लकडाउन खुले पनि अझै सचेत हुनुपर्छ

म बालबालिकाको डाक्टर भएकाले मलाई बालबालिकाकै चासो धेरै हुन्छ । बच्चाहरूको सन्दर्भमा हेर्ने हो भने लकडाउनको समयमा बच्चाहरूमा श्वासप्रश्वासको सङ्क्रमण, झाडापखाला कमै भएको जस्तो लाग्यो । सरसफाइमा बढी ध्यान दिने अनि हात धुने, मास्क लगाउने गरेर पनि त्यस्तो भएको होला । अर्को कुरा भीडमा बच्चाहरू नगएकाले पनि निमोनिया, रुघाखोकी एकदमै कम भएको पाएँ जसले गर्दा अस्पतालमा नियमित ओपिडीमा आउने बच्चाहरू पनि कमै छन् । जटिल किसिमको समस्या भएकाहरू मात्रै अस्पताल आउने गरेका छन् ।

अर्को कुरा लकडाउनले गर्दा कतिपय अवस्थामा आउनै नसकेको हो कि जस्तो पनि लाग्छ । टाढाबाट आउन पर्ने, गाडी नपाउने, कति जना आउनै नसकेका हुन् कि जस्तो पनि लाग्यो । विभिन्न कारणले गर्दा पहिलाको भिडभाड भन्दा हाम्रो ओपिडी वार्ड पनि खाली छ । लकडाउनको तमाम नकारात्मक पाटो हुँदाहुँदै पनि बच्चाहरूका लागि केही सकारात्मक भएको मैले पाएँ । बच्चाहरूलाई झाडापखाला लगायतका समस्याहरू कम देखिएका छन् ।

कोरोनाकै कुरा गर्दा पनि ठुलोलाई भन्दा बच्चाहरूलाई अलि कमै देखिएको छ । कोरोना भई हाले पनि उनीहरूलाई जटिलता पनि कमै देखिन्छ । अहिले पनि एउटा, दुइटा,  फाट्टफुट्ट मात्रै देखिएको छ । कोरोनाको केस देखिएकोमा पनि परिवारको माध्यमबाट देखिएको छ । कतिपय अवस्थामा अस्पतालमा जन्मिएको बच्चालाई देखिएको छ, त्यो पनि परिवार र बाहिरका व्यक्तिहरूबाट सरेको हो । कोरोना नै भए पनि जटिल किसिमको कोरोना अहिलेसम्म देखिएको छैन । बच्चाहरूलाई कोरोना नलाग्नुको वैज्ञानिक कारण पनि छ । विभिन्न तथ्याङ्क र अनुसन्धानले बच्चाहरूमा कोरोना सङ्क्रमणको डर नदेखिएको हो । त्यसको यही कारण त भन्न गाह्रो छ तर संसार भरकै तथ्याङ्क हेर्दा कोरोना भाइरसले सङ्क्रमित बालबालिका कम छन् । बच्चाहरूलाई कोरोना भइहाल्यो भने पनि ठुलो मान्छेले जस्तो सार्दैन । बच्चाहरूले सार्ने दर पनि थोरै छ । हुन त हुन्छ उनीहरूसँग नजिकै बसिरहँदा सार्न त सक्छ तर ठुलो मान्छेले भन्दा धेरै कम छ।

मैले विशेष गरी छारे रोगको बिरामीलाई हेर्छु । यसको बिरामीलाई हेर्ने हो भने जुन नियमित फलोअपमा आउनेहरू पनि आउन सकेका छैनन् । उहाँहरूलाई हामीले फोनकै माध्यमबाट सुझाव दिएका छौँ । कति जनाले औषधी पनि छोड्नु भएको छ । लकडाउन भएकोले किन्न जान नसकेको र उपलब्ध नभएको पनि हामीले सुनेका छौँ । बच्चाहरूलाई अहिले बाहिरबाट नदेखिने रोगहरू छन् । कतिपय बच्चाहरू मानसिक तनावमा छन् । हामीले त्यो पक्षलाई राम्रोसँग ध्यान दिन सकेको छैन । बच्चाहरू विद्यालय गएका छैनन् । अनलाइन कक्षाको सास्ती पनि छदै छ । उनीहरूको शारीरिक गतिविधि कम भएको छ । मोबाइलमा बच्चा भुलेका छन् । त्यसको साइड इफेक्ट आफ्नै खालको छ ।

विभिन्न किसिमको अपाङ्गता भएका बालबालिकालाई पनि धेरै गाह्रो भएको छ । कति जना बालबालिकाको फिँजियो थेरापी नगरी नहुने हुन्छ । भोकेसनल ट्रेनिङ हुन सकेको छैन । अटिजमका बिरामीको हकमा एउटा त डाइग्नोसिसमै समस्या भएको छ । उनीहरूलाई अस्पताल ल्याउनै समस्या भएको छ । अस्पताल आउने भनेपछि मनमा डर देखिएको छ । उहाँहरूले पाउनुपर्ने सेवाहरू बारे विभिन्न किसिमको ट्रेनिङहरू दिन्छौँ । अभिभावकहरूलाई दिनुपर्ने हुन्छ । त्यो सबैबाट बालबालिका र अभिभावकहरू वञ्चित हुनुभएको छ । हुन त अनलाइन ट्रेनिङ र परामर्श पनि छन् तर नजिकै बसेर हामीले सेवा दिन्छौ नि त्यो पाइएको छैन । अनलाइन कक्षा अलि गाह्रो नै छ ।

हामीले कोरोनाको बिरामी उपचार गरेका छैनौँ किनकि अस्पतालमा कोरोना डेडिकेटेड क्लिनिक अर्कै छ । यहाँ आउनेहरू शङ्कास्पद भए पनि हामीले उपचार गर्नै पर्छ । त्यस्तो अवस्थामा हामीले कोरोना परीक्षणका लागि पठाउँछौँ । त्यसरी पठाउँदा पनि हामीले नेगेटिभ नै पाएका छौँ ।

कहिलेकाहीँ कोरोनाले गर्दा अरू बिरामी पनि भएको जस्तो देखिएको छ । मान्छेको दिमागमा कोरोना-कोरोना भन्दाखेरि त्यस्तो भयो कि भन्ने लाग्छ । कोरोनाको त्रासले अरू समस्यामा जति ध्यान दिनुपर्ने हो त्यसमा अलि कमी भएको त होइन, भन्ने पनि लाग्छ । सबै श्रोत साधन कोरोनाको लागि खर्च भएको छ । बच्चाहरूमा नलगाई नहुने खोप पनि लगाउन पाएका छैनन् । नेपालको सन्दर्भमा खोप लगाउने बालबालिकाको सङ्ख्या राम्रो थियो । कोरोनाको समयमा कतिले पाएका छन्, कतिले पाएका छैनन् हामीसँग त्यसको तथ्याङ्क छैन ।

मैले त्रि वि शिक्षण अस्पतालमा एमबिबिएस र एमडीका विद्यार्थीलाई पनि पढाउँछु तर अहिले पढाउने काम प्रभावित भएको छ । अहिले विद्यार्थीहरू होस्टेलमा छैनन् किनकि त्यहाँ भिडभाड गर्न मिल्दैन । उनीहरूले अनलाइन कक्षा त लिएका छन् तर मेडिकल शिक्षामा अनलाइन कक्षा लिएर हुँदैन किनकि यसले केही मात्रामा ज्ञानका लागि सहयोग गरे पनि पर्याप्त हुँदैन । बिरामी हेरेर पनि पढ्ने पढाउने गर्नुपर्ने भएकाले त्यो सम्भव भएको छैन । विद्यार्थीले बिरामीलाई जाँच्नुपर्छ, उनीहरूसँग कुरा गर्नुपर्छ । जस्तो बिरामीलाई मैले निमोनिया बारे पढाउँदा निमोनियाको बिरामी बारे पनि भन्नुपर्छ तर जबसम्म विद्यार्थीले निमोनियाको बिरामी देख्दैन तब सम्म निमोनियाको बिरामी कस्तो हुन्छ भनेर जान्दैन जसले गर्दा पढाई पनि प्रभावकारी हुन सक्दैन । एमडीका विद्यार्थीलाई अझै समस्या छ किनकि एमडीका विद्यार्थीले त ड्युटी पनि गर्नुपर्छ । अहिले नयाँ ब्याज आउनै सकेको छैन । पुरानो ब्याज पास भएर गएको छ जसले गर्दा हामीलाई जनशक्तिको समेत अभाव छ । जनशक्ति अभाव भएपछि काम धेरै हुन्छ । भर्चुअल कक्षामा जति केन्द्रित हुनुपर्ने हुन सकिएको छैन ।

बालबालिकाको उपचार गर्दा उनीहरूलाई नजिक राखेर काखमा लिएर कुरा गर्नुपर्छ तर अहिले यस्तो गर्न पाइएको छैन । यसैमा बढी चित्त दुख्छ । जुन बच्चासँग खेली-खेली उनीहरूसँग जिस्किँदै हामी जाच्छौं, त्यो सम्भव भएको छैन । बच्चाको कति कुरा त खेलाएरै पत्ता लगाउनुपर्छ । ठुलो मान्छेको अगाडि त मास्क, गगल्स लगाएर जाँदा उहाँ हलाई कस्तो कस्तो लाग्छ भने बच्चाहरूलाई त उपचारमा झनै गाह्रो छ । अस्पतालमा जाने भनेपछि एक किसिमको त्रास सबैमा छ अहिले ।

अब यो सङ्क्रमण तुरुन्तै सकिने वाला छैन । यो संसारभरि छ भनेर सोच्नुपर्छ । यसरी सोचेपछि आफूले आफूलाई सुरक्षित राख्न ध्यान दिनुपर्छ । सुरक्षाका उपाय पनि अपनाउनुपर्छ । सानो-सानो समूह बनाएर पढाउन तर्फ लाग्नुपर्छ तर यो पनि सजिलो छैन किनकि जनशक्तिको पनि अभाव छ । बिरामीको हकमा बच्चाको अभिभावक पनि सचेत हुनुपर्छ । लकडाउन खुल्नासाथ सबै हुर्र हुरी बाहिर जानु हुँदैन । लकडाउन खुले पनि सचेत हुनै पर्छ ।

त्रि वि शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा.मेरिना श्रेष्ठसंग गरिएको कुराकानीमा आधरित रहेर लेखिएको

निजी गाडीमा एम्बुलेन्स सेवा !

परदेशीको को छ र

परदेशीको को छ र ?

लकडाउनमा एक्लै हुँदा !

लकडाउनमा एक्लै हुँदा !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।