कोरोनाको भन्दा पनि तलबको चिन्ताले सतायो

खै के भन्ने, जिन्दगीमा साह्रै दुःख छन् ।  आफ्नो दुःख त लुकाएर पनि बाँच्न सकिन्छ तर परिवारको दुःख लुकाउन नसकिँदो रहेछ ।  म पेसाले एउटा शिक्षक ।  करिब पाँच महिना बढि भो तलब नपाएको ।  बेरोजगार नै हुनुपरेको भए त सायद त्यो तलबको पनि त्यति मतलब नहुँदो हो ।  यता उता गरेर जसोतसो टर्दो हो जीवन तर यो जागिरले त जीवनलाई यस्तो मझधारमा ल्याएर खडा गरिदियो कि न यसलाई चट्ट छोडेर अगाडि बढ्न सक्छु न यसलाई साथमा लिएर जिन्दगीका खुशीहरुलाई यथावत् राख्न सक्छु ।  कसैले भन्थ्यो जागिर भनेको अरूको अगाडि गएर गिर्ने हो रे ।  हामी अरूको जागिर खानेहरुले जत्तिको यसको अनुभव अरू कसले गर्न सक्छ होला र ?  हामी जागिरेहरुको व्यथा यो कोरोना कहरमा त छताछुल्ल भयो ।

यो आठ महिना कसरी गुजारें म जिन्दगीमा कहिल्यै सम्झिन चाहन्न ।  हुन त संघर्षका कथाहरू कहिल्यै भुल्नु हुँदैन भन्छन् ।  तर यो कस्तो सङ्घर्ष आफ्नो श्रमको मूल्य पाउन पलपल तड्पिनुपर्ने ? सारा दुनियाँलाई भाईरसबाट जोगिनुको चटारो छ आफूलाई घरव्यवहार चलाउनुको ।  ‘यो महिना पनि विद्यालय खुलेन अब कसरी घरव्यवहार टार्ने’ भनेर अलमल्ल पर्दै कटिरहेछन् मेरा यी कोरोना कहरका दिनहरू ।  यदि विद्यालय खुल्थ्यो भने म यति बेला विध्यार्थीहरुलाई पढाउने पाठहरूको योजना बुन्दै हुन्थेँ ।  एकदम सन्तोषजनक कमाई नभए पनि महिना पिच्छे तलब आउनेमा ढुक्क हुन्थ्यो, एक तरिकाले घर चलिरहन्थ्यो ।  आफ्नो र विद्यार्थीको सपना सजाउनमै व्यस्त हुन्थेँ तर अहिले तलब नआउँदा सिर्जित अभावहरू टाल्नै मलाई फुर्सद छैन, सपनाको कुरा त कता हो कता ।

तलब बिनाको जागिर भनेको जसले जे भने पनि बेरोजगार जस्तै नै हो ।  फरक यत्ति हो कि बेरोजगारलाई तलब कहिले आउला भन्ने चिन्ताले सताउँदैन, मन विचलित गराउँदैन, मानसिक तनाव दिँदैन तर हामीलाई यो चिन्ताले सताउँछ, एकदम मन विचलित गराउँछ, मानसिक तनावको त कुरै छोडौँ ।  घरीघरी सित्तैमा अरूको काम गरिदिँदै पो छु कि जस्तो पो लाग्छ ।  नत्र त्यस्ता अभावसँग खास मलाई डर लाग्दैन ।

मेरो घरको आर्थिक अवस्था निकै कमजोर थियो ।  ६ जनाको परिवारमा अहिलेसम्म कसैले स्नातक पास गरेको छैन ।  मैले जीवनमा धेरै समस्याहरूको बाबजुद पनि स्नातक तह पुरा गरेँ ।  अभावमै पनि हासिल गरेको ठुलो उपलब्धि हो यो मेरो जिन्दगीको ।  आर्थिक अवस्था कमजोर भएकै कारण घरमा बिजुली बत्ती ल्याउन सकिएन ।  धेरै गाह्रो थियो ।  यस्तो अभावको बिचमा लेखपढ गर्न धेरै समस्याहरू अईपर्थ्यो ।  राति पढ्ने धेरै रहर हुन्थ्यो तर घरमा बिजुली बत्तीको अभाव हुँदा पढ्ने रहर पुरा हुँदैन थियो ।  तैपनि मौका मिलेसम्म पढ्न बस्थेँ किनकि लाग्थ्यो मैले अहिले पढिन भने भोलि मैले राम्रो जागिर पाउँदिन अनि मेरो सुखी जीवन जिउने सपनाहरू अधुरै रहन्छ ।  हाम्रो लागि पढेर ठुलो मान्छे बन्नु भनेको राम्रो जागिर पाउनु हो तर अहिले जागिर खाएपछिको अनुभव पाएसी भने त्यो सब भ्रम रहेछ भन्ने लाग्दै छ ।

समय परिवर्तन भयो तर परिवारको आर्थिक अवस्थामा त्यस्तो राम्रो सुधार आउन सकेन ।  त्यस कारण पनि हो प्लस टु सक्ने बित्तिकै लालबन्दीको एक स्कुलमा पढाउन सुरु गरेको ।  यहाँ मैले ३ वर्ष स्कुल पढाएँ ।  त्यो बेला मेरो तलब चार हजार मात्र थियो ।  त्यही ठाउँमा हुँदा एउटा कोचिङ सेन्टरमा कक्षा ९ र १० लाई पनि पढाएँ ।  त्यहाँ पनि खास राम्रो पारिश्रमिक नभएर पढे लेखेर जागिर खाए पनि सपना देखेजस्तो घरको आर्थिक अवस्थामा खास सुधार ल्याउन सकिएन ।  पछि समय बित्दै गयो ।  मैले अहिले पढाउने गरेको यो बर्दिबासको बोर्डिङ स्कुलमा २०७५ साल जेठ महिनादेखि हो ।  यहाँ मेरो सुरुको तलब बाह्र हजार थियो ।  पर्याप्त त होइन तर जिन्दगी धान्न सारथि हुन्छ यो जागिर अहिलेलाई भनेर घरबाट टाढै रहेर भए पनि काममा खट्टिएँ ।  यहाँ बस्दा आफ्नो घर नभएको कारण होस्टेलमै बस्नु सिवाय अरू विकल्प थिएन मसँग ।  होस्टेलमा बस्दा स-साना बालबालिकाहरूलाई ट्युसन पढाउनु पर्थ्यो तर त्यहाँ मेरो  आफ्नो कामको उचित मूल्याङ्कन नै भएन ।  त्यो कुराले अहिले पनि कुनै बेला मन साह्रै रुन्छ ।

खै यो पेसा कस्तो हो, परिश्रम धेरै गर्नुपर्ने तर परिणाम भने बमोजिम नपाइने ।  होस्टेलले पनि अहिलेसम्म पढाएको पैसा पूर्ण रूपमा नदिँदा साह्रै दिक्क लाग्छ ।  आजभोलि भनेरै टारी रहन्छ ।  यसरी हेपिदा पनि जागिर भने चटक्कै छोड्न सकिन न कोरोना अगाडि न अहिले ।  कोरोना त एउटा बहाना हो हामीले समयमा तलब नपाउने, हाम्रो कामको सम्मान नहुने समस्या त पहिलेदेखि नै भोगिरहेका हौँ ।

भन्छन् ‘देशका कैयौँ ठुला-ठूला स्कुलहरूले पनि आफ्ना कर्मचारीहरूलाई तलब दिन सकेको छैन हामीले कसरी दिने ?’ यसमा फलानोले दियो दिएन, ढिस्कानाले दियो दिएन भन्दा पनि संस्थाले जुनसुकै अवस्थामा आफ्नो कर्मचारीलाई कसरी ‘सर्भाईभ’ गराउँछ भन्ने हो ।  कोरोना कहर मात्र होइन भावी दिनमा अरू पनि कहरहरू आउन सक्छ के त्यो बेला पनि यसै गरी पन्छिरहन मिल्ला ? फेरि एक महिना दुई महिनाको कुरा पनि होइन यो यति लामो समय आफ्ना कर्माचारीहरु कसरी ‘सर्भाईभ गरिरहेका छन् भनेर संस्थालाई पोल्दैन भने संस्था कसरी अभिभावक हुन सक्छ ? घरीघरी मलाई संस्थाहरू पनि सरकार जस्तै लाग्छ आपत् विपतमा आफ्नो नागरिकको अभिभावक हुनुपर्नेमा कारणै मात्र देखाएर पन्छिरहने?

पुरै कोरोना कहरको महिनामा हामीले कामै नगरी कहाँ बस्यौँ र ? बिचबिचमा हामीले स्कुलले भने अनुसार अनलाइन पढायौँ ।  अनलाइन मात्र होइन कहिलेकाहीँ त गाउँमै गएर पनि पढाएँ तर पनि आफूले गरेको श्रमको सम्मान नभएको देख्दा मन दुख्छ, रिस उठ्छ, दिक्क लाग्छ ।  कोरोनाको भयले भन्दा यस्तो कुराले मानसिक तनाव बढी थप्यो यो कहरमा ।

यस्तो विपदमा त एक अर्कालाई केयर गर्ने, एक अर्काको सहयोग गर्ने, साथ दिएर कहरसँग लड्नु पाएको भए कहरको अनुभव पनि सम्झन लायक हुन्थ्यो होला तर यहाँ त पलपल आफ्नो सम्मानको लागि लड्नुपर्ने, आफ्नो पारिश्रमिकको लागि जिउ जिउ गर्नुपर्ने अवस्थाले यथार्थमा मन भावविह्ल छ ।  कसैलाई सुनाउनु पनि के सुनाउनु ‘तिमीले मात्र हो र सबैले पाएको छैन’ भनिदिन्छ, घरकोले ‘अझै तलब आएन यसरी कसरी चलाउने घर’ भन्छ ।  ‘यो कहरले यस्तै हो सबैको अवस्था नाजुक छ, तलब आएन, आर्थिक सङ्कट भयो’ भनेर भन्नेहरू धेरै भए तर पाँच महिनासम्म तलब नआउँदा घर कसरी चलाउने, दैनिकी कसरी गुजार्ने भनेर कसैले भनिदिएन ।

के गर्नु जिन्दगी गुजार्नु हात धोएर, मास्क लाएर, सामाजिक दुरी अपनाएर सङ्क्रमण भगाउनु भन्दा धेरै महत्त्वपूर्ण रहेछ ।  हात धोएर, मास्क लाएर, दुरी अपनाएर यदि सपना टुट्नबाट जोगिन्थ्यो भने, जिन्दगीको समस्याहरूबाट जोगिन्थ्यो भने म त घरमै बसिबसी हात धोईरहन्थें, सुतिसुती घरभित्रै जीवनभर लक्ड भएर जिन्दगी चलाईदिन्थें ।

हामी जागिरेहरूलाई केयर गर्ने, गाह्रो साह्रो बुझ्ने, हाम्रो मतलब राख्ने कोही छैन ।  यो यथार्थ हो ।  अरू बेला त यो त्यति महसुस भएको थिएन तर यो कहरमा ऐनामा जसरी छर्लङ्ग भयो ।  कर्मचारीको अभिभावक संस्था नै हो तर यो कहरमा जब जब म आफूलाई हेर्छु मन साह्रै रुन्छ ।  अहिले कोरोना कहरले विश्व नै तहस नहस भएको बेला सबैतिरको आर्थिक स्थिति डामाडोल भएको कुरा हामीलाई पनि थाहा छ तर यो सबमा हाम्रो के गल्ती ? यस्तो परिस्थितिमा आफ्नो काम गर्ने ठाउँले कर्मचारी कोही पनि हैन जस्तो गर्नु हुन्छ र ?

पहिला जागिर खाएर के के न हुन्थ्यो जस्तो लाग्ने कुराहरू आज बकम्फुसे लाग्ने गरेका छन् ।  त्यसैले सोच्छु विदेश हान्निउ ।  अब यसरी कति दिन चल्छ ? मरिमरी काम गर्‍यो खल्ती खालि सधैँ ।  घरकाले पनि पत्याउन छाडिसके छोरा जागिरे हो कि होइन भनेर ।  नामैको मात्र जागिरे भएर त जिन्दगीको यथार्थबाट कहिलेसम्म भाग्नु ? उसै पनि घरबाट टाढै बसेरै जागिर खाएको हो, देशबाटै टाढा गएर मजदुरी गर्न नसकिने कहाँ हो र ? जीवनमा विदेशमा श्रम गर्न जान नपरोस् भनेर त्यत्रो अभावमा पनि घोटिएरै पढेँ अझै पनि धेरै पढ्ने रहर छ तर के गर्नु पढेको मान्छेको, परिश्रम गर्ने मान्छेको यहाँ कत्तिको सम्मान हुँदो रहेछ मजाले देखियो ।  साह्रै मन दुखेको छ ।

के गर्नु आर्थिक सङ्कटले त मान्छेलाई घरको न घाटको बनाउँदो रहेछ ।  केही महिना यता झन् धेरै फुर्सदिलो भएर पनि हो कि मनमा नानाथरी कुराहरू खेलिरहन्छ ।  जिन्दगीमा आफूले सोचेको कुराहरू कोरोना सङ्क्रमणको ग्राफ बढे जस्तै छोटो समयमै उमो लाग्नु नि है तर के गर्नु चाहेको भन्दा नचाहेको कुराहरूको ग्राफ चैँ ह्वातह्वाती माथि लाग्दो रहेछ त ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।