लैजाने त हैन भन्ने सोचेर डर पनि लाग्छ। तर जे होस् डर मात्रै मानेर पनि हुँदैन। डर भए तापनि त्यसलाई के गरी कसरी काम गर्न सकिन्छ भनेर अगाडि बढ्दा बेस होला।

मैले स्वयंमसेवक भएर काम गर्दा धेरै मानिसहरुलाई भेटें। नयाँ व्यक्तिहरूबारे थाहा पाएँ। समाजमा जति कुरा काट्नेहरु हुन्छन् त्यति नै माया गर्ने तथा सहयोगीहरु पनि हुँदा रहेछन् भन्ने देखें। टिममा कसरी काम गर्ने भन्ने कुराहरू सिकें। धेरै ठाउँमा कहिले नदेखेको नचिनेको बुढा बा आमाहरुको आशीर्वाद पनि पाएँ। त्यस्तो बेला मन झनै आनन्दित हुँदो रहेछ।

अहिलेको यो घरमै बस्नुपर्ने बाध्यात्मक अवस्थामा रियल जीवन र समाजको बारे केही नयाँ कुराहरु बुझ्न र सिक्न पाएँ त्यसैमा खुशी छु ।

यो कथा रोशनी श्रेष्ठसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी रमेश श्रेष्ठले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।