म कहिले आफ्नै देश फर्कन पाउछु होला ?

म अहिले टर्कीको इस्तानबुलमा बस्छु  । नेपालबाट आएको तीन वर्ष भयो । टर्की आएको म यो दोस्रो पटक हो। यसअघि पनि तीन वर्ष यहाँ बसेर नेपाल फर्किएको थिएँ । तीन वर्षमा काठमाडौँमा सानो जग्गा जोड्न सकेँ । माइतीको बुबासँग मिलेर घर पनि बनाएँ । घर बनाउँदाको ऋण तिर्न फेरि सकस भएपछि टर्की नै फर्किएँ । नयाँ साहुको घरमा बच्चा हेर्न र घरको काम गर्न बसेँ । तीन वर्ष पछि नेपाल फर्कने योजना बुन्दै थिएँ यो कोरोना भाइरसले सबै योजना चकनाचुर बनाइदियो ।

अप्रिलमा मेरो भिसा पनि सकिने थियो ।  २५ गते नेपाल फर्कने टिकट थियो । साहुले पनि बिदा गरिसकेका थिए । तर त्यहीँ बेला नेपालमा लकडाउन सुरु भयो । अन्तर्राष्ट्रिय उडान नै ठप्प बनाएपछि मेरो नेपाल फर्कने चाहना अधुरै भयो  ।

नेपाल फर्कन १५ दिन बाँकी थियो । घर जाने खुसी सम्हाली नसक्नु थियो । तर विश्वलाई लागेको कोरोना भाइरस मेरो खुसीमा पनि लाग्यो । म  नेपाल फर्कन पाइन ।

म अहिले ३२ वर्षकी भए । मेरो जन्म घर सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका कुहिले हो । नेपालमा हजारौँ हन्डर खाएपछि म विदेश आएकी हुँ । मेरो १० वर्षकी छोरी पनि छे । एस.एल.सी सक्ने बित्तिकै घरबाट विवाह गरिदिए जिल्ला कै राम्चे भन्ने ठाउँमा । नेपाली सेनामा कार्यरत श्रीमान् व्यवहारिक नभइदिँदा मैले धेरै दुःख सहेँ । उनले पनि सेनाको जागिर छोडेपछि घर व्यवहार चलाउन कमाई नगरी नहुने भयो । ४ वर्षकी छोरी माइतीमा छाडेर टर्की आएँ । सुरुका वर्ष भाषा संस्कृति नजान्दा र साहु गतिलो नपर्दा नसोचेको दुःख पाएँ । विदेशमा दुःख नपाउने को नै होला र ? त्यसमाथि घरेलु कामदारको दुःख बयान गरी साध्यै छैन ।

यो पटक चाहिँ राम्रै घरमा काम पाएँ । तीन वर्षमै ऋण चुक्ता गरेर केही जोहो पनि गरेको थिएँ । खैरेले पढाइदिने स्कुलमा छोरीलाई राखेको छु । आफ्नै बाबु आमा हुँदा पनि छोरीले अनाथ जसरी अरूको भरमा पढ्नु परेको छ । अब चाहिँ नेपालमै गएर केही उद्यम गरौँला, छोरीलाई काखैमा राखेर हुर्काउला । आमा भन्न बिर्सिएकी छोरीलाई मन भरिको ममता दिएर ‘म नै तिम्री आमा हुँ’ भनेर चिनाउँला । श्रीमानसँग पनि सम्बन्ध सुधार गरेर घरबार अगाडि बढाउँला भन्ने सोचेकी थिएँ तर यो लकडाउन र कोरोना भन्ने भाइरसले सबै बिथोल्यो । के गर्‍यो के । अहिले त म नेपाल फर्केको सपना मात्र देख्छु बिपनामा टर्की कै एक कुनामा हुन्छु ।

अन्य देश जस्तो टर्किमा धेरै नेपाली छैनन् । दूतावास पनि छैन । एजेन्ट मार्फत काम गर्नुपर्छ । अरू देशका नेपालीलाई त सरकारले स्वदेश लग्यो भन्छन् हामीलाई पहलसम्म पनि गरेन । आफै जान पनि नमिल्ने । यता पनि उस्तै छ हाल, लकडाउन र कोरोना भाइरस । म स्वदेश फर्कने भएपछि साहुनीले पनि आफ्नो बच्चा हेर्न अर्को मान्छे खोजेकी थिइन् । अब म नै जना नपाएपछि केही दिन त खान लाउन दिइन् सधैँ काम नगरी विदेशको ठाउँमा कसले पो पाल्छ र ? तर धन्न अर्को काम गर्ने सँग बच्चा रत्तिएन । त्यसैले मलाई नै फेरि काम गर्न दिइन् र बस्न खान सजिलो भएको छ । नत्र यो बिरानो देशमा म कल्पना पनि गर्न सक्दिन । एक वर्षको भिसा थप्न साहु साहुनीले नै पहल गरिदिएर मलाई सजिलो भयो । अब अर्को अप्रिलसम्म त म नि नेपाल आइपुग्छु होला ।

दिनहुँ समाचारमा नेपालबारे उपडेट भइराख्छु । नेपालमा कोरोना बढेको देख्दा अत्यास लाग्छ । टर्की त धनी देश हो, स्वास्थ्य उपचार पनि राम्रो छ । कोरोना लागे पनि बेलैमा उपचार र स्याहार हुन्छ, निको हुने सम्भावना बढी नै हुन्छ तर नेपालमा गाह्रो छ । सरकारको पारा झन् त्यस्तो छ । जनतामा त्रास छ । दिनदिनै कोरोना बढेको बढ्यै छ तर सरकारले अझै नियन्त्रण गर्न सकेको छैन । यतिका महिना भइसक्यो । नियन्त्रणको त परकै कुरा सान्त्वना दिन पनि जान्या छैन । नेपालमा त उपचार पनि महँगो हुन्छ  । त्यसमाथि मान्छेहरूले डाक्टरलाई नै छि छि दूर दूर गरे भन्ने सुन्छु । त्यस्तो भयो भने त कसरी कोरोना नियन्त्रण हुन्छ त ? कसरी कोरोनासँगको लडाइँमा मान्छेहरूमा हिम्मत आउँछ ।

छोरीको साह्रै याद आउँछ । यता अरूको बच्चा हेर्नु परेको छ उता आफ्नो बच्चाको हाल के होला त्यो पनि यस्तो बेला । हुन त हजुरबा हजुरआमासँग बसेकी छे तर उहाँहरू पनि काम गर्न जानुपर्छ कता कता हिँड्नु पर्छ । त्यतैबाट कोरोना नै आउँछ कि भन्ने डर लागिरहन्छ ।

यहाँ साहु साहुनी दुवै दिनहुँ काममा जान्छन् । कति बेला कोरोना भाइरस ल्याएर सार्छन् कि जस्तो लाग्छ । अत्यास  लागिसक्यो । जे जसरी भए पनि नेपाल फर्कन पाए आफ्नै छोरी परिवारसँग बस्न पाउँथे । ढुक्क हुन्थ्यो । अब त नेपाल सरकारले लैजाने छाँटकाँट छैन । मैले त आस गर्न पनि छोडिसकेँ । कहिले कोरोना सकिन्छ ? दुवै देशमा (टर्की र नेपाल)  लकडाउन खुल्छ र आफ्नै देश नेपाल फर्कन पाउँछु भन्ने सपना बुनेर बस्नु परेको छ । यो गाह्रो अवस्थामा आफूले आफैलाई हिम्मत दिनु बाहेक अरू के नै गर्न सकिँदो रहेछ र हामी निरीह बिदेसिएका नागरिकले ।

यो कथा  अम्बिका भण्डारीसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी  रुपा खड्काले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।