महामारी रोक्न यसपालि जहाँ छौँ त्यहीँ चाडबाड मनाऔं

हामीलाई मात्र होइन सारा विश्वलाई नै अत्तायो यो महाविपद् कोरोना भाइरसले । प्राय: राजनीतिक आपद् विपद् उतारचढाव देखेका हामी नेपालीलाई यो कोरोना भाइरस नयाँ किसिमको चुनौती बनेर आयो । स्वास्थ्य क्षेत्रमा यत्ति ठुलो समस्या सायदै नेपालले कहिले भोगेको थियो होला । केन्द्रीय  सरकार मात्र भएको भए सायद हामी गाउँलेको समस्या न त समाधान हुन्थ्यो न त सम्बोधन नै । हामी गाउँले एक कुनामा मरेर बस्थ्यौँ होला उता काठमाडौँको सिंहदरबारले विरलै त्यो खबर सुन्थ्यो होला तर अहिले त्यस्तो भएन । ‘गाउँ गाउँमा सिंहदरबार’ भन्ने नारा त बल्ल कोरोना भाइरस महामारी पछि जनताले थाहा पाए जस्तो लाग्छ ।

अहिले त लकडाउन खुल्यो तर यो बेला हामी स्थानीय सरकारलाई झन् पो समस्या देखिएको छ ।  स्थानीय तह मात्र लकडाउन गरौँ भने पनि जनता रिसाउने ‘केन्द्र सरकारले त लकडाउन खोलिसक्यो स्थानीयको मात्र के को फुर्ती हो’ सम्म मान्छेले भन्न भ्याइसके । लकडाउन गरौँ वा निषेधाज्ञा लगाऊ भने पनि झन् सङ्क्रमण पो फैलने हो कि भन्ने  पिर थपिएको छ । यतिन्जेल गाउँपालिकालाई जोगाएर राखेको हामीले अब अन्य ठाउँमा बसेका स्थानीय जनता वा कामले यता आउनेहरूबाटै कोरोना सङ्क्रमण सर्छ कि भन्ने त्रास छ । सो बाट आफ्ना जनतालाई कसरी जोगाउने भन्ने चिन्ता लागिरहेको छ । लकडाउन हुँदा त सजिलो थियो । अहिले भिडभाड बढेको छ । स्थानीय तह भित्र आउने सबैलाई पीसीआर गरेकै हुनु पर्ने परिवारमा आएको छ भने पनि सबैको सम्भव छैन भने मुख्य एक व्यक्तिको मात्र भए पनि पीसआर टेस्ट गर्नै पर्ने नियम बनाएका छौँ । तर कोही त्यसरी थाहा नदिई हतारमा आएको छ भने उसलाई १४ दिन क्वारेन्टाईनमा बस्नै पर्ने त्यसमा अटेरी गर्नेलाई प्रशासन लगाएर भए नि सम्झाई बुझाई गर्ने काम भइरहेको छ । सुरुमा गाउँ गाउँमा प्रतिकार समूह बनाएका थियौँ । उनीहरूलाई पनि अब लकडाउन खुलेपछि सक्रिय बनाएर परिचालन गर्ने वडाको निर्णय भएको छ । सुरु सुरुमा हामीले क्वारेन्टाईनमा राखेकाहरूलाई दिनमा १७५ को दरले खाना खर्च दिने गरेका थियौँ तर अब त गाउँपालिकाको खर्चले नधान्ने स्थिति आएपछि सबैलाई होम क्वारेनटाइनमै राख्ने आफ्नै खर्चमा आइशोलेनमा बस्ने व्यवस्था गरेका छौँ तर त्यसरी बसेकाहरूमा लक्षण देखिएमा पीसीआर टेस्ट चाहिँ वडाको समन्वयमा गाउँपालिका मार्फत निःशुल्क गर्ने व्यवस्था गरेका छौँ । हाम्रो गाउँपालिकाले त नयाँ नियम बनाएको छ । गाउँपालिकामा भित्रने जो कोहीले पनि एक हप्ता अगाडि सम्म गरेको पीसीआर टेस्टमा नेगेटिभ आएको रिपोर्ट देखाउनु पर्नेछ  ।

अब त भारत लगायत तेस्रो मुलुक र काठमाडौँ वा सिरान चोक बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न सक्ने अवस्था नै छैन किनकि अब लकडाउन खुलेपछि ठुलो मात्रामा मानिसको आउँजाउँ बढेको छ त्यसैले अब क्वारेन्टाइनमा राख्नेभन्दा पनि होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुपर्छ भनेर हामीले सोचेका छौँ । सिरान चोकको ५ नम्बर वडामा भने कट्ट बारीमा एक क्वारेन्टाइनको व्यवस्था गरिएको छ। जहाँ अन्य ठाउँबाट आएका मानिस जसको आफू बस्ने घरमा सेफ होम क्वारेन्टाइनमा बस्ने अवस्था छैन भने मात्र उनीहरूलाई राखिन्छ । उनीहरूलाई व्यक्ति पिच्छे अस्थायी ट्वाइलेट, धाराको व्यवस्था गरेका छौँ । उनीहरूलाई एक परिवार नै छ भने एक ट्वाइलेट बनाइनेछ । यसरी बसेका कसैलाई लक्षण देखिएमा तुरुन्त सम्बन्धित मानिस वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष लगायत सबैलाई खबर गर्न अनुरोध गरेका छौँ र तुरुन्तै पीसीआर टेस्टको लागि पठाएर उनीहरूलाई आइसोलेसनमा राख्ने व्यवस्था गरेका छौँ ।

गाउँपालिकाले सबै वडालाई लक्षित गरी जौवारिमा ५ बेडको आइसोलेसन तयारी अवस्थामा छ भने नयाँ साँघुमा पनि ५ बेडको आइसोलेसन बन्दै छ ।

हाम्रो वडा नं ५ मा २ जनामा कोरोना देखिएको छ । गाउँपालिका भरी ८ जनामा कोरोना देखिएको छ । दुई जना चाहिँ मैले आफैले लगेर राखेकाहरूमा लक्षण देखिएको थियो । उनीहरूको पीसीआर परीक्षणको लागि लगिएको थियो ।  उनीहरूलाई मैले नै राशन पानी बोकेर लगेका थिएँ । उनीहरूमा लक्षण देखिएपछि पनि मैले नै राशन पानी लगेँ । पिपिई सेट नभए पनि मैले हातमा पन्जा मास्क लगाएर उनीहरूलाई खाना पानी लगिदिन्थे । उनहिरुको सम्पर्कमा आइसकेपछि म पुर्णरुमा आफूलाई साबुन पानीले पखालेर नुहाइधुवाई गरी लगाएको लुगा फुकालेर आफैले धुन्थे तर पनि स्थानीयमा छाएको त्रासले भनौँ वा के ले हो मलाई हेर्ने दृष्टिकोण भने मैले फरक भएको महसुस चाही गरेको थिए । जुन बेला म सङ्क्रमितको सम्पर्कमा आएर आफ्नो घरमा जान्थेँ छरछिमेकको आफ्नै आफन्तको हेराइमा पनि फरक पाए तर त्यो चाही म माथिको हेराई भन्दा पनि यो महामारीले गर्दा उत्पन्न भएको परिस्थितिले हो भन्ने मलाई लागेको छ ।

भूमिकामा बाँधिएर एउटा जिम्मेवार पदमा बसेपछि हामीले नगरे कसले गर्ने ? समाज र देश लगायत सबै ठाउँको मानिस जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ । व्यक्तिगत रूपमा मलाई डर त लागेन तर घरपरिवारसँग बसेपछि सचेत चाही भइँदो रहेछ । मेरो घरमा बुढा बाबु छन् मेरो सानो बच्चा पनि छ । श्रीमती पनि रोगी छिन् । त्यसैले म हरेक पटक घर जाँदा सुरुमै हात मुख धोएर नुहाएर मात्र घर भित्र पस्छु । मेरो बुबा पनि पहिलेको उपप्रधान पन्च हुन् । गाउँका बुढाबुढीहरु भेटघाट गर्न मान्छे आइरहन्छ । अब सबैलाई मेरो घरमा नआइज भन्न पनि नमिल्ने त्यसैले मेलै त घरमा एउटा आइडिया लगाएको छु । मैले नै घरको आँगनमा दुई वटा मुडा राखिदिएको छु । त्यसलाई दायाँबायाँ नसार्नु । जो पनि बाहिरको मान्छे आउँछन् उनीहरूलाई त्यसैमा बस्न भन्नु भनेर घरका सबैलाई सिकाएर काममा निस्कन्छु । बेलुका गएर चेक गर्छु कि कतै मुडा सरेको छ कि भनेर । अचेल त बानी परेको छ । सबैलाई थाहा छ । मेरो घरमा यस्तो नियम छ भनेर  अब हामी सबै आफै सचेत भइएन भने रोगले आक्रमण गर्न बेर लगाउँदैन । मान्छेको सोचाई परिवर्तन गर्न चाहिँ निकै गारो हुने रैछ भन्ने मैले यो महामारीमा थाहा पाए ।

यही बेला हो वडा अध्यक्षलाई गाली गर्ने भनेर पनि कतिपय मानिस बसेका हुने रैछन् । जस्तो कि लकडाउनको सुरु सुरुमा ठाउँ ठाउँबाट मानिसहरू लुकीछिपी गाउँ पस्थे । स्थानीयले मलाई नै फोन गरेर फलानो ठाउँबाट मान्छे आएको छ तैँले किन रोकिनस् अहिले नै गाउँबाट निकाल् समेत भनेर गाली गरे । दिन रात नभनी घरपरिवार नभनी यस्तो भयानक रोग विरुद्ध यसरी काम गर्दा पनि यस्तो नराम्रो वचन सुन्दा त कुन दिनमा वडा अध्यक्ष भइएछु जस्तो नि लाग्थ्यो कहिले त । कसम सहयोग गर्ने भन्दा पनि गाली गर्ने धेरै हुँदा मान्छेको मन रुन्छ नि । मेरो नि रोएको थियो आफ्नो काम योगदानको कदर नहुँदा तर त्यो त जनताको क्षणिक आवेग हो । त्यसमाथि उनीहरूको आशाको केन्द्र पनि हामी नै हौँ हामीलाई नभने कसलाई भनुन् जस्तो पनि लाग्थ्यो अनि मन बुझाउँथे ।

विकासको कामलाई ठप्प पारेर बस्ने कुरा पनि भएन । अहिले वडामा बर्दियाबाट ४० जना सडकका मजदुरहरू आएर काम गरिरहेका छन्  । उनीहरू आउने भएपछि हामी सुरुदेखि नै सचेत छौँ । कोभिड कोभिड मात्र भनेर गाउँ विकासलाई नै पछाडि धकेल्ने कुरा आएन । अब त लकडाउन पनि खुलेको छ । सरकारी लगायत निजी क्षेत्र पनि चलायमान भइरहेको छ। मैले त सकेसम्म त्यति टाढाबाट मजदुर नल्याउन ठेकेदारलाई पनि भनेको हु तर यहाँ स्थानीयले सडकको काम गर्न नसकेपछि बाध्य भएर बर्दियाबाट मजदुर ल्याएका हौँ । उनीहरूलाई एउटै बसमा यहाँ गाउँपालिका सम्म ल्याउने काम भएको छ । सबै जनाको पीसीआर टेस्ट गराएका छौँ त्यो पनि एक हप्ता अघि सम्मकोलाई मात्र मान्यता दिएका छौ भने आएर एक हप्तासम्म क्वारेन्टाइनमा राखेर मात्र काममा लगाएका छौँ तर पनि गाउँका केहीले मलाई फोनबाट थर्काई सकेका छन् बाहिरबाट मान्छे ल्यायो भनेर तर म अब डराउँदिन । गाउँ ठाउँको विकासको लागि अगाडी बढ्छु । जनता कोही अरूको उक्साहटमा आवेशमा आउँछन् कोही नबुझेर नजानेर आक्रोशमा आउँछन् जसरी आएका भए पनि म उनीहरूलाई सम्झाई बुझाई गरेर सहेर बसेर भए पनि म अगाडी बढिरहेको छु । कोभिड सुरु भएपछि र लकडाउन सुरु भएपछि र खोलेपछि उता विकासको काम पनि चलेको थियो । यता महामारीलाई व्यवस्थापन गर्न धौ धौ भएको थियौँ । त्यहीमाथि जनताको आक्रोश बढिरहेको थियो । त्यो बेलामा त म नै हार मान्न थालेको थिए कुन दिनमा वडा अध्यक्ष भएछु जस्तो नि लाग्यो ।  आफू एक तिर काम गर्न थाल्छु अरूले खुट्टा तान्दा दिक्क लाग्ने रहेछ । तर धैर्य गरेर बसे केहीलाई सम्झाई बुझाई गरेर अगाडी बढे । अहिले सबैले बुझेका छन् कि अन्य ठाउँको भन्दा हाम्रो गाउँमा कोभिडको रोग बढेको छैन । हाम्रो कार्यशैली सही रहे छ भन्ने बुझ्न थालेका छन् ।

हामी स्थानीय सरकार नभएको भए कोरोनाले झन् विकराल रूप लिन्थ्यो होला । अहिले केन्द्र प्रदेशको मुख ताकेर बसेको भए त कोरोनाले गाउँ नै सखाप भइसक्थ्यो कि जस्तो लाग्छ । जे जति प्रयास गरियो र सफल भइयो त्यो सबै हामी स्थानीय तहकै पहलमा भएको हो । हामीले महामारी सुरु भएपछि गाउँबाट अन्यत्र जाने देशकै अर्को ठाउँमा वा विदेश रहेका सम्भव भएसम्म सबैको तथ्याङ्क लिएर सम्पर्कमा ल्याउने कोसिस गर्‍यौँ । गाउँ फर्कनै पर्ने अवस्थाका मानिसलाई समन्वय गरेर गाउँमा ल्याउनेदेखि उनीहरूको व्यवस्थापन गर्ने सम्मको काम हामी स्थानीय तहको पहलमा नै भएको छ ।

दसैँ आएको छ । त्यस बेला मानिसलाई गाउँ नै नफर्क भन्न मिल्दैन । सकेसम्म जहाँ छन् त्यही दसैँ मानौँ । गाउँमा आउँदा अन्य आफन्तमा पनि त्रासको वातावरण सिर्जना हुने, उनीहरूले पनि हेयको दृष्टिले हेर्छन् कि त्यो नि सोचौँ । गाउँ नै आउन पर्ने भए पनि पीसीआर टेस्ट गरेर मात्र आउँ । आउनु अघि मैले घरपरिवारमा नराम्रो कोसेली अर्थात् कोभिड त आफूसँगै लादै छैन ,? भनेर एक पटक सोचौँ आफैले समीक्षा गरौँ अनि मात्र गाउँ फर्कौं र दसैँ फेरि अर्को वर्ष पनि आउँछ तर ज्यान नै नरहे कसरी दसैँ मनाउनु ? त्यसैले सबै जना मन देखि नै हातेमालो गरेर कोभिडलाई परास्त पार्न सफल पाछौँ भन्नेमा म विश्वस्त छु ।

हाम्रो सिरान चोक गाउँपालिकाको सबैमा हाम्रो आग्रह के छ भने यो दसैँमा हामी जहाँ छौँ त्यही हाँसी खुसी दसैँ मनाऔं । ज्यान रहे जहान रहन्छ भन्छन् नि हो अर्को वर्ष दोब्बर खुसीका साथ दसैँ मनाउला भन्न चाहन्छु । दसैँको बेला हुने व्यस्तताले झन् कोभिड १९ फैलने खतरा धेरै हुन्छ ।  दसैँ अर्को वर्ष पनि आउँछ तर कोरोनाले ज्यानै लगे फेरि आउँदैन ।

यो कथा सिरान चोक-५, गोरखाका वडा अध्यक्ष, सन्तोष गुरुङसंग गरिएको कुराकानीको आधारमा लेखिएको हो ।

 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।