नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिदै हामी धेरै आत्तिएका थियौं । यसले चीन, इटाली, अमेरीका लगायतका देशमा आफ्नो तहल्का मच्चाई जो सकेको थियो । दिनानुदिन बढ्दो संक्रमित अनि बढ्दो मृत्युको दर अनि त्यहाँका मानिसहरुले भोगेको पिडाले हामीलाई पनि अत्याई सकेको थियो । संक्रमित र मृत्युदरले मात्र होइन कोरोना भाइरसससँग जोडिएर आएका भ्रामक हल्ला र अफवाहहरुले त झन् दोब्बर अत्याएको थियो । अरु त अरु यो भाइरसका कारण संसारकै अन्त्य हुन्छ भन्ने समेतका गलत हल्लाले मानिसहरुलाई थप पीडित बनायो । समाचारहरुमा समेत मानिसको संक्रमण दर अनि मृत्यु दर बढेको देख्दा हामी स्वास्थ्यकर्मी त अत्यन्तै हतास थियौं भने अरुका कुरा त के गर्नु र ।
पेशाले म एक नर्स । अहिले बि.पि. प्रतिष्ठान धरानको डाईलायसिस विभागमा कार्यरत छु । यो पेशाको वास्तविक परिक्षा हामी स्वास्थ्यकर्मीहरुले सायद यो समयमा बढि दिईरहेका छौं जस्तो लाग्छ । यो समय अरुका लागि जति कठिन छ हाम्रो लागि पनि उत्तिकै गाह्रो छ अझ सायद अरुको भन्दा धेरै किनकि यसमा आफू जोगिएर अरुलाई जोगाउने चुनौती जो छ हाम्रो अगाडि ।
यो कोरोना कहरमा हामीले जतिसक्दो राम्रो तथा सहज सेवा दिने प्रयास गरिरहेका छौं । नेपालमा कोरोना भाइरसको संक्रमण अन्य देशको तुलनामा थोरै ढिला देखियो । एक हिसाबले यो राम्रो कुरा हो । यसले गर्दा हामीलाई मानसिक रुपमा तयार हुन सजिलो भयो जस्तो लाग्छ । तथापि सुरुवाती समयमा विविध समस्याको सामना गर्नु परेको कुरा पनि बिर्सन सकिन्न । पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री थिएन । रोग परिक्षणका लागि आवश्यक उपकरणको अभाव थियो । अहिले भने व्यवस्थापन अलि सहज भएको छ तर काम गर्नु भने अझै पनि अरुबेला भन्दा चुनौतीपूर्ण नै छ ।
लकडाउनको प्रभावले सामानको आपूर्ति नहुनु, स्वास्थ्यकर्मीहरु विभिन्न सामाजिक अपहेलनाको शिकार हुनु अझ पीपीई लगाएर काम गर्नुको पिडा त झन् बयान गरि साध्य नै छैन । विभिन्न उतारचढावको बावजुद पनि हामीले कोरोना पोजिटिभ बिरामीलाई सफल डायलाईसिस सेवा प्रदान गरिरहेका छौं । अरुले हाम्रो कामलाई कदर गरुन् या नगरुन् तर हामीलाई थाहा छ यो डर र त्राश बीच हामी कति खट्टिएका थियौं र छौं भनेर । त्यसैले पनि म आफू त सन्तुष्ट छु आफ्नो कामबाट ।
पीपीई लगाएर श्वास फेर्न गाह्रो हुँदा झन्डै बेहोस पनि भएकी छु तर यस्तो अवस्थामा पनि मैले कहिल्यै पनि हरेश खाँइन । बरु बिरामीको सेवा गर्न पाएकोमा खुशी छु । बिरामीहरुलाई नै श्वास फेर्न सहज होस्, बिरामी तथा उनीहरुको परिवारको मुस्कान बचाई राख्न र टुटेको आत्मबललाई हदैसम्म जोड्ने कोशिस गरेका छौं हामी स्वास्थ्यकर्मीहरुले यो कहरको बेला । डायलसिसपछि खुशी हुँदै बिरामीहरुले धन्यवाद ‘सिस्टर’ भनेको सुन्दा सबै दुःख र पीडा हराएझैं लाग्छ । यो कोरोना कहरको समयमा मैले काम गर्ने विभागका साथै अन्य सम्पूर्ण विभागले उत्कृष्ट तथा सम्मान योग्य योगदान दिएको छ । यो कुरा अत्यन्त सराहनीय छ । बाहिर भन्नेलाई सजिलो छ तर यत्रो डर र त्राश बीच पनि काम गर्नेलाई थाहा छ काम गर्नुको सन्तुष्टि ।
यो समयमा हामीले काम गर्दा जति समस्या भोगेका छौं, त्यो भन्दा धेरै पीडा बिरामीहरुले भोगेका छन् । हाम्रो दु:ख त उनीहरुको अगाडि केहि होइन जस्तो लाग्छ । एकातिर आफ्नो शारीरिक कष्ट अनि मानसिक द्वन्द बोकेर बिरामी बाँचेका छन् भने अर्कोतिर भएको रोगसँगै कोरोनाको संक्रमण पनि हुने डर उत्तिकै छ । लकडाउनको बेला सजिलै यातायात पाँईदैन । सार्वजनिक यातायात नचल्ने भएकाले अस्पतालसम्म बिरामी निकै कष्ट भोगेर आइपुगेका धेरै देखेको छु मैले यो ६ महिनामा । उनीहरु ठूलो रकम बुझाएर अस्पताल आउन बाध्य छन् किनकि सबै ठाउँमा अस्पतालको एम्बुलेन्स पुग्न पनि त संभव छैन । यस्ता अनेक समस्या भोगेर आएका बिरामीको बाँच्ने आशालाई जोगाई राख्न हामीले त कुनै कसर छाडेनौं जस्तो लाग्छ तर समाचारमा कति अस्पतालले कोरोनाको त्राशले बिरामीहरुलाई उपचार गर्न नमान्दा कति बिरामीको अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको सुन्दा सार्है मन दुख्छ । जनसेवा हाम्रो पेशामा सबैभन्दा माथि आउँछ तर खै कहिल्यै सोचेंकी थिइन कुनै दिन सेवाभन्दा माथि आफ्नो सुरक्षा हेर्नु पर्ने दिन पनि आउँदो रहेछ हाम्रो पेशामा भनेर ।
समय आफै बलवान् छ । यसले बिस्तारै घाउहरु पुर्दै जान्छ भनेको सुनेकी थिएँ हो रहेछ । जसरी सुरुका दिनहरुमा कोरोना पोजेटिभ व्यक्तिलाई हेर्ने समाजको नजर थियो आजसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । सुरुवाती दिनमा संक्रमीतले कति धेरै अपमानहरु सहनुपरेको कुराहरु सुनिन्थ्यो तर पछिल्ला दिनमा सोंचहरु बदलिदै छन् । कोरोना आतंकलाई अब सबैले नर्मलाईज गर्न बानी बसाल्दै छन् । मानिसहरुमा यसको भय कम भएको छ । भय कम हुनु राम्रो हो तर भय कम हुँदा संक्रमण फैलिने खतरा चैं झन् बढेर जान्छ । त्यसैले हामी अझ सचेत हुनुपर्छ तर आतंकित भने हुनु हुँदैन ।
कोरोना कहरले धेरै समस्या पार्यो । धेरैले दुःख पाए । संक्रमण कम गर्न लकडाउन राम्रो तरिका भएपनि यसले धेरैको दैनिकी ठप्प बनाए । कतिले रोजगारी गुमाउनु पर्यो, कति भोकै बस्नुपर्यो अनि कतिले अनेकौं अभावहरु झेल्नु पर्यो तर हरेक कुरामा नकारात्मक र सकारात्मक दुवै कुरा हुन्छ भन्छन् नि । संक्रमणको डरसँगै मानिसहरुले व्यक्तिगत सरसफाईलाई ध्यान दिन थाल्नुलाई भने यसको राम्रो पाटो मान्न सकिन्छ ।
एउटा स्वस्थ्यकर्मीको नाताले अन्त्यमा म सबैलाई अनुरोध गर्न चाहन्छु, हामी सबैले आफ्नो चेतनाको ढोका खोल्ने बेला आएको छ, हाम्रो थोरै मात्र प्रयासले हामीले कोरोनालाई हराउन सक्छौं । कोरोना लागेका व्यक्तिलाई अपहेलना होइन माया अनि साथको जरुरी हुन्छ चाहे त्यो आम मानिस होस् या स्वास्थ्यकर्मी, चाहे त्यो तपाईंको छिमेकी होस् या तपाईंको आफ्नै घरभित्रको परिवारको सदस्य होस् । हरेक व्यक्तिले आफ्नो-आफ्नो ठाँउबाट जागरुक भएर कोभिड-१९ लाई परास्त गरौँ, संयमता अपनाऔं । सबै कुरा ठिक हुन्छ ।