कोरोना जिते पनि समाजलाई जित्न सकेनौँ

२०७७ असारको २५ गते हामी भारतबाट नेपाल आईपुग्यौं । रुपन्देहीको सुनौली नाका हुँदै १९ महिनाकी छोरी र मेरा श्रीमान् नेपाल छिरल्यौँ । त्यहाँबाट आएपछि हामीलाई लमजुगंको सुन्दर बजारमा ८ दिन क्वारेन्टाईनमा राखियो । क्वारेन्टाईनमा सयौँ मानिस थिए । एउटै शौचालय, एउटै पानी धारा थियो । सामाजिक दुरी कायम गर्न सकिने अवस्था थिएन ।

२ साउनमा हाम्रो स्वाब सङ्कलन भयो । स्वाब सङ्कलन भएको ३ दिनपछि आएको रिर्पोटमा म सहित मेरी १९ महिनाकी छोरी र श्रीमानलाई कोरोना देखियो । हाम्रो पुरै परिवारलाई सङ्क्रमण देखियो । सानी छोरीलाई पनि सङ्क्रमण देखिएपछि त म एक छिन आत्तिएँ । पुरै परिवारलाई सङ्क्रमण देखिएपछि अब त बरबाद भयो जस्तो लागेको थियो ।

सङ्क्रमण देखिएपछि हामीलाई लमजुगंको बेसी सहरको अस्पतालमा लगेर राखियो । अस्पतालमा हामीलाई ज्वरो नाप्न भनेर थर्मामिटर दिइएको थियो । मेरो परिवारमा कसैलाई पनि कुनै लक्षण देखिएन ।

अस्पतालको आइसोलेसनमा हामी सहित अरू १५ जना मानिस थिए । डाक्टर र नर्स एक दिन पनि हामीलाई हेर्न आएनन् । हाम्रो कोठामा राखिएको क्यामेराबाट हामीलाई हेरिरहेका छौँ भन्थे ।

सङ्क्रमण देखिए पनि लक्षण नदेखिएको हुँदा डर कम भयो । तर पनि छोरीलाई के हुन्छ भनेर डर लागेको थियो । फोनमा दैनिक डाक्टर र नर्ससँगकुरा हुन्थ्यो । उहाँहरूले केही हुँदैन, निको भइन्छ भनेर हामीलाई सम्झाउनु हुन्थ्यो । फोनमै हामी ज्वरो नापेरै डाक्टरलाई सुनाउँथ्यौ । कोरोना लाग्दैमा मरिँदैन भन्ने थाहा थियो त्यसैले डर कम हुँदै गयो । तर पनि सानो छोरीलाई भने केही हुने हो कि भन्ने डर थियो तर धन्न उसलाई पनि केही भएन ।

धेरै मान्छे कोरोना लागेर निको भएकाले हामी पनि निको हुन्छौँ भन्ने विश्वास थियो । आइसोलेसनमा हामी बिरामी सबै जना बिरामी जसरी भन्दा पनि परिवार जसरी नै बसेका थियौँ । हाँस्ने, गाउने गर्थ्यौँ । एकले अर्कालाई केही हुँदैन भनेर सम्झाउँथ्यौँ। कोरोनाबाट मन भुलाउन अरू अरू कुरा गर्थ्यौँ ।

१० दिन अस्पतालको आइसोलेसनमा बसिसकेपछि हाम्रो स्वाब सङ्कलन भयो । १२ औँ दिनमा हामी सबै कोरोना मुक्त भएको रिर्पोट आयो । नेगेटिभ रिर्पोट आएपछि हामी राइनास नगरपालिकाको, वडा नं ६ मा रहेका हाम्रो गाउँ धमेलीकुवा जान भनेर आयौँ । तर, कोरोना लागेको मान्छे भन्दै हामी गाउँ छिर्न पाएनौँ ।

हामी कोरोना सङ्क्रमित भएकै कारण गाउँलेहरूले गाउँमा छिर्न दिएनन् । आफ्नो गाउँ छिर्न नपाएपछि हामी नजिकै रहेको दिदीको घरमा बस्न गयौँ । त्यहाँ पनि छर–छिमेकले कोरोना लागेको मान्छेलाई बसाउनु हुँदैन भनेपछि अहिले हामी घरबार विहीन जस्तै भएका छौँ ।

आफ्नो देश, गाउँमा आनन्दले बस्न पाइन्छ भनेर भारतबाट दुःख गरेर आएका हामीहरू आफ्नै घर छिर्न पाएनौँ । हामीलाई सङ्क्रमण देखिएको थियो तर अहिले निको भइसकेको छ भन्दा पनि गाउँ छिर्न पाएनौँ ।

सङ्क्रमण निको भएर ढुक्क भए पनि हामीहरू अहिले गाउँकै छेउमा छाप्रो बनाएर बस्नु परेको छ । १९ महिनाकी सानी छोरी सहित यस्तो बर्खामा छाप्रोमा बस्नु पर्दा त भारतमै बसेको भए हुने रहेछ जस्तो पनि लाग्छ ।

दिदीको घरमा बसेका हामीलाई गाउँलेहरूले यहाँ नबस भन्दै कराए । सङ्क्रमण देखिएर पनि निको भएको यतिका दिन बितिसक्दा पनि हामीलाई घर जान दिइएन । कोरोना सङ्क्रमणलाई त जित्न सकिँदो रहेछ तर यो सामाजिक विभेदलाई भने नसकिने रहेछ ।

कोरोना लागेका मान्छेलाई किन यति हेला गरेका होलान् ? हामी त झन् कोरोना लागेर निको भइसकेका मान्छे हौँ । हामीलाई अब कोरोना छैन, हामीबाट अब कसैलाई कोरोना सर्दैन भन्ने थाहा पाएर पनि मानिसहरू हामीलाई हेला गर्छन् । हामीले ठुलै अपराध गरेजस्तो गर्छन् ।

हामी रहरले कोरोना सङ्क्रमित भएका होइनौँ । यो महामारीमा कोरोना जसलाई पनि लाग्न सक्छ। महामारी लागेको मान्छेलाई माया र हौसला दिनुपर्ने ठाउँमा विभेद गरे । कोरोना भन्दा ठुलो रोग त कोरोना लागेका मान्छेलाई हेला गर्ने रोग रहेछ ।

(यो कथा गङ्गा सुनारसँग गरिएको कुराकानीमा आधारित भएर सगर चन्दले लेख्नुभएको हो  )

के गर्न सक्दा रहेछौँ र हामीले !

लकडाउनमा सुत्केरी हुँदाको व्यथा लकडाउन कथा

लकडाउनमा सुत्केरी हुँदाको व्यथा

न पढाइ, न व्यवसाय

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।