यो अन्योल कहिलेसम्म..?

चैत ११ गते लकडाउन भयो । फाटफुट कोरोनाको सङ्ख्या देखिन थाल्यो । हामी परीक्षा सकेर रिजल्टको तयारीमा थियौँ । लकडाउन भएपछि विद्यालयमा गएर रिजल्ट सुनाउन सकेनौँ । सुरुका केही महिना घरमै बस्यौँ । बिस्तारै स्थिति सामान्य होला नि ‘केही दिन पर्खौँ न त’ भन्दै कुरेर बस्यौँ । तर एक दिन, दुई दिन गर्दै महिनै बित्दा पनि स्थिति सामान्य हुने छाँटकाँट नदेखिएपछि सबै स्टार्फहरुसँग छलफल गरेर अनलाइनबाट रिजल्ट सुनाउने निर्णय गर्‍यौँ । अनि निर्णय गरेअनुरूप फेसबुकबाट रिजल्ट सार्वजनिक गर्‍यौँ । सबैलाई आफ्नो रिजल्ट सुनाउन क्लास टिचरसँग सम्पर्क गर्न भन्यौँ । बिस्तारै सबै सम्पर्कमा आएर आफ्नो रिजल्ट हेरे ।

वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनुपर्ने थियो । अफसोस,  हामीले त्यो पनि समयमा सुरु गर्न पाएनौँ । त्यसैले अलि चिन्तित भयौँ । अरू शिक्षकभन्दा मेरो जिम्मेवारी अलिक फरक थियो ।  त्यसैले पनि होला प्रधानाध्यापकको नाताले पनि मैले केही गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो । तर अहँ केही गर्न सकिन । मनमा लागेर मात्र केही नहुने रहेछ यति समयले साथ दिएँ भने । विद्यार्थीको लागि केही गर्न नसकेकोमा साह्रै दुःख लाग्थ्यो ।

प्रशासनिक कामहरूको लागि कहिलेकाहीँ विद्यालय गईरहन्थें । सधैँ सदाबहार भई रहने ठाउँ त्यति बेला सुनसान लाग्थ्यो । के गर्ने कसो गर्ने झन् पिरोलिन्थेँ । विद्यार्थीहरूको भविष्य सम्झेर चिन्ता लाग्थ्यो । अरूलाई पो एक हप्ता, दुई हप्ता, एक महिना त हो नि यति दिन स्कुल बन्द हुँदा केही हुन्न जस्तो लाग्थ्यो होला तर त्यही एक हप्ता, दुई हप्ता, एक महिना भन्दा भन्दै यो वर्षको आधि शैक्षिक सत्र खेर गएको कसले बुझ्नु र ? त्यसै त सामुदायिक विद्यालयका विद्यार्थीहरूको पढाइको गुणस्तर बढाउन अलि च्यालेन्जिङ्ग नै हुन्छ जहिले । आधा महिनासम्म नपढ्दा विद्यार्थीको हालत कस्तो होला भन्ने सम्झिँदा पनि डर लाग्थ्यो । कतै कुलतमा पो लाग्ने हुन् कि,  न पढ्नै छाड्ने पो हुन् कि यस्तै यस्तै नाना थरी कुराहरूले सताई रहन्थ्यो । घरमा मेरो छोरालाई हेर्थेँ । हामी निरन्तर छलफलमै थियौँ । म मात्रै होइन सबै शिक्षकशिक्षिकाहरु चिन्तित हुनुहुन्थ्यो । ‘हुन त सबैको अवस्था यस्तै छ अहिले भनेर’ चित्त बुझाउँथ्यौँ ।

अन्ततः स्कुल खोल्नुपर्ने सरकारको निर्णयसँगै हामीले पनि खोल्यौँ । पढाई भने सुरु भएन । त्यसपछि हामीले सर म्याडमहरू स्कुल आउने अनि भर्ना लिने र पुस्तक वितरण गर्ने निर्णय गर्‍यौँ । सर म्याडमहरू टाढा टाढाबाट आउनुहुन्थ्यो । कोरोना सङ्क्रमण बढ्ने जोखिम त थिदैथियो । त्यसैले ५, ६ जनाको ग्रुप बनाएर पालै पालो गर्दै  मास्कको प्रयोग गरेर, सामाजिक दुरी कायम गर्दै पुस्तक वितरण गर्‍यौँ ।

नयाँ भर्ना गर्नुपर्ने तथा पुस्तक वितरण गर्नुपर्ने भयो । त्यति बेला पनि फाटफुट विद्यार्थीहरू अभिभावकका साथमा आउँथे । उनीहरूले पनि पढ्न नपाएको गुनासो गर्थे । त्यति बेला नाजवाफ हुन्थ्यौँ अनि सम्झाउँथ्यौँ ‘केही समय पर्खौँ न सब ठिक हुन्छ । घरमा पढ्दै गर्नु केही समस्या भए फोनमा सोध्नु’ भनेर भन्थ्यौँ । के गर्नु सबै कुरा हामीले चाहेर मात्र पनि कहाँ हुँदो रहेछ र ।

 पहिलाको भन्दा विद्यालयमा अलि चहलपहल त बढ्यो तर त्यो पनि केही समयका लागि मात्रै रह्यो । अभिभावकको चिन्ता, विद्यार्थीहरूको निराशपनले मन झन् खिन्न हुन्थ्यो । पुस्तक वितरणको काम सकेपछि फेरि विद्यालय खाली खाली सुनसान लाग्न थाल्यो । त्यति बेला विध्यार्थीहरुको एकदमै न्यास्रो लाग्थ्यो । विद्यार्थीको चहलपहल, घण्टीको टिन्न टिन्न आवाजले वातावरण नै अर्कै हुने रहेछ । हामी शिक्षकशिक्षिकाहरुलाई त यो सब कुराको लत बसिसकेछ जस्तो पो लाग्यो । कोरोना कहरको समयमा त्यस्तो थिएन । चारै तिर खाली खाली सुनसान सन्नाटा मात्र । त्यसैले पनि आफू केही कामहरूले स्कुल गई रहँदा पनि स्कुल स्कुल जस्तो नलागेको होला ।

शिक्षक भएर मात्रै होइन म आफै अभिभावक भएकोले पनि यत्रो लामो ग्यापमा बालबालिकाहरूको चिन्ता लाग्ने रहेछ । हुन त हाम्रो विद्यालयका विद्यार्थीहरू एकदमै अनुशासित छन् तर पनि यस्तो परिस्थिति कहिल्यै नभोगेकोले होला के के सोचाइहरू मनमा आउने रहेछ ।

हुन त नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को गाइडलाइन जारी गरेसँगै सामाजिक दूरी कायम राखेर विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि मात्र विद्यालयहरू खुल्न थालेका हुन् । ढिलै भए पनि सरकारले विद्यालयहरू खोल्ने अनुमति दियो । सरकारको यस निर्णयले सबैलाई खुसी पनि तुल्यायो । करिब ५ महिनापछि विद्यालय खुलेको छ । विद्यार्थीहरू निक्कै उत्साहित छन् । विद्यार्थीहरूको उत्साह देख्दा हामी शिक्षकहरू पनि उत्साहित छौँ । सरकारको असोजदेखि विद्यालयहरू खुल्ने निर्णय अनुसार असोज ४ गतेदेखि हामीले पनि विद्यालय सुरु गर्‍यौँ । विद्यालयले स्वास्थ्य सुरक्षा मापदण्डलाई पालन गरेर पठनपाठन सुरु गरेको छ ।

हामीले घोराही उपमहानगरपालिका शिक्षा शाखासँग समन्वय गरेर नै विद्यालय सञ्चालन गरेका हौँ । हामीलाई अनलाइन , समुदायमा गएर तथा विद्यालयमा उपस्थिति गराएर पढाउन विकल्प दिइएको थियो । ती मध्य विद्यालयमा उपस्थिति गराएर पढाउन उपयुक्त लाग्यो र हामी त्यसै गरी पढाउने निर्णयअनुरूप विद्यालयमा पठनपाठन सुरु गयौँ । समुदायमा गएर पढाउँदा कोरोना सङ्क्रमण जोखिम झन् उच्च रहन्छ जस्तो पनि लाग्यो अनि गाउँको विद्यालयमा इन्टरनेट पहुँच नहुँदा अलि गाह्रो हुने जस्तो लाग्यो । त्यसैले विद्यालय नै खोल्ने निर्णय गयौँ ।

त्यसका लागि सबै शिक्षक शिक्षिका , विद्यार्थी र अभिभावकहरूसँग छलफल पनि गर्‍यौँ । विद्यालय खोल्न उहाँहरू सबै तयार भएको बताएपछि उपमहानगरले पनि विद्यालय खोल्न (सहजीकरण) अनुमति दियो ।

 कोरोना सङ्क्रमणको सङ्ख्या घट्नुको साटो दिनप्रतिदिन बढी रहेको छ । यस्तो अवस्थामा पढाउनु त एकदमै चुनौती छ तर पनि केही राम्रो गर्ने प्रयास गरिरहेका छौँ । स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दुरी कायम गरेर , स्यानिटाइजर , साबुन पानी लगायतको व्यवस्था गरेका छौँ ।

सबैलाई फोन गरेर विद्यालय खुल्ने जानकारी गराएका थियौँ । फोनको आधारमा पनि पहिलो दिन ५०, ६० जना विद्यार्थीहरू आएका थिए । सामाजिक दुरी कायम गर्दै ‘एक बेन्च एक विद्यार्थी’ राख्ने नियम अनुसार नै विद्यार्थीलाई बसाएका छौँ । विद्यार्थीहरूले पनि अनुशासित ढङ्गले नियम पालन गरिरहेका छन् । मास्क नलगाए विद्यार्थीलाई कक्षामा बस्न दिँदैनौँ । मास्क किन्न नसक्ने परिवारबाट आएका विद्यार्थीलाई विद्यालयले मास्क उपलब्ध गराउने व्यवस्था मिलाएका छौँ ।

पढाइमा कमजोर तथा आर्थिक अवस्था कमजोर भएका परिवारबाट बहने विद्यार्थी अझै पढ्न आएका छैन । किन नआएका हुन् हामीले सोधखोज गर्ने अभिभावकलाई सम्झाउने प्रयास गरिरहेका छौँ । केही अभिभावकहरूले भने कोरोना सर्छ भनेर अझै पनि पठाउन मानिरहनु भएको छैन । हामीले पूर्ण रूपले सावधानी अपनाएका छौँ,  मास्क स्यानिटाइजर तथा सामाजिक दुरी पनि कायम गरेर पडाउँछौँ, तपाईँहरू नडराउनुस् । केही भइहाले पनि उपचारको व्यवस्था मिलाई दिन्छौँ भनेर निरन्तर भनिरहेका छौँ ।

विद्यालयका दुई जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएको थाहा पाएपछि झन् अभिभावक तथा विद्यार्थीहरू त्रसित थिए । सम्झाउन त गाह्रो भयो । केहीले बुझ्नु भयो त केहीलाई सम्झाउने बुझाउने प्रयास गरिरहेका छौँ ।

निजी स्कुलबाट सामुदायिक स्कुलमा पढ्न आउने विद्यार्थीको सङ्ख्या पनि बढेको छ । विद्यार्थीको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमणको जोखिम त छ नै तर पनि व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौँ । विद्यार्थीलाई ग्रुपमा विभाजन गरेर आ-आफ्नो पालोमा पढाउने गर्छौँ । सामान्य दिनभन्दा केही अप्ठेरो महसुस त हुन्छ तर विद्यार्थीको लागि एउटा राम्रो अवसर पनि भएको छ । विद्यार्थीले आफ्नो मूल्याङ्कन आफै गर्न पाउँछ । पढाउने तरीकामा परिवर्तन आएको छ ।

सरकारले पाठ्यक्रम परिमार्जन गरेर निर्देशिका बनाई दिएकाले पढाई सम्पन्न गर्न पनि खासै समस्या छैन । आगामी चैत सम्म १ सय ५१ दिनको अवधिमा पाठ्य भार पुरा गर्न पनि भनिएको छ । यसले विद्यार्थीको पढाइमा केही असर त गर्छ तर केही नहुनु भन्दा थोरै सहयोग यसले पक्कै पनि गर्छ भन्ने लागेको छ । नत्र त विध्यार्थीहरुको एक वर्ष व्यर्थ हुने डर अझ त्यो डरभन्दा पनि ठुलो डर उनीहरूको आफ्नो भविष्यसँगको सपना अनि योजना भताभुङ्ग हुने अर्को डर । त्यसैले पनि विकल्पहरू त हामीले दिनु नै पर्छ भन्ने लाग्छ मलाई ।

बिस्तारै सबै सामान्य होला जस्तो लाग्दै थियो तर अब फेरि लकडाउन हुने हल्ला छ । फेरि लकडाउन भयो भने पढाइमा असर गर्छ । विद्यालय बन्द गर्नुपर्ने हुन्छ । विद्यालय बन्द हुनु भनेको फेरि घुमिफिरी हामीलाई त्यही तनावहरू थपिनु हो जस्तै छोटो समयमै कोर्स पुरा गर्न नसक्नु, निजी स्रोतबाट पढाउने शिक्षकहरूलाई तलब दिन नसक्नु, विद्यार्थीहरूले पढ्न नपाउनु ।

केही विद्यालयका विद्यार्थीहरूमा कोरोना देखियो भन्ने समाचार पनि सुन्छु । विद्यार्थीमा कोरोना देखियो भने पनि विद्यालय बन्द हुन सक्छ । त्यसैले त्यस्तो अवस्थाको सृजना नहोस् भनेर हामी यस्तो असहज अवस्थामा पनि स्कुल खोल्नेहरू धेरै सचेत हुनुपर्छ र हामी छौँ पनि ।

हुन त यस्तो कठिन परिस्थितिमा विद्यालय सञ्चालन गर्न धेरै गाह्रो हुने रहेछ तर चाह्यो भने असम्भव नहुने भने केही रहेनछ है । जहाँ समस्या त्यहाँ उपाय भनेरै केही न केही उपाय त जस्तो सुकै परिस्थितिमा नि निकाल्न सकिँदो रहेछ । यो कोरोना कहरमा पहिलाभन्दा अलि केही चनाखो त हुनुपर्छ नै तर पनि यसलाई अब स्विकार्दै अगाडि बढ्नुको विकल्प छैन जस्तो लाग्छ । हुन त बिचमा लकडाउन खुले पनि विद्यालयलाई निषेधित क्षेत्रमै राख्यो सरकारले । अहिले पनि पूर्ण रूपले खुलिसकेको छैन । बल्लबल्ल खुल्न थाले पनि फेरि ‘आफूखुसी विद्यालय खोलेर सङ्कट आए हामी जिम्मेवार छैनौँ’ भनेर शिक्षा मन्त्रालयको अभिव्यक्तिले अझ राम्रो समन्वय नदेख्दा हामी अझै अलमलमै छौँ । कति ठाउँमा त खुल्न थालेका विद्यालयहरू पनि फेरि बन्द हुन थालिसके भन्ने सुन्छु ।  खै अब यो अन्योल कहिलेसम्म हुने हो यसै भन्न सकिन्न । प्राइभेट विद्यालयहरूले त अनलाइन कक्षाले पनि कभर गर्लान् तर हामी त त्यो पनि गराउन सक्दैनौँ । डर त हामीलाई पनि छ नि तर हामीले पनि त रिस्क मोलेरै त्यति धेरै विद्यार्थी र कर्माचारिहरुलाई विश्वासमा लिएर नयाँ शैलीले पठनपाठन सुरु गरेका छौँ तर सरकार घरीघरी अगाडि चालिसकेको हाम्रो कदमहरूलाई पछाडि सार्न हतोत्साहित पनि गरिरहन्छ । सरकारले बनाएको निर्देशिका अनुसार नै हामीले पठनपाठनलाई निरन्तरता दिन सके विद्यालय बन्द गर्नुपर्ने अवस्था आउँदैन भन्छौँ हामी शिक्षकहरू त अझै पनि । अब त झन् बाँकी रहेको परीक्षाहरू सबै गराउन पनि निर्देशन जारी गरेको छ ।  त्यसैले सबैले स्वास्थ्य मापदण्ड पालना गरेर अब हामी नयाँ नर्मल तिर जानुपर्छ ।

यो कथा श्री हापुर मा.वि. निघुरवार दाङका प्रधानाध्यापक अर्जुन न्यौपानेसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।