कोरोनाको भन्दा पनि समाजको डर लाग्यो

विश्वभर फैलिरहेको  कोभिड १९ सङ्क्रमणको सुरुवाती दिनमा म कार्यरत संस्था नेपाल परिवार नियोजन सङ्घ दाङ शाखामा पनि नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते देखि लकडाउन घोषणा गर्यो । सबैलाई घरमै सुरक्षित भएर यो सङ्क्रमणलाई परास्त गर्न आग्रह गरेको थियो । । सोही अनुरूप हामीले पनि म कार्यरत दाङको प्रतिष्ठित स्वास्थ्य संस्था नेपाल परिवार नियोजन सङ्घ दाङ शाखा द्वारा सञ्चालित परिवार स्वास्थ्य केन्द्र लगायत शाखाबाट सञ्चालित सम्पूर्ण क्लिनिकहरू बन्द गर्ने निर्णय गरियो । तर लगातार सेवाग्राहीको फोन र हामीलाई पनि यो जटिल परिस्थितिमा सेवा बन्द गर्दा सेवाग्राहीहरूमा पर्न जाने असर प्रतिको जिम्मेवार बोध र सेवाग्राहीको सेवा आवश्यकताको महसुस गरी शाखामा कार्यरत सबै स्टाफहरू छलफल गरी सेवालाई निरन्तरता दिने निर्णय गर्यौं ।  चैत २४ गतेदेखि शाखा क्लिनिकबाट प्रदान गरिने अत्यावश्यक जस्तै परिवार नियोजन ,गर्भवती जाँच , सुरक्षित गर्भपतन आदी जस्ता अत्यावश्यक सेवा स्वास्थ्य सुरक्षा अपनाई प्रदान गर्ने निर्णय गरी सुरुवात गर्यौं ।

त्यो समय कोभिडको सङ्क्रमण प्रति डर त्रास सबैमा अत्यधिक थियो तर पनि हामी आफ्नो जिम्मेवारी बोध गर्दै सेवामा सधैँ तल्लीन रहँदै आयौं । स्वास्थ्य सतकर्ता अपनाउँदै सेवा निरन्तरता दिँदै बिस्तारै हामीले प्रदान गर्ने सम्पूर्ण सेवाहरू जस्तै बच्चाहरूको खोप सेवा, महिलाहरूको पाठेघर लगागत प्रजनन स्वास्थ्य सेवा, गर्भवती जाँच सेवा, सुरक्षित गर्भपतन सेवा यौन रोगको उपचार तथा परामर्श सेवा आदि सम्पूर्ण सेवाहरू हाम्रा सामुदायिक क्लिनिक, परिवार स्वास्थयकेन्द्र तथा घुम्ती क्लिनिकहरू मार्फत उपलब्ध गराउँदै आइरहेका थियौं । सबै स्वास्थ्यकर्मी साथीहरूमा पनि जटिल परिस्थितिमा पनि सेवा प्रदान गर्दै जाँदा छुट्टै आनन्द अनुभूति गरिरहेका थियौं ।  यसै बिचमा बडा दशैं२०७७ पनि आयो र दसैँ पछि सबै फेरि नियमित कार्यमा फर्कियौं ।

२०७७ कार्तिक १५ गते शनिबारका दिनदेखि मेरी श्रीमती (उर्मिला)लाई ज्वरो आउने तथा खानामा स्वाद हराउने समस्या देखियो । म झसङ्ग भएँ कतै कोभिड  त भएन भनेर । अर्को दिन झन् गाह्रो महसुस गरिन् अनि मैले सम्झें म त सधैँ जोखिम मोलेर काम गर्छु ।  त्यसैले उनलाई सङ्क्रमण भयो कि ? शङ्का लाग्यो । त्यसपछि लगतै कोभिड  जाँच गराउने निर्णय गरेर कार्तिक १७ गते बिहानै म र श्रीमती  जाँच गराउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गयौं र हामी दुवैले स्वाब दिएर घर फर्कियौं । स्वाब दिएपछि हामीले सल्लाह गरेर अब रिपोर्ट नआउँदासम्म घरमै सुरक्षित तवरले बस्ने निर्णय गर्यौं ।  सबै परिवार घरमै बस्यौ । अर्को दिन मेरो पनि कोभिडको  रिपोर्ट पोजेटिभ आयो ।  मेरो श्रीमतीको रिपोर्ट नेगेटिभ आयो । म एउटा जिम्मेवार नागरिक र सचेत भएको कारणले स–परिवार नै होम आइसोलेसनमा बस्ने निर्णय गर्यौं । म छुट्टै कोठामा आइसोलेसन र श्रीमती छोराछोरी अर्को तर्फ भएर बस्यौं । मलाई अचम्म के भयो भने श्रीमतीलाई लक्षण देखिदा पनि नेगेटिभ रिर्पोट आयो । मलाई कुनै लक्षण नदेखिँदा पनि पोजेटिभ तर पहिलो दिन साह्रै नरमाइलो भयो तर मैले धेरैलाई सुरक्षित राख्न सकेको रहेछु भन्ने महसुस गरें किनभने म कार्यालय जाँदा होस् या घरमा रहँदा होस् म तथा मेरो परिवार विशेष सावधानी अपनाउने गर्थ्यौं जसले गर्दा अन्य साथीभाइ छरछिमेक तथा मेरो आमाबुबा, भाइ, दिदी कसैलाई पनि कनट्याक्ट ट्रेसिङको आधारमा जाँच गराउनु परेन । मेरो जाँच गरेको ४ दिन पछि फेरि सबै परिवारको जाँच गराउने कुरा भयो र श्रीमती छोरा छोरी सबैले पुन: जाँच गराउन पठाएँ त्यसपछि मेरो घरमा छोरा बाहेक श्रीमती र छोरीमा पनि यो सङ्क्रमण देखियो । त्यसपछि म श्रीमती र छोरी छुट्टै आइसोलेसनमा बस्यौं । छोरा एक्लै नेगेटिभ भएको हुँदा उ छुट्टै बस्यो । हामीलाई कोभिड सङ्क्रमण देखिएपछि बुबा, आमा, भाइ, दिदी लगायत परिवारका अन्य सदस्यहरूमा धेरै चिन्ता भयो । सबैले तुरुन्त भेट्न पनि आउनु भयो तर नजिक भएर माया साटासाट गर्न त पाइएन तैपनि मास्क लगाएर टाढैबाट भेटघाट गर्यौं । मैले सबैलाई सम्झाएँ किनकि हामीमा आत्मविश्वास थियो । सजिलै कोरोनालाई परास्त गर्न सक्छौं भन्ने । श्रीमतीमा कोरोनाका लक्षण थियो र त्यहि लक्षणको आधारमा उपचार गर्यौं  । म र छोरीमा कुनै लक्षण थिएन त्यसैले हामीले अन्य सङ्क्रमण नहोस् भनेर सावधानी अपनायौं । यसरी हामीले ठिक १४ दिन पछि पिसिआर टेस्ट गरायौं र सबैको नेगेटिभ रिपोर्ट आयो । भनौं कोरोनालाई सजिलै परास्त गर्यौं ।

म सङ्क्रमण भएको अर्को दिन स्थानीय स्वास्थ्य संस्था लक्ष्मीपुर स्वास्थ्य चौकीका प्रमुख नारायण प्रसाद शर्मा र घोराही उपमहानगरपालिकाका स्वास्थ्य संयोजक नारायण प्रसाद घर्तीबाट स्वास्थ्य अवस्था बारे जानकारी लिनु भयो । त्यसपछि मेरो बुबा, आमा, भाइ, दिदी र छरछिमेक बाट घरमा अत्यावश्यक समाग्रीहरु घरमा पुर्याईदिन थाल्नु भयो । यस बिचमा धेरै इष्टमित्र तथा साथीहरू नियमित फोन गरी स्वास्थ्य अवस्था बारे जानकारी लिनुका साथै आवश्यक सहयोग भए भन्नु भनी रहनु भयो । सबैको माया र सम्झनाले एउटा छुट्टै ऊर्जा दिँदो रहेछ । श्रीमतीमा लक्षण देखिएको हुँदा लक्षणको आधारमा केही एन्टीबायोटीकहरु प्रयोग गरियो । तर म र छोरीमा लक्षण नदेखिएको हुँदा सचेतना मात्रै अपनाइयो । मेरो अनुभवले के देखायो भने यदि कोही कोरोना सङ्क्रमण हुँदैमा अत्तालीहाल्नु हुँदैन । लक्षण छैन भने रुघा खोकी लाग्नबाट बच्ने झोल कुराहरू प्रशस्त समय मिलाएर खाने प्रोटिनयूक्त कुराहरू ठिक्क ठिक्क खाने गरेमा सजिलै रूपमा जित्न सकिन्छ तर लक्षण देखिएमा चिकित्सकको सल्लाह लिएर औषधी सेवन नियमित रूपमा गर्ने गर्दा प्रभावकारी हुन्छ । हामीमा कोरोना देखिदा हामी छिट्टै आत्तिने र धेरै जनाले धेरै थरिका उपचार विधि सिकाउँदा धेरै जडीबुटी प्रयोग गर्दा विभिन्न थरिका शक्ति वर्धक औषधी सेवन गर्दा पनि स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ । त्यसमा हामी सचेत हुन जरुरी छ । नियमित खानपान र सरसफाइमा ध्यान दिने हो भने धेरै समस्या आउँदैन तर यदि दिर्घरागीहरु हुनुहुन्छ भने सावधानी अपनाउनु पर्छ र जानकार व्यक्तिको नियमित सम्पर्कमा रही सल्लाह लिएर सोही अनुसार गर्नु पर्दछ ।

यो बिचमा केही नराम्रो अनुभव पनि गर्न पाइयो । मैले सायद यो महामारीको समयमा कार्यालय होस् वा मेरो समुदायमा होस् नियमित रूपमा सबैलाई सुरक्षित रहन अनुरोध गर्नुका साथै गाउँघरमा आइपर्ने सामान्य बिरामीहरूलाई आवश्यक सल्लाह दिने गरिरहेको थिएँ। तर म र मेरो परिवारमा सङ्क्रमण देखिदा मेरो  घरकै बाटो समेत हिँड्न छोड्ने सामान्य फोनमा समेत सोधपुछ नगरेको देख्दा नरमाइलो लाग्यो । केही छिमेकीहरू भने हाम्रो मनोबल उच्च राख्न नियमित रूपमा घर आउने टाढैबाट गफ गर्ने हौसला दिने गर्नु भयो । त्यो मेरो लागि ठुलो ऊर्जा थियो जुन म कहिल्यै भुल्ने छैन तर केही साथीहरूले भने फोन गर्दा समेत कोरोना सर्छ जस्तो गर्नुभयो ।  मेरो परिवारलाई यो समयमा विशेष सहयोग पुर्‍याउने मेरो परिवार ,छर छिमेकी इस्ट मित्रहरू साथी भाइ सबैको यहाँ नाम उल्लेख गर्न सम्भव पनि भएन तर सबै प्रति आभार प्रकट गर्दछु ।

अन्तमा, कोभिड  केही पनि होइन भनी हल्का रूपमा पनि नलिगौं । हताश पनि नहोऔं । यसबाट बच्नका लागि मास्कको प्रयोग, नियमित हात धुने र सबै सँग भौतिक दुरी कायम गर्ने र आजभोलि चिसो मौसम भएको हुँदा तातो पानी मात्र खाने , बिहान साँझ जडीबुटीको मात्र चिया प्रयोग गर्ने गर्यौं भने मात्र पनि हामी यसको सङ्क्रमणबाट बच्न सक्छौं । तर आफूले प्रयोग गर्ने चाहे बेसार पानी होस् या गुर्जो होस तथा अन्य जडिबुटी होस् मात्रा मिलाएर स्वास्थ्यकर्मीको सल्लाहमा प्रयोग गरौँ । सामान्य लक्षणहरू देखिएमा स्वास्थ्यकर्मी सहयोग लिएर जाँच गराउ र सुरक्षित होऔं । जाँच गराउँदाको राम्रो पक्ष भनेको हामी सावधानी अपनाएर उपचार गर्न सक्छौं भने अरूलाई सङ्क्रमण सार्न सक्दैनौं र अरूलाई सुरक्षित राख्न मद्दत पुर्याउछौं तसर्थ कोरोना सङ्क्रमणबाट आफू पनि बचौं, परिवार र समुदायलाई पनि बचाऔं ।

यो कथा वसन्त खनाल संग गरिएको कुराकानीमा रहेर लेखिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।