कर्मचारीहरूको आफन्त र चिनेजानेहरुको स्वाब पहिले…

भदौ २४ गते मेरो पिताजी बिरामी पर्नु भयो । घोराहीको दीप ज्योति अस्पतालमा उपचार गराउँदा अल्सर देखियो । उहाँको अवस्था झनै कमजोर हुँदै थियो । उहाँ अस्पतालमा भर्ना हुनु भयो । रगत चढाउनुपर्ने भयो । अचेतझैँ अवस्थामा हुनुहुन्थ्यो । अस्पतालमा भर्ना गरिएको उनलाई रगत दिँदै अरू उपचार हुँदै थियो । त्योसँगै डा. मीनचन्द्र अधिकारीको सल्लाह अनुसार कोभिड–१९ को सङ्क्रमण भए नभएको बारेमा स्वाब पनि दिनु पर्ने भयो ।  अर्को दिन  मैले मेरा बिरामी पिताजीको स्वाब दिन घोराही १५ को सङ्कलन केन्द्रमा जाँदाको भोगाई एकदम नमिठो रह्यो ।  भर्ना गरिएका, शरीरमा रगत दिँदै गरेका गम्भीर स्वास्थ्य अवस्थामा रहेका उनलाई म आफैले त्यहाँ पुर्‍याएको थिएँ, स्वाब दिनेहरूको सुचीमा उनको नाम पनि थियो । श्रीमती (सुलोचना गौतम) घण्टौँ लाइनमा पालो कुरिरहेकी थिइन् ।

यस्तो बेलाको मनोदशा, छटपटी र जोखिम कस्तो हुन्छ भन्ने मैले नजिकसँग भोगेँ । संसार कोभिड–१९ विरुद्ध लड्दै छ । सङ्क्रमित पहिचान गरी उनीहरूलाई कोरोनामुक्त बनाउँदै समाजलाई नै कोरोनाबाट मुक्त बनाउन अहिले संसारका सबै संरचनाहरू परिचालित छन् भन्ने सुनेको तर मैले व्यवहारमा त्यसको महसुस गर्न पाइन । अहँ कत्ति पनि गर्न पाइन । यस्तो भोगाई मेरो मात्र हो कि अरूको पनि हो त्यो म दाबीको साथ भन्न सक्दिन तर मलाई लाग्छ धेरै भुइँमान्छेको भोगाई यस्तै यस्तै होला । त्यसमा पनि नेपालमा मात्र यस्तो हो कि अन्यत्र पनि यस्तै हो त्यो भने थाहा छैन । तर यस्तो महामारीमा पनि व्यवस्थापन निकै कमजोर थियो ।

मैले मेरो वडाको अध्यक्ष भरत अर्याललाई फोन गरेँ । उहाँले पिताजीको वर्ष सोध्नुभयो, मैले ‘६८ वर्ष’ भनेँ । ‘म नाम पठाइदिन्छु १२ बजेतिर पद्मोदय जानुहोला’ भन्नुभयो । उहाँ व्यस्त मान्छे । नाम पठाउन भुल्न सक्नुहुन्छ भनेर मेरी श्रीमती सुलोचनालाई १० बजे वडामा गएर सिफारिस ल्याउन भनेँ । उनले वडा अध्यक्षलाई फोन गरिन् । नाम गइसकेको रहेछ । अनि मैले सुलोचनालाई १२ बजे पद्मोदय गएर लाइन लाग्न र पिताजीको पालो आउँदा फोन गर्न भनेँ । पिताजी अलिक गम्भीर हुनुहुन्थ्यो त्यो बेला । त्यसैले, हामी भने ब्लड बैङ्कबाट १ पिन्ट रगत लिएर चढाउने तयारीमा थियौँ । म पत्रकार भएकाले स्वाब लिन जाँदा ‘लाइन मिचेर पत्रकारले सेवा लियो भनेर कसैले भन्लान्’ भन्ने पनि ठानेँ । पिताजीको अवस्था अचेतझैँ थियो । उहाँलाई त्यो बेलाको कुनै कुरा याद नै छैन । फेरि पत्रकारको बाबुको स्वास्थ्य जति महत्त्वपूर्ण छ, अन्य नागरिकको स्वास्थ्य पनि त्यत्तिकै महत्त्वपूर्ण छ भनेर मैले पालो मिच्न चाहिन र सुरुमै सुलोचनालाई लाइन लाग्न पठाएँ । पालो आयो,  सुलोचनाले फोन गरिन्  । अनि म पिताजीलाई गाडीमा लिएर त्यहाँ पुगेँ । स्वाब सङ्कलन केन्द्र पुरै अस्त व्यस्त थियो ।

खटिएका कर्मचारीहरूले फोन गर्दै घरपरिवारका सदस्यलाई बोलाउँदै स्वाब लिइरहेका थिए । म नजिकै गई ‘ब्लड चढाउन रोकेर आएको छु, पालो पनि आयो रे !’ भन्दै स्वाब लिन आग्रह गरेँ । त्यो बेला पिताजी गाडीमा सुतिरहनु भएको थियो । म पौने घण्टा त्यहाँ अनुनय–विनय गर्दा कोही कर्मचारीले सुन्न चाहेनन् । उनीहरूले आफ्ना आफन्तहरूलाई बोलाई बोलाई स्वाब लिइरहेका थिए । त्यो दृश्य मेरो अगाडि थियो । म भने पालो आउला भनेर पर्खिरहेँ । त्यहाँ खटिएका कर्मचारीहरूको आफन्त अनि चिनेजानेहरुको स्वाब लिएर अझै सकिएन ।  साँझ अबेरसम्म पनि पालो नआएपछि भोलिपल्ट स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४,४६० रुपैयाँ तिरेर पिताजीको स्वाब परीक्षण गराए । कोरोना देखियो ।

त्यसपछि डाक्टरहरूको सल्लाह अनुसार म कोहलपुरस्थित कोभिड अस्पतालमा आएँ । कोभिड अस्पतालमा के हुने हो ? कसरी उपचार हुने हो भन्ने छुट्टै खुलदुली थियो नै । पिताजीलाई लिएर अस्पताल पुगेपछि  बिरामी बाहेक अन्यलाई जान निषेध रहेछ । अचेत अवस्थाका पिताजी । एक्लै कसरी कोभिड अस्पतालमा पठाउन मनले मान्थ्यो र ?  अस्पतालमा कोभिडको उपचारको लागि पिताजीलाई छोड्न गएका मेरा पाइला एक्लै घर फर्किन मानेनन् । मैले त्यहाँका डाक्टरहरूलाई गम्भीर अवस्थाका पिताजीलाई आफ्नै रेखदेखमा उपचार गराउने भनेर अनुरोध गरेँ । उहाँहरू सुरुमा त सहजै मान्नु भएन । किनभने कोभिड सरुवा रोग हो । एक्लै उपचार गराउनु पर्छ भन्ने बुझाउँदै आइएको छ । मेरो जिद्दीपनको अगाडि डाक्टरहरूको पनि केही लागेन । त्यो सही गरेँ वा गलत मलाई थाहा छैन तर पिताजीको उपचारको लागि त्यही बसेँ । कुरुवा भएर । त्यसको चार दिनपछि टाइफाइडको बिरामी परेकी  माताजीलाई पनि कोभिड देखियो ।

कोभिड अस्पतालमा अल्सरसहित कोरोना सङ्क्रमण देखिएका पिताजी र टाइफाइडसहित कोरोना सङ्क्रमण देखिएकी मेरी माताजीलाईसंगै राखेर उपचार भयो । पिता–माता अस्पतालमा, म कुरुवा, मेरा घरका सबै ‘होम–क्वारेन्टाइन’मा थिए । घोराहीको स्वाब सङ्कलन केन्द्रमा जति नमिठो भोगाई रह्यो, धन्न अस्पतालमा भने त्यस्तो भएन । अस्पतालमा बाहिर चलाइएका हल्ला जस्तो रहेनछ । ‘डाक्टरहरूले राम्रोसँग उपचार गर्दैनन्, वास्ता गर्दैनन्’ भन्ने भ्रम थियो बाहिर । मैले भने त्यस्तो महसुस गरिन । मेरो पिताजी-माताजीसँगै अस्पतालमा ५४ जना थियौँ  । म एक जना मात्रै कुरुवा थिएँ । चौबिसै घण्टा बिरामीहरूको पालै पालो डाक्टहरुले स्वास्थ्य जाँच गर्नुहुन्थ्यो । सरकारी आइसोलेसन भए पनि राम्रै व्यवस्थापन थियो । डा. शिशिर रेग्मी,  कुलराजले राम्रो हेरचाह गर्नुभयो । अस्पतालमा खानाको व्यवस्था पनि थियो । कहिलेकाहीँ म मेरो माताजी पिताजीलाई बाहिरबाटै मगाएर थप पौष्टिक खानाहरू पनि खुवाउँथेँ । त्यहाँको स्टाफ नर्स उर्मिला रेग्मीले पनि कोभिडका बिरामीहरूलाई समय समयमा जाँच गर्न आउनुहुन्थ्यो । एउटा कोभिडको बिरामीले स्वाब दिन जति कठिन छ । त्योभन्दा निकै सहज कोभिड देखिएका बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न  रहेछ । किनभने यो मेरो भोगाई र तितो यथार्थ पनि हो । स्थानीय सरकारका कर्मचारीहरूलाई स्वाब लिन पो नाता,  गोता,  आफन्त,  इष्टमित्र प्राथमिकतामा पर्दो रहेछ त अरूको लागि त त्यो आकाशको फल आँखा तरी मर् जस्तै पो हुँदो रहेछ । कोभिड देखिसकेपछि बिरामीहरूको त सम्मान रुपमा उपचार हुँदो रहेछ ।

अहिले  कोभिड अस्पताल, कोहलपुरबाट माताजी-पिताजी डिस्चार्ज भई सक्नु भएको छ । उहाँ दुवै जनाको स्वास्थ्य अवस्था अहिले ठिक छ । म पनि पिताजी माताजीसँगै कुरुवा बसेको १८ दिन पछि घरमा गएको हुँ तर खुसीको कुरा भन्नुपर्छ मेरो रिर्पोट नेगेटिभ आयो । अहिले हामी परिवारमा सबै जनासँगै छौँ । पौष्टिक खानाको विशेष ध्यान सहित  माताजी पिताजीको हेरचाह गरिरहेका छौँ। कोभिड सङ्क्रमितहरूलाई छुट्टै राख्नुपर्छ । उनीहरूको नजिक पनि जान हुन्न भन्ने भ्रम मात्र रहेछ जस्तो लाग्यो । मैले नै अचेत अवस्थामा रहेका पिताजीलाई मेरै हातले खाना खुवाएको छु ।  माताजी पिताजीलाई शौचालयसम्म लगेको छु । अस्पतालमा बिरामीको उपचारमा डाक्टहरुको तर्फबाट हुने स्वास्थ्य परीक्षणमा कुनै समस्या हुँदैन रहेछ तर परिवारको निगरानी,  हेरचाह,  पौष्टिक खानपानको पनि उत्तिकै साथ चाहिन्छ । कोभिडको अर्को उपचार आत्मबल पनि हो । अहिले हामी सबै जना घरमै छौँ ।  पिताजी र माताजीको स्वास्थ्यका बारेमा चासो राख्दै कामना गर्ने सबैप्रति हामी कृतज्ञ छौँ ।

यो कथा विपुल पोख्रेलसंग सपना बोहराले कुराकानी गर्नुभएको आधारमा लेखिएको हो ।  विपुल पोख्रेल नेपाल पत्रकार महासङ्घका  केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।