डाक्टर र नर्सले प्रसव पीडामा रहेकी महिलालाई गर्ने व्यवहार यही हो ? 

मेरो नाम दुलारी खातुन हो । म त्रियुगा नगरपालिका-३, भुल्के उदयपुरमा ९ वर्ष देखि बसोबास गर्दै आइरहेको छु । म घरको काममै प्राय व्यस्त रहने गर्छु । कोरोनाले संसार अस्तव्यस्त भइरहँदा यसको असर हामीकहाँ पनि आइपुग्यो । उदयपुरको भुल्केलाई कोरोना सङ्क्रमण क्षेत्र भनेर तोकियो । सङ्क्रमणको केन्द्र यहाँको मस्जिदमा बस्ने मुस्लिमहरूमा हो भन्ने शङ्का गरिएको थियो । त्यसले डर र त्रास महसुस भयो । धेरै तनाव र पिर भयो । भुल्केमा कोरोना फैलियो भनेर चारैतिर हल्लाखल्ला भयो । डर लाग्न थाल्यो । तैपनि मनलाई बलियो बनाएर बसियो।

अब हामीमा पनि सङ्क्रमण फैलिने हो कि भन्ने डर भयो । घरमा साना केटाकेटीहरू र सास आमा हुनुहुन्थ्यो । उनीहरूमा सर्ने कुरामा डर भयो हामीलाई । सबैमा लाग्ने हो कि भन्ने शङ्काले पिरोल्यो । त्यो माथि म गर्भवती अवस्थामा छु त्यसैले गर्दा पनि झन् बडी पिर लाग्यो । पेटमा बच्चा भएको मानिसले चिन्ता र तनाव लिनहुँदैन भनेर भनिन्छ । तर यस्तो अवस्थामा तनाव भइहाल्दो रहेछ । तनाव लिँदैन भनेर बस्न सकिने रहेनछ । मनमा धेरै कुराहरू खेल्थ्यो । कोरोनाको डरले मलाई कमजोर बनायो । यस्तो अवस्थामा बच्चा कसरी जन्माउनु भनेर सोच्थे ।

‘बच्चालाई पनि कोरोना भयो भने?’ भन्ने कुराले मलाई सताइरहन्थ्यो ।

त्यो बेला टिभी, पत्रपत्रिका, रेडियो, छरछिमेक आदि सबैले स्थिति झन् खराब बनाए । म चाहन्थे वरपरकाले राम्रो कुरा गरिदिए मेरो मन पनि शान्त हुनेथ्यो । तर भइदियो अर्कै । सबै जनाले नकारात्मक कुराहरू मात्र गर्थे । हौसला दिनुको साटो डर मात्र देखाउने गरे सबै जनाले ।

‘यस्तो अवस्थामा तिमी सुत्केरी भयौँ भने तिम्रो बिजोक हुन्छ’

‘तिमीलाई कोरोना लाग्छ। तिमीबाट बच्चामा पनि सर्छ । ‘

छिमेकीहरू भन्थे- ‘अस्पताल लग्यो भने तिमीलाई धेरै दुःख दिन्छ । तिम्रो राम्रो उपचार गर्दैन । राम्ररी छुँदैन ।’ यस्ता कुराहरू सुनेर मन एकदमै आत्तिन्थ्यो । रुन मन लाग्थ्यो ।

म चाहन्थे सबैले हौसला र साथ दिउन् । ‘चिन्ता नगर हामी छौ’ भनुन् । तर सबै जनाले हल्ला फैलाउँदै मात्र हिँड्ने । कोरोनाले यति मानिसको मृत्यु, उति मानिसको मृत्यु, गर्भवती महिलामा यस्तो जोखिम, उस्तो जोखिम भन्दै हल्ला मात्रै फैलाउने गरे । आगोमा घिउ थप्ने काम हल्लै हल्लाको एउटा समाचारले गर्‍यो । सुत्केरी महिलालाई कोरोना सङ्क्रमण भएर मृत्यु भएको खबरले म एकदमै आत्तिए । खाना खानै मन लाग्न छाड्यो । म धेरै कमजोर भए ।

जे जस्तो भए पनि म बलियो रहन कोसिस गरिरहे । बच्चालाई जोगाउनु पर्छ भन्ने मेरो जोडदार कोसिस थियो । म बाहिर कतै निस्किएन । कसैसँग बोलिन । मेरो पहिलो प्राथमिकता बच्चा नै थियो । मनमा के लाग्थ्यो भने मलाई जे जस्तो भए पनि बच्चालाई चाहिँ जन्म दिन्छु । उसको जन्म सफल होस भन्ने कुरा मात्र मेरो दिमागमा थियो । बच्चाकै कारणले म लकडाउन भरी कोठामै रहे ।

दिन बित्दै गयो व्यथाको समय पनि आयो । त्यो बेला सम्म पनि मान्छे र गाडी कसैलाई पनि हिँड्ने, चल्न छुट थिएन । मलाई बेथा लागेर समस्या भइरहेको थियो । गाउँ कोरोना सङ्क्रमणको केन्द्र भएकाले पुलिसहरूको उपस्थिति बाक्लै थियो । बाहिर बाटोमा निस्कन पनि नदिइएको समयमा मलाई व्यथा लाग्यो । श्रीमानलाई गाउँको कसैलाई बोलाइदिन आग्रह गरे । पुलिसकहाँ पनि मेरो श्रीमतीको अवस्था यस्तो छ भनेर दुःख पोख्नुस् भने । मेरो श्रीमान् पुलिसकहाँ जानुभयो । श्रीमतीलाई व्यथा लागेको र गाडीमा अस्पताल जानु पर्ने भएकाले सोही आग्रह गर्नुभएछ प्रहरीसँग ।

प्रहरीहरूले सिधै मिल्दैन भनेछन् । अहिले जान मिल्दैन, नजानुस् भनेछन् । ठाडो भाषामा घरमै बच्चा जन्माउनु भने रे । श्रीमानले बिन्ती गर्नुभएछ मेरो श्रीमती कमजोर छ भनेर । अस्पताल गयो भने सलाइन पानी पनि चढाउँछ, हेरचाह हुन्छ, सुरक्षित हुन्छ । बच्चा पनि समयमै हुन्छ । आमाको ज्यान पनि जोखिममा हुँदैन । यस्ता बिन्तीहरू धेरै गर्नुभएछ । धेरै आग्रहहरू गरिसकेपछि प्रहरीले मानेछ । उनीहरूले नै फोन गरिदिने र गाडी मगाइदिने भनेछन् । एम्बुलेन्सलाई फोन गर्दा आउँदैन भनेछ । एम्बुलेन्सले नमानेपछि प्रहरीले आफै गाडी खोजेर जानु भनेछ ।

घर अगाडी एउटा अटोवाला थियो । श्रीमानले त्यही अटोलाई आफ्नो बिन्ती बिसाउनुभयो । अटोवालाले पनि जान्न भनेछ । अवस्था ठिक छैन र अटो चलाए प्रहरीले उसलाई समात्ने कुरा गरेछ । समात्यो भने फेरि क्वारेनटाइनमा हाल्ने डर रहेछ उसलाई । प्रहरीले अनुमति दिए मात्र जाने कुरा गरेछ । श्रीमान् प्रहरीकहाँ गएर दुःख बिसाउनु भएछ । तपाईँहरूले एक पटक भनिदिनु पर्‍यो भनेर । प्रहरीले २ जनाभन्दा बढी नजानु भनेर अनुमति दिएपछि अटो ड्राइभरले मान्यो । यतिन्जेल मलाई एकदमै गाह्रो भइरहेको थियो । अटोमा अस्पताल गयौँ । अस्पताल पुग्दासम्म मेरो पिडा सहन नसक्ने अवस्थासम्म पुगिसकेको थियो । तर अब त अस्पतालमा छु भनेर पिर अलि कम भएको थियो ।

एक छिनमा नर्स र डक्टहरू आँउलान । सलाईन पानी चढाउला । दुख्न अलि कम होला भन्ने सोचेर बसिरहे । जाने बित्तिकै नर्सहरू आउनुभयो ।

‘तपाईँहरू कहाँबाट आउनुभयो’ भनेर सोध्नुभयो । हामी भुल्केको मान्छे हो भन्ने सुन्ना साथ वहाँहरूले ‘यहाँ बस्ने हैन। बाहिर जानुस्’ भन्नु भयो । एउटा घर देखाइदिनु भयो । मलाई हामी त्यहीँ गएर बस्यौँ । सासूले ‘किन बाहिर बस्नु पर्ने म्याडम । भित्र लानुहोस् न । गर्भवतीको अवस्था ठिक छैन ।’ भन्नु भयो । नर्सहरू त्यस्तो गर्न सम्भव छैन, थपक्क गएर बस्नुहोस् भनेर हप्काए। धेरै नबोल्नुस् र हामीहरूले भनेको खुरुखुरु मान्नुहोस् भनेछन् ।

त्यसपछि मलाई सासूले डोराएर त्यो घरभित्र लानुभयो त्यहाँ भित्र बेड थियो र कपडाले घेरेको थियो। मलाई अस्पतालले गरेको सहयोग भनेको यति नै थियो।

म त्यहाँ सुतिरहेको थिए । मलाई व्यथाले सताइरहेको थियो । डाक्टर आउने कुनै छाँटकाँट थिएन । चेक गर्न पनि कोही आएन । घर खुलेको छ कि छैन, कमजोरी भएको छ कि छैन कसैले पनि एक पटक सोधेन । म पिडाले रुँदा रुँदा थाकिसकेको थिए । सहनै नसकेपछि सासू आमालाई फेरि डक्टर र नर्स मेरोमा आउन आग्रह गरिदिनु भने । सासू बाहिर गएर बोलाउन खोज्नु भयो । बाहिर अर्को सुत्केरीको एउटा कुरुवा मानिस बसिरहेको थियो । सासूले उसैलाई गएर डक्टर र नर्सलाई बोलाइदिन भन्नु भयो । बुहारीलाई व्यथाले धेरै नै गाह्रो भइरहेको छ भनेपछि उसले गएर ‘म्याडम केही गरिदिनु । उहाँलाई धेरै व्यथा लागिरहेको छ । बच्चा हुन आँटेको छ क्यार । ‘ भनेछन् । नर्स बल्ल बाहिर आएर रिसाउँदै ‘किन बोलाएको’ भनिन् ।

उनले झन् रिसाउँदै ‘तपाईँहरू पख्नु न एक छिन । एक घण्टा पछि डाक्टर आयपछि चेक गर्नुहुन्छ । डाक्टर आयपछि मात्र मैले हेर्छु तपाईँको बिरामीलाई’ भनिन ।

मेरो सासूले फेरि बिन्ती चढाउनु भयो । ‘त्यसो नभनिदिनु । बिरामीको हालत हेर्नुहोस् त कस्तो छ । कति दुखिरहेको छ उसलाई । रुँदा रुँदा धेरै कमजोरी भइसक्यो । यस्तो अवस्थामा कसरी बच्चा जन्मिन्छ? समयमा सुइँ दिनुभएन, पानी चढाउनु भएन भने कसरी उसले कसरी बच्चा जन्माउन सक्छ त? तपाईँहरूले किन यस्तो गर्नुभएको? डक्टर कतिखेर आउने हो थाहा छैन । तपाईँले एक पटक चेक गरिदिनुस्।’ भन्नुभयो

नर्सले भनिन ‘ त्यो अवस्थामा मान्छे मर्दैन । केही पनि हुँदैन । डक्टर नआई मैले कसरी छुनु । डक्टर आएर सबै जाचेपछी मात्र मैले बिरामी छुन्छु । ‘

डक्टर आउने कुनै छाँटकाँट थिएन । धेरै बेर कुरेपछि डक्टर आउनुभयो ।

आउनासाथ -‘भुल्केमा त कोरोना नै कोरोना छ रे त । धेरै हल्ला भइरहेको छ । समाचारमा आइरहेको छ । तिमीहरूलाई पनि कोरोना त लागेको छैन नि?’

उपचार गर्लान् भनेको त डक्टरले त्यसो भने । डक्टरले उल्टै त्यसो भन्दा हाम्रो मनमा पिडा र दुःख भयो । नलागेको मान्छेलाई पनि लागेको आरोप लागेको थियो ।

मैले भने- हेर्नुस् डक्टर साप । हामीलाई कोरोना लागेको छैन । किनभने हामी दोस्रो गाउँको हौँ । हाम्रो गाउँमा कोरोना फैलिएको छैन । हल्ला पनि चलेको छैन ।’

त्यति भन्दा पनि धर पाइन । डक्टरले श्रीमानको बारे सोधे । अनि नमाज पढ्न जान्छौ कि नाइँ भनेर पनि सोधे । ‘तिम्रो श्रीमान् नमाज जान्छ भने तिमीलाई पनि कोरोना लागेको छ । तिम्रो श्रीमानलाई पनि लागेको छ । तिम्रो परिवारलाई पनि लागेको छ । तिम्रो गाउँको सबैलाई कोरोना लागेको छ ।’ भने ।

मैले मेरो परिवारमा कसैलाई पनि लागेको छैन भन्दा डक्टर जङ्गिए- ‘तिमीले भनेर हुन्छ? तिम्रो परीक्षण गर्छु । अनि थाहा भइहाल्छ नि छ कि नाइँ ।

म केही बोल्न सकिन । म झन् कमजोर भएँ । मनमा अनेक कुराहरू खेल्न थाल्यो । मलाई पनि कोरोना लागेको भए त बच्चा कसरी जन्माउने भन्ने भयो । एक छिन पछि मेरो रगत लगेर के के जाँच गरे । रिपोर्टमा सामान्य देखियो होला नर्सले चेक गर्न थाल्नु भयो । डक्टरले अनुमति दिएपछि नर्सले अरू जाँचहरू पनि गर्न थालिन ।

नर्सले जाँचबुझ गर्दा एक घर मात्रै खुलेको छ अहिले बच्चा हुँदैन भन्नुभयो ।

मैले भने ‘अहिले बच्चा हुँदैन भनेर कसरी भन्न सक्नुहुन्छ ? मलाई यहाँ बारम्बार व्यथा लागी रहेको छ । मर्ने अवस्था आई सकेको छ । तपाईँहरू किन यस्तो भन्दै हुनुहुन्छ ? यो अवस्थामा यस्तो नभन्नुस् ।

डाक्टर पनि यस्तै शब्दहरू भनेर जानुभयो । तपाईँहरू पनि यस्तै भन्नुहुन्छ । ‘ भने

‘तिमि बाठो हुन्छौ? मैले जे भन्छु त्यही गर । खुरुक्क जाऊ यहाँबाट । निस्केर गइहाल । ‘ रिसाएर भन्नुभयो ।

त्यस्तो अवस्थामा कसरी निस्केर जानु । अस्पतालमा सजिलो होला भनेर गएको त यातना जस्तै भयो ।

हामी रिस थामेर बसिरहेका थियौँ । रिस त यति उठेको थियो तर के गर्नु ।

पछि डक्टर आएर बच्चा अहिले हुँदैन ४ बजे मात्र हुन्छ भन्नु भयो । उता मलाई व्यथा झन् चढ्दै गयो । न त त्यो अवस्थामा मलाई समाउने कोही थियो न त मैले समात्ने कोही साथी नै ।

मैले बल लगाएर बच्चा जन्माउने भन्ने कुनै आस थिएन । गाह्रो भइरहेको थियो । सासूलाई फेरि एक चोटि पानी चढाइदिन भन्दिनु भनेर भने । त्यसले मलाई अलिक तागत आउँला, बल आउँला सुइँ र पानीले भन्ने लागिरहेको थियो ।

सासूले नर्सलाई पानी र सुइँ लगाइदिनु भन्नुभयो । तर नर्सले पानी सानी म चढाउँदिन र सुई पनि लगाउँदिन भन्नुभयो । ‘केही गर्नु पर्दैन आफै बच्चा हुन्छ । कुनै टेन्सन नगरे हुन्छ । त्यो बोतलमा पानी छ त । त्यहीँ पानी खानु । त्यही बाट तागत आउँछ । पर्दैन केही गर्न । ” भन्दै सासू आमालाई गाली गरे ।

मलाई एकदमै गाह्रो भइरहेको थियो मैले सासू आमालाई बोलाइएर नर्सलाई बोलाइदिनुस् भने । त्यसपछि उहाँले ‘मेरो बुहारीले तपाईँलाई बोलाउँदै छ’ भनेको सुन्नसाथ नर्स जङ्गिइन- ‘किन आउनु ? आउँदिन म । मेरो केही काम छैन र तपाईँहरूले जतिखेर बोलायो उति बेला आउने ? तपाईँहरूले जे भन्यो हामीले त्यही गर्ने ? हामी चैँ को हो र ? हामी पटक पटक आउने गर्दैनौ । हाम्रो अरू पनि काम हुन्छन् । अरू बिरामीहरूलाई चाहिँ हेर्नु पर्दैन ? तपाईँको बुहारीलाई मात्र हेर्न किन आउने । आउँदिन । भन्नुभयो । मैले जोडले कराएर एक चोटि आँउनुस भने । म रुन मात्र सकेको थिइन । उता व्यथाले समातिरहेको थियो । यता नर्सले तनाव दिइरहेकी थिइन् ।

किन बोलाएको मलाई भन्दै एक पटक झपारे पछि मैले उनलाई भने-‘ मलाई तपाईँहरूले नछोए पनि जाँच नगरे पनि केही फरक पर्दैन । तर एउटा पानी चैँ चढाइदिनु बिन्ती । म धेरै कमजोर भइसके । अब म सक्दिन बच्चा जन्माउन । म अति थाकिसके, गलिसके । मलाई एउटा पानी चढाई दिनु । तागत आउने सुइँ दिनु । अलिक बल आउँछ की बच्चा जन्माउन ।’ भने ।

‘पर्दैन । दिन्न म केही पनि । पानी पनि चढाउँदिन । सुइँ पनि दिन्न । पानी बोतलमा छ त्यही घटघट खानु । त्यहीबाट तागत आउँछ । अहिले म केही गर्ने वाला छैन । ‘ नर्सको उत्तर आयो ।

म पनि जङ्गिए ‘ मेरो अवस्था यस्तो छ । तपाईँले यस्तो बोल्नु राम्रो हो ? तपाईँको मनमा माया दया केही छैन ? म पनि छोरी मान्छे हो । तपाईँ पनि छोरी मान्छे हो । एक दिन तपाईँलाई पनि यस्तै समस्या पर्नेछ । अहिले हामीलाई राम्रो गर्नुभयो भने तपाईँलाई पनि राम्रो हुनेछ । तपाईँले मेरो दुख बुझ्दिनु भयो भने तपाईँको दुःख पनि अरूले बुझ्दिनेछ ।’

‘तिमि धेर नबोल । तिमी धेरै बाठो नहोऊ । खुरुक्क त्यही बेडमा बस्ने, त्यही पानी खाने, त्यही बच्चा जन्माउने । अब हामी फर्केर आउँदैनौ । तिम्रो बच्चा ४ बजे हुन्छ । जे जस्तो भए पनि ४ बजे भन्दा अघि म आउँदिन ।’ नर्सले भनेर जानुभयो ।

त्यसपछि हामीले के भन्नु, केही भन्न सकेनौँ । त्यही रुँदै कराउँदै छटपटीमा बसे । पेट दुखी नै रहेको थियो । व्यथा लागि नै रहेको थियो । कोही हेर्न पनि नआउने । सरकारी अस्पताल आउँदा पनि सुत्केरीको हालत यस्तो छ । कुनै वास्ता छैन । बेकार आएछु भन्ने लाग्यो । पछुतोले घेरिए । बरु घरमै दुःख सुख गरी जन्माएको भए पनि हुन्थ्यो । बरु घरमा जन्माएको भए वरिपरिको मान्छेले पनि आएर सहयोग गर्दिन्थे । हौसला दिन्थे । अस्पताल आउनु ठुलो गल्ती भयो ।

सासू पनि रुँदै हुनुहुन्थ्यो । बेकार आएछौ भन्दै हुनुहुन्थ्यो ।

१ बजेतिर मलाई सहनै नसक्ने गरी व्यथाले च्याप्यो । भुईँमा एउटा बेड लाइदिएको थियो । माटै माटो, धुलै धुलो थियो । बच्चा झर्न थालिसकेको थियो । सासू आमाले नर्सलाई गएर भन्नुभयो । म्याडम गइदिन पर्‍यो, बच्चा निस्किसक्यो भनेर भन्दा नर्स फेरि कड्किछन् -‘ के को बच्चा हुन्छ हुँदैन । मैले तपाईँलाई भनिहाले चार बजे पछि मात्रै हुन्छ भनेर । त्यतिकै रोइराखेपछि पेट त दुखी हाल्छ नि । सुत्केरीलाई पेट डाँड दुखिहाल्छ नि । त्यो नदुखीकन बच्चा हुन्छ त ? ‘

बच्चा तल झरी सकेको कुरा फेरि गरेपछि उनीहरूले डुम्री(त्यहाँ भएको अर्को व्यक्ति)लाई पठाए । डुम्रीलाई ‘जाऊ गएर हेर त कहाँ आएको छ बच्चा’ भनेपछि डुम्रीले चेक गरिन । डुम्रीले हात हाल्दा बच्चा तल आइसकेको थियो ।

त्यसपछि नर्सलाई गएर भन्यो ‘बच्चा तल आइसको छ । टाउको तल आएको छ। उसले जति बल गर्दा पनि बच्चा हुँदैन’। त्यसपछि नर्स पन्जाहरू लगाएर आउनुभयो । नानीको टाउको थोरै निस्किएको थियो । पुरै निस्किएको थिएन । तर नर्सले पक्रेर स्वात्तै तान्दिइन । खल्याकखुलुक्क पारेर तान्दिइन ।

ननिस्किएको नानीलाई कोरोनाको डरका कारण सबै तान्दिइन । म हुरुक्कै भएर कराए । अब म बाँच्दिन होला भनेर सोचे । सासू आमा पनि रुनुभयो र  उहाँले रिसाएर ‘यसरी पनि बच्चा तान्ने हो? बच्चा मर्दैन यसरी ताने’ भन्नुभयो ।

नर्सले गाली गरिन ‘ तपाईँ बुझ्नु हुन्छ ? तपाई डक्टर हो ? तपाई बुझ्ने भए किन यहाँ लिएर आउनुभएको ? घरमै बसेर जन्माएको भए त भइहाल्थ्यो नि । मलाई थाहा छ बच्चा बाँच्छ कि बाँच्दैन भनेर । तपाईँले सिकाउनु पर्दैन। ‘

बच्चा निकालेर बेडमा राखिसक्दा पनि रोएन । न त रोयो न त करायो । १०,१५ मिनेटसम्म पनि बच्चा केही रोइ कराइ नगरेपछि मलाई लाग्यो मेरो बच्चा मरिसक्यो । म रुन थाले । उता रगत थामिएको थिएन । रगत बगिरहेको थियो । पेट त्यस्तै दुखिरहेको थियो । नानीलाई के भयो भनेर सासू आमा पनि रोएको रोयै । के भन्न सकिन । नर्सहरूले बच्चाको नाक पुछपाछ पारिदिए । लौ तिम्रो नानी भन्दै मेरो हातमा राखिदिए । राम्रोसँग पुछिदिएका पनि थिएनन् । मुखै भरि रगत लागिरहेको थियो । नाइटोमा झुन्डिएको चिजलाई पनि केही गरिदिएनन् । त्यसपछि सासू आमाले फेरी पुछपाछ पारिदिनु भयो । अनि नानीलाई हल्लाएपछि बल्ल नानी रोयो रे । म पुरा बेहोस थिए । रगतमा डुबिरहेको थिए ।

डाक्टरले के के भन्दै थिए मैले बुझिरहेको थिइन । होस हराएको थियो । केही सुनिन। केही बुझिन । बच्चालाई के गर्‍यो कसो गर्‍यो केही थाहा पाइन । पछि सासूले भन्दै थियो । डाक्टरले केही गर्नु पर्दैन घर लाँदा हुन्छ। अब हामीलाई केही मतलब छैन । हामीले बच्चा निकालिदियौँ । तपाईँको नानी राम्रो छ । अब हामीलाई केही नभन्नु । पुछपाछ पार्नु, गाडी बोलाउनु अनि जानु भनेका रहेछन् ।

डुम्रीले पनि मलाई केही गर्दिएनन् । बच्चा जन्मिँदाका फोहोरहरू सबै डुम्नीहरुले सफा गरिदिन्छन् । तर मलाई गरिदिएनन् । बच्चा निकाल्दिएर उनीहरू गए । १ घण्टा सम्म पनि होस आएन ।

त्यस्तो अवस्थामा कसरी दूध खुवाउनु नानीलाई । नानी रुन थालेपछि दूध खोज्न थाल्यो । रुन थाल्यो । यस्तो कमजोर अवस्थामा कसरी दूध खुवाउनु । म आफै कमजोर भएको थिए ।

घर जान पनि अप्ठेरो थियो । प्रहरीले कसैलाई आउन दिइरहेको थिएन । घरका मानिस पनि आउन पाएनन् । अप्ठेरोसँग नै घर गयौ ।

मलाई अस्पतालले दिएको दु:खको बारेमा उजुरी गर्न मन लागेको थियो तर सकिन । मेरो कुरा कसले सुनिदिने? सम्बन्धित निकायमा जानै सकिन । नर्स र डाक्टरले त मलाई यस्तो गरे भने अरूबाट के आस गर्नु । छर छिमेक पनि हामीलाई देख्ने बित्तिकै गाली गर्थे, हामी देखि परपर भाग्थे । त्यो बेला म र समाजको सम्बन्ध फरक थियो । मेरो त्यो अवस्थामा भगवान् सरहका डक्टरले त यस्तो गरे भने अरूबाट झन् केही आस थिएन ।

मैले गर्भवतीको बेला पनि मैले आवश्यक पौष्टिक आहार, औषधी र चक्कीहरू खान पाइन । दुई पटक अस्पतालमा जाँच गर्न जान पाएँ । त्यो बेला मलाई दुईचोटी सुइँ लाइदिए । आइरन चक्की पनि दिए । त्यो २ पटक सुइँ लगाउने बित्तिकै कोरोनाको होहल्ला भयो । हल्ला भएपछि त अस्पतालहरू बन्द । पसलहरू बन्द । हिँड्न पनि बन्द । दिएको जति चैँ मैले खान पाए । त्यसपछि पौष्टिक आहारा र तागत आउने चिज केही खान पाएन ।

सुत्केरी हुँदा वडा कार्यालयबाट हर्लिक्स, चना, मटर, चिया पत्ती, ज्वानो आदि पाएको थिए । तर त्यो कति दिन नै टिक्थ्यो र । ५-१० दिनमा सकिइहाल्यो ।

घरमा पनि केही थिएन । त्यो बेला गाडीहरू पनि बन्द थियो । दोकानहरू पनि सबैतिर बन्द थियो । भनेको सामान सजिलै किन्न नपाउने । सुत्केरी हुँदा खानु पर्ने कुराहरू केही पनि श्रीमानले ल्याउन पाउनु भएन । पसलहरू पनि हामीलाई सामान नदिने । स्थिति अप्ठ्यारो थियो ।

कोरोना अघि मेरो खुसीको जिन्दगी थियो । बच्चाको कुराले हामी सबै हर्षित थियौँ । कोरोनाको केही हल्ला थिएन । समय आपत् कालीन थिएन । खान्थे, बस्थे । पेटमा नानी थियो । एकदम खुसी थिए । पहिले जे भन्यो त्यहीँ पाउँथ्यो । घरको मान्छेले सबै ल्याइदिनु हुन्थ्यो । कोरोनाको हल्ला नभएका कारण सुइँ लाउन पाउँथे, आइरन चक्की खान पाउँथे, फलफूल खान पाउँथे । सबै थोक थियो कोरोना भन्दा पहिले । तर जब कोरोना आयो, जिन्दगीमा सोच्न पनि नसकेको पिडा र दुःख आइप्यो ।

मलाई साह्रै दुख भयो । अति पिर भयो । मानसिक यातना भोग्नु पर्‍यो । भगवान् मानिने डक्टर र नर्सले जुन व्यवहार गरे त्यसको प्रतिफल उनीहरूले पाउन । कसैले सहयोग गरेर मेरो समस्याको कुरा उठाइदिए जस्तो लाग्छ । मेरो भोगाई प्रति कसैको दया जागोस् ।

यो कथा दुलारी खातुन संग गरिएको कुराकानीमा रहेर हाम्रो साथी  बिक्रम राईले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।