तेस्रो ‘सुसाइड एटेम्प’ले सिकाएको पाठ

सधैँ अरूको कमजोरी कोट्याउने म आजकाल आफैँलाई दोषी देखिरहेकी छु । पहिला अरूको दोषले आफैँलाई सिध्याउन मन लाग्थ्यो, आजकाल आफ्नै दोष पत्ता लगाउँदा सुधार्ने कोसिस गर्छु । दोषलाई मैले नकारात्मक अर्थमा भनिरहेकी छैन ।

तपाईँलाई विश्वासै नलाग्ला, १९ वर्ष पुग्दासम्म मैले तीन पटक ‘सुसाइड एटेम्प’ गरेँ ।

‘तीन पटक ?’

सुन्नेहरू आश्चर्य मान्दै सोच्छन्, ‘यो उमेरमा के आइपर्‍यो ?’

आजभन्दा तीन महिना अगाडि सोधेको भए ‘संसारको सबैभन्दा ठुलो ‘अभागी’ मै हुँ’ भन्थेँ हुँला । तर, आज म आत्मविश्वासका साथ भन्न सक्छु, ‘म त्यति बेला भ्रममा रहेछु ।’

आत्महत्या गर्छु भनेर गरिने होइन रहेछ, गर्दिन भनेर पनि नगरी बस्न सकिने रहेनछ । अर्थात् आत्महत्या योजनामा हुने घटना नभएर आकस्मिक हुने दुर्घटना रहेछ । यस्तो दुर्घटना जसले सपनाको संसारलाई क्षतविक्षत पार्छ । तीव्र गतिमा गुडिरहेको गाडीको चालकले ‘स्पिड ब्रेक’ नदेख्दा निम्तिने खतरा हुन्छ नि, हो आत्महत्या त्यस्तै रहेछ ।  एक स्पिड ब्रेकरले निम्त्याउने दुर्घटना कसले कल्पना गरेको हुन्छ र ?

म सपनाविहीन केटी हुँ । मेरो केही उद्देश्य छैन ।

‘महत्त्वकाक्षांविहीन मान्छेले पनि किन आत्महत्या गर्ला ?’

तपाईँको मनमा यस्तै प्रश्न आएको भए ‘म अपवाद हुँ, अपवादलाई नियमको परवाह हुन्न’ मेरो जवाफ यस्तै-यस्तै हुन्छ । घटना होस् या दुर्घटना त्यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष कारण लुकेको हुन्छ भन्छन् मान्छेहरू ।

कहिलेकाहीँ सोच्छु, ‘म जस्तो सपनाविहीन केटीले आत्महत्या गर्नुपर्ने कारण के के थिए होला ?’

धेरै बेर घोत्लिएपछि जवाफ पाउँछु, ‘आफ्नाहरूको माया, एक्लोपन र इज्जत ।’

आफ्नाहरूको माया के हो मैले आजसम्म महसुस गर्न सकेको छैन । आमा ७ वर्षमा बितिन् । बाबा पनि आमाको पथ पछ्याउँदै जानुभयो । दिदी पोइल हिँडिन् । म त टुहुरी भएँ । टुहुरी केटीलाई यो समाजले माया गर्न कहाँ जानेको छ र ?

मामाघरमा बसेर उपेक्षा दया र  तिरस्कारको जिन्दगी बाँच्ने क्रममा मैले १२ कक्षा पास गरेँ । त्यतिन्जेल म मामा माइजूको नजरमा बिग्रेको केटी साबित भइसकेकी थिएँ । ‘किन र कसरी त्यस्ती भएँ ’ त्यसको जवाफ आफैँलाई थाहा छैन ।  बिग्रनु र सप्रिनुको मापदण्ड पनि मलाई अवगत छैनन् ।

न्युटनको चालसम्बन्धी खई कुन्नि कुन नियमले (तेस्रो नियम) भन्छ रे, ‘हरेक कार्यको बराबर तर विपरीत प्रतिक्रिया हुन्छ ।’

म बिग्रनुको कारण यस्तै केही होला तर, ठ्याक्कै यकिनसाथ भन्न  सक्दिनँ । मामा माइजूको घर छोड्नुको कारणचाहिँ इज्जत र माया नपाएरै थियो भन्ने निष्कर्षमा छु ।

पहिला पहिला फेसबुक चलाउँदै गर्दा साथीभाइको सुखीखुशी परिवार देख्थेँ । त्यो बेला आमाको उग्र याद आउँथ्यो । आमाको याद र मामा माइजूको उपेक्षाले म डिप्रेसनमा गइसकेको थिए । भगवानले पनि एक्लो पार्नलाई जन्म दिएका हुन जस्तो लाग्थ्यो  । तीन वर्षदेखि डिप्रेसनको दबाइले कमजोर पार्दै लगेको थियो ।

कोटेश्वरमा ४ हजारको कोठा लिएकी थिएँ । एउटा म्यानपावर कम्पनीको रिसेप्सनमा जागिर गरेबापत मासिक ८ हजार हात पर्थ्यो । त्यो ८ हजारले  कोठाको भाडा तिर्नु कि, खानु कि, डिप्रेसनको दबाइ किन्नू ? म सधैँ तनावमा हुन्थेँ। पैसा नभएपछि आत्मविश्वास नआउने रहेछ । आत्मविश्वासविहीन मान्छे नै दुर्घटनामा पर्ने रहेछ ।

चैतमा लकडाउन भएपछि ८ हजार आउने जागिर पनि गयो । आफ्नाहरू कोही नभएकाले मेरो त बिजोक नै भयो । लकडाउन लम्बिँदै गएपछि म भोक भोकै दिन कट्न थाले । मागेर खान आत्मसम्मानले दिँदैनथ्यो । सापटी माग्नलाई पनि त्यति धेरै साथीभाइ थिएनन् । लकडाउनको केही दिन पानीको भरमा पनि काटे ।

भोको पेट, एक्लो ज्यान, डिप्रेसनको बिमारी र वाक्क लाग्दो लकडाउन । मान्छेको मनस्थिति बिग्रन अरू के चाहियो ? त्यो दिन आमाको मुख हेर्ने दिन थियो । फेसबुक चलाइरहँदा धेरै साथीभाइको आमाको तस्बिर देखेँ । साथीभाइको सुखी परिवारको फोटो देख्दा आमाको धेरै याद आयो । अनायासै आँखाबाट आशुको बलिन्द्र धारा खस्न थाले । मनमनै लाग्यो, ‘मेरो पनि आमा भइदिएको भए यसरी भोक भोकै रात कटाउनु पर्ने थिएन होला ?’

त्यति बेला म एउटा अपरिचित केटासँग च्याट पनि गरिरहेकी थिएँ ।  केही दिनदेखि ऊसँग बाक्लै कुरा हुन्थ्यो । आमाको यादमा भावुक भएको बेला उसलाई मैले अनायासै सोधेँ, ‘ तिमी मसँग बिहे गर्छौ ?’

‘गर्छु नि डार्लिङ ।’

त्यति छोटो म्यासेजले मलाई असीम खुसी दियो । आँसु पुछ्दै आग्रह गरेँ, ‘यदि साँच्चै माया गर्छौ भने मलाई भोलि नै बिहे गर ।’

उताबाट रुन्चे हाँसोको ‘इमोजी’ आयो ।

‘सिरियस कुरा गर्दै छु,’ मैले जवाफ फर्काए ।

त्यो बेला मलाई आमाको याद र एक्लोपनले धेरै सताएको थियो । सहारा दिने कोही भए खुसीमै जिन्दगी बित्छ जस्तो लाग्थ्यो । मैले एक्लोपन हटाउनलाई साथी खोजिरहेकी थिएँ । मसँग त्यो बेला अरू विकल्प थिएन । लकडाउन उसै पनि मुड खराब बनाइराखेको थियो । अझै पनि त्यो बेला ठिक गरे या बेठीक गरेँ यकिनसाथ भन्न सक्दिनँ । तर, आफ्नै प्रस्तावले मलाई तेस्रो पटक ‘सुसाइड एटेम्प’ गरायो ।

अब त कुरा बुझिसक्नु भयो होला मेरो प्रस्ताव उसले लत्त्यायो । होइन, होइन नराम्ररी लत्त्यायो । ‘गफ भएको एक हप्ता भएको भएको छैन, बिहेको कुरा, के सारो हतार हो ? गर्न मन लागेको कुरा गर्नलाई बिहेले छेक्छ र ?’ उत्ताउलो इमोजी पठाउँदै उसले लेखेको थियो, ‘तिमी बोलाऊ मात्रै जहाँ भन्यो त्यही आइदिन्छु, लकडाउनले मलाई छेक्दैन डार्लिङ ।’

गल्ती मेरै थियो । एक हप्ता कुरा गरेको मान्छेलाई बिहेको प्रस्ताव राखेकी थिएँ । त्यसलाई नै भन्छन् क्यारे मानसिक असन्तुलन । अहिले म आफैँलाई त्यही लाग्छ । मानसिक असन्तुलनको परिणाम थियो त्यो । तर, मानसिक असन्तुलन भएको मान्छेलाई पनि अश्लील कुरा मन नपर्ने रहेछ । मैले त्यो बेला रिसाउँदै लेखेको थिएँ, ‘सबै केटाहरू बोका हुँदा रहेछन् ।’

ऊ झन् के कम, लेख्यो, ‘कस्तो साइको केटी रै छे, चिन्नु न जान्नेकोलाई बिहे गर भन्छे, उल्टै सत्य सावित्री पल्टिन्छे ।’

मानसिक रोगको औषधि खाइरहेको मलाई ‘साइको’ भन्दा खई कस्तो असर पर्‍यो अहिले याद छैन । तेस्रो दिन म एउटा अस्पतालको इमर्जेन्सी कक्षमा थिए । होसमा आएको बेला डाक्टर तथा नर्सहरू मेरो बारेमा सोध्दै थिए, ‘ तिमीले कति वटा औषधि खायौ ?’

मैले त्यो रात सम्झने कोसिस गरेँ । तर, पूरा दृश्य स्मृतिमा आएन ।  सम्झेको यत्ति थियो, आमाको याद र त्यो केटाको अश्लील म्यासेजले म रन्थनिएकी थिएँ । ममीको फोटो राखेर ‘आइ मिस यु ममी’ भनेर लास्ट फेसबुक स्ट्याटस अपडेट गरेको थिएँ । अनि भएभरका डिप्रेसनको औषधि निकालेर एकै पटक खाएको थिएँ ।’

मैले आफूले सम्झेँसम्मको कुरा डाक्टरलाई बताएँ ।

म एकदमै कमजोर महसुस गरिरहेकी थिए । सलाइन पानी चलाइएको थियो। म अस्पतालसम्म कसले र कसरी ल्यायो भन्ने कुरा सोच्न थाले । तर, छेउछाउमा मानिस नभएकाले मेरो जिज्ञासा मेटाउने कोही भएनन् ।

एक छिनपछि एउटा मोटे मोटे केटो मेरो छेउमा आएर भन्यो, ‘तिम्रो आफ्नाहरू कोही छैनन्, नम्बर देऊ त फोन गरेर खबर गर्नुपर्‍यो ।’

मैले ‘कोही छैनन् एक्ली हुँ’ भने। मेरो जवाफले ऊ खङ्ग्रङ्ग भयो । ऊ तर्सेको देख्दा प्रस्ट भए, ‘मेराबारेमा उसलाई केही थाहा रहनेछ ।’

अँ साँच्ची मलाई पनि उसका बारेमा केही थाहा थिएन । कसरी अस्पताल ल्यायो , मेरो कोठासम्म ऊ कसरी पुग्यो ? को हो ऊ ?

यस्तै प्रश्नहरू मनमा खेलाएर टोलाइरहेको बेला उसले भन्यो, ‘तिमीले तीन दिनसम्म ढोका नखोलेपछि तिम्रो घरबेटीले ढोका तोडेका रहेछन्, तिमीलाई बेहोस देखेपछि उनीहरू अत्तालिँदै बाटामा निस्केका रहेछन् । त्यही बाटोमा म हिँडेको बेला उनीहरूले मलाई भेटे र अस्पताल पुर्‍याउन आग्रह गरे । अनि मैले अस्पताल ल्याए ।’

कुरा सुन्दै जाँदा ऊ पत्रकार रहेछ । लकडाउनको बेला मलाई अस्पताल ल्याउने गाडी नभेटेपछि उसको बाइक रोकेर मलाई अस्पताल पुर्‍याउन आग्रह गरेका रहेछन् । उसको कुरा सुनेर मलाई धेरै पश्चात्ताप महसुस भयो । आफैँप्रति घृणा जाग्यो । तर, केही गर्ने तागत थिएन ।

मेरा घरबेटी मलाई छाडेर गइसकेका रहेछन् । केही समयपछि उसका साथीहरू आए । निजी अस्पतालको इमर्जेन्सीमा बिल धेरै उठिसकेको थियो । उनीहरू सरकारी अस्पताल सार्ने सल्लाह गर्दै थिए । फोनमा बोलेको सुन्दा म प्रस्ट भइसकेको थिए, ‘कुनै पनि सरकारी अस्पतालमा आइसियु छैन ।’

पत्रकारको त सोर्सफोर्स लाग्दो रहेछ क्यारे । दुई/चार ठाउँ फोन घुमाएपछि उसले एउटा सरकारी अस्पतालमा आइसियु मिलायो । त्यहाँ गएपछि डाक्टरले भने, ‘औषधिको ओभर डोज भएकाले जुनसुकै बेला मन्टी अर्गान फेल हुन सक्छ ।’

डाक्टरको कुरा सुनेर मभन्दा ऊ डरायो । मर्न ठिक्क परेकी मलाई डरभन्दा पनि उसको माया लागेर आयो । अफिस हिँडेको पत्रकार एउटा अञ्जना केटीलाई सहयोग गर्दै गरेको देख्दा आँखाबाट आँसु खसे । महामारीको बेला र उसका साथीले पहिलो दिन नै २५-३० हजार खर्च गरिसकेका थिए ।

लगातार पाँच दिन ऊ र उसका साथीले मलाई अस्पतालमा रुगे । छैटौँ दिन डिस्चार्ज भएपछि मलाई कहाँ लाने समस्या थियो । उनीहरूले एउटा संस्था खोजिसकेका रहेछन् । उनीहरूले मलाई त्यही संस्थामा छोडेर घर फर्किए ।  संस्था राम्रो छ, काउन्सिलसङ हुन्छ । खाना बस्नको राम्रो व्यवस्था छ । मलाई उद्धार गर्नेहरू बेला बेलामा भेट्न आउँछन् । खुसी लाग्छ । आफ्नोपन महसुस गर्न थालेको छु । अस्ति आउँदा भन्दै थिए, ‘एउटा राम्रो जागिर मिलाइदिने रे ।’

अहिले म आत्म समीक्षा गरिरहेको छु । सम्झँदा मेरो विगत त्यति सारो कुरूप पनि थिएन की जस्तो लाग्छ । अब त आत्मविश्वास पनि विकास भएको छ। डिप्रेसन पनि निको हुँदै गएको छ । जागिर पाएपछि मैले मलाई बचाउनेहरूको पैसा तिर्छु । आजकाल बारम्बार एउटा प्रश्नले घोचिरहन्छ, ‘के मैले चौथो पटक ‘सुसाइड एटेम्प’ गर्ने सम्भावना कति छ ?’ यसको उत्तर अझै पत्ता लगाउन सकेको छुइन ।  यति कामना छ, ‘फेरि दुर्घटना नहोस्।’

कामना त पहिला पनि गरैकै थिए । परिस्थिति खराब भएपछि कामनाले काम नगर्ने रहेछ । ‘गरेर देखाउँछु’ भन्ने कुरा बिर्सेर ‘मरेर देखाउँछु’ भन्ने ‘इगो’ जाग्दो रहेछ । कता-कता मनमा लागिरहन्छ, ‘लकडाउन नभएको भए मेरो जागिर जाने थिएँ । जागिर नगएको भए मेरो त्यो अवस्था आउने थिएन ।’

मन त हो बदलिरहन्छ अनि आफैँलाई भन्छु, ‘मेरो त्यो अवस्था नआएको भए माया गर्ने मान्छेहरू पनि हुन्छन् भन्ने महसुस हुने थिएन ।’ अहिले  जस्तो सुकै खराब परिस्थितिले पनि पाठ सिकाउँदो रहेछ भनेर चित्त बुझाइरहेको छु । आफ्नोपन महसुस गरेकी छु, यो नै मेरो जिन्दगीको सबैभन्दा ठुलो उपलब्धि हो ।’

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।