“तीन वटा सप्ताहको त सुपारी नै लिएको थिएँ”

मेरो नाम श्रीधर घिमिरे हो । घर गोरखा जिल्ला सिरानचोक गाउँपालिका ५ अमराई भन्ने ठाउँमा छ । म वर्षले ७९ मा हिँड्दै छु ।  अब त बुढो नि भए कि जस्तो लाग्छ तर मन चाही बुढो भा छैन है । अझै सप्ताह पुराणमा सात दिन सात रात बोल्न सक्छु । हामी ब्राह्मण परिवारको मान्छे । मेरो बाउबाजेदखि नै यजमानी गर्दै आएका छौँ । म ६० वर्ष देखि पण्डित्याइँ पेसामा छु । म त नौ वर्षको हुँदा नै वेद पढ्न सक्थे । १७ वर्ष देखि त मैले पण्डितको काम सबै सिकेको थिए ।

मेरो परिवारमा १३ जनाको सदस्य छन् । मैले नै गरेको पण्डित्याइँ पेसाले १३ जनाको परिवारलाई पाल्दै आएको छु । मेलै गरेको पुरोत्याईले सबैको लालन पालन गरेर हुर्काई बढाई गरे । छोराछोरीलाई पढाए बढाए । एउटा पुलिस भएको छ। अर्को आफ्नै काम व्यवसायमा लागेको छ । एउटा छोरा बितेको चाहिँ २० वर्ष भयो । छोरीहरू आफ्नै घर घरमा छन् ।

वर्षको घटीमा ५० हजार देखि बढीमा डेढ लाख सम्म कमाई गर्थेँ । यसैले सबैको भरण पोषण गर्न पुग्थ्यो । अरू खेतीपाती नि छ । गाउँको ठाममा अरू त के नै किन्न पर्छ र । पूजा पाठ श्राद्ध गर्दा घिउ चिनी चामल आइहाल्छ । हामी बुढा बुढीलाई लाउन हुने लत्ता कपडा नि दानमा आइहाल्छ । उही अरूलाई नयाँ नयाँ डिजाइनका कपडा खोज्छन् त्यो किन्दियो । अनि त्यही बच्चा बच्ची पढाउने लेखाउने त हो । लौ पुरोहित बाजे भनेर सबैले मान सम्मान नि गर्छन् । पुरोत्याई गरेर मज्जाले परिवार धानेको थिएँ ।

तर अहिले त कुन्नि के जाती नयाँ रोग चीनले पठाएछ त्यसले त सबैलाई बरबाद नै गरायो नि । कोरोना सोरोना भनेर देश भरी लकडाउन गरिदिए । मान्छेलाई मान्छेसँग छुन नि दिएनन् बाहिर निस्कन नि दिएन। बडो हरामी रैछ त्यो कोरोना भन्ने रोग । राक्षस नै रोग रैछ । यसले त सारा संसारलाई नै अत्त्याइ सक्यो । त्यहाँ समाचारमा भन्छन् नि अमेरिकाले त औषधी पत्ता नलाएको भनेसि कस्तो अचम्मको नौलो रोग निस्किएछ बाबै । सबैलाई रुवायो ।

मलाई नि यो कोरोना ले धेरै घाटा गराएको छ भन्या । ६ महिना भइसक्यो जजमानको घरमा कार्जे गर्न जान नपाएको  । एक सुको पैसा देख्न पाउनु छैन । हामी पण्डितलाई अघिपछि त्यसै पैसा दिँदैनन् । यसो चाडपर्वमा, विवाह व्रतबन्ध कर्मकाण्डमा त हो तर ६ महिनादेखि फुर्सदमै बसेको छु अनि कसरी आम्दानी होस् । चैत्रमा धेरै ठाउँमा व्रतबन्ध गराउनु थियो । चैते दसैँमा पुराण लगाउन जानु थियो ।  तीन वटा सप्ताहको त सुपारी नै लिएको थिएँ तर सबै खायो यही कोरोनाले ।

वैशाखमा विवाहको लागि धेरै लगन थियो । लकडाउनले विवाह नै गर्न दिएन अब हामी पण्डितले कसरी काम पाउनु ।

जनै पूर्णिमामा धेरै जजमानको घरमा गइएन । नजिकका सधैँ देख्ने भेट्नेको घरमा चाही गइयो । हामीले डोरो बान्दा पनि होसियारी गर्‍यौँ । त्यसमा पनि मैले त मास्क लगाएर गए । नाति केटोले मास्क किन्दिएको थियो । कृष्ण अष्टमी नागपन्चमी तिज ऋषिपन्चमी कुनैमा पनि यसपालि आम्दानी नै भएन । मान्छेहरूले कृष्ण अष्टमीमा पूजा लाउने ऋषिपन्चमीमा दिदीबहिनी आमा भाउजू मिलेर पूजा लगाउँथे तर यसपालि गाउँपालिकाले पनि भेला नहुनु तिज नमान्नु भन्दिए । सोह्र श्रादमा त झन् हामी पुरोहितलाई भ्याई नभ्याई हुन्थ्यो । मान्छेले धेरै बिजी भए भनेर भन्छन् नि सोह्रश्रादको बाहुन जस्तो बिजी भइएको छ भनेर । तर यसपालि त त्यस्तो बिजी हुन नि पाइएन । गाउँघरमा पनि थोरैले मात्र सोह्रश्राद गरे । धेरैका त श्राद्ध गर्ने छोरा नाति नै लकडाउनले काठमाडौँ अन्त कता कता थुनिएर बसेका छन् । गाउँमै हुनेहरूले पनि थोरैले मात्र गरे ।

अझ यो मलमासमा त दिनकै पुराण हुन्थ्यो । महिना भरी  हामी पुरोहितलाई दिन खाली हुने थिएन । आम्दानी पनि राम्रै हुन्थ्यो । मेरा धेरै यजमानहरूले त पुराण भन्ने निम्तो पनि दिइसकेको थियो तर कोरोना त्रासले कसैले पनि पुरुषोत्तम पुराण लगाएनन् । म त महिना भरी नै फुर्सदिलो हुने भएँ  ।

हामी बाहुन पुरोहित भनेको त मर्ने जन्मने बिहे गर्ने सबै बेलामा चाहिन्छ । हुन त आजकल नयाँ नयाँ चलन चल्ती निकालेका छन् । मन हुनेले पुरोहितलाई सम्झन्छन् नहुनेले सम्झँदैनन् । यो त मनको सन्तोष न हो । चलिआएको चलन छुटाउनु चैँ राम्रो हुन्न । तर ज्यान भन्दा ठुलो धर्म कर्म हुँदैन र रोगले ज्यानै लग्यो भने के को दान धर्म कर्म पूजापाठ । मर्छु भन्ने डर त जस्तै मै हुँ बलवान् छु भन्नेलाई नि हुँदो रैछ । रोगकै पिरले त मान्छेले श्राद्ध विवाह व्रतबन्ध जस्ता कर्म नै छोडेर घरभित्रै बसेका छन् । लकडाउन र कोरोनाले त हामी पण्डितहरूको पेसालाई नि सङ्कटमा पारेको छ ।

हुन त धेरै पटक यस्तो महामारीले मानिसलाई सखाप पार्‍यो । हाम्रो गाउँमा उहिल्यै कोर रोगको बिगबिगी थियो । कोर लागेर मर्ने मान्छेले मलामी सुद्ध पाएनन् । गाउँबाट छुट्टै लगेर राखिन्थ्यो अहिलेका आइसोलेसन जस्तै गरेर ।

त्यस्तै १८ साल तिर एक पटक देश भर विश्व नै सखाप हुन्छ। मासिन्छ भनेर हल्ला चल्यो । मानिसहरू आफन्ती भेटघाट गर्ने मिठो मसिनो खाने आफ्नो परिवार जम्मा भएर बस्ने समेत गरे । हामीले चाहिँ हाम्रो गाममा पुराण लगायौँ । ठाउँ ठाउँमा कोटी होम गरेर तीन दिने सात दिने ११ दिने यज्ञ पुराण लगायौँ । त्यही पुराणको प्रभावले हाम्रो गाउँमा कोही बिरामी समेत भएनन् । मलाई त विश्वास छ कि यो कोरोना पनि यस्तै कोटी होम गरेर त्यसको प्रभावलाई कम गर्न सकिन्छ । किनकि रोग भनेको विषाक्त चिज त हो । होम गरेर पोलेको शुद्ध धुवाले त्यो विषाक्त चिजको प्रभाव कम गर्छ र कोरोना सोरोना पनि भाग्छ जस्तो लाग्छ । हुन त आजकल यस्तो कुरो गर्नेलाई बहुला भन्छन् तर पनि विश्वास त गर्नु पर्छ । मैलै पनि हाम्रो गाउँमा ठुलो यज्ञ लगाउने सोच बनाएको छु तर लकडाउनले मान्छे भेला नै हुन नदिएपछि गर्न सकिन तर मेरो ठुलो रहर छ । त्यो यज्ञको प्रभावले कोरोनाबाट जित्न सकिन्छ होला ।

हुन त हाम्रा प्रधानमन्त्रीले बेसार पानी खाए कोरोना भाग्छ भनेका छन् । धेरैले यसलाई हाँसोमा लिए पनि केही हदसम्म विश्वास त मलाई नि लाग्छ । जडीबुटी औषधीले कोरोना भाग्छ जस्तो लाग्छ तर हामीले जडीबुटी चिन्न सक्नुपर्छ ।

म त घरमै गुर्जो खाने बेसार पानी जिरा पानी खाने गर्छु । अब त बुढाबुढी नि भइयो । कोरोनाले हामी जस्तो बुढा बुढीलाई गारो सारो पार्छ भन्छन् । कोरोनाको हल्ला आए देखि नै मैले त घरमा बुढियालाई आदेश दिएको छु घरका सबैलाई दिनहुँ बेसार जिरा पानीमा गुर्जोको धुला हालेर पकाएर खान दे भनेर । जडीबुटी औषधीले धेरै काम गर्छ । मैले त गाउँलेलाई नि सिकाउँछु । मैले भनेको मान्छन् पनि ।

यो कथा  श्रीधर घिमिरेसंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी  रुपा खड्काले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।