भोकाहरूलाई खाना खुवाउन पाउँदा आनन्द लाग्छ

मलाई सानैदेखि सहयोग गर्न मन लाग्थ्यो । घरमा कोही माग्न आउँदा ममीहरूले थोरै चामल दिएर पठाउँदा अलि कस्तो कस्तो लाग्थ्यो । अनि लुकेर अलि पर गएर चामल थपिदिन्थें । पहिलेदेखि नै सहयोग गर्ने कुरामा मन खेलेर सहयोग गर्ने गर्थें।

४ वर्षअघि समाजमा केही नयाँ र फरक काम गर्नुपर्छ भन्ने सोचका साथ कलेजका केही साथी मिलेर हन्ड्रेड ग्रुप सुरु गरेका हौं । सुरुमा त ‘ब्लड’ डोनेसको काम गयौं । रगत आवश्यक परेकालाई मान्छे जुटाइदिने काम गर्यौं । सहयोग गरेबापत एक रुपैयाँ लिन्थ्यौं । कोहीले खुसी भएर सहयोगस्वरूप एक सय, पाचँ सय पनि सहयोग गर्नुहुन्थ्यो । त्यो सबै पैसा ग्रुपमा जम्मा गथ्यौं। हामी प्रत्येक शनिबार तीनकुनेको डाँडामा मिटिङ बस्थ्यौं साथीले आफ्ना साथी ल्याउँथे, एक एक जना गर्दै संख्या बढेर सयभन्दा माथि पुगेको छ ।

हामीले हन्ड्रेड ग्रुपबाट काठमाडौं सरसफाइ गर्ने, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने, बेवारिसे भएका वृद्धाहरूलाई आश्रममा पुर्‍याउने काम पनि गरेका छौं । केही वर्षअघि मात्र हामीले अनामनगरमा ‘कपडा बैंक’ पनि सुरु गरेका थियौं। “नाना” र “खाना” बाट कोही वञ्चित हुन नपरोस् भनेर विभिन्न समयमा विभिन्न अभियानहरू गरिरहेका छौं। त्यसैले अहिले यो कोरोना महामारीमा पनि हामी भोके परेकाहरूको पेटको साथी बन्ने प्रयास गरिरहेको छौं।

चैत ११ गते नेपाल लकडाउन भयो । लकडाउनको अर्थ हुन्छ, जो जहाँ छ त्यहीँ बस्ने । जहाँ छ त्यहाँ बस्ने त भनियो तर दैनिक ज्यालादारी गर्नेहरूले खानेकुरोको जोहो गर्न सकेनन् । त्यसैले लकडाउन भएको केही दिनपछि नै भोकाएकाहरूको समाचार आउन थाल्यो । समाचारहरूबाट सबै गतिविधि नियालिरहेको थिएँ । मानिसहरू एक छाक खान नपाएको कुरा थाहा पाउँदा साह्रै नमज्जा लाग्थ्यो । अनि ग्रुपका साथीहरूलाई अब हामीले पनि केही गर्नुपर्छ भनें । सबैको सल्लाह अनुरूप १४ गतेदेखि नै हामी फिल्डमा खटिन थाल्यौं। सुरुमा घरघर गएर राहत बाँड्यौं।

त्यति बेलाको दृश्य पनि कम हृदयविदारक थिएन। कसैको घरमा चामल थियो तर ग्यास थिएन त कसैको घरमा ग्यास थियो तर दाल, चामल र तरकारी किन्ने पैसा थिएन । त्यो बेला उनीहरूको आवश्यकता अनुरूप जसोतसो हामीले त्यो बेला घरघरमा राहत पुर्यारहेका थियौं ।

लकडाउन खुल्ने छाँटकाट देखिएन । मान्छेहरू झन् आतिन थाले । काठमाडौंमा एक छाक खान नपाएपछि भोकभोकै सात दिनको यात्रासम्म गर्न विवश थिए मानिसहरू । लकडाउन बढ्दो क्रममा थियो । मानिसहरूको अवस्था झन् बिग्रन थाल्यो । धेरै मानिसहरू भोकभोकै बस्ने अवस्थामा पुगे। त्यो देखेर हामीले खाना खुवाउने सोच बनायौं । १७ गतेदेखि खाना खुवाउन थाल्यौं । हामीले पहिलो पटक पशुपतिमा निःशुल्क खाना खुवाउन सुरु गयौं । खाना खान आउने मान्छेहरू थपिन थाले । त्यसैले यसलाई अझ बढाएर अन्य ठाउँ नयाँबसपार्क, कालिमाटी, तीनकुने, कलंकी र रत्नपार्क लगायतका स्थानमा खाना खुवाउन थाल्यौं ।

अहिले अरू ठाउँमा खान खुवाउन बन्द गरेका छौं । सबैतिरबाट सेन्टर पर्ने भएर रत्नपार्क नजिकैको बसपार्कमा भने अझै पनि निरन्तर खान खुवाइरहेका छौं। अहिले पनि धेरै जना खाना खान आउनुहुन्छ। हामीले यसरी खाना खुवाउने ठाउँहरूमा धेरैजसो निम्नवर्गका मान्छेहरू खाना खान आउनुहुन्थ्यो।

हामीले त्यसरी खान खुवाउने काममा लाग्दा “कति दिनदेखि पेटमा तातो भात परेको थिएन। खाना खुवाएर धेरै पुण्यको काम गर्नुभयो” भनेर हामीलाई खाना खानेहरूले आशीर्वाद दिन्थे। त्यो देखेर मलाई झन् हौसला मिल्थ्यो । दिनप्रतिदिन यसरी खाना खान आउनेको संख्या पनि बढ्दै थियो । मनमा खाना खुवाउन सक्दिन कि भन्ने डर र चिन्ता पनि लाग्थ्यो । फेरि खाना खान आउने मानिसहरूको हामीमाथिको भरोसा देखेर उत्साहित हुन्थ्यौं । खाना जुटाउन झन् मेहनतका साथ लाग्थ्यौं । राहत र खानाका लागि तयारीमा बिहान ६-७ बजेदेखि सुरु हुने दौडधूप साँझसम्म पनि चलिरहन्छ।

भोकाहरूलाई जसरी भए पनि खाना खुवाउनु छ भनेर हामी लागिपरेका छौँ। दैनिक ५-६ सय जनालाई खाना खुवाइरहेका छौं । कहिलेकाहीँ ८ सयसम्म पुग्छ ।

सुरुका दिनहरूमा आफ्नै गोजीको पैसाले खाना खुवाएँ । खाना खान आउनेहरूको संख्या पनि दिनप्रतिदिन बढ्दै थियो । हामीलाई खाना खुवाउन पैसाको पनि समस्या पर्थ्यो। त्यति बेला छिमेकी र आफन्तहरूसँग मागेर पनि भोकालाई खाना खुवाउने काम गरें । कहिलेकाहीँ त तरकारी किन्ने पैसा पनि हुन्न थियो । त्यति बेला तरकारीमा पिठो मिसाएर पनि खुवाएका छौं । त्यस्तो खाना खुवाएको दिन आफैलाई पनि नमज्जा लाग्थ्यो । कहिलेकाहीँ त्यस्तो बेला केही खाना खान आउनेहरूले “सरकार, एनजीओ, आएनजीलोले खाना खुवाउन पैसा दिए पनि हामीलाई यस्तो खुवाउने?” भनेर आरोपसम्म लगाउनुहुन्थ्यो । हामी आफ्नै गोजी र सहयोगी मनले काम गरेको बेला त्यस्तो आरोप लाग्दा मन झनै खिन्न हुन्थ्यो। धेरैजसो खाना खान आउने कुरा र आशीर्वादले गर्दा काम गर्न झन् ऊर्जा मिल्थ्यो।

काम सब बन्द थियो। मानिसहरूलाई मात्र एक छाक खानासँग मतलब थियो। उहाँहरू खाना खान भनेर घाम पानी नभनफ आइपुग्नु हुन्थ्यो । खानाको लागि जस्तोसुकै कठिनाइ, अप्ठेरोसँग जुध्न पनि तयार हुनुहुन्थ्यो। हामीलाई पनि खाना खुवाउनसँग मतलब थियो । त्यसैले हरेक अप्ठेरासँग जुधेर खाना खुवायौं र अहिले पनि खुवाइरहेका छौ। कोरोना कहरको अन्त्यसम्म खाना खुवाउने सोच छ । हेरौं कस्तो हुन्छ । दाताहरूको सहयोग भयो भने हाम्रो अभियान पनि सफल हुनेछ भन्नेमा आशावादी छु ।

हामीले खाना खुवाउने ठाउँमा धेरै खालका व्यत्तिहरू खाना खान आउनुहुन्छ। प्राय:जसो त दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरू आउनुहुन्छ। त्यो बाहेक बेरोजगार भएर अलपत्र परेर बसेका, अस्पतालमा बिरामी कुनुपर्नेहरू, केही घरबेटीले कोठामा जान नदिदा समस्यामा परेर यहाँ खाना खान आउनुहन्थ्यो। कोही कोही त राम्रै परिवारको पनि आउनुहुन्थ्यो। सबैलाई स-सम्मानका साथ खाना खुवाइरहेका छौं। कोही कोही खान पनि लाज मानीमानी खानुहुन्थ्यो । शायद त्यसरी खाना खाएको पहिलो पटक पनि हुन सक्छ । कोही कोही त यति भोकाएर आउनुभएको हुन्थ्यो कि तीन जनाले खाने भात एक जनाले खानुहुन्थ्यो।

खाना मेरो होस्टेलको भान्छामा पकाउँछौं। हामी खाना सफा र स्वस्थ गरी तयार गरेर बसपार्कमा लिएर आउँछौं । कहिलेकाहीँ खाना ल्याउन ढिला हुन्थ्यो। त्यस बेला मानिसहरू कतिबेला खाना आउला भनेर कुरेर बस्नुहुन्थ्यो। कोरोनाले गर्दा आम्दानी नभएकाहरू रोगले भन्दा नि भोकले मरिन्छ भन्ने भएर टाढ टाढाबाट पनि खाना खान आउनुहुन्छ।

कोहीकोहीले भने खान घरमा पनि लैजानुहुन्थ्यो। “आज ३-४ बजे खाएपछि भोलि मात्र खान पाइन्छ। ठूला मान्छेले भोक सहन सके पनि केटाकटीले त सक्दैनन्” भन्दै थप खाना घरमा लैजानुहुन्थ्यो।

करिब १०-१२ फिट दूरी कायम गरेर खाना खानेहरूलाई राख्ने र खाना दिने गरेका छौं । हामी आफैले पनि पीपीई, मास्क ग्लोप्सको प्रयोग गरिरहेका हुन्छौं। भगवानको कृपाले अहिलेसम्म त्यस्तो केही देखिएको छैन। नदेखियोस् पनि।

समाजिक सञ्जाल तथा मिडियाले कभर गरेपछि झन सहयोगी हातहरू बढेको छ। अहिले पैसाको खासै अभाव भएको छैन। तर पनि कहिलेकाहीँ भने समस्या हुन्छ । त्यति बेला एकदमै चिन्ता लाग्छ । मलाई मेरो परिवारको पनि एकदमै सपोर्ट छ। त्यसैले पनि यसरी यो काममा अघि बढ्न पाएको छु ।

हन्ड्रेड ग्रुपमार्फत करिब ६ महिनादेखि हामी भोकालाई खुवाउने यो अभियानमा लागि परेका छौ । अहिले कोरोना गर्दा भोकै परेकाहरूलाई निःशुल्क खाना खुवाउने अभियानमा पनि २५ जनाले भोलिन्टर गरिरहनु भएको छ। अन्य कोही पनि यस कार्यमा जोडिन चाहनेहरू आउन सक्नुहुन्छ। यो अभियानको स्लोगन नै ‘हुनेले दिएर जानुस्, नहुनेले लिएर जानुस्’ र ‘रोगले भन्दा भोकले कोही मर्नु नपरोस्’ भन्ने छ। सबैको सहयोगले भोकाहरूको पेट भरिन्छ त्यसैले सबैले आ-आफ्नो ठाउँबाट जतिसक्नु जसरी सक्नुहुन्छ भोकाहरूलाई सहयोग गरौँ।

यो कथा  हन्ड्रेड ग्रुपका अंशु यादवसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी  पूनम डिसीले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।