कोरोना लाग्दाको क्षण..

गत महिना कार्तिकमा काठमाण्डौको मौसममा सामान्यतया चिसो बढिसकेको थियो । चिसो लागेको भए पनि ,दशैले मानिसहरूको चहलपहल तातेको थियो । शरीरमा चिसो बढेको हुनाले मानिसहरू न्यानो बनाउन बाक्लो खालको कपडा लगाएर बसेका हुन्थे । मलाई पनि केही दिनदेखि शरीर सामान्य अवस्थामा नभएको कारणले जाडो , रुघखोकि र थकान मात्रै महसुस भइरहेको थियो । शरीरलाई न्यानो बनाउन सिरक ओढेर साथीको घरमा दिनभरि सुतेर बसेँ । अचानक मोबाइलमा म्यासेज आयो जसमा हिजो मात्रै दिएको कोरोना परीक्षणको रिपोर्ट हेर्नको लागि पठाएको युजर मेन र पासवर्ड थियो । मनमा डर लागेको थियो । रिपोर्ट आफैले हेर्न सकिन । पल्लो कोठामा बसिरहेको साथीलाई खबर गरे, उसले ल्यापटप खोलेर रिपोर्ट हेर्‍यो र न्याउरो अनुहार लाउँदै “ला ! रिपोर्ट त पोजेटिभ रहेछ” भन्यो । एक छिन त पुरै कालो बादल छायो आँखा अघि । मस्तिष्क शून्य भयो केही सोच्न सकिन, संसार रोकिएको जस्तो अनुभव भयो ।

मलाई मेरो भन्दा पनि गाउँमा रहेको बुढाबुढी, आमाबुवा र गाउँले आफन्तको चिन्ता लाग्यो । किनभने केही दिन अघि मात्रै गाउँमा दसैँ मनाएर हतार हतार फर्केको थियो ।

दसैँ सुरु हुनुभन्दा करिब १ महिना अगाडि देखि नै आमाले भावुक हुँदै सबै जनालाई दसैँमा घर आउन आदेश दिई रहनु भएको थियो । तर यस्तो महामारीमा जहाँ छौ त्यही बसौँ भन्ने भयो । काम परेर मलाई गाउँ (दोलखा) जानै पर्ने भयो । एक मनले नजाऊ त लागेको थियो तर आफ्नो काम पनि सम्पन्न हुने र आमाको भावुकतालाई कदर हुने हुनाले काठमाडौँमा रोक्न सकिन आफूलाई ।

फूलपातीको दिन गाउँमा जाने योजना बन्यो । शरीरमा कुनै पनि खालको असन्तुलन थिएन । पिसिआर परीक्षण गर्ने योजना बनाउँदै थिए तर कार्य व्यस्तता र स्वस्थ शरीरले गर्दा परीक्षण नगरीकन नै गाउँमा गए । गाउँमा हुँदा पनि मास्क लगाउँदै सामाजिक दुरी कायम गरेर बस्ने योजना सहित गाउँमा पुगे ।

महामारीको त्रासले गर्दा गाउँमा केही सङ्ख्यामा मात्रै गाउँले आफ्न्तहरु दसैँ मनाउन गाउँमा आएका थिए । गाउँमा दाजुभाइहरूको भेटघाट रमाइलो नै भयो ।

हरेक भेटघाटमा र घरमा हुने बेला सामाजिक दुरी र मास्क लगाएर नै बसे । गाउँमा नै हुने केही आफन्तहरूलाई पहिला देखि नै सामान्य रुघाखोकी लागेको रहेछ । मनमा कतै कोरोना पो हो कि भन्ने शङ्का पनि भयो तर गाउँमा कसरी कोरोना आउँला भनेर खासै चासो दिएन । दशैको टिकाको दिन शरीरमा सामान्य फेरबदल आयो । रुघा लागेर वासना हराउँदै गयो । मनमा चिसो त पसेको थियो तर सामान्य रुघाखोकी हो भनेर खासै वास्ता गरेन । सबै सुरक्षा विधि अपनाएर दशैको टिका पनि सक्यो । भोलिपल्ट बिहान रुघाले झन् कडा हिसाबले च्यापेको महसुस भयो । जतिसुकै कडा वासना भएको वस्तुको समेत गन्ध केही थाहा पाएन । सामाजिक दुरी कायम गरेर नै घरमा खाना खाए र तुरुन्तै काठमाडौं फर्किहाले ।

मनमा यो लक्षण कतै कोरोना पो हो कि भनेर सताइरहेको थियो त्यसैले कोठामा जानु ठिक लागेन । किनभने कोठामा दाइ भाउजू र स–साना नानीहरू थियो । दुरी कायम गरेर बस्ने खालको संरचना पनि थिएन । एक जना मन मिल्ने साथीलाई सबै बेलिबिस्तार सुनाएपछि उसले आफ्नो घरमा दुरी कायम गरेर बस्न मिल्छ भन्यो । त्यसपछि सिधै ललितपुरको कुसुन्तीमा साथीको घरमा पुगे । भोलिपल्ट केही कम होला की भनेर तातो पानीको बाफ लिए, सिटामोल खाए तर झन् झन् रुघा र शरीरमा थकान महसुस बढ्दै गयो । गाह्रो हुँदै गएपछि तेस्रो दिन पिसिआर परीक्षणको लागि पाटन अस्पतालमा गएर स्वाब दिए र कुसुन्तीमा नै गएर बसे । रिपोट नआउँदा सम्म मन एकदम आत्तिएको थियो । लौ भइहाल्यो भने के गर्ने होला ? शून्य दिमाग भइरहेको थियो । एक त शरीर गलेर शिथिल , आँखा पोल्ने, नाक बन्द भएर खाएको कुनै कुराको पनि गन्ध थाहा नपाउने सामान्य लक्षण मात्र मलाई भएको थियो जुन कुनै बेला हिरासतमा बसेको भन्दा पनि धेरै पिडादायी थियो ।

चौथो दिनमा आएको रिपोर्ट हेर्दै मित्रले तुरुन्तै हौसला दिँदै भने, “नआत्तिऊ केही हुँदैन, हामी छौ, सबै व्यवस्था हामी गर्छौ, निको भइहाल्छ नि ।” मित्रको यो शब्द मेरोलागि कोरोनाको बन्न लागेको भ्याक्सिन भन्दा पनि कडा डोजको लाग्यो । यस्तो सङ्कटमा पनि साथीले दिएको सान्त्वना र हौसला अमृत भन्दा पनि मिठो लाग्यो । मित्रताको महसुस मन भित्रैबाट भयो । संसार साथ र सहयोग मै चलेको रहेछ भन्ने आभास भयो । रिपोर्ट त पोजेटिभ आयो तर अब के गर्ने ? केही आइडिया भएन । अस्पतालमा जाऊँ केही दिन अगाडि अस्पतालहरूमा बेड नपाएको समाचार म आफैले लेखेको थियो बेड नपाउने पक्का भएपछि अस्पतालको झन्झट नलिने निर्णय गरे । आफन्त कसैलाई पनि कोभिड लागेको भन्न सकिनँ । तर अघिल्लो दिन देखि सँगै बसेर खाना खाएको साथी, साथीको बहिनी अनि अर्को एक जना साथी सँग तुरुन्त सम्पर्क गरे र उनीहरूलाई जानकारी गराए । घरमा भने दाइलाई बाहेक कसैलाई पनि खबर गरिन । व्यापार दाइले सम्हाल्नु पर्ने थियो त्यसैले दाइलाई थाहा हुनु एकदम नै आवश्यकता थियो ।

अफिसमा गएको बहिनी र अर्को साथीले दैनिकीको लागि चाहिने अति आवश्यक हरेक सामान ल्याएका रहेछन् । साथीहरूले मिलेर मलाई हिम्मत दिँदै कोरोना केही हैन तर केही सतर्कता भएर बस्नुपर्छ भन्दै हौसला दिए । मास्क, पन्जा, फेस सिल्लड ल्याएर मलाई लगाउन दिए । उनीहरूले पनि लगाए । त्यही कोठामा आइसोलेसन बस्ने वातावरण मिल्यो । म बसिरहेको कोठा मात्रै हैन पुरै घर नै सेनिटाईजरको प्रयोग गरेर विशेष सरसफई गरे । अनि मेरो लागि कहाँ सम्मा जाने भनेर सीमा छुटाइयो ।

साथीहरू म भन्दा पल्लो कोठामा बसे । सबैको मनमा डर थियो कतै उनीहरूलाई पनि सङ्क्रमण फैलिसकेको पो छ कि भनेर । भोलिपल्ट पिसिआर परीक्षणको लागि स्वाब दिएर आए र उनीहरूको रिर्पाेट नेगेटिभ आयो । त्यसपछि सबैको ध्यान मेरो स्वास्थ्यमा केन्द्रित भयो । मेरो खानाको हरेक तालिका उनीहरूले बनाए । खानामा पौष्टिक तत्त्व भएको खाना मात्रै पाक्न थाल्यो । तातो खाना ढोका सम्मा ल्याएर मेरो छुटै भाडामा राखिदिन्थे । मैले पलाष्टिकको भाडाहरू प्रयोग गरे । एक पटक प्रयोग गरिसकेपछि फालिदिन्थे । पटक पटक मेरो स्वास्थ्यको बारेमा सोधिरहन्थे र भन्थे यस्तो बेला केही असजिलो भए तुरुन्तै अस्पतालमा जानुपर्छ भनेर ।  दिनमा ४ पटक बाफ लिने गरे । बिहान उठ्ने बित्तिकै हल्का खालको व्यायाम गरेर खाजा खान्थे । खाजामा सधैँ केही न केही फरक फरक खालको विशेष खाने कुरा हुन्थ्यो । त्यसपछि खाना निश्चित समयमा अनि दिउँसो खाजा र बेलुका खाना । भिटामिन बि र सी को औषधि खाए । तातो पानी प्रत्येक घण्टा जस्तो खाएको हुन्थ्यो । त्यसमै फेरि ज्वानो, बेसार जस्ता जडीबुटीहरूको मिश्रण युक्त तलिय पदार्थ छिनछिनमा खाए ।

शरीर गलेर शिथिल हुने, आँखा पोल्ने, नाक बन्द भएर खाएको कुनै कुराको पनि गन्ध थाहा नपाउने सामान्य लक्षण मात्र मलाई भएको थियो । तैपनि आफूलाई सम्हाली रहे । व्यस्तताले पढ्न नपाएको करिब ६ वटा किताब पढे । यस्तै खाले सीमित घेराबन्दीमा  १३ दिन सम्मा दैनिकी चल्यो र १४ दिनमा गरेको पिसिआर परीक्षणमा रिर्पाेट नेगेटिभ आयो ।

अहिले मलाई कोभिड निको भई सकेको छ । म त कोभिड लागेर निको भयो यसमै खुसी छु । स्वास्थ्यमा खासै समस्या नभएको भएता पनि लामो समय एकै ठाउँमा थुनिएर बसेको कारणले गर्दा एकै चोटि बाहिर घुलमिल हुन केही असहज महसुस भएको थियो ।  पुरानो दैनिकीमा फर्किन अझै पुर्णरुपमा सकेको छैन । मुख्य त शरीरमा थकान हुने अझैसम्म पनि आंशिक रूपमा छ । लामो समयसम्म एकै ठाउँमा बसेको कारणले दैनिकी समेत फरक महसुस भएको छ ।  अफिसमा प्रायजसो सबैको व्यवहारमा खासै परिवर्तन पाएको छैन । किनभने सुरुसुरुको तुलनामा अहिले कोभिडलाई आम नागरिकले सामान्य रूपमा स्वीकार गरेको अवस्था छ । तर कतिपय साथीहरूले भने भेट्ने बेलामा बेग्लै खालको व्यवहार पनि देखाउने गरेको पाएको छु । बाहिरी दुनियाँ मात्रै हैन आफ्नै परिवार, आफन्त अनि हरेक मानव देखि टाढा बस्नुपर्ने अवस्था सिर्जन गरेको थियो यो कोरोनाले । यस्तो कठिन अवस्थाबाट बच्ने हो भने सकेसम्म सङ्क्रमण हुन नदिनु नै पहिलो विकल्प हो । अहिले कतिपयले कोरोना केही हैन भनेर हिँड्ने समेत देखिन्छन् । यो रोग जसलाई लागेको छ पिडा उसैलाई मात्रै थाहा हुन्छ कत्तिको गाह्रो हुन्छ भनेर । त्यसैले हरेक गतिविधिमा सावधानी अपनाउनु अत्यन्तै  जरुरी छ । अनावश्यक रूपमा बाहिर ननिस्कने । निस्कनै परे मास्क पन्जा जस्ता सुरक्षित संयन्त्रको प्रयोग गरेर सामाजिक दुरी कायम गरेर हिँड्ने, भिडभाडबाट टाढै बस्ने र बेलाबेलामा साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्पनुर्छ ।

यो कथा ज्ञानकाजी तामाङसंग गरिएको कुराकानीमा रहेर हाम्रो साथी अनुषा स्वारले लेख्नुभएको हो  ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।