सोसियल डिस्टान्स भन्ने भनाइ नै गलत लाग्छ

मेरो माइती झापा हो । घर चाहिं नुवाकोट । चरिकोटमा आएको १६ वर्ष भयो । म यहाँ ब्रेल लिपिमा पढ्ने विद्यार्थीहरू छन् भन्ने सुनेर जागिरको सिलसिलामा आएको हुँ । चरिकोटमा म र श्रीमान् सँगै बस्छौं । विद्यालयमा छात्रावास छ । त्यसैमा बस्छौं । मेरो श्रीमान् पनि म जस्तै दृष्टिविहीन नै हुनुहुन्छ ।

मेरो श्रीमान्‌लाई काठमाडौं आइजाइ गरिरहनुपर्ने भएकोले हामीले सजिलो हुन्छ भनेर काठमाडौंमा पनि कोठा लिएका थियौँ । चैत पहिलो हप्ता नै शैक्षिक सत्र सकिएकोले म फुर्सदिलो नै थिएँ त्यसैले हामी चैत ९ गते काठमाडौं आयौं । कोरोनाको कारण काठमाडौं आएको केही दिनमा नै लकडाउन सुरु भयो ।

काठमाडौं केही दिन बसेर फर्कने योजनामा आएकोमा २ महिना बसेर बल्लबल्ल दोलखा फर्कन पाइयो । त्यो पनि एक जना चिनेका एम्बुलेन्स चालकको सहयोगमा ।

त्यो बेला प्रायःजसो मान्छेहरू कि त पासको गाडी वा एम्बुलेन्समा मिलाएर हिड्ने गर्थें । हामीले पासको गाडी मिलाउने नसक्ने भएर मैले एक जना चिनेका एम्बुलेन्स चालकलाई हामी यहाँ काठमाडौंमा थुनिएको कुरा गरें त्यसपछि उनले हामीलाई काठमाडौंबाट एम्बुलेन्समा लगिदिए ।

तर कसैले उनले हामीलाई एम्बुलेन्समा बोकेको भनेर भन्दिएछ । त्यसपछि त उसलाई कारबाही गरेछन् । त्यो कुरा सुन्दा मलाई निकै दुःख लाग्यो । केही दिन थुनामा पनि परेछन् ती चालक । यो कुरा समाचारमा पनि आएछ । मलाई त्यो एम्बुलेन्सवालालाई समातेकोमा निकै दिनसम्म नराम्रो लागिरह्यो । उसले हाम्रो लागि त राम्रो गरिदिएको हो । नत्र काठमाडौंमा थुनिएर कहिलेसम्म बस्नुपर्ने थियो ।

अपाङ्गता क्षेत्रमा पनि अलि संवेदनशील अपाङ्गता भएका व्यक्ति हौं हामी। काठमाडौंबाट आएको केही दिनसम्म हामीलाई नछुने, छि छि दूरदूर गर्ने काम पनि भयो । नजिक नआउने, नजिकबाट कुरा नगर्ने भयो । मलाई त सरकारको नियम पनि गजबको लाग्छ । २ मिटर दूरी कायम गर्नु भन्छ । हामीलाई २ मिटर भनेको कति हो के थाहा । सोसियल डिस्टान्स भन्छ । यो सोसियल डिस्टान्स भन्ने भनाइ नै गलत लाग्छ मलाई । बरु यसलाई त फिजिकल डिस्टान्स (भौतिक दूरी) भन्न मिल्ला । यसलाई शारीरिक दूरी पनि भन्न मिल्ला । तर सामाजिक दूरी भन्न मिल्दैन । यो कुरा सुन्दा अचम्म लाग्छ । मानिस त सामाजिक प्राणी हो नि । समाजमै मिलेर बस्नुपर्छ । एकले अर्कोलाई सहयोग गर्नुपर्छ । यस्तो अवस्थामा सामाजिक दूरी भन्न कसरी मिल्छ ?

काठमाडौंबाट चरिकोटमा आएपछि छात्रावासको मेडमलाई फोन गरें । प्रहरीले प्रधानाध्यापकलाई पनि फोन गरिदिए । त्यसपछि प्रधानाध्यापकले छात्रावासको मेडमलाई फोन गरिदिनुभएछ । अनि मात्र हामीलाई छात्रावासको गेट खुल्यो । त्यसपछि हामी गेटमा पनि गएनौं । टाढैबाट सामान लिने गर्यौं । हामी कतै निस्किएनौं । फोन गरेर, म्यासेज गरेर सामान मगाउँथ्यौं । गेटबाट सामान ल्याएपछि भित्र सरसफाइ गर्यौ । यसरी २१ दिन बितायौं ।

कोरोनाका कारण अहिले धेरैको पढाइ अनलाइनबाट भए पनि दृष्टिविहीन विद्यार्थीहरूको पढाइ त चौपट भएको छ । यहाँ १० जना दृष्टिविहीनको कोटा छ । यस वर्ष ८ जना अध्ययन गरिरहेका छन् । भर्खर पढाइ सुरु गर्नेदेखि ९ कक्षामा पढिरहेकाहरू छन् ।

उनीहरूलाई यहाँ बोलाएर पढाउन सक्ने अवस्था छैन । अनलाइन क्लासहरू उनीहरूका लागि उपयुक्त हुँदैनन् । अनलाइनबाट ब्रेल यस्तो हुन्छ यसरी गर्नुपर्छ भन्दा उनीहरूले बुझ्दैनन् । त्यसैले उनीहरूलाई दूरी कायम गरेर पढाउन सक्ने अवस्था हुन्न । सबैलाई छमाएरै पढाउनुपर्छ । यस्तो अवस्थामा उनीहरूलाई कसरी पढाउने ?

यो वर्षको त आधा शैक्षिक सत्र पनि सकिएको छ । यसले त उनीहरूको पढाइ बिग्रियो नि। त्यसैले सरकारले अब कसरी अगाडि लाने भन्नेबारेमा पनि सोच्न जरुरी छ । लामो समय घरमा बसेका कारण अब उनीहरूलाई पढाइमा ध्यान दिने बनाउन धेरै मेहनत गर्नुपर्ने हुन्छ । परिवारमा बस्दा उनीहरूको जीवनशैली नै फरक भइसक्यो ।

अहिले गाउँगाउँमा शिक्षकहरू गएर पढाउने काम भएको छ केही ठाउँमा । त्यस्ता ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूका पनि यस्ता विपदहरूमा जुध्न सक्ने क्षमता विकास गर्नुपर्छ । यही कोरोनाको कुरा गर्दा सरसफाइको कुरालाई सँगै लैजानुपर्‍यो । सामग्रीहरू अपाङ्गले प्रयोग गर्न सक्ने गरी व्यवस्थापन गर्नुपर्छ । संरचना निर्माण गर्दा पनि यस्ता कुरामा ध्यान दिनुपर्छ ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रोत्साहन र अवसरको धेरै ठूलो भूमिका हुन्छ । सबैले प्रोत्साहन दिने र अवसर सिर्जना गर्ने हो भने हामी जस्तोसुकै परिस्थिति सामना गर्न सक्छौं ।

यो कथा कालिञ्चोक मावि, चरिकोटका दृष्टिविहीन शिक्षक यानीमाया भट्टराईसंग गरिएको कुराकानीमा रहेर हाम्रो साथी अर्जुन दाहालले लेख्नुभएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।