यो कोरोना महामारीमा हामीले रकम भन्दा पनि खाद्यान्न राहतमा जोड दियौँ । सुरुमा जब सरकारले लकडाउन घोषणा गर्यो । धेरै त आफ्नो सुरक्षित स्थान वा पुर्खौली घरमा गएका थिए । तर यहीँ सधैँ कोठा भाडामा बस्दै आएकाहरू, बाहिरबाट आएका मजदुर श्रमिकलाई प्राथमिकतामा राखेर राहत वितरण गर्यौ । यहीँका लोकल भन्दा पनि बाहिरबाट काम गर्न आउनेलाई समस्या धेरै पर्ने बुझेर प्राथमिकताको पहिलो सूचिमा उनीहरूलाई राख्यौँ । चामल दाल गरेर हामीले ३३ सय परिवारलाई राहत वितरण गयौँ । दोस्रो चरणमा भने सरकारले नै ‘खाद्यान्नको लागि काम’ को कार्यक्रम अगाडी सार्ने योजना बनायो । हाम्रो नगरपालिकाले पनि सोचिराखेको विषय भएकोले तुरुन्तै लागु पनि गर्यौ । मजदुरले काम पनि पाउने अनि नगरपालिकाको विकासको काम पनि हुने र राहत पनि पाइने भएकोले एक तिर दुई पन्थको काम हुन्छ भन्ने सोचेका थियौ । तर त्यसको नतिजा त ठिक उल्टो पो आयो । अचम्म त के लाग्यो भने पहिले सित्तैमा राहत वितरण गर्दा धेरै जना ‘पीडित छु’ भन्दै राहत थाप्न आए तर जब खाद्यान्नको लागि रोजगारी भन्ने योजना ल्यायौँ तब एक जना पनि काम खोज्ने र राहत लिने भनेर आएन । त्यसपछि मलाई के महसुस भयो भने मानसिक तवरले नै ‘नेपाली मागी खान पो पल्केका रैछौं कि’ जस्तो । ‘काम गर्नुस् हामी खाद्यान्न दिन्छौ’ भन्दा किन कोही पनि पनि आएनन् तर सित्तैमा ‘म लकडाउन पीडित भए’ भन्दै माग्न चैँ आए । जसलाई आवश्यकता छ उसले त काम पनि गर्न सक्नुपर्यो नि भन्ने मलाई लाग्थ्यो तर मलाई लागेर मात्र के गर्नु । हामी अवसर र काम पाएनौँ, सरकारले दिएन भन्छन् तर वास्तविकता यस्तो छ ।
झन् अचम्मको कुरा त कोहीले राजनीतिक प्रतिसोध साध्न पनि यो लकडाउन र कोरोना कहरलाई हतियार बनाए । ‘अहिले सित्तैमा राहत नदिए अर्को पटक भोट हालिन्न’ सम्म भन्न भ्याए । तर ती चाही सुद्ध नागरिक भन्दा पनि राजनीतिक आस्था राख्ने र कतैबाट परिचालित जस्तो नि लाग्छ । जो वास्तविक पीडित हुन् उनीहरू त सोझै आउन सकिहाल्थे नि ।
यो कोरोना कहरमा सरकारको एउटा ठुलो जिम्मेवारी हो राहत वितरण । यस्तो आपत् विपत्को बेला नागरिकले राज्यबाट अपेक्षा गर्ने र राज्यले पनि आफ्नो नागरिकलाई अभिभावकत्वको आभास दिलाउन सुरुको गाह्रो स्थितिमा राहतका कुराहरू आउँछ । हामीले पनि स्थानीय सरकार भएको नाताले अनि आफ्नो जिम्मेवारीलाई आत्मसाथ गर्दै राहतहरू विभिन्न चरणमा वितरण गर्यौ र राहत प्याकेजका विभिन्न आइडियाहरू ल्यायौँ तर सोचे जस्तो कति आइडियाले काम गर्यो कतिले गरेन ।
नगरपालिकाले करिब १५ लाख बराबरको राहत वितरण गर्यो । क्वारेन्टाइन व्यवस्थापन गर्न, स्वास्थ्य सामग्री खरिद ५० लाख भन्दा बढी नगरपालिकाकै रकम खर्च भएको छ । सबै खर्च नगरपालिकाले अन्य शीर्षकको खर्च काटेर व्यवस्थापन गर्नु पर्यो । मलाई भन्दा कत्ति पनि असहज हुन्न प्रदेश वा सङ्घबाट अहिलेसम्म कुनै सहयोग रकम आएन तर रमाइलो कुरा हरेक हप्ता जस्तो निर्देशन र चिठ्ठी चाही आयो है । स्वास्थ्य कर्मचारीलाई शतप्रतिशत भत्ता, स्वास्थ्य प्रोटोकल लगायतको विषयमा पटक पटक चिठ्ठी आउने निर्देशन आउने काम त मज्जाले भयो तर त्यो काम गर्न चाही सङ्घ र प्रदेशको हामीसँग कत्ति पनि समन्वय भएन । चिठ्ठी पठाउने काम मात्र भयो । अझ जिल्ला स्तरीय आइसोलेसन बनाउने क्रममा पनि जिल्लाका सबै स्थानीय तहसँग पैसा उठाएर बनाउने पर्ने स्थिति आयो । हामीले आफ्नो गाउँपालिकामा त खर्च गर्यौ नै उता जिल्लाको लागि पनि हाम्रै खर्चले आइसोलेसन बनायौँ। स्थानीय कै वित्तीय समाणिकरणको पैसाले बनायौँ । गोरखामा १०० बेडको आइसोलेसन बनाएका छौँ । उता सङ्घ सरकारले के गर्यो खै हामीले त थाहा पाएनौ । नीति बनाइदियो तर स्रोत दिएन । यो कोरोनाको बेलामा मात्र भोगेको होइन अरू बेला पनि यस्तै हो हाम्रो ताल । कतिसम्म गैर जिम्मेवार सरकार छ हाम्रो । खै कति कराउनु, कति गुनासो गर्नु ! कराउँदा कराउँदै कार्यकाल नै सकिने बेला भइसक्यो ।
कोरोनाको अर्को तितो अनुभव भनेको स्कुलहरू सुचारु गर्न निकै कठिन भो । सुरुमा त पुरै लकडाउनले गर्दा सबै विद्यालय बन्द गर्ने पर्यो । तर अब त एक शैक्षिक सत्र नै सकिन लागिसक्यो । सधैँ पढाई बन्द गरेर बस्ने अवस्था छैन भनेर सिकाई केन्द्रको रूपमा चोकमा चौतारामा पढाउने प्रयास गर्यौ तर त्यो झन् खतरा देखियो । अनि जसरी पनि स्कुल खुलाउने निधो गरियो । तर दसैँको समयमा नगरपालिकाबाहिर वा विदेशबाट आएका आफन्तले कोरोना सार्ने समस्या छ कि जस्तो लाग्यो त्यसैले फेरि पुर्णरुपमा बन्द गर्यौं। धेरै जसो विद्यालयहरूले आफूखुसी अनलाइन कक्षा सञ्चालन गरेको त छ तर नगरपालिका आफैले भने अनलाइनको लागि पालिका भित्रको सबै विद्यालयलाई अनिवार्य भने गर्न सकेको छैन । किनकि सबै विद्यार्थीमा इन्टरनेट पहुँच छैन । हामीले यसमा पनि त हेक्का राख्नुपर्छ ।
यो कहरमा निकै समस्याहरूको सामना गर्नुपर्यो । झन् आवश्यक ठाउँहरूबाट समन्वय नभइदिँदा काम गर्न परेको दुःख भनी सक्नु छैन । सुरुमा विद्यालयहरुमा क्वारेन्टाइन बनाएकोमा स्कुल आफैले अब पढाई सुरु गर्ने भनेर हटाउन दबाब दिएकोले एक स्कुलमा मात्र आइसोलेसन बनायौँ । विद्यार्थी सङ्ख्या एकदम कम भएको एक सुदर्शन आधारभूत स्कुलमा आइसोलेसन बनाएका हौँ । त्यहाँ विद्यार्थीलाई अन्य जहाँ नजिक छ त्यहाँ पढ्ने माहौल बनाएका छौँ ।
गोरखामा सुरुमा देखिएको कोरोना हाम्रै नगरपालिकामा हो । सुरुमै देखिए पनि धेरै फैलिएको थिएन। पछिल्लो समय धेरै फैलिएको छ । पहिले स्थानीय जनतामा मात्र देखिएको थियो । अहिले त कर्मचारीमै देखिन थालेको छ । नगरपालिका वडा सचिव र वडा १ मा समुदाय स्तरमा देखिए । सुरु सुरुमा चाही क्वारेन्टाइनमा बसेकाहरूलाई देखियो तर अहिले चाही समुदाय स्तरमै फैलियो ।
सुरुको तनाव त सम्झिदा पनि कस्तो कस्तो लाग्छ । कोरोनासँग जनताको मानसिकता कति सम्म त्रसित थियो भने गाउँ नजिक वा स्कुलमा पनि क्वारेन्टाइन राख्न दिइएन । कोरोना भन्ने बित्तिकै हेयको दृष्टिले हेर्ने जसले कोरोनाबारे काम गछौं भने उनीहरूलाई नै घृणा र हेयले हेर्न थाले । अहिले त घर घरमै छन् कोरोनाको बिरामी । पहिले नै सजग भएर क्वारेन्टाइनमा राख्न दिएको भए यस्तो समुदाय स्तरमा फैलिने थिएन कि जस्तो लाग्छ । मलाई दुख त के कुराको लागेको छ भने समाजको मै हुँ भन्ने र अलि बुझेका कोरोनाबारे जानेकाहरूले समेत मलाई साथ दिएनन् । बुझेर पनि बुझ पचाउने वा बुझ्न नै नचाहने मानसिकताले सबैलाई समस्यामा पारो । लकडाउन सुरुका दिनमा राम्रैसँग पालना गरे । कोरोना त त्यो बेला हाउगुजी जस्तै थियो। के हो कसरी सर्छ भन्नै नै अन्योलमा परेपछि जनता तर्सिएको स्थिति थियो । त्राहि त्राहि भएर बाच्नु परेको थियो । कोरोना लागेको सुनेमा पनि उसको परिवारलाई नै हेयको दृष्टिले हेर्ने। कति सम्म भने काठमाडौँमा कसैका आफन्तलाई कोरोना लागेको खबर आएमा यहाँ गाउँमा उसका परिवारलाई हेयको भावले हेर्ने समेत भेट्यौं । त्यस्तालाई सम्झाउन निकै कसरत गर्न पर्यो । तर अहिले भने माहौल फेरिएको छ । जीवन सँगसँगै कोरोना भन्ने मनस्थितिमा जनता पुगेका छन् । अब त कोरोनाबाट लुकेर होइन सामना गरेर तर बचेर जीवन जिउनुपर्ने रैछ भन्ने बुझे । रोजी रोटी नै रोकिने भएपछि घरभित्रै थुनिएर त भएन । हुनेले त खालान् तर बिहान बेलुका मजदुरी गरेर पेट पाल्नेलाई त गारो छ । एक वर्ष लगभग हुन लागिसक्यो ।
जेजस्तो भए पनि नगरपालिकाको तर्फबाट भने हामीले आफ्नो कर्तव्य बिर्सिएनौ । १० वटै वडामा कम्तीमा एक एक वटा क्वारेन्टाइन खोल्यौँ । यद्यपि अहिले दुइवटा मात्र चलिराखेको छ । अहिलेसम्म ५०० सय बढी मानिसलाई क्वारेन्टाइनमा राख्यौँ । पीसीआर टेस्ट गर्ने दुई हजार बढी छन् जस्तो लाग्छ । सुरुका दिन कठिन भए पनि अब चैँ हामी आफैले आफ्नो लागि काम गर्नुपर्छ भन्ने बुझेका छन् । समाजले पनि कोरोनालाई स्वीकार गरेर सावधानी अपनाएर अघि बढ्न सिकिसके । म त भन्छु, कोरोना सँगसँगै जीवनको रणनीति जनताले लिएका छन् ।
जिउ रहे घिउ खान पाइन्छ भने जस्तै अब आफ्नो र आफ्नाहरूको सुरक्षामा कुनै कमी नराख्न नगरपालिकाले आह्वान गरेका छौँ । कृपया जनताहरूलाई के अनुरोध छ भने चाडपर्व विवाह व्रतबन्ध पार्टी सभा समारोहमा सकेसम्म नजानुस् । अब त कामको सुरु पनि छ । आफ्नो काममा जाँदा मास्क – स्यानिटाइजर प्रयोग गरौँ सामाजिक दुरी कायम गरौँ । स्वास्थ्य प्रोटोकलको पालना गरौँ ।
यो कथा पालुङटार नगरपालिका, गोरखाका मेयर दीपकबाबु कँडेलसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।