केन्द्र सरकारले स्थानीय निकायलाई बोझ मात्र थमायो

हाम्रो गाउँपालिकालाई अहिलेसम्म कोरोना मुक्त बनाउन सफल भएका छौँ । गोरखाको सबैभन्दा दुर्गम गाउँपालिका मानिने धार्चेमा कोरोना पनि दुर्गम नै भइदियोस् भन्ने हाम्रो प्रार्थना छ । जे होस् अहिलेसम्म गाउँपालिका भित्र कोरोनालाई भित्रन दिएका छैनौँ भन्दा गर्व लाग्छ । अहिलेसम्म यो गाउँपालिकाको दुई जनालाई कोरोना भएको पुष्टि भएको छ तर उनीहरू यहाँ बस्ने होइनन् स्थायी ठेगाना यहाँ भए पनि भारतमा मजदुर गर्न गएकाहरूमा कोरोना देखिएको हो जो उतै बिरामी भएर ठिक पनि भएको खबर आएको छ । हाम्रो मान्छेलाई कोरोना लागेको भन्या त्यतिलाई मात्र हो ।

कोरोना नभित्रिए पनि हामी सजग भने छौँ ।  अहिलेसम्म २०० जनाको पीसीआर परीक्षण भइसकेको छ । उहाँहरूमा कोही कनट्याक्ट ट्रेसिङ र कोहीमा भने रुघाखोकी देखापरेपछि आशङ्कामा पीसीआर गरिएको हो । तर सबैको रिपोर्ट नेगेटिभ आएको छ । तराईबाट आएको केही शिक्षक र सरकारी कर्मचारीहरूलाई प्राथमिकता दिएर पीसीआर गरिएको थियो ।

लकडाउन सम्बन्धी नेपाल सरकारले दिएको नीति तथा निर्देशनलाई पूर्णरुपमा पालना गरेर हामी अगाडी बढ्यौँ हामी त अझ एक कदम अगाडी नै बढेर लकडाउनमा पनि विकास निर्माणको कामलाई भने सुचारु राख्यौँ । अब हामी गाउँपालिका छोडेर कतै नगएकाहरूलाई त कोरोना सङ्क्रमणको त्रास थिएन त्यसैले हामीले के सोच्यौँ भने अब लकडाउन मात्र भनेर हुँदैन आर्थिक वर्ष समेत सकिन लागेकोले विकास निर्माणको कामलाई ठप्प पार्न हुँदैन बरु यहीका मात्र जनशक्ति लगाएर काम गरौँ भन्ने सोच्यौँ र सबै खाले विकास निर्माणको कामलाई गति दियौँ । हामीले टोल सुधार समिति गठन गरेर कामलाई अगाडी बढाएका हौँ ।  त्यसो त हामीले कोरोना प्रतिकार समूह पनि गठन गरेका छौँ । त्यसले कोरोनालाई गाउँमा छिर्न नदिन मुख्य भूमिका खेलेको छ ।

गाउँ गाउँमा गएर सो समूहले कोरोनाबारे जनचेतना फैलाउने सन्देश दिने काम गरेको छ । फुन्जी खोला भन्ने ठाउँमा मास क्वारेन्टाइन बनाएका छौँ । ३५ जनाको क्षमताको सो मास क्वारेन्टाइनमा हामीले गाउँपालिका बाहिरबाट आएकाहरूलाई राखेका छौँ । खास गरी भारतमा मजदुर गर्न गएकाहरू कोरोनाको त्रास फैलिएपछि सुरु सुरुमा सबै जसो गाउँ फर्किए । उहाँहरूलाई राख्न पनि क्वारेन्टाइनको आवश्यकता थियो । अहिले पनि त्यहाँ  ७ जना जति छन् । गाउँपालिकाकै बजेटमा बडो दुःख गरी हतार हतारमा मास क्वारेन्टाइन बनायौँ ।

गाउँपालिकाको खर्चलाई प्रदेश सरकारले सोध भर्ना गर्ने आश्वासन दिए पनि अहिलेसम्म त्यसको अत्तोपत्तो छैन । विशेष गरी भारतबाट आएका आफ्ना नागरिकलाई हामीले यो क्वारेन्टाइनमा राखेका छौँ । ५ बेडको अस्थायी अस्पताल पनि बनाएका छौँ । लकडाउनको समयमा हाम्रो गाउँपालिकाबाट कति जना बाहिर छन् भनेर तथ्याङ्क निकाल्यौँ भने आएकाहरूलाई आबु खैरेनीमा रहेको होल्डिङसेन्टरबाट उद्धार गरेर गाउँपालिकासम्म ल्याउने काम गरियो ।  अहिले चाही आउजाउ बढेकोले आफ्नै खर्चमा मिलाएर आउँछन् ।

सुरु सुरुमा जनतालाई सम्झाउनै गाह्रो भयो । कुरो बुझ्दै बुझेनन् । विवाह व्रतबन्धमा भिडभाड हुने भएकोले रोक्नलाई आग्रह गर्‍यौ तर हामीलाई जनताले टेरेनन् । मलामी जान पनि कम गर्न आग्रह गर्‍यौ । तर यो टेर्ने त कुरै भएन । मानिसलाई आफ्नो परम्परा संस्कृति कति प्यारो हुन्छ भन्ने मैले यो लकडाउन र कोरोना कहरमा थाहा पाए । कोरोना सर्ने डर भए पनि मानिसले आफ्नो संस्कार र परम्परा चाही छोडेनन् । यो कुरामा जनतालाई मनाउन नसके पनि बाहिरका मानिससँग सम्पर्कमा नआउन भने आग्रह गर्‍यौ । यो चाही प्राय सबैले माने । हुन त यो गाउँपालिका नै दुर्गम भएकोले हत्तपत्त नयाँ मानिस आउने जाने त गर्दैन थिए ।

साबुन पानीले हात धुने बानी अझै बसेको छैन । गाउँपालिकाले प्रतिकार समूह बनाएर गाउँ गाउँमा गएर साबुन पानीले हात धुन सिकाउँदै छौँ । शिक्षा क्षेत्रमा अल्टर गरेर पढाउन सुरु गरेका छौँ  मास्क अनिवार्य गरेर बिहान र दिउँसो गरेर गाउँपालिकामा रहेको २४ वटै स्कुल सञ्चालनमा ल्याएका छौँ । कोरोनाको बिरामी नभएकाले रिस्क धेरै हुन्न जस्तो लागेको छ । गाउँका धेरै मानिस भारतबाट रोजगारी गुमाएर आएकोले यहाँ बेरोजगार बस्नु परेको स्थितिलाई ध्यानमा राखेर गाउँपालिकाले नयाँ योजना ल्याएको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत गाउँमा धेरै काम गरिएको छ । सडक निर्माणको कामलाई नि निरन्तरता दिइएको छ तर तल आबु खैरेनीबाट आउने ढुवानीमा केही समस्या भएकोले अलि गति लिन भने पाएको छैन । तर खुसीको कुरा गाउँमै रोजगारी पाएर धेरै माानिसहरु भारत फर्कनबाट रोकिएका छन् ।

गोरखामा पहिरोको गाउँपालिका भनेर हाम्रै गाउँ पालिकालाई चिनिन्छन् र अझै दुई वडालाई सडकले छुन सकिएको छैन ।  अहिले त हामी सडक मर्मतमै धेरै समय दिइरहेका छौँ ।

बाढीले धेरै क्षति पुर्‍यायो । खास गरी सडक र खेतबारीलाई क्षति पुर्‍यायो। दुई जनाको ज्यान समेत गयो । हाम्रोमा त बाढीले पो धेरै दुख दियो । समस्या त भयङ्कर छ । सीमित बजेट छ । एक वडाबाट अर्को वडामा जान दुई तिन दिन लाग्छ । हामीलाई त कोरोनाबारे सचेतना फैलाउन पनि समस्या पर्‍यो ।

हाम्रो आफ्नो बजेटले भ्याउन गाह्रो पर्यो । उता कोरोनाको लागि स्यानिटाइजर किन्नु कि आइसोलेसन बनाउनु कि सडक मर्मत गर्नु । उता सरकारले गरेको निर्णयले हामी स्थानीय निकायलाई त झन् मारमा पारेको छ ।  कोरोना कहरमा काम गर्ने स्वास्थ्यकर्मी लगायतलाई शतप्रतिशत भत्ता त दिने भन्यो  तर बजेट हामीलाई दिएको छैन । हाम्रो गाउँपालिकाको बजेट बाट धान्न सक्ने स्थिति छैन । मलाई त लाग्छ सरकारले यो स्थानीय निकायलाई बोझ मात्र थमाएको हो । कि त बजेट तत्काल पठाउनु पर्‍यो ।

कोरोनाले विश्वलाई नै हल्लायो । अमेरिका रुस जस्तो देशले त घमन्ड गरे पनि कोरोना विरुद्ध उपचार खोज्नमा अझै सफल भएका छैनन् । मेरो बिचारमा कोरोनाले हामी जस्तो गरिब मुलुकलाई आत्मनिर्भर बन्न पनि सिकायो । राम्रो पाठ नि सिकायो । सरकारले बनाएको नियम नमान्दा के हुन्छ भन्ने इटालीको अवस्था हेरेर पनि थाहा हुन्छ । त्यसैले कोरोनाले हामीलाई कसरी आत्मनिर्भर बन्ने देखि जडीबुटीको महत्त्वबारे र सरसफाइको बारेमा पनि ज्ञान दिएको छ ।

मानिसलाई हात त धुनु पर्ने थाहा थियो तर कसरी कुन बेला र कति समयसम्म धुने भनेर ध्यान दिएका थिएनन् । अब भने मानिसहरू धेरै सजग बनेका छन् ।

यो हाम्रो ठाउँमा धेरै जडीबुटी पाइन्छ । भण्डार नै हो ।  अन्य ठाउँमा गुर्जोको धुलो बनाएर बाडेको पनि सुनियो। हाम्रो तिर प्रशस्त गुर्जो लगायत जडीबुटी हुन्छ त्यसैले हामीले चाही त्यसैलाई कसरी प्रयोग गर्ने भन्ने सिकायौ ।

हामी त यहाँ कृषि भन्दा बढी जडीबुटीमा आत्म निर्भर छौँ । सालको खम्बा देखि यार्सागुम्बासम्म पाउने ठाउँ हो । पाँच औले निल मसी जटामसी जस्ता बहुमूल्य जडीबुटी छन् । त्यसैको कारोबारबाट यहाँको आर्थिक अवस्था सुधार्ने हो । तीन महिना चाही बाढी र पानीले यसै पनि नाकाबन्दी जस्तै भयौँ । सुरु सुरुमा केन्द्र र प्रदेशसँग समन्वय गरिए पनि बर्खा लागेपछि केही भएन । हामी आफै विपद् समिति मार्फत सकेको प्रयास गरेका छौँ । आर्थिक भरथेग चाही केन्द्र वा सरकारले गरे हामीलाई सजिलो हुन्थ्यो । यहाँ राष्ट्रिय प्रसारण पनि छैन । सोलारको भरमा बाच्नु परेको छ । मोबाइलको टावर समेत छैन । नेपाल टेलिकमको टावर समेत छैन । हामी यसै त हेपिएका जनता झन् कोरोना कहरमा त वास्ता हुने कुरै भएन । सधैँ हेपिने र प्राथमिकतामा नपरेपछि सरकारसँग आशा पनि कम नै हुने रैछ । हामीमा पनि आफ्नै जोहो गर्ने सोच आएको छ ।

यो कथा धार्चे गाउँपालिका, गोरखाका अदध्क्ष्य सन्त बहादुर गुरुङसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।