‘हामी वर्षौँदेखि लकडाउनमा छौँ’

शरणार्थी पर्‍यौँ हजुर… बिजोग छ, भनेर पनि कसरी भन्नू ? भोक, अभाव र तिरस्कारलाई खई कसरी पो ‘सगरमाथा’ मान्नू ? बिहान चियासँगै दैनिकी सुरु गरेर तपाईँहरू राती मिष्टान्न भोजनसँगै दिनको अन्त्य गर्नुहुन्छ । हामी बिहान अभावसँगै दैनिकी सुरु गरेर अभावमै दैनिकी खत्तम गर्छौ । दिनभरि बोनस प्याकेजमा तिरस्कार र शङ्का त छदै छ । ‘टेरोरिस्ट‘ भनेर आफ्नो देशले लखेटेको हाम्मलाई शरण लिएको देशले शङ्काले नहेर्ला भनेर कसरी भन्नु ?  सकस हाम्रो दैनिकी हो ।

ज्याला मजदुरी गरेर बाचिरहेका थियौ । बस्नलाई दुःख थिएन। कोरोना भाइरस नआउन्जेल नेपाल त हाम्रो ‘जन्नत’ (स्वर्ग) नै  थियो नि । भाइरसले संसारलाई दुःख दिइरहेका बेला हाम्रो ‘जन्नत’ अछुत रहने कुरै भएन।

कपन बालुवा खानी स्थित शरणार्थी क्याम्पमा हामी लगभग ४ सय शरणार्थी बस्छौ ।  म सन् २०११ मा परिवारसहित नेपाल आएको हुँ। टहरामा बस्ने अधिकांश २०१६ पछि आएका हुन् । म्यानमारमा जातीय हिंसा भड्किएपछि हामी विभिन्न देशमा शरण लिन पुगेका छौ । बङ्गलादेश हुँदै भारत आएर नेपाल छिर्ने थोरै मात्र छन् । बङ्गलादेश, भारत र अफगानस्थानमा धेरै पुगेका छन्।

हामीलाई ‘रोहिंगा’ भन्छन् । मुस्लिम सम्प्रदायका हामीलाई म्यानमारबाट बहुसङ्ख्यक बुद्धिस्ट समुदायले लखेटेको हो । उता हाम्रो घर मात्रै होइन, भाग्न नसक्नेहरूलाई जिउँदै जलाइयो । गोली ठोकेर मारियो । बीभत्स हत्या, बलात्कार र सामूहिक आगो लगाउनु उनीहरूको लागि सामान्य थियो ।  ज्यान बचाउन सफल हामी शरणार्थीको रूपमा विभिन्न देश पुगेका छौ।  हाम्रो नेपाल आउनुको कथा यही हो ।

कोरोना भाइरस आउनुअघि त जसोतसो जिन्दगी चलाइरहेका थियौँ । ज्याला मजदुरीले पेट भर्न पुगिरहेको थियो । शरणार्थी जीवन जसोतसो चली नै रहेको थियो । चैतको दोस्रो साता एकाएक  हामीलाई टहराबाट निस्किन दिइएन । कारण बुझ्दै जाँदा त हिँडडुल गर्न नमिल्ने गरी सरकारले लकडाउन गरेछ । हिँडडुल गर्‍यो भने भाइरसले मार्छ भनेर त्यसो गरेको रे ।

२/४ दिन त सहेरै बस्यौ । मर्नु भन्दा भित्रै बस्नु जाती लाग्यो । सरकारको निर्णय मान्नु हाम्रो कर्तव्य पनि थियो । तर, एक सातामै हाम्रो खाना सकिइसकेको थियो । बिहान कमाएर बेलुका खानेलाई लकडाउन घाँडो भयो । हामी सानो ठाउँमा धेरै जना बसेका छौ । एउटा टहरामा ८/१० जना बस्छौ । अझ भनौँ एउटा परिवारमा ८/१० हुनु हाम्रो सम्प्रदायको लागि सामान्य हो।  बच्चा बच्ची धेरै भएकाले कमाउने मानिस पनि कम हुन्छन् । एक सातामै हाम्रो खाना सकिनुको कारण यही हो ।

साबुन पानीले हात धुने, सामाजिक दुरी कायम गर्ने मास्क लगाउने गरे मात्र यो भाइरसले छुन्न रे । यो भाइरसको एक मात्र बच्ने उपाय हो रे ।  खानालाई अन्न छैन कहाँबाट किन्नू साबुन ? एउटा साँघुरो ठाउँमा ८/१० जना बस्नुपर्छ कसरी कायम गर्नू सामाजिक दुरी ? मास्क किन्ने पैसा भए त हामी बच्चा बच्चीलाई खाना खुवाइहाल्थ्यौँ नि । भाइरसबाट बच्ने नियम हाम्रो लागि व्यर्थ थियो, हाम्रो ध्यान भोकबाट कसरी बच्ने भन्नेमा थियो।

कता हो फेरि मुस्लिम समुदायले भाइरसले फैलाए भनेर समाचार आयो । त्यसपछि त हामीलाई धेरै गारो भयो । टहराबाट नजिकैको खाली जग्गामा निस्किदा पनि मानिसहरू आँखा तरेर हेर्थे। पसल जान प्रतिबन्ध जस्तै थियो । देश त लकडाउनमा नै थियो हामी त्यही समाजमा प्रतिबन्धित थियौ । अझ भनौँ हामी काममा निस्कने बाहेक हाम्रो परिवारको अन्य सदस्य वर्षौँदेखि नै लकडाउनमै थिए । भाइरस नआउँदै हाम्रो लागि समाजमा चहल पहल गर्नु खतरनाक थियो । हामी वर्षौँदेखि अत्यास भोगिरहेका छौ ।

दिनरात तातो टिनमुनि गुम्सिएर बस्नुको सकस अत्यास लाग्दो थियो । हामी निसास्सिइसकेका थियौ। दिनरात तातो टिनमै निसास्सिँदा डरको तिरस्कार झन् भयानक हुँदो रहेछ । हामीले टहरामै थुनिएर सकसपूर्ण दिन काट्यौ।  अन्न सकिएको ३/४  दिनसम्म भोकै बस्यौ। साहुसँग काम गरेको ठाउँको पैसा लिनु थियो । फोन गर्दा उसले बहाना बनायो, ‘म त बुटवल आइसके, त्यतै मिलाउनु।’

सबै जना भोक भोकै पर्न थालेपछि बच्चाहरूलाई गारो भयो । बच्चाहरू भोकले रुन थाले । रुँदा रुँदै बेहोस होलान् झैँ लाग्यो । त्यसपछि हामीले विभिन्न सङ्घसंस्थालाई खबर गर्‍यौ। अर्को दिन आलु र चामल लिएर उनीहरू आए । त्यो राहतले २ साता त पुग्यो । त्यसपछि अवस्था उस्तै । टहराको सकसपूर्ण बसाई, समाजको तिरस्कारपूर्ण दृष्टि र शरणार्थी जीवन ।

यो भाइरसले नेपाली नेपालीलाई त नजिक हुन दिएको थिएन, हामीलाई झन् नजिक हुन के देयोस् ? नेपाली नै खान नपाएर भोकै थिए, हाम्मलाई झन् कसले राहत देयोस् ? आफ्नै सरकारले नै लखेटेर शरणार्थी बनायो,  अर्काको सरकारले हाम्रो बारेमा कसरी सोचोस् ? शरणार्थीको जीवन उसै त भयानक दुःखबाट गुज्रिरहेको हुन्छ, यो महामारीमा झन् दुःख किन हामीबाट टाढा भागोस् ?

सबै सबैले हाम्मलाई तिरस्कार गरे पनि भोकले तिरस्कार गरेन, लागिरह्यो । अभावले तिरस्कार गरेन, भइरह्यो । दुःखले दिनहुँ अङ्कमाल गरिरह्यो । मात्र हामीबाट मान्छे  र मानवता टाढा भयो । दुःख अभाव र तिरस्कारले अङ्कमाल गरेको एउटा शरणार्थीको जीवन यस्तै त हो ।  ५ दिन भोको बस्दा कस्तो हुन्छ ? तपाईँहरूलाई त कल्पना गर्दा पनि सकस महसुस हुन्न होला किनकि, तपाईँ त १ दिन पनि भोकै बस्नु भएको छैन।

यही बेला हाम्रो टहराको १ जना बुवालाई ज्वरो आयो । अस्पताल लान साधन थिएन । ज्वरो आएर उपचार गर्न लगेको थाहा पाए मुसलमानले कोरोना सल्काए भनेर लखेट्लान् भन्ने डर थियो । केही दिन घरेलु उपचार गरियो । तर, उहाँ ठिक हुनुभएन । उपचारको लागि बाहिर निकाल्न जति गारो थियो उहाँको अन्तिम संस्कार गर्न त्यति गारो । उहाँको अन्तिम संस्कार गर्दाको सकस कसरी भन्नू ? यत्ति कल्पना गर्नू, मुसलमानले कोरोना फैलाए भनेर देशभर हल्ला फैलिएको समाजमा ज्वरो आएर मुसलमान मर्दा के होला ? बहुसङ्ख्यक बुद्धिस्टहरू भएको आफ्नै देशमा जातीय हिंसा भोगेको हाम्मलाई यहाँ त्यही घटना दोहोरिएला की भन्ने डर थियो । किनकि, यहाँ त हामी शरणार्थी थियौ ।

गएका सात महिनाका हाम्रो कथा यस्तै हो । भोक, अभाव र तिरस्कार । यो सकसपूर्ण समयको कथा हाम्रो टहरा आएर हेर्नेहरूले  मात्रै महसुस गर्न सक्छन् । यो समयमा हाम्रो केटाकेटीहरूले दिनमा १ पटक खाए भने हामीले २ दिनमा एक पटक । शरणार्थीले पेटभरि खान नपाउनु सारा विश्वको लागि आश्चर्य होइन । हामी वर्षौँदेखि भोक, तिरस्कार र अभाव  सहन अभ्यस्त भइसक्यौ। हामीले यो भन्दा खराब परिस्थितिको सामना गरेको भुलेको छैनौँ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।