लकडाउन कहिले खुल्ला-लकडाउन कथा

लकडाउन कहिले खुल्ला ?

जाँच सकेर मामाघर नुवाकोट जाने भनेर मामु-बाबाले भन्नुहुन्थ्यो । उहाँहरू दुवै जना अफिस जानुहुन्छ । अनि म घरमा एक्लै पर्छु । त्यसैले मलाई मामाघरमा मेरो पुकु भाइसँगै ठूलमामुले लगिदिने भन्नुभएको थियो । मलाई कहिले जाँच सकिएला र स्कूलको छुट्टी होला भन्ने लागिरहेको थियो । भर्खर जन्मिएकी मेरो अर्को ठूलमामुको छोरी, मेरो बहिनी पनि मामाघर आएका छन् रे । उनीहरूलाई कहिले भेटौँ जस्तो भएको थियो । हुन त म पहिला पनि नयाँ क्लास जानुभन्दा अगाडि हुने यस्तै छुट्टीमा मामाघर जाने गर्थें तर यसपालि चैं दुई जना नयाँ बहिनीहरूसँग भेट हुने थियो मामाघरमा । त्यही भएर भाइ र मलाई मामाघर कहिले पुगौँ जस्तो भएको थियो ।

यसपालि स्कूल जाँदा धेरै कुरामा ध्यान दिनुपर्छ भनेर घरमा सबैले अनि स्कूलमा टिचरहरूले भनिराख्नुहुन्थ्यो । पहिला पहिला स्कूल बसमा मास्क लगाउनुपर्दैन थियो तर अहिले मास्क भुल्यो भने मामुले कराउनुहुन्थ्यो । अनि बाबाले स्यानिटाइजर ल्याइदिनुभएको थियो स्कूलमा, स्कूल बसमा हुँदा हातमा लगाउन । कोरोना भाइरसले गर्दा यस्तो गर्नुपरेको भन्नुहुन्थ्यो घरमा पनि स्कूलमा पनि सबै जनाले ।

मामु–बाबा हाम्रो जाँच कहिले सकिने हो भन्नुहुन्थ्यो । कोरोना डरलाग्दो रोग हो भनेको सुनेको थिएँ । नभन्दै हाम्रो स्कूलमा अन्तिम दिनको आर्टको जाँचै भएन, स्कूल बिदा भयो । अहिलेसम्म यसरी कुनै विषयको जाँच नदिएको थाहा थिएन मलाई ।

स्कूल छुट्टी भएपछि मामु–बाबा पनि केही खुसी हुनुभयो । काका, आन्टी, बहिनी, सञ्जीव काका, सोना निनी, सुवास काका घरका प्राय: सबै जना नुवाकोटको हाम्रो घर जानुभयो । बन्द हुन्छ रे भन्दै हुनुहुन्थ्यो सुवास काकाले । मलाई पनि उहाँहरूसँगै जाने मन थियो तर मामु–बाबाले पठाउनुभएन । उहाँहरूले मलाई अरू कसैसँग पठाउनुहुन्न । मलाई रिस उठ्यो । नुवाकोट जान कस्तो मन थियो । धेरै दिन छुट्टी हुन्छ । म के गरेर बस्नु ? मामु–बाबा त अफिस जानुहुन्छ । त्यसपछि म कोसँग बस्नु दिनभर घरमा भनेर मलाई फेरि दिक्क लाग्यो । मेरो पो स्कूल छुट्टी भयो त अरूको त हुन्न ।

मलाई पुकु भाइको घरमा भने लगिदिनुहुन्छ । शनिबार जाने भन्नुभयो मामुले । त्यतिञ्जेल घरमा म कोसँग बस्नु भनेको त धन्न निनीको पनि मेरो जस्तै छुट्टी भएछ । निनी र मेरो प्राय: उस्तै उस्तै बार छुट्टी हुन्छ । मेरो स्कूल पनि शनिबार र आइतबार छुट्टी हुन्छ । उहाँको पनि शनिबार र आइतबार छुट्टी हुन्छ । मलाई अरूसँग भन्दा निनीसँग घरमा बस्न मन पर्छ किनकि उहाँ मसँग खेल्नुहुन्छ, आर्ट गर्नुहुन्छ, नाँच्न नआए पनि नाँच्नुहुन्छ । त्यसैले, म उहाँको साथी उहाँ मेरो साथी । हामी दुवैको छुट्टी भएपछि भइगो भन्ने लागेको थियो तर होइन रहेछ । घरमै भए पनि उहाँले घरबाटै काम गर्नुपर्ने रे ! अनि मैले टिभी हेरेर दिन काट्नुपर्ने भयो ।

मलाई ब्याडमिन्टन जस्तो बाहिर खेल्ने खेल खेल्न मन थियो यो बिदामा । कत्ति हेर्नु टिभी मोबाइल ! कहिलेकाहीँ उहाँ एक-एकछिन ब्रेक टाइम भन्दै मसँग खेल्न आउनुहुन्थ्यो । म खुसी हुन्थें ।

हाम्रो स्कूल छुट्टी भएपछिको आइतबार मलाई किन हो साह्रै डर लाग्यो । बाबाले समाचार लगाउँदा कोरोना भाइरसले धेरै देशमा कति धेरै मान्छे मरेको समाचार सुनेको थिएँ । हाम्रो देशमा पनि आयो भन्ने सुनेकी थिएँ । टिभीमा घरमै बस्नु, बाहिर धेरै ननिस्किनु भनिराखेको छ । तर बाबा-मामु अनि बुबाले अफिस जानुपर्छ ।

म डराएको कुरा निनीले थाहा पाउनु भएछ । उहाँले मलाई त्यस्तो केही हुन्न भनेर सम्झाउनुभयो । अनि ‘बम बम भोले’ भन्ने फिल्म देखाउनुभयो । राम्रो रहेछ । मैले डर भुलेछु । त्यसको भोलिपल्टदेखि त सबैको अफिस बन्द, अझ काठमाडौं नै बन्द भयो रे । गाडी पनि नचल्ने, पसल पनि नखुल्ने । मामु-बाबा, बुबा पनि घरमै बस्ने हुनुभयो । यो त राम्रै भयो तर मैले मेरो पुकु भाइ भएको ठाउँमा जान पाइनँ । मलाई नराम्रो लाग्यो ।

हाम्रो एउटा फ्यामिली ग्रुप छ मेसेन्जरमा । त्यसमा पुकु भाइ अनि सानी, ठूली मामु, मामा, आमा, बा सबैले एकै पटक भिडियो कल गर्‍यौँ, म त्यहीँ बोलें । एक दुई दिन त रमाइलो लाग्या थियो । पछि मलाई अल्छी लाग्यो भिडियो कलमा बोल्न पनि । साँच्चि नै भेटेको जस्तो हुँदैन नि त ।

दिन बित्दै गएपछि मलाई स्कूलको याद आयो । स्कूलमा खेलेको, कुदेको । मेरो बेस्ट फ्रेण्ड साराको याद आयो । ऊ विशालनगरमा बस्छ । उसलाई पनि मेरो याद आयो रे । उसको मबाहेक अरू कोही साथी छैन नि त । उसको मामुले भिडियो कल गर्नुहुन्थ्यो अनि हामी दिनभर त्यही खेल्थ्यौं । मेसेन्जरमा खेल्न मिल्छ नि त । हामी गफ गर्नुभन्दा पनि धेरै खेल्थ्यौं । रमाइलो हुन्थ्यो तर घरीघरी नेट स्लो भएर रिस उठ्थ्यो ।

मलाई आर्ट गर्न एकदम मन पर्छ । त्यही भएर होला मलाई बाबाले आर्ट गर्ने सामान ल्याइदिनुभयोः कलर, स्केच पेपर, काठको आर्ट गर्ने कुरा सबै । बाबा मेरो लागि स्यान्टा हो । मलाई चाहिएको जे कुरा पनि ल्याइदिई हाल्नुहुन्छ । भन्नै पर्दैन । मैले पहिलो स्केच मेरो बेस्ट फ्रेण्ड साराको बनाएँ । म घरीघरी छतमा गएर सारा भनेर चिच्च्याउँथे सुन्छ कि भनेर तर मैले मनमैजुबाट चिच्च्याएको उसले विशालनगरमा सुनेन होला ।

अब मलाई रमाइलो लाग्न थाल्यो शनिबारबाहेक कोही नभेटिने हाम्रो घरमा अहिले सबै घरमै हुन्थे । अरू बेला त शनिबार पनि घरी पार्क घरी कहाँ जानुपर्थ्यो । मलाई भने घरमै बसेर खेल्ने रहर हुन्थ्यो । त्यो रहर पूरा भएको थिएन । कहिले कसको समय नमिल्ने कहिले कसको । यो पालि भने सबैको समय मिल्यो ।

खाना खाएपछि बाबा-मामु र म छतमा गएर घाम ताप्थ्यौँ, निनी भने उहाँकै कोठामा ल्यापटपमा केके गर्नुहुन्थ्यो । म गएँ भने ‘अहिले म काम गर्दैछु यति बजे ब्रेक टाइम अनि खेल्नुपर्छ । डोन डिस्टर्ब अहिले’ भन्नुहुन्थ्यो । मलाई रिस उठ्थ्यो । अनि म निनीको ढोकाबाहिर बसिरहन्थेँ । बेलाबेलामा ‘भएन खेल्ने टाइम ?’ भन्थेँ‌ । मामु-बाबा मसँग निनी जस्तो धेरै खेल्नुहुन्नथ्यो नि त । निनीलाई फकाउन म हजुर मोटी भइसक्यो घर बसेर एक्सरसाइज गर्नुपर्छ भनेर बिहान बिहान छतमा लान्थेँ । हामी स्किप खेल्थ्यौं, रिङ खेल्थ्यौं, ब्याडमिन्टन खेल्थ्यौं । फिल्म हेर्दै खाना खान्थ्यौं ।

बम बम भोले’ मलाई सबैभन्दा मन पर्ने थियो । त्यो फिल्म मैले १४ पटक भन्दा धेरै हेरें यो बिदामा । मलाई त्यो फिल्मको ‘रिमझिम’ भन्ने केटी मन पर्थ्यो । म जत्रै थियो तर उसको जुत्ता थिएन । मलाई उसलाई भेटेर जुत्ता दिन मन लाग्यो । मसँग त कति धेरै जुत्ता छ नि त । मलाई पहिलो पटक थाहा भयो रिमझिमको जस्तै कति धेरैको जुत्ता हुन्न भन्ने ।

निनीले भन्नुभयो, देख्यौ सबै जनाको जीवन हाम्रो जस्तो हुँदैन, त्यही भएर एक अर्कालाई सहयोग गर्नुपर्छ । त्यही बेला बाबाले समाचार लाउँदा टिभीमा देखेको थिएँ धेरै जना चप्पल लागाएरै टाढाटाढा हिँडेर गएको । कोही त बोल्दाबोल्दै रुनुहुन्थ्यो । अनि कसैकसैले सहयोग पनि गर्नुभयो रे । त्यो देख्दा मलाई पनि रुन मन लाग्थ्यो गाडी किन नचलेको होला भनेर । विचरा उनीहरूसँग खानेकुरा छैन रे । अनि कसैको घर पनि छैन रे काठमाडौंमा भन्थ्यो । अनि हाम्रो जस्तै गाउँको घर जान हिँडेको रे । नुवाकोटको मेरो घर जान गाडीमा तीन घण्टा लाग्छ । उनीहरूलाई हिँडेर घर पुग्न कति दिन लाग्दो होला । बाबा-मामुले पनि विचरा भनेको सुन्थें ।

मलाई खासमा समाचार हेर्न मन पर्दैन तर बाबले हेर्नुहुन्थ्यो । म पनि उहाँहरूसँगै हुने भएकोले हेर्थें ।समाचार हेरेर धेरै कुराहरू थाहा हुने रहेछ । समाचारमा नपाएका, चप्पल लाएर घर जान हिँडेका मान्छे मात्र हेर्दिन । हाम्रो प्रधानमन्त्रीका कुरा पनि सुन्छु । मैले उनको चित्र पनि बनाएको छु ।

बम बम भोले’ बाहेक मैले ‘चिल्लर पार्टी’ पनि हेरें । त्यो पनि मलाई खुब मन पर्‍यो । त्योचैं मैले पाँच पटक जति हेरें निनीको ल्यापटपमा । मलाई हलमा धेरै मान्छेहरूसँग बसेर भन्दा निनीको ल्यापटपमै फिल्म हेर्न मन पर्‍यो । अल्छी लाग्यो भने फास्ट गरेर हेर्न पनि मिल्ने, आफूलाई मन परेको सिन मात्र हेर्न पनि मिल्ने । अनि दोहोर्‍याई-तेहर्‍याई हेर्न पनि मिल्ने । यो फिल्ममा चैं हाम्रो प्रधानमन्त्री जस्तै एक जना हुनुहुन्थ्यो । निनीले खै नेता भन्नुहुन्थ्यो । साह्रै नराम्रो हुनुहुन्थो । सबै बच्चाहरूलाई दुख दिइराख्ने अनि कुकुरलाई देखी नसहने । यहाँ हाम्रो टोलमा पनि सडकका कुकुरहरूलाई ठूलो मान्छेहरूले पिटेर लखेट्छन् । त्यस्तो देख्दा मलाई रुन मन लाग्छ । ठूला मान्छेहरू किन यस्त भएका होलान् जस्तो लाग्छ । हाम्रो छिमेकमा सृजना निनी हुनुहुन्छ । उहाँचाहिँ सबै कुकुरहरूलाई बिस्किट, माम दिंदै हिँड्नुहुन्छ । उहाँलाई धेरै कुकुरले पिछा गर्छ । मलाई त उहाँ कुकुरहरूको मामु जस्तै लाग्छ । एक पटक मैले पनि उहाँसँगै गएर कुकुरलाई बिस्किट दिएँ । मलाई कस्तो खुसी लाग्यो ।

मेरो निनीलाई सनराइज, आकाश अनि चरा हेर्न सार्है राम्रो लाग्छ । म पनि आजकल निनीसँगै चरा उडेको हेर्छु । सनराइज, सनसेट हेर्छु । फोटोमा भन्दा पनि राम्रो देखिंदो रहेछ । जुमा देखेको भन्दा पनि राम्रो । अनि निनीले चराको आवाज सुन त ध्यान दिएर भन्नुहुन्छ । हामी त्यो पनि सुन्छौं । कस्तो रमाइलो हुन्छ |

कोरोना भाइरसबाट बच्न मिचिमिची हात धुने भनेको भन्यै गर्थ्यो निनीको एफ.एम.ले । म पनि मिचिमिची हात धुन्थेँ । त्यसरी हात धुँदा धुँदा बबल बनाउथें । दुई-तीन दिनपछि त कत्रो ठूलो ठूलो बबल बनाउन थालें । निनी दङ्ग पर्नुहुन्थ्यो । अनि भिडियो खिच्नुहुन्थ्यो । मलाई त बबल किन्न मात्र पाइन्छ जस्तो लाग्थ्यो । आफैं पनि बन्दो रहेछ भनेर बल्ल थाहा पाएँ ।

मैले बबल बनाउन सिकेको ‘बम बम भोले’ फिल्म हेरेर हो । एफ.एम.ले घरमै बस्नु, बाहिर ननिस्किनु पनि भन्छ । त्यसैले होला घरबाट कोही निस्किन्न । छतछतबाटै कुरा गर्छन् । मेरो बाबा र बुबाचैं अल्छी लाग्यो भनेर घरीघरी निस्किरहनुहुन्छ । कसैले भनेको नि मान्नुहुन्न । बाबालाई त साथीहरू नभेटी नहुने रे । हामीलाई पनि त हाम्रो साथी भेट्न मन लाग्छ तर पनि हामी घरभित्रै बसेका छौं ज्ञानी भएर । ठूला मान्छेचैं ज्ञानी नहुने । मैले त सबैको ढोकामा ‘स्टे होम’ लेखेर टासिदिएँ तर पनि मान्नु हुन्न ।

हामी सिर्जना निनी र सिर्जना निनीको घरको कुकुर स्मोकीसँग झ्याल झ्यालबाटै कुरा गर्छौँ ।स्मोकीले पनि बुझिसक्यो अहिले त । मलाई झ्यालमा देख्ने बित्तिकै कुद्‍दै आएर गफ गर्छ ।

हामी बाहिर जान नपाउने अनि बाहिरको मान्छे आउन नपाउने कुराले अलि दिनपछि चिन्ता लाग्न थाल्यो । किनकि मेरो बर्थडे आउँदै थियो । पुकु भाइलाई कसरी भेट्ने, केक कसरी काट्ने, पसल खुलेन भने केक कहाँबाट ल्याउने भनेर । म फेरि दु:खी हुन थालें । सबैले वैशाख १७ सम्ममा त खुलि हाल्छ नि भन्थे तर लकडाउन फेरि थपियो ।

लकडाउन हाम्रोमा मात्र होइन सबै देशमा भएको रहेछ । चाइना, इन्डिया, अनि संगीता निनीको जापानमा । संगीता निनीले निनीलाई फोन गर्दा मसँग पनि बोल्नुहुन्थ्यो । अनि जापानमा पनि कोरोनाले सताएको छ भन्नुहुन्थ्यो । त्यसपछि सबैतिर त्यस्तै रहेछ, हामीले घरमै बसेर कोरोनासँग लड्नुपर्छ जस्तो लाग्थ्यो ।

त्यसपछि त लकडाउन हट्ला भनेको त झन् हाम्रो क्लास नै पो अनलाइनमा लिने भनेर मामुले सुनाउनुभयो । स्कूलको म्याम अनि साथीहरूसँग भेट्न पाइने भयो भनेर मलाई खुसी लाग्यो । अनलाइन क्लास एकदुई दिन त ठिकै लाग्यो तर पछि मन परेन । स्कूलमै गएर पढेको जस्तो नहुने रहेछ । क्लासरुममा खेल्दै, टिफिन खाँदै, हाँस्दै सँगै पढेको जस्तो नहुने रहेछ ।

निनीले नाटक हेरौं, बालबालिकाको कथा सुनौं, आऊ भन्नुहुन्थ्यो । मलाई मनै पर्दैनथ्यो । मलाई त कथा किताबमै पढ्न मन लाग्छ । फेसबुकमा भनेको कथा मलाई मन पर्दैनथ्यो । बरु आफूले जानेको कथा निनीलाई सुनाउन मन पर्थ्यो । हामीले कथा रेकर्ड पनि गरेका छौं ।

मेरो बर्थडे आयो । बाबाले कताकताबाट केक ल्याउनुभयो । हामीले घरमै खानेकुरा बनायौं, रमाइलो लाग्यो । मदर्स डेमा मैले युटुब हेरेर ओरियो केक पनि बनाएँ । आजकल म कालो चिया पनि बनाउँछु तर ग्यास बाल्नचैं आउँदैन । भाँडामा पानी, चियापत्ती र चिनी राखिदिन्छु । अनि मामु या निनीले बसाली दिनुहुन्छ । आफूले खाएको भाँडा आफैं माझ्छु । फूलमा पानी हाल्छु । घरको काममा अरूलाई सहयोग गर्न पाउँदा मलाई रमाइलो लाग्छ । यो बिदामा समय धेरै भएर पनि होला धेरै कुरा सिकेँ ।

तर पनि मलाई लकडाउन मन परेको छैन । मलाई सारासँग भेट्न मन छ, खेल्न मन छ तर कसरी भेट्ने थाहा छैन । स्कूल जान मन छ । म टु क्लासमा जानुपर्थ्यो अहिले । तर स्कूल खुलेको छैन । मेरो पुकु भाइको हात भाँचिएको छ रे । उसलाई भेट्न पाएको छैन । सानुको नयाँ बहिनी एक पटक पनि हेर्न पाएको छैन फोटोमा बाहेक । उसले पनि त उसको ठूलो दिदी पनि छ भनेर थाहा पाउनुपर्छ । तर यो लकडाउनले गर्दा केही गर्न पाएको छैन । मलाई यी कुराचाहिँ मन परेको छैन । गाउँमा गएको बहिनी कस्तो मज्जाले बाहिर खेलिरहेको फोटो फेसबुकमा हेर्छु । हामीचैं काठमाडौंमा घरभित्र कोचिएका छौं । त्यही भएर पनि मलाई काठमाडौं मन पर्दैन । गाउँमा कस्तो फ्रि हुन्छ, यहाँ त जेल जस्तो । मामु-बाबा अनि निनीसँग समय बिताउन पाए पनि कहिले स्कूल जाने, मामाघर जाने, पुकुलाई भेट्ने, सारालाई भेट्ने भनेर पर्खिरहेकी छु ।

यो कथा पलिस्था श्रेष्ठसंग गरीएको कुराकानीमा रहेर दीपज्योति श्रेष्ठले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।