बास बस्ने ठाउँ पनि पाइन !

म रौतहटको परोहा नगरपालिकाको स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि ‘एच ए’(हेल्थ असिस्टेन्ट)का रूपमा कार्यरत छु ।
११ चैत २०७६ मा देशभर लकडाउन भयो । त्यसपछि भारत लगायत अन्य देशबाट आउने नागरिकलाई राख्नका लागि हामीले यहाँ क्वारेनटिन बनाउने काम सुरु गर्‍यौँ । लकडाउन सुरु भएपछि हाम्रो कामको लोड पनि थपियो त्यसैले त्यसपछि त एक दिन पनि आरामासँग बस्न पाइएन ।

लकडाउन सुरु भएसँगै मेरो दैनिकी रौतहटका ९ वटा नगरपालिकामा रहेका क्वारेनटिनमा बसेकाहरूको आरडीटी जाँच गर्ने, स्वाब सङ्कलन गर्ने जिम्मेवारी थियो । अझै स्वाब सङ्कलन गर्ने मात्र होइन सङ्कलित स्वाब मोटरसाइकलमा बोकेर जनकपुर र काठमाडौँको प्रयोगशालासम्म पुर्‍याउने जिम्मा पनि मेरै थियो । कोरोना लाग्ने डरले यो काम गर्न सबै स्वास्थ्यकर्मी इच्छुक भएनन् । त्यसमाथि कर्मचारी समायोजन पूर्ण नभइसकेको हुँदा जनशक्ति पनि अभाव थियो । त्यही कारण ९ वटा नगरपालिकाको स्वाब सङ्कलन गर्ने र परीक्षणका लागि पठाउने जिम्मेवारी मेरो काँधमा आईपर्यो ।

अहिले प्रदेश नं दुईमा कोरोना महामारीले चरम रूप लिइरहँदा मैले बस्ने ठाउँ पनि पाईँन । पहिला म रौतहटको सदरमुकाम गौरमा बस्थें । स्वास्थ्यकर्मी भनेर थाहा पाएपछि घरभेटीले कोठामा बस्न दिएनन् । त्यसपछि म परोहा नगरपालिकाको स्कुलको पुस्तकालयमा नै बास बस्न थालें ।

यस्तो कठिन समयमा काम गरिरहँदा मलाई खान बस्नै समस्या भयो, चाउचाउ, बिस्कुट, फ्रुटिको भरमा मैले दिनरात बिताएँ । यती दुःख र कष्ट झेलेर काम गरेको मानिसहरूले मूल्याङ्कन गरेनन् बरु मैले उल्टो बस्ने ठाउँको पनि ठेगान नहुने स्थितिमा पुगें ।
मेरो जिम्मेवारी स्वाब सङ्कलन गर्ने र प्रयोगशालासम्म पुर्‍याउने भए पनि मसँग व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पर्याप्त थिएन । त्यसैले पनि जोखिम मोलेर भए पनि काम गरिरहेको नै थिएँ । मैले रौतहटका विभिन्न क्वारेनटिनमा पुगेर दिनभर सङ्कलन गरेको स्वाब बोकेर त्यहीँ दिन नै जनकपुर स्थित प्रयोगशालामा पुर्याउनु पर्थ्यो । यसरी दिनभर सङ्कलन गरेको स्वाब जनकपुर पुर्‍याएपछि फेरि त्यहाँबाट रातारात आएर अर्को दिन फेरि स्वाब सङ्कलन जानुपर्थ्यो ।

मसँग पर्याप्त पिपिई थिएन । न त मेरो खाने, बस्ने ठेगान नै थियो । मलाई जोखिमको डर भए पनि कति रात त म मान्छेले भरिभराउ भएको क्वारेनटिनमै बस्नुपर्‍यो । अनि एउटै पिपिई पाँच दिनसम्म पनि लगाउनुपर्‍यो ।

स्वाब सङ्कलनमा हिँड्दा कहिलेकाहिँ कतै बस्ने ठाउँ नहुँदा क्वारेनटिनमा नै बस्नु पर्ने हुन्थ्यो । यसरी क्वारेनटिनमा बस्दाको मानिसहरूको व्यवहार अजिब हुन्थ्यो । क्वारेनटिनमा स्वाब सङ्कलन गर्न जाँदा मानिसहरू ‘म’ ‘म’ भन्दै अगाडी सर्थे । तर, त्यही क्वारेनटिनमा म बास बस्न पुग्दा भने मानिसहरू विरोध गर्थे ।

मैले यो समयमा भोगेको कुरा सायद सबै शब्दमा त व्यक्त गर्न सक्दिन कि जस्तो पनि लाग्छ । मेरो धेरै दिनसम्म खाने, बस्ने ठेगान नभएपछि मैले एक दिन परोहा नगरपालिकाका मेयरलाई भात खान नपाएको गुनासो गरें । अनि मेयरले झट्ट जवाफ दिए, ‘बिस्कुट खानुहोस् ।’ मेयरको जवाफ सुनेपछि मलाई भाउन्न छुटेर आयो । त्यसपछि मैले कहिल्यै गुनासो गरिन । आफूले भोग्नुपरेको पीडा र अप्ठेरो सुनाइन । आफ्नो काममा लागिरहें… ।

धेरै पटक काम कामको सिलसिलामा हिँड्दा रौतहटमा मात्र होइन काठमाडौँमा पनि बेठेगान भएर बस्नुपरेको छ । अझै काठमाडौंमा त म ४ दिनसम्म भोकै बसेको छु । हाम्रो तिर पिसिआर किटको अभाव भएपछि प्रदेश दुईमा सङ्कलित स्वाब जनकपुरमा परीक्षण नहुने भयो । त्यसपछि म २० जेठमा २ सय २२ जनाको स्वाब बोकेर काठमाडौँ आइपुगेँ । काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षणको भार धेरै हुँदा स्वाब ‘मिक्स’ हुने सम्भावना भएपछि स्वाब छाडेर जान मिलेन । म एक हप्ता काठमाडौँमै बस्नुपर्ने भयो ।

हप्ता दिनको काठमाडौँ बसाइँमा म दिनभर प्रयोगशालामा स्वाबहरूलाई सिरियल नम्बरका आधारमा मिलाउने र ती स्वाबलाई ल्याबमा दर्ता गर्ने काम गर्थें । रात परेपछि प्रयोगशालाकै करिडोरमा निदाउँथे । ल्याबकै प्यासेजेमा सुत्थें । त्यहाँको कुर्सीमा मलाई बसेको देखेपछि डरले मेरो नजिक कोही पर्दैन थिए । ७ दिन काठमाडौँ बस्दा ३ दिन डा. रुना झाले (प्रयोगशाला प्रमुख) खाना खुवाउनुभयो । त्यतिखेर तराईमा संक्रमण दर उच्च रहेको र म त्यहिँबाट आएको हुनाले उहाँ पनि डराउनुभयो । चाउचाउ, बिस्कुट र रेडबुल खाएर सम्म बसेको छु ।

मेरो घर रौतहट गरुडा नगरपालिकामा हो । मेरो परिवारमा ११ जना सदस्य छन् । परिवारमा कमाउने म मात्र हुँ । यो विपदमा काम गरे बापत नेपाल सरकारले स्वास्थ्यकर्मीलाई दिने भनेको प्रोत्साहन भत्ता मैले लिँइन । बरु मैले उक्त पैसा आइसोलेसन र क्वारेनटिनमा खर्च गर्नु भनेर नगरपालिकालाई नै फिर्ता गरेँ ।

मलाई राम्रोसँग थाहा छ, यो कोरोनासँगको युद्धमा यसरी पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री बिना नै काम गर्दा सङ्क्रमित भएर म मर्न पनि सक्छु । तर मेरो कारणले गर्दा धेरै जनाको ज्यान त जोगिन्छ । त्यही भएर पनि आफ्नो तर्फबाट दिलोज्यान दिएर काम गरिरहेको छु यस्तै सङ्कटमा चाहिने हो हामी जस्ता मान्छे । यस्तो बेला लुकेर बस्नु हुँदैन नि त ! त्यसैले आफ्नो ठाउँबाट सक्दो काम गरिरहेको छु ।

(यो कथा १८ साउनमा अमरुल आलमसँग गरिएको कुराकानीमा आधारित भएर सगर चन्दले लेख्नुभएको हो।)

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।