कर्णालीको पहिलो मृत्यु दुल्लुमै हुँदा निकै डरायौँ

कोरोना भाइरसको सङ्क्रमणका कारण कर्णाली प्रदेशमै पहिलो पटक नागरिकको ज्यान हाम्रै नगरपालिकामा गयो । सँगै कर्णालीमा कोरोना सङ्क्रमित तेस्रो नागरिकको मृत्यु पनि यहाँकै मानिसको भयो ।

दुल्लु नगरपालिकामा एकै पटक भारत तथा अन्य विदेशका मुलुकहरूबाट ३५०० जना नागरिकहरू यहाँ आउँदा व्यवस्थापनमा सकस पर्‍यो । अहिले व्यवस्थापनमा सकस छैन ।  चाडपर्वसँगै अब पुन पालिकामा भित्रिने क्रम बढ्ने हुनाले कोरोनाको जोखिम बढ्ने देखिन्छ । पहिले कोरोनाको सचेतनामा ध्यान थियो भने अहिले उपचारमा केन्द्रित हुने हाम्रो लक्ष्य छ । अहिले दुल्लु अस्पतालमा हामीसँग ८० वटा अक्सिजन सिलिन्डर रहेका छन् साथै सोही अस्पतालमा ७५ वटा बेडहरू रहेका छन् । भवन नभए पनि पाल हालेर पनि उपचार गर्नुपर्छ भन्ने हाम्रो योजना हो ।

नागरिकहरूले शङ्का छ भन्ने बित्तिकै स्वाब परीक्षण गर्ने गरेका छौँ । हामीले ४२ वटा विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्‍यौँ । दुल्लु अस्पताललाई आइसोलेसन र छिउँडिकुसाकोट स्वास्थ्य चौकीलाई कोरोना अस्पतालको रूपमा विकास गरेका थियौँ । अब हामीले दुल्लु अस्पताललाई नै कोरोना अस्पताल घोषणा गर्नुपर्ने स्थिति आउन सक्छ । जस्तो आपत् विपद्मा निराश हुनुहुन्न भन्ने सिक्यौँ । आपत् विपद्को समयमा जनतालाई सबैभन्दा काम लाग्ने नै स्थानीय सरकार हो भन्नेसमेत छर्लगं प्रमाणित समेत भइसक्यो ।

नगरपालिका कर्णाली प्रदेशकै जनसङ्ख्या र भूगोलको हिसाबले ठुलो हो । नगरपालिकाले रिकभरी प्लान गराएको छ । ६० जनाको समूह बनाएर विदेशबाट आएका नागरिकहरूलाई ४ वटा वडामा विकास निर्माणको काम भइरहेको छ । १८० जना युवाहरूलाई काम गरेबापत उनीहरूकै खातामा पैसा जाने व्यवस्था मिलाइएको छ । ६० लाखभन्दा कम बजेट भएका योजनाहरूमा डोजरको प्रयोग नगर्ने भएकाले उनीहरूलाई काममा लगाउने योजना बनाएका हौँ । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमसमेत छन् हामीसँग यही मोडेलका । त्योबाहेक कम लागतमा कृषि तथा पशुपालन गरेकाहरूलाई प्रोत्साहानस्वरुप केही रकम दिने व्यवस्थासमेत रहेका छौँ । बाँझो जमिनलाई उत्पादनमा जोड्ने, सामूहिक खेतीलाई प्रोत्साहन गर्ने योजनामा छौँ । वडा नं ९ प्यादुरामा रहेको १०० रोपनी जग्गामा आलु लगाउनको लागि बिउ वितरणसमेत गरेका छौँ ।

यो कथा दुल्लु नगरपालिका दैलेखका मेयर घनश्याम भण्डारीसंग गरिएको कुराकानीमा आधारित भएर लेखिएको हो।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।