सानो टिम बनाएर काम गर्यौं

लकडाउनको केही समय घरमै बसें। लकडाउनको सुरुवाती समयमा मलाई एकदमै बोर लागेको थियो। सुटिङमा सबैतिर हिंडिरहने बानी परेको मान्छेलाई घरमा बस्न कठिन हुने रहेछ। कहिलेकाहीँ त अब सधैँ यस्तै पो हुने हो कि भन्ने समेत लागेको थियो। लाइट, क्यामेरा अनि याक्सनमा अभ्यस्त भइसकेको व्यक्तिले यो बेला सबैभन्दा बढी त्यसलाई सम्झिने रैछ। तर बिस्तारै मनमा घरमा बस्नुपर्छ भन्ने कुराले जित्दै गयो। त्यही भएर अहिले त गाह्रो हुन छोडेको छ।

लकडाउनको एक महिनापछि भने कला क्षेत्रमा काम गर्ने प्राविधिकहरूका लागि हामीले राहत बाँड्ने काम गर्यौ। गरिखाने वर्गलाई समस्या नहोस् भनेर केही साथीहरू मिलेर यो काम गरेको हो। आज कमाउने अनि आजै खानेहरूका लागि लकडाउन सुरु भएको २-३ हप्तादेखि नै समस्या उत्पन्न भयो। सुटिङको बेलामा ‘फिल्डमा’ खटिने लाइट म्यान, मेकअप गर्ने आर्टिस्ट लगायतलाई समस्या भएको जानकारी सामाजिक सञ्जालमार्फत पाएँ। त्यसपछि मलाई लाग्यो, यो लकडाउन अब धेरै समय जान्छ। हामीले केही सहयोग गर्नुपर्छ भनेर मैले प्राविधिक संघका अध्यक्ष पुष्कर लामा दाइसँग सल्लाह गरें। उहाँले समस्यामा परेकाहरूको लिष्ट निकाल्नुभयो। दिनको ५ सय देखि १ हजार कमाएर परिवार पाल्नेहरूको नाम लिष्टमा थिए। लिष्ट अनुसार नै झण्डै २ सय परिवारलाई सकेको सहयोग गरेको हो। त्यो बेला कोही नछुटुन् कोही नदोहोरिउन् भनेर हामीले निकै ध्यान दिएका थियौं।

लकडाउनले काम बन्द नै थियो। साउनको पहिलो सातादेखि भने सुटिङ सुरु भयो। अहिले नै फिल्मको सुटिङ हुने कुरा भएन। त्यसैले म्युजिक भिडिओहरूको मात्रै सुटिङ भयो। लगभग एक महिना मजाले सुटिङ गरिएको थियो। काठमाडौंमा धेरै संक्रमितहरू भेटिन थालेपछि हामी आफैले छलफल गरेर सुटिङ रोकेको हो। सुटिङ रोकेको त्यस्तै ४-५ दिनपछि निषेधाज्ञा नै सुरु भयो।

यो कोरोनाको बेला सुटिङ गर्नु निकै चुनौतीपूर्ण हुने रहेछ। हामीले सावधानपूर्वक काम गर्यौ। हामीले भौतिक दूरी कायम गरेर नै सुटिङ गरेका थियौं। प्रत्येक टेक्निसियनलाई मास्क र पञ्जा लगाउन लगाएर अनि पटक-पटक स्नानिटाइजर लगाउन लगाएर काम गर्यौ। हामी कलाकारले पनि प्रोटोकल अनुसार काम गरेका थियौं। हुन त सुटिङमा जाने सबैको शरीरको तापक्रम नापेर सबै सुरक्षाको उपायहरू अपनाएर मात्र काम गरिन्छ। तर यति हुँदा पनि कसलाई कोरोना छ भनेर थाहा नहुने भएकोले जोगिएर काम गर्नुपर्ने बाध्यता थियो। त्यसैले काम गर्दा पनि अलिकति डर मनमा रै रहने रहेछ।

यो बेला कुनै गाउँमा सुटिङ गरिएको छ भने हामीले गाउँलेलाई परै बस्न आग्रह गर्यौ। हामीले सानो टिम बनायौं। सामान्य अवस्थामा सयदेखि डेढ सय जनासम्मको टिम हुन्थ्यो तर यो बेला भने १२-१५ जनाको मात्रै टिम बनाइएको थियो। एक त सानो टिममा काम गरेपछि असहज हुन्छ अनि गुणस्तरीय भिडियोहरू पनि बनाउन धेरै गार्हो। यो बेला कामको केही कुराहरूमा कम्प्रमाइज पनि गर्यौं। जस्तो धेरै डान्सरहरू चाहिने गीतमा पनि हामीले २-३ जना डान्सरकै भरमा सुटिङ गर्यौं।

यस्तो बेलामा काम गर्दा निकै फरक अनुभूति हुने रहेछ। सामान्य अवस्थामा हाम्रा शुभचिन्तकहरू सुटिङ स्थलमा आउँथे हामीलाई हौसला दिन्थे बसेर फोटो खिच्न चाहन्थे। तर अहिलेको यो बेलामा ती सबै कुराहरू कठिन भयो। मलाई भेट्न आउने फ्यानहरूलाई पनि टाढैबाट अभिवादन गर्नुपर्यो।

एउटा म्युजिक भिडिओ सुटिङ होटल हायतमा भएको थियो। त्यो बेला पल शाह सुटिङको लागि आएको छ भन्ने थाहा पाएर मेरा केही फ्यानहरू होटलको गेटसम्म आउनुभएको रैछ। तर मैले उहाँहरूलाई भित्र बोलाउन पनि सकिन र म आफू बाहिर जान पनि सकिनँ। यस्तो हुदाँ आफैलाई नराम्रो लाग्ने रैछ।

कोरोना महामारीका कारण भएको लकडाउनले धेरै क्षेत्र प्रभावित भएको छ। त्योमध्ये कला क्षेत्र पनि एउटा हो। धेरै व्यक्तिहरूको लगानी होल्ड भएको छ। जस्तो मैले नै अभिनय गरेको ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनीको तयारीमा थियो। यो फिल्ममा डेढ करोडभन्दा बढी लगानी भइसकेको थियो। प्रमोसनको लागि समेत २० देखि ४० लाख खर्च भएको थियो होला। अहिले निर्माताको त्यो पैसा होल्ड भइरहेको छ। अब यो रकम कहिलेसम्म होल्ड हुने हो कुनै टुंगो छैन।

फिल्मको लागि निर्माताले बैंकको लोन लिएर वा जग्गा बेचेर लगानी गरेका होलान्। तर अब त्यो लागानी कहिले उठ्छ भन्ने थाहा छैन। यो कोरोनाले अहिले यस्ता असहज परिस्थिति उत्पन्न भएका छन्। धेरैको फिल्महरूको बीचैमा सुटिङ रोकिएको छ। कति कलाकारहरू त धेरै समयअघिदेखि नै अरु काममा नलागीकन आउने काम (फिल्म) का लागि भनेर रोकिएर बसेकाहरू पनि थिए। अब फिल्महरू बन्ने कहिलेदेखि हो टुंगो छैन। त्यो कुराले पनि यो क्षेत्रमा लाग्नेहरूलाई पीडा दिइरहेको।

कला क्षेत्रमा फिल्म मात्रै होइन म्युजिक भिडियोदेखि विज्ञापन पनि हो। अहिले सानो टिम बनाएर म्युजिक भिडिओहरू त बनिरहेका छन्। सिनेमाको काम सबै बन्द छ। डेढ दुई वर्ष नै यसरी गयो भने त सबको हालत खराब हुनेवाला छ। विकल्प केही छैन, सब भगवान् भरोसा हो। त्यसैले सरकारले लागनीकर्ताहरूलाई केही विकल्प दिनुपर्छ। अब अगाडि कसरी जाने बाटो देखाउनुपर्छ।

अहिले म विभिन्न ठाउँहरूमा हिँड्दा मानिसहरूको दयनीय अवस्था देखेको छु। कति घर जान पाउनुभएको छैन, कति बाटैमा सुतिरहनु भएको छ। फेरि यही बेलामा हामीलाई बाढी पहिरोले पनि उत्तिकै सतायो। यो कोरोनाले गर्दा कमजोर वर्गलाई खानकै समस्या छ। कसैले कोठाको भाडा तिर्न सकेका छैनन्। उनीहरूलाई कसले हेर्ने ?

 कलाकार पल शाहसंग गरीएको कुराकानीमा आधारित रहेर यो कथा लेखिएको हो  ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।