सम्झिदा अहिले पनि रुन मन लाग्छ

मेरो नाम रोशना खातुन हो । मेरो त्रियुगा नगरपालिका वडा नं ३ उदयपुरमा बस्छु ।  हामी यहाँ धेरै पहिले देखि नै बस्दै आएका हौँ । मेरो ससुराहरू बि.सं २०२४ मा यहाँ आएर बसेपछि यो क्रम निरन्तर छ ।

मेरो घर र मस्जिद अगल बगलमा नै छ । चैतको दोस्रो हप्ता तिर हाम्रोमा यहाँ जमातीहरु धेरै नै थिए । त्यति बेला सी.डी.ओ कार्यालयमा गएर जमातीहरुका बारे भन्यौँ । धेरै कर गरेपछि सी.डी.ओ कार्यालयबाट मान्छेहरू आउनुभयो र हेर्नुभयो । लकडाउनका बेला कतै पठाउन मिल्दैन र केही दिन यहीँ नै बस्नु र केही आवश्यक परे भन्नु भनेर वहाँहरू जानुभयो ।

सी.डी.ओ कार्यालयका कर्मचारीले यसो भनेको ठिक १०-१२ दिन पछि उहाँहरूको कोरोना चेक गर्नु आउनुभयो । जमातीहरुको कोरोना चेक भयो। धेरैको रिपोर्ट पोजेटिभ आयो । पोजेटिभ रिपोट आएपश्चात् एका एक राती एम्बुलेन्स ल्याएर लानु भयो । त्यसपछि गाउँमा आन्दोलन नै भयो । चारैतिर पुलिस बसेर घेर्न थाले । जमातिहरुलाई लिएर गएपछि घरबाट सुरुमा मेरो देवरलाई लिएर गयो । त्यसपछि पालै पालो नन्दलाई, नन्दको भाइलाई । त्यो दिन घरबाट ४ जनालाई लिएर गयो ।

 १२ जना जमातिलाई कोरोनाको रिपोर्ट आएपछि समुदायमा सबै भन्दा धेरै तनाव हामीलाई भयो । मेरो घर मस्जिदसँगै थियो । मस्जिदलाई समस्या परेको वेलामा घरैबाट खाने कुराहरू जस्तै चामल, तरकारी, दूध, दालहरू आदि मेरो देवरले लगिदिनुहुन्थ्यो । आउने जाने धेरै भएर सुरुमा देवरलाई नै लाग्यो । देवर पछि देवरको छोरालाई, त्यसपछि मेरो भान्जालाई, नन्दलाई अनि नन्देभाईलाई । यी सबै जनालाई लिएर गयो । टोलको २ थप सहित ८ जनालाई लिएर गयो ।

त्यो बेला डर त्रास नै अर्कै किसिमको थियो । जिन्दगीमा पहिले नभएको कुरा थियो । अनुभव थिएन ।  बाहिर निस्कनै नहुने । धेरै नै डर थियो । बाहिर गेटमा पुलिसहरू बस्थे । अरू त अरू आँगनमा बसेर खाँदा समेत गेटमा लाठी हानेको थिए ।

‘तिमिहरूलाई एकचोटी भनेर पुग्दैन?’ भनेर गाली गर्थे।

भित्रै आएर पिट्ला जस्तो गर्थे । चारै तिर पुलिस नै पुलिस । बारीमा तरकारी समेत टिपेर ल्याउन पाइँदैन थियो । आफ्नै घर आँगनको बारीमा तरकारी टिप्न समेत जान पाइएन । भित्रको भित्रै ।

मनमा अनेक कुराहरू खेल्ने गर्थ्यो । यस्तो देख्नु भन्दा त बरु मरेर जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । आफ्नो मान्छेहरू कहाँ लगेर राखेको छ, के गरेको छ केही थाहा थिएन ।  उनीहरूको बारे हामीलाई केही भनेको थिएन । उनीहरूले ठुलो गुनाह गरे जस्तो गरेर गाडीमा राखेर लागेको जस्तो मात्र थियो।

 घरमा बस्दा कति दिन त हामीले खानै खाएनौ । बिहान पकाएको खाना ३ छाकसम्म पुग्थ्यो । खानै मन नलाग्ने । बिहान पकायो बेलुका त्यही रहने । धेरै टेन्सन भयो मलाई ।

सुरु सुरुमा मस्जिदमा आउने जमातिले कोरोना ल्यायो भन्ने कुरा भयो । त्यसपछि भारतमा पढ्ने मेरो देवरको छोरोले ल्यायो भन्ने हल्ला चल्यो । त्यो हल्ला चलेपछि त हामीलाई आफ्नै दाजुभाइले पनि हेर्न छाडे । सबैले मान्छेहरूले हेला गरे नराम्रो भने। हामीलाई त मान्छेहरूले समाजमा ठुलो गुनाह गरेको अपराधी जस्तो बनाइ दियो । मानौँ कि हामीले नै यो कोरोना बनाएर सबैलाई लगाइदिएको जस्तो व्यवहार गरे ।

यस्तो हल्ला चल्नुमा पत्रकारहरूको हात छ । पत्रकारहरूकै कारणले यस्तो भएको हो । समाचारहरूमा जमातीहरु पनि लुकाएर राखेको रहेछन् भन्ने आरोपहरू आयो । जबकि हामी आफैले सम्बन्धित निकाय, वडा, प्रशासनमा गएर खबर गरेका थियौँ जमातीहरुका बारे । तर उल्टै आरोप खेप्नु पर्‍यो । त्यसै गरी समाचारमा कोरोना जमातीहरुका कारण नभई भारतको युपिमा बस्ने केटाले ल्याएको भन्ने पनि आयो । पत्रिकामा यस्तो समाचार आएपछि झन् समस्या भयो । त्यो बेला मलाई यस्तो जुनी भोग्नु भन्दा बरु भुक्लुक्कै मर्न पाए हुन्थ्यो जस्तो पनि मनमा लाग्थ्यो ।

मेरो परिवार ३५ दिन आइसोलेसनमा बसेर आयो । त्यो दौरान आरोपहरू धेरै खेप्नुपर्‍यो । प्रशासनले पनि एकैचोटी सबैलाई नलाने । कुरा केही बुझाउने हैन, आउँछ परिवारको मान्छेलाई समातेर लान्छ । कुरा राम्रो सँग बुझाएको छैन सम्झाएको छैन । एम्बुलेन्सकोको आवाजले नै डर लाग्ने । एम्बुलेन्स आउने बित्तिकै डरले थुरथुर हुन्थ्यौ ।

फेरी समाचारमा ‘यति वर्षको मानिसलाई कोरोना भयो’ भनेर आउने । त्यसो हुँदा मानिसमा झन् हलचल हुने । छिमेकमा त्रास फैलिने । ‘मानिसहरू तिम्रो उमेर कति? तिम्रो उमेर कति’ ‘अब कसलाई लैजाला?’ भन्दै हिँड्ने ।

अङ्कलहरूलाई लगेपछि १५ दिन पछि हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो । अनि हामीलाई लानुभयो । तर मलाई रोग लागेको कुनै महसुस नै भएन । अस्पतालमा बरु अरू कुराहरूले तनाव दिए तर कोरोनाको कुनै लक्षण र समस्या देखिएन । मलाई एक महिना टुरमा विराटनगर गएको जस्तो लाग्थ्यो । उपचारमा हैन ।

 उता बाट फर्के पछि कोही मानिसहरू नजिक नआउने । कोही बोल्दै नबोल्ने । जताततै बार लगाएको अवस्था थियो । उता जाऊँ उतै बार, यता जाऊँ यतै बार ।  पसलहरू पनि सबै बन्द थिए । खुलेकोहरुले केही नदिने ।

पहाडी मानिसहरूलाई चाहिँ सामान दिने, यहाँको मानिसलाई नदिने गर्थे ।

‘सामानै छैन’ भन्थे ।

पैसा भएर मात्र पनि केही हुँदो रहनेछ । पैसा पनि चलेन । पैसा थियो तर खान पाइँदैनथ्यो । हामी जाँदा पसलहरू नै बन्द गरिदिने, सटर झारिदिने गरे । कसैले दिए पनि ‘परै बस’ भन्ने । अरू मानिसहरू बाहिर डुल्थे ।  हामीलाई चाहिँ डुल्न निषेध थियो । हामीलाई एक जना विष्ट भन्नेले सामान दिन्थ्यो । तर दिनमा ल्याउन पाउँदैनथ्यौँ । बिहान वा राति मात्र जानु पर्ने थियो । दिनभरि पुलिसहरू बसेका हुन्थे । निगरानी गर्थे । बिहान ४ बजे नै उठेर सामान लिइसक्नु पर्थ्यो । छिमेकीको पसलले त कुनै पनि समय सामान दिएन । तर त्यो विष्ट भन्ने छिमेकीले सहयोग गर्‍यो त्यो समय ।

 अहिलेको जनजीवन सामान्य भएको छ पहिले भन्दा । अहिले नजिक हुने, मानवीय व्यवहार गर्ने गर्छन् । त्यो बेला त हामीलाई मान्छे बराबर पनि गरेनन् ।

यो समुदायमा धेरै जातको मानिसहरू छ । कोरोना नहुँदा एकदम मिलेर बस्ने र एक आपसलाई सहयोग गर्ने समुदाय कोरोना आउनासाथ नचिनेको जस्तो गरे। पसलमा सामान मात्र दिएको भए पनि धेरै राहत हुन्थ्यो । त्यही बेलामा हाम्रो रमजानको व्रत पनि थियो । व्रतको समयमा कतै केही नपाउने ।

हामीले तरकारी खेती पनि गरेका थियौँ । तर पुरै तरकारी खेर गयो । पुरै उत्पादन कुहियो । कुनै बेच्न पाइएन । टिपेर ल्याएर खानु समेत पाइएन बेच्न त कुरै छाडिदिनुस् ।

त्यो वेलाको कुरा सम्झिदा अहिले मलाई रुन मन लाग्छ । यदि पिडा हुन्थ्यो की म भन्न सक्दिन । त्यो वेला समुदायमा अरूलाई भन्दा बढी हामीलाई पिडा भयो ।

यो कथा रोशना खातुनसंग गरीएको कुराकानीमा रहेर  बिक्रम राईले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।