अब कोरोनसंगै बाच्न सिक्नुपर्छ 

कोरोनाले हाम्रो सबै कुरा परिवर्तन गरिदिएको छ । पहिला साथीहरूलाई भेट्दा हात मिलाएर अङ्कमाल गर्दै कुराकानी सुरु गरिन्थ्यो । तर अहिले कोरोना महामारी आएसँगै ठुलो होस् या सानो, मित्र होस् या आफन्तजन सबैलाई नमस्कार बाट कुरा सुरु गरिन्छ । अहिले सन्चो बिसन्चो भन्दा पनि कुराको सुरुवात मास्क, स्यानिटाइजर अनि कोरोना अपडेटबाट धेरै  हुने गरेको छ ।

म एम. आर. (चिकित्सा बजार प्रतिनिधि)को रूपमा काम गर्ने गर्दछु। मेरो पेसा नै बजार डुल्नु हो । मेरो धेरै जसो समय अस्पतालमा  बित्छ । अस्पतालमा कहिले डाक्टरलाई त कहिले डाक्टरलाई कुर्दा कुर्दा बिरामीहरूलाई र  कहिले बिरामीको आफन्तहरूलाई भेट्थे। बाकी समयमा औषधि पसलहरूमा डुल्दै बजारको जानकारी बटुल्दै दिनहरू बिताइन्थ्यो । सबै कुरा ठिकठाक नै थियो ।

जिन्दगी आफ्नो हिसाबले चलिरहेको थियो तर जिन्दगी न हो आफूले सोचेको जस्तो नहुने रहिछ । कोरोनाले व्यवहारिक र पेसागत दुवै  क्षेत्रमा नोक्सानी र डर त्रास ल्याइदिएको छ । पहिला आधारभूत तलबमा बोनस भत्ता पाउने मैले अब त सुख्खा तलब (आधारभूत तलब) मात्रै पाउने भएको  छु । अहिले घरबाट कामकोलागी निस्कँदा मैले कतै कोरोना भएको मान्छे पो भेट्छु कि जस्तो लाग्दछ । त्यसैले सुरक्षाको सामान मास्क, पन्जा लगाएर अनि स्यानिटाइजर बोकेर निस्कन्छु ।

आजकल अस्पतालमा हतपत छिर्न दिँदैनन्, मौका मिलेर भित्र गरे पनि डाक्टरहरूले भेट्न चाहँदैनन्, औषधि पसलहरूमा गयो टाढैबाट है टाढैबाट सुन्न पर्छ । त्यसमाथि बजार ठप्प छ भन्दै उनीहरू आफ्नो पिडा त सुनाउँछन्। काम सकेर घर फर्कँदा कतै मैले बजार घुम्दा कोरोना बोकेर हजुरबा हजुरआमा, बुबा आमालाई सार्दिन्छु की भन्ने जस्तो डर मनमा आउँछ । बुबा आमाले सुरुमा त  मलाई अब अफिस नजा केही दिन भन्नुहुन्थ्यो । तर के गर्नु अर्काको जागिर जानै पर्ने । यसरी नै दिनचर्या बित्दै छ।

चैतमा लकडाउन सँगै बन्द भएको मेरो काम जेठको अन्तिम सातातिरबाट बाट बल्ल सुरु भएको हो । अहिले कोरोना सङ्क्रमणको सङ्ख्या दिनानुदिन दिन बढ्दै गइरहेको छ। जसले गर्दा दिनकै बजार घुम्दै हिँड्ने म जस्तोको कामलाई पुरै प्रभावित गरेको छ ।

कतै म कोरोना भएको कसैको सम्पर्कमा आएर मैले अरूलाई सार्छु भन्ने कुरालाई लिएर लकडाउन खुकुलो भएयता म पहिलाको भन्दा बढी नै त्रसित छु। हुन त आफूले सुजे बुझेको सतर्कता अपनाएको छु। यो कोरोनाले म जस्तो दिनकै बजार घुम्दै हिड्नुपर्नेहरुको कामलाई पुरै प्रभावित गरेको छ । यसले गर्दा मैले गर्दा मैले धेरै कुराहरू गुमाए । मेरो पेसामा पब्लिक रिलेसन बढाउनु एकदमै जरुरी हुन्छ । नयाँ मानिसहरूलाई भेटेर कुराकानी गर्नुपर्ने हुन्छ तर अहिलेको समयमा मान्छेहरू भेट्नबाट वञ्चित भए । पहिला जस्तो मान्छे भेट्न सजिलो हुँदैन र भेट्न चाहँदैनन् ।  मैले आफूले गर्न तयार पारेको योजनाहरू गर्न नपाएकोमा धेरै दुखी छु ।

अब जे जस्तो भए पनि समय अनुसार चल्नुपर्ने छ । यो कोरोनाले मलाई आर्थिक व्यवस्थापनको केही सिकायो दियो । आफूसँग भएको पैसा को सदुपयोग गर्ने बारे ज्ञान दियो ।  अब यो कोरोनासँग कतिन्जेल डराउने अब सतर्क भएर यो सँगै बाच्न सिक्नुपर्छ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।