पहिरो पीडित सम्हाल्नु कि कोरोना पीडित हामीलाई हम्मे हम्मे पर्‍यो

एकातिर कोरोना कहर अर्कोतिर प्राकृतिक विपत्तिको कहर, यो ६ महिना त मैले जीवनकालमै नभोगेको कहालीलाग्दो परिस्थितिको सामना गरेँ । सायद मैले मात्र होइन हामी बार्हबिसेवासी सबैले । त्यसमाथि नेपालमै पहिलो कोरोना सङ्क्रमितको मृत्यु हाम्रै बाह्रबिसे नगरपालिकाको एक सुत्केरी महिलाको भयो । भारततिरको सीमा जिल्लाहरू हटस्पट बन्ने अनुमान भइरहँदा हामीतिरको सीमामा त त्यस्तो जोखिम छैन भनेर सतर्क त थिएँ अनि केही ढुक्क पनि । तर खै कसरी देशमा फाट्टफुट्ट देखिएको कोरोना सङ्क्रमणले जेठ २ गते हाम्रो नगरपालिकामा एक जनाको ज्यानै लिएपछि सुरुमा त हामी निकै आत्तियौँ । भर्खर भर्खर नेपालमा भित्रिएको कोरोना भाइरसबारे हामी धेरै जानकार त थिएनौँ तर घटना भइसकेपछि हामी पूर्णपुरमा सचेत भयौँ । त्यसैले अब कसरी अगाडी बढ्न सकिन्छ भनेर नगरपालिका स्तरमा व्यापक छलफल गर्‍यौँ ।

नजिकका चार वटा गाउँपालिका र बाह्रबिसे नगरपालिका मिलेर एउटा क्षेत्रीय क्वारेनटिन निर्माण गयौँ । त्यसको संयोजक भने म बसेँ । देशभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसको असर हाम्रो सिन्धुपाल्चोक जिल्लामा पनि पर्‍यो । क्षेत्रीय क्वारेन्टाइन निर्माण गरे पनि दुई महिनामै आर्थिक अभावले चल्न नसक्ने अवस्था आएपछि हामीले त्यसलाई छोड्यौँ । अरू गाउँपालिकामा सङ्क्रमित धेरै भएर पठाउन थालेँ तर पैसा अभाव कायमै रह्यो ।

हालसम्म हाम्रो नगरपालिकामा ८ जना सङ्क्रमित मध्य दुईको मृत्यु भयो जसमा एक जना ९१ वर्ष र एक जना सुत्केरी जो नेपालमै पहिलो पटक कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्क्रमित थिइन् । लक्षण र कनट्र्याक्ट ट्रेसिङको आधारमा अहिलेसम्म ३ सय ८० जनाको पीसीआर टेस्ट गरेका छौँ जसमा अहिलेसम्म ८ जनामा मात्र कोरोना पुष्टि भएको छ ।

बाह्रबिसेमा ६० देखि ७० जना अट्ने क्वारेनटिन र ५० देखि ६० जना अट्ने आइसोलेसन निर्माण गरेका छौँ । आधुनिक प्रकृतिको आइसोलेसन बनाएका छौँ । आइसोलेसनमा बस्दा बिरामी र सम्भावित बिरामीलाई समस्या नपरोस् भनेर सिसी क्यामरा, सोलार बत्ती एसीदेखि लिएर खेलकुदका सामान, मनोरञ्जनको लागि टिभीको व्यवस्था गरेका छौँ । २४ सै घण्टा स्वास्थ्यकर्मीहरू पनि हुन्छन् ।

चैत्र ११ गतेदेखि देशभर लकडाउन भएपछि आवतजावत पूर्णरुपमा बन्द भयो । यसबाट स्थानीय मारमा पर्ने देखिएपछि हामीले आफ्नै नियम बनायौँ । नेपालकै पहिलो सङ्क्रमितको निधन भएको बाह्रबिसे ९ नम्बर वडा राम्चेमा सुरुमै सिल गयौँ । नगरपालिका भरि बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न सामान बिक्री गर्ने १० देखि ४ बजेसम्म भौतिक निर्माणको सामान बिक्री गर्ने आफ्नै नियम बनायौँ । भिडभाड गर्न नदिने होहल्ला गर्न नदिने नियम बनायौँ । यहाँ समस्या के छ भने अलिकति अनुशासनहीन मानिसहरू पनि समाजमा छन् जसले अरूले बनाएको नियम मान्दैनन् अनि जहिले विरोधको लागि मात्र तत्पर रहन्छन् । नेपालमै पहिलो पटक कोरोनाबाट मृत्यु हुनेमा हाम्रै नगरपालिकाको महिला परेपछि लकडाउनलाई झन् कडा गर्ने मनस्थितिमा हामी पुगेका थियौँ तर जेठ २ गते उनको मृत्यु भयो ३ गते नै केही सर्वसाधारण अन्य कारणले आन्दोलनमा उत्रिए । यस्ता यस्ता मान्छेलाई सम्झाई बुझाई गरेर अगाडी बढ्न कठिनाइ त भयो नै तर हामीले आफ्नो धर्म छोड्ने कुरो पनि त भएन । जनतासँग रिसिवी राखेर हामी जनप्रतिनिधि बदलामा उत्रने कुरा पनि त भएन । सकेसम्म सबैलाई सम्हालेर हामी अघि बढेका छौँ । लकडाउनको सुरुका दिनमा हामीले गाउँ गाउँमा माइकिङ गरेर जनचेतना बढाउने काम गर्‍यौँ । पहिले पहिले जाँडरक्सी खाएर राति अबेरसम्म सडकमा होहल्ला गर्नेहरूलाई पनि तह लगायौँ ।

यहाँ चाहिँ हामी दुई राजनीतिक आस्था राख्ने पार्टी धेरै छौँ । म नेकपाबाट मेयर भएको मान्छे हुँ । यो काँग्रेसको किल्ला जस्तै थियो तर यो पटक हामी नेकपाले जित्यौँ । तर राजनीति भन्नै नै यस्तै रहेछ, हामीले जति राम्रो काम गर्‍यौँ उति विपक्षीको मुटु पोल्ने अनि छटपटी हुने हुँदो रहेछ । त्यो स्वाभाविक पनि हो । तर मेरो भनाई यत्ति हो जनप्रतिनिधिको नाताले अझ भन्नुपर्दा बाह्रबिसे नगरपालिकाको मेयरको नाताले ‘संसार नै अहिले कोरोना भाइरसको महामारीमा छ,  सङ्कटमा छ । त्यसैले, हामी राजनीतिभन्दा माथि उठेर काम गरौँ । अहिले हामी राजनीति नगरौँ जनतालाई कसरी सुरक्षित राख्ने व्यवस्थित गर्ने जनतालाई गाँस, बास र कपासको व्यवस्था गरौँ । अगामी दिनमा चुनावको बेलामा हामी आफ्नो आफ्नो राजनीति गरौँ । जनताले पनि हेरिराखेको हुन्छन् कि कसले विपद्मा कति सहयोग गर्‍यो ।‘

हाम्रो नगरपालिकामा यो वर्ष ५० जना भन्दा धेरैको बाढी पहिरोमा परेर निधन भयो । देशकै सबैभन्दा धेरै क्षति हाम्रो नगरपालिकाले पहिरोबाट खेप्नु पर्‍यो । हामी दिनरात नभनी उद्धारमा लाग्यौँ । कोरोना कहर एकातिर हामी बाढी पहिरोको कहर अर्कोतिर । साँच्चै भन्नुपर्दा त सबै भन्दा पीडित त हामी पो भयौँ । रोगको महामारीसँगै प्राकृतिक प्रकोपको विपद् खेप्नु पर्‍यो । एक मनले हामी कत्ति अभागी जस्तो नि लाग्छ अनि फेरि कहरले अवसर पनि त ल्याउँछ सँगै, आत्तिनु हुन्न जस्तो पनि लाग्छ ।

बाढी र कोरोना दुवै महाविपद्लाई एकैसाथ व्यवस्थापन गर्न हामीलाई हम्मे हम्मे नै पर्‍यो । एकातिर कोरोना मारले गर्दा मानिस भेला नहुन हामी आफैले अनुरोध गरेका थियौँ । पछिल्लो समय नगरपालिका भित्र कोरोना त्रास घटिरहेको थियो । त्यही बेला नगरपालिकामा ठुलो मानवीय क्षति हुने गरी बाढी पहिरो गयो । ५० भन्दा धेरैको ज्यान गएको छ अझै थुप्रै मानिस बेपत्ता छन् । यस्तोमा धेरै दुःख खपेर अगाडी बढ्यौँ । सबै जना एक जुट भएर उद्धारमा लाग्यौ । धन्न स्थानीय स्तरमा हामीलाई धेरै सहयोग भयो । मास्क लगाएर, पाएसम्म र सकेसम्मको सबै सुरक्षाको उपाय अपनाएर बेपत्ताको खोजी, पहिरोमा डुबेकाको उद्धार तिर लाग्यौँ । यस्तो बेला रोगको भन्दा पनि मानिसको ज्यानको माया धेरै हुने रैछ । एक जनालाई मात्र पनि जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने आसमा रात बिहान नभनी बेपत्ताको खोजीमा लाग्यौँ । तर त्यो समयमा लगातारको वर्षाले हामीलाई उद्धार कार्यमा अवरोध गर्यों । कहिले पानी रोकिन्छ र उद्धारमा जाउँला भनेर म सहित गाउँलेहरू आकाश हेरेर बस्नु परेको त्यो कहालीलाग्दो क्षण सम्झँदा म अझै पनि अत्तालिन्छु ।

पहिरो पीडितको उद्धार गरेर पनि हामीलाई उपचारको लागि पठाउन साह्रै मुस्किल पर्‍यो । उद्धारको लागि आएको हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ भएन त्यसमाथि पानी परेर जहाँ पायो त्यहाँ ल्यान्ड हुन सकेन । हामी बिरामी बोकेर आकाशतिर हेरेर बस्ने हेलिकप्टर ल्यान्ड गर्नै नसकी त्यसै फर्कन अवस्था थियो । त्यसपछि हामीले नै घाइतेलाई बोकेरै कल्लेरी र रुम्जा भन्ने ठाउँसम्म पुर्‍याएर उपचारको लागि पठाइयो ।

कोरोना कहरमा प्रदेशबाट राम्रो समन्वय पाएँ मैले चाहिँ । अरू स्थानीय तहले के कसरी सहयोग पाए म भन्न सक्दिन तर हाम्रो नगरपालिकामा भने राम्रो सहकार्य पाएँ । यसै क्षेत्रबाट जितेर गएका अरुण नेपालले कोरोना महामारी सुरु हुने बित्तिकै ४५ लाख रुपैयाँ यसका विपद् व्यवस्थापनको लागि राखिदिनु भयो । त्यस्तै सामाजिक विभाग मन्त्री युवराज दुलालले स्वास्थ्यसँग जोडेर ५५ लाख रुपैयाँ विपद् व्यवस्थापनसँग रहेर उपलब्ध गराउनु भयो । हामीलाई चाहिँ प्रदेशले आशा गरेको भन्दा धेरै सहयोग गरेको अनुभव रह्यो । आर्थिक रूपमा पनि नीतिगत रूपमा पनि हामीलाई सङ्घले भन्दा पनि प्रदेशले धेरै सहयोग गरेको छ । सङ्घले बहने उही आशै मात्र देखायो कोरोना र प्रकोप र प्राकृतिक प्रकोप दुवैमा ।

अहिले त लकडाउन पनि खुल्यो र हाम्रो नगरपालिकामा पनि पूर्णरुपमा सवारी साधन खुलेका छन् । नगरपालिका भित्र खुल्लमखुल्ला सबै आउजाउ भइरहेको छ । जिल्ला सर्वपक्षीय बैठक र सरकारले समेत लकडाउन खुलाएको अवस्थामा हामीले हाम्रो क्षेत्रमा सिल गर्नु जायज हुन्न कि जस्तो लाग्यो र जनता पनि यसबाट आक्रोशित हुन सक्ने अवस्था आउन सक्छ भनेर हामीले स्थानीय स्तरमा निषेधाज्ञाहरू पनि लगायेनौं किनकि हामी अब विरोध थेग्न सक्ने अवस्थामा छैनौँ तर अब दसैँमा घर आउनेहरूले सँगै ल्याउने डर र त्रासको माहौल भने बढो चुनौतीपूर्ण होला कि भन्ने लागेको छ । त्यसैले, दसैँमा घर आउनेहरूलाई मेरो विशेष अनुरोध कृपया आफू र आफ्नालाई सुरक्षित राख्ने जिम्मा तपाईँ आफैको हो । त्यसैले, यो कुरालाई पहिलो प्राथमिकतामा राख्नु होला  ।

अब प्रदेश सरकार वा सङ्घले लकडाउन गरायो भने मात्र नत्र त हामी पूर्ण रूपमा खुला छौँ तर हामीले बाहिरबाट आएकाहरूलाई निगरानीमा राख्ने काम गरिरहेका छौँ । विदेशबाट आउनेलाई भने सिधै क्वारेन्टाइनमा राखेर मात्र घर जान दिने गरेका छौँ । अब त तातोपानी नाका पनि खुलेको छ तर अब त हामीलाई चिन तर्फबाट जोखिम छैन । तर चीनलाई खास गरी पूर्व तिब्बतलाई नेपालको तर्फबाट जोखिम छ । चीनको तिब्बतमा कोरोना भाइरस फैलिएको छैन तर अब नाका खुले पनि नेपाली व्यवसायी सवारी आवत जावत पनि खुल्छ । चीनको भन्दा नेपालमा अहिले धेरै कोरोना सङ्क्रमित भइसकेका छन् । त्यसैले चीन तर्फबाट नेपाललाई जोखिम छैन । त्यसमा चीनले र सँगै नेपालले पनि सुरक्षाको उपाय अपनाउनु जरुरी छ ।

यो कथा बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोकका मेयर निमफुन्जो शेर्पासंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।

विरोध थरीथरीका !

मध्यरातमा घाटमा चिया बेच्छु

लकडाउन खुले पनि अझै सचेत हुनुपर्छ

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।