‘फुड बैङ्क’ भोको पेटको साथी 

म एउटा व्यवसायी हुँ । सिराहामा सानो होटेल छ । त्यही चलाउँदै आएको थिएँ । कोरोनाको बेला क्वारेनटिनमा क्यान्टिन सञ्चालन गर्ने अफर आयो। करोनाको डरले कसैले पनि क्यान्टिन सञ्चालन गर्न मानेका थिएनन् र त्यो अफर नगरपालिकाले मलाई दियो । वैशाखदेखि म क्वारेनटिनमा बसेर क्यान्टिन सञ्चालन गरिरहेको छु । मैले यसलाई यस्तो कहरमा अवसरको रूपमा लिएँ । कोरोना जोखिम त धेरै नै थियो । सुरु सुरुमा सब ठिकठाक भए पनि १५ दिनपछि एकै पटक १८ जनामा कोरोना देखियो । त्यो देखेर सबै त्रसित भए । आत्तिएका थिए । सबैलाई जसोतसो सम्झाइ बुझाई गरेर काममा लगाएँ । क्वारेनटिनमा रहेका मानिसहरूलाई खाना,  खाजा,  तातो पानी खुवाउने जिम्मा लिएँ । अनि होटेल पनि बन्द भएकोले अहिले क्यान्टिन चलाई रहेको छु ।

क्वारेनटिनमा क्यान्टिन सञ्चालन गर्दा सुरु सुरुमा त मलाई खास डर लागेन । यस्तो अप्ठेरो समयमा सहयोग गर्नुपर्छ भन्ने लाग्यो । धेरैलाई कोरोना सङ्क्रमण देखिँदै थियो। हामी पनि पूर्ण रूपले सावधानी अपनाएर काम गरिएको थियौँ । तर क्यान्टिन व्यवस्थापक  एक जनालाई पनि कोरोना पोजेटिभ देखिएपछि भने मनमा डर सुरु भयो । म पनि उहासंग हाँस्ने बोल्ने गरेको थिएँ ‘पक्कै पनि मलाई सङ्क्रमण देखिन्छ’ भन्ने कुरामा ढुक्क थिए । मन साह्रो आत्तियो । करिब दुई हप्ता क्वारेनटिनमा बसेँ । त्यस क्रममा मलाई पनि लक्षण देखिए जस्तो लाग्ने । त्यति बेला मनमा अनेकौँ कुरा आए । जे पनि कोरोनाकै लक्षण जस्तै लाग्थ्यो । सास फेर्न गाह्रो हुने, साँझ सुतेपछि बिहान उठ्न दिन्न जस्तो लाग्थ्यो । छातीमा केही अड्केको जस्तो हुन्थ्यो । खाना नरुच्ने हुन्थ्यो । एक जना डाक्टर साथी हुनुहुन्छ उहाँलाई दिनमा २० पटक फोन गरेर आफ्नो लक्षण बताउने गर्थेँ । पछि थाहा भयो त्यो त सब डराएर रहेछ । ‘वनको बाघले खाला नखाला मनको बाघले खान्छ’ भनेझैँ बाहिर नलागे पनि मनभित्र भित्र मलाई कोभिड भइसकेको थियो । यसबारे कसैलाई भन्न सक्ने अवस्था पनि थिएन । घरमा भन्यो भने टेन्सन होला भन्ने लाग्थ्यो । काम गर्ने भाइहरूलाई भनूँ भने डरले काम छोडेरै जालान् भन्ने लाग्थ्यो । करिब २ हप्तासम्म यसरी नै छटपटी रहेँ । आफ्नो मनलाई बुझाउँदै गएँ । अन्त्यमा रिपोर्ट नेगेटिभ आयो । सबै कुरा नर्मल भयो मेरो खुसीको सीमा रहेन । मृत्युलाई नजिकबाट देखेँ ।

कोरोना कहरको एउटा महत्त्वपूर्ण पाठ भनेको आफू सुरक्षित हुँदै अरूको पनि केयर गर्नु हो, यो विपद्को घडीमा एक अर्कालाई सहयोग गर्नु हो । सक्नेले नसक्नेलाई सहयोग गरेर हिम्मत साथ बाच्न प्रेरित गर्नु हो किनकि यो कोरोनाले सबैको लागि समान कहर जो लिएर आएको छ ।

रोगसँग मात्र लड्नु परेको भए पो आनन्दले सुरक्षित भएर बस्नु । यहाँ त भोक, सिस्टम सबैसँग लड्नुपर्ने स्थिति आयो ।  त्यसैले पनि यो कहरमा मलाई घरभित्र मात्र बस्नु मेरो मनले दिएन । उसै पनि अरूलाई सहयोग गर्न मन लाग्ने मेरो बानी भएकोले होला मलाई बाहिर रोगले चुनौती दिए पनि बाहिर निस्कनु सकसक हुन्थ्यो । फेरि म बाहिर लखरलखर डुल्न निस्केको पनि त होइन । म त यस्तो अप्ठ्यारो अवस्थामा अप्ठ्यारोमा परेकाहरूप्रति आफ्नो सामाजिक दायित्व निभाउन पो निस्केको हो त ।

उसै पनि समाजमा बस्ने भएपछि हामी सबैको सामाजिक दायित्व हुन्छ नै ।  फरक यत्ति हो कसैले त्यसलाई निभाउन कुनै कसर छाड्नु हुन्न भन्ने ठान्छ, कसैलाई त्यसको खास मतलब लाग्दैन । पहिलेदेखि नै समाजसेवा गर्ने रहर थियो । मलाई किन हो किन लकडाउनको सुरुदेखि नै लागिरहेथ्यो जस्तोसुकै अवस्था भए पनि आफ्नो सामाजिक दायित्व निभाउनु पर्छ, बेला यही हो अरूको लागि केही गर्ने भन्ने लागिरहन्थ्यो । झन् समाचारमा ‘लकडाउनमा मान्छेहरू भोकै परे, भोकले फलानोको मृत्यु भयो, रोगको भन्दा भोकको चिन्ता…’ भन्ने जस्ता कुराहरू सुन्दा दिक्क लाग्थ्यो, खुट्टाहरू उसै रोगको पर्बाह नगरी बाहिर निस्केर सकेको सहयोग गरौँ भनेर जुर्मुराउथे ।

अन्ततः ‘चाहियो भने लिएर जानुस्, भए दिएर जानुस्’ भन्ने नाराका साथ ‘फुड बैङ्क’ जन्मियो ।  यो लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री पुर्‍याउन ‘फुड बैङ्क’को स्थापना गर्‍यौँ । ‘फुड बैङ्क’ ले खाद्यान्न वितरण गर्दछ । लकडाउन र निषेधाज्ञाका कारण समस्या परेका विपन्न तथा निम्न वर्गका परिवारहरू भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले ‘फुड बैङ्क’को स्थापना भयो ।

सिराहा युनाइट्सले भाद्र १० गते बाट यसको सञ्चालनमा ल्याएको हो । सिराहा युनाइट्स सन् २०११ मा स्थापना भएको हो । यसले स्थापना देखि नै सामाजिक कार्य गदै आएको छ । यो कोरोना कहरको समयमा नयाँ केही गरौँ भन्ने सोचले पनि ‘फुड बैङ्क’ को स्थापना गरेका हौँ । खास गरी मैले फेसबुकमा केही फोटोहरू देखेँ यस्तै मनकारी मनहरूले ठाउँ ठाउँमा आफूले सहयोग गरेको । हामीले पनि त त्यस्तो केही गर्न सक्छौँ कि भनेर ७-८ जना साथीहरू मिलेर सल्लाह गयौँ र अभियान सुरु गयौँ । संभवत प्रदेश २ मा यस्तो अभियान पहिलो पटक सुरु भएको हो । सुरुमा हामी आफैले नै पैसा उठाएर अभियान सुरु गर्‍यौँ ।

सिराहा बजारमा स्टल राखेर यो अभियान सुरु गर्‍यौँ । पहिलो दिन जम्मा ५ जनालाई खाद्यान्न वितरण गर्‍यौँ । त्यसपछि बिस्तारै मान्छेहरू आउन थाले । सामाजिक सञ्जाल फेसबुकबाट लाइभ  दिएपछि झन् धेरैले थाहा पाए । २-३ दिनमै भिड यति बढ्यो कि हामीलाई सम्हाल्न गाह्रो भयो । सुरुका दिनमा प्रहरीले अलि चासो दिएको देखेर सिडिओ सरसँग प्रहरी सुरक्षा माग्यौँ तर उहाँले त उल्टै बन्द गर्न पो भन्नुभयो । ‘हामी तपाईँलाई सुरक्षा दिन सक्दैनौँ भिड धेरै छ, बन्द गर्नुस्’ भन्ने जवाफ दिनुभयो । प्रशासनले झन् उत्साह थपिदिएला भनेको त खिन्न पो बनाइदियो । उहाँको जवाफले केही तनाव पनि बढ्यो किनभने मान्छेहरूले हाम्रो आस गर्न थालेका थिए । भरोसा बढेको थियो । बन्द गर्ने अवस्था थिएन । त्यसैले हामीले नै केही गरेर भिड नियन्त्रण गर्नुपर्छ भनेर आफै लागि पर्यौं । सुरुमा त भिडभाड नियन्त्रण गर्न हामीलाई धेरै गाह्रो भयो । बिस्तारै सम्झाउँदै बुझाउँदै गयौँ पछि समस्या केही कम भयो ।

सर्वप्रथम त भिडभाड धेरै हुने भएकाले सामाजिक दुरी कायम गर्नु महत्त्वपूर्ण कुरा थियो । त्यसका लागि लाइन बनायौँ स्यानिटाइजरको प्रयोग गयौँ । गर्भवती, अपाङ्गता भएका र वृद्धलाई पहिलो प्राथमिकतामा राख्यौँ । राहत पाइसकेपछि आसपास बस्नै दिएनौँ । यसो गर्नाले भिडभाड पनि नियन्त्रण भयो र राहत पनि सहज रूपले वितरण भयो । कोरोना पनि कसैमा देखिएन सुखद पक्ष मान्नुपर्छ ।

अभियान सुरु गरेपछि केही मान्छेहरूले पागलहरूले पागलका लागि काम गर्दै छन् भनेर हाम्रो मजाक पनि उडाए । तर पनि हामी कत्ति पनि हतोत्साहित भएनौँ । हामीले अभियानलाई निरन्तरता दिई नै रह्यौँ । स्टलमा आउन नसक्नेलाई उहाँहरूले भनेको ठाउँमा राहत पुर्‍याई दिने गथ्यौं ।

तराईमा व्याप्त गरिबी र अशिक्षाले गहिरो प्रभाव पारेको छ । मान्छेहरूलाई रोगले भन्दा भोकले मर्ने डर यो कोरोना कहरले झन् वास्तविकतामा परिणत गरिदियो । कोरोनाले बढेको बेरोजगारीले मान्छेहरूलाई भोक भोकै बस्न बाध्य पारेको थियो । खानलाई मात्र होइन बस्नलाई पनि उस्तै समस्या थियो ।

अभियान चलाउने क्रममा धेरै खाले मान्छेहरू भेट्यौँ । राहत बाँड्न जाने क्रममा एक जना आमालाई देखेँ जसले ढलमा खाना पकाई रहनु भएको थियो । त्रिपालले छोपेको थियो । उहाँलाई राहत दिने क्रममा उहाँको मुहारमा झल्केको खुसी र आर्सीवाद अझै सम्झना आउँछ । यो त एउटा उदाहरण मात्र हो, त्यस्ता धेरै आउनु भयो । विपन्न तथा निम्न वर्गका परिवार, मजदुरहरू बढी आउँथे जसलाई एक दिन काम नगरे एक छाक खान मुस्किल हुन्थ्यो । पहिले राहतका लागि आउनेहरू धेरै हुन्थे, पछि राहत दिनेहरू पनि बढ्न थाल्यो । फेसबुक, बैङ्क, इसेवा जे-जेबाट सहज हुन्थ्यो सबैबाट सहयोग आउन थाल्यो ।

सामाजिक काम गर्दा धेरै चुनौती आउँछन् नै । हामीले पनि विभिन्न आरोप प्रत्यारोपको सामना गर्नुपर्‍यो  । ‘कोरोना सार्ने भए,  राहत भन्दै आफैले पैसा खाने भए’ जस्ता आरोप खेप्नुपर्‍यो । मान्छेहरूले पनि विश्वास गरेनन् । राहतको नाममा पारदर्शी नहुँदा पनि मान्छेहरूलाई शङ्का लाग्ने रहेछ । राहतका लागि सङ्कलन गरिएको रकम तथा खाद्यान्न र अन्य सामग्रीहरू राहतमै सक्नुपर्छ भन्ने लाग्छ । यो अभियानबाट धेरै लाभान्वित भए । लकडाउन तथा निषेधाज्ञा खुलेपछि अभियान बन्द भएको छ तर राहत वितरण कार्य भने जारी नै छ । कसैलाई आवश्यकता परेको खण्डमा फोन आयो अथवा अप्ठेरोमा परेको देखे सुनेपछि हामी अझै पनि घरमै गएर खाद्यान्न उपलब्ध गराउँछौँ ।

समाज हाम्रो हो । यो समाजको लागि हामीले नगरे कसले गर्छ । अबको बिजेनशलाई समाज केन्द्रित गर्नुपर्छ । आफूले सकेको समाजसेवा पनि गर्नुपर्छ । त्यसले सबैको भलो गर्छ नै आफैलाई पनि आनन्दको अनुभूति हुन्छ । बरु सरकारले पनि समाजमा यसरी काम गरिरहेका मनहरूलाई अझ काम गर्न, सेवा गर्न उत्साह थप्नुपर्छ । हामीले सरकारलाई चुनौती दिन यस्तो गरेको पक्कै पनि होइन, हामी त यस्तो विपद्को घडीमा सरकार सँगसँगै हातेमालो गरेर यो कहरको सामान गर्न चाहन्छौँ ।

यो कथा सिराहा युनाइट्सका जितेश कर्णसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी  पूनम डिसीले लेख्नु भएको हो ।

गाह्रो भो !

कोभिड सङ्कटले सिकाएको पाठ

भैंसी थप्ने योजना अधुरै रह्यो लकडाउन कथा

भैंसी थप्ने योजना अधुरै रह्यो

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।