चैत्र ११ देखि लकडाउन सुरु भयो । नेपाल सरकारले वन्दावन्दिको घोषणा गर्यो । घोषणा गरिसकेपछि हाम्रो यो लेकबेसि नगरपालिकाका धेरै मान्छेहरू कामको सिलसिलामा बाहिरी जिल्लाहरू काठमान्डु, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली लगायतका धेरै जिल्ला जानु भएको थियो । त्यसपछि उहाँहरू यता आउने कार्यक्रम सुरु भयो । यता आउन एकदमै कठिन थियो । कठिनताका बाबजुद पनि मान्छेहरू गाडीमा बस्दै झुन्डिँदै के के गर्दै यहाँ आउनु भयो । यहाँ आइसकेपछि हामीले क्वारेनटाइनमा राख्नुपर्छ भन्ने कुरा रह्यो । हामीले क्वारेनटाइन बनायौँ पनि । सुरुसुरुमा पहिला त हामले ३ वटा क्वारेन्टाइन बनायौँ । हाम्रो लेक बेसी ४ को जीवन ज्योति मा.वि.मा चाहिँ ८ बेडको बनायौँ । त्यसपछि लेकफर्सा मा.बिमा बनायौँ । त्यहाँ चाहिँ ५ बेडको बनायौँ । मान्छेहरू कोही आउनु भएन । बेकारमा क्वारेनटाइन बनाइएछ, किन बनाइयो होला ? मान्छेहरू आउने रहिनछन् जस्तो लाग्यो । जब जब दिनप्रतिदिन समय घर्किँदै गयो, चैत्र गयो, वैशाख लागेपछि मान्छेहरू एकदमै आउने क्रम सुरु भयो । सुरुमा त दशरथपुरमा राख्यौँ, त्यसपछि लेकबेसिमा राख्यौं अनि चौरासेमा राख्यौँ । गर्दागर्दै हामीलाई थाम्नै गाहृो भयो । त्यसपछि हामीले प्रत्येक वडाको विद्यालयमा वडाअध्यक्ष्यलाई जिम्मा दिई क्वारेनटाइन बनायौँ । सुरुसुरुमा त एकदमै अप्ठ्यारो भयो, धेरै मान्छेहरू आउनुभयो । खुवाउने, बसाउने, ओढ्ने, ओछ्याउनेको समस्या । हेर्नुस् विद्यालय कस्तो थियो भने न बत्ती भएको न पङ्खा भएको न राम्रो शौचालय भएको न पानी भएको । यस्तो किसिमको विद्यालयलाई पनि हाम्रा जनप्रतिनिधिहरुले सेटिङ गर्दै त्यहाँ बसाउने काम भयो ।
सबैभन्दा खुसीको अनि गर्वको कुरा पनि हामीलाई त्यति बेला राजनीतिक दलहरूले साथ दिनु भयो ,सुरक्षाकर्मीले साथ दिनु भयो , स्वास्थ्यकर्मीले साथ दिनु भयो ,साथै हाम्रा सम्पूर्ण जनप्रतिनिधिहरू जुट्नु भयो । अनि समाजसेवीहरू लाग्नु भयो साथै संघसस्थाहरु जुट्नु भयो । त्यसपछि चाहिँ हामीलाई आर्थिक पाटोमा अलि गाहृो भयो । हामीसँग विपद्का लागि त्यति पैसा थिएन । पछि कामहरू गर्दै जाँदा ,हामीसँग आवधिक योजना बनाउने पैसा थियो । त्यो पैसालाई विपदमा हाल्यौ । हामीसँग अरू पैसा पनि थियो । त्यो पैसालाई पनि कोभिडमा हाल्यौं । हामीलाई संघसस्थाहरुले पनि सहयोग गर्नुभयो । कतिले नगद दिनुभयो ,कतिले मास्क ,सेनिटाईजर,चामल यस्ता यस्ता चिजहरू दिएर सहयोग गर्नुभयो । यसले हामीलाई धेरै सहयोग भयो । लत्ता कपडा ,भाडा वर्तन दिनुभयो । यसले हामीलाई ठुलो सहयोग भयो । एउटा पाटो त हामीले भ्याएका थियाँै । आफ्नै देशबाट आएका साथीहरूलाई राख्दै आर.डी.टी.गर्ने, यदि आर.डी.टी. पोजेटिभ देखियो भने हामीले उहाँहरूलाई थप १४ दिन राखी पी.सी.आर.रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने काम भयो । सुरुमै आर.डी.टी. नेगेटिभ आएमा सिधै घर पठायौं । सुरुसुरुमा त्यस्तो पोजेटिभ केसहरू आएन । जब इन्डियाबाट एकै चोटि हुल आउने क्रम सुरु भयो, त्यति बेला उहाँहरूले धेरै दुख पाउनु भयो । इन्डियाको जुन ठाउँबाट आउनु भयो, त्यो ठाउँमा नि दु:ख पाउनु भयो । झन् दुख बोर्डरमा आएर पाउनु भयो । नेपालमा आएर पनि गाडी नपाउने, खाना खान नपाउने जस्ता दु:ख पाउनु भयो ।
त्यति बेला इन्बाडियाट आएका मान्छेहरूलाई हाम्रो समाजले के सोच्थ्यो भने यिनीहरूसँग कोरोनाको भारी छ , यिनले कोरोना लिएर आएका छन् । यिनीहरूलाई नजिक राख्यो भने हामीलाई पनि सार्छन् भनेर छि:छि र दुरदुर गर्ने गरिएकाले उहाँहरूले धेरै दु:ख पाउनु भयो । यहाँ हामीले क्वारेनटाइन राख्यौँ । परीक्षण गर्दा धेरै मान्छेहरूको रिपोर्ट नेगेटिभ आयो । नेगेटिभ आएपछि पनि आइसोलेसनमा राखेर फेरी टेस्ट गरी नेगेटिभ आएपछि मात्र हामीले घर पठायौँ । त्यति बेला अलि अप्ठ्यारो पनि भयो । तर अर्को महत्त्वपूर्ण कुरा के भयो भनेपछि हामीले सिक्ने मौका पायौं, बुझ्ने, जान्ने अनि सेवा गर्ने मौका पायौं भन्ने मलाई लाग्छ ।
अहिले सङ्घले नीति के बनायो भनेसि कोरोना देखिएका मान्छेहरूलाई राज्यलेनै उपचार गर्ने । हुन त अदालतले पनि फैसला गरेको छ । सरकारले अलि पहिले के नीति ल्यायो भनेसि अब क्वारेनटाइन अनि आइसोलेसनमा राख्न जरुरी छैन, जति बेला लक्षण देखिन्छ तब मात्र क्वारेन्टाईनमा ल्याउने । अरू मान्छेहरू होम क्वारेन्टाईनमा बस्ने, समस्या देखिएपछिमात्र क्वारेन्टाईनमा आउने अनि पी.सी.आर.परीक्षण गर्ने नीति आएको थियो । अहिलेसम्म हामीसँग आइसोलेसन र क्वारेनटाइन मौज्जात छ । यो समयमा धेरै मान्छेले दु:ख पाउनु भयो । यो बडो दु:खको कुरा भयो । तर समग्र रूपमा मान्छेले मान्छेको परीक्षण गर्ने मौका दियो भन्ने मेरो अनुभव रहेको छ ।
यो कथा लेकवेशी नगरपालिका, सुर्खेतका नगर प्रमुख गगनसिंह सुनारसंग गरिएको कुराकानीमा आधारित भएर हाम्रो साथी दिनेश गौतमले लेख्नुभएको हो।