खानेपानी त छैन कसरी हात धुनु ?

मेरो नाम कुमारी श्रेष्ठ । हाम्रो पाँच जनाको परिवार छ । म पेप्सीकोला र जडीबुटी बिचको छाप्रोमा  । म हरेक दिन यसरी नै पेप्सीकोलाको यो सडक किनारमा पानी भर्न आउँछु । ढिलो भयो भने पानी सकिन्छ भनेर म टङ्की खुल्ने समय भन्दा दुई घण्टा अगाडी नै आउँछु । दुई घण्टा अगाडी आउँदा पनि कहिलेकाहीँ त ४ घण्टा सम्म पर्खिनुपर्छ  । अनि ढिलो आउँदा चैँ पालो पाउन मुस्किल हुन्छ । कोही बेला झन् पानी निकै सानो आउँछ । एउटा भाँडो भरिन पनि निकै बेर लाग्छ त्यसैले सक्दो छिटो नै आउँछु । छिटो आए छिटो हुन्छ नि त घर फर्कन पनि।

 अहिले जताततै कोरोना छ, कोरोना सङ्क्रमणबाट जोगिन व्यक्तिगत दुरी बनाउनुपर्छ भन्छन् । तर, के गर्नु घरमा पानी आउँदैन, पानी भर्नैपर्यो । फेरी हाम्रो त खाने पानी यही हो । त्यसैले पनि त चाहियो नै ।

 चैतमा लकडाउन भएदेखि यही पानी थाप्न आउन पनि सजिलो छैन । पानी भर्न निस्के पनि पुलिसले गाली गर्छन् । सधैँ, पुलिसको आँखा छलेर आउनुपर्छ । अहिले कमाएर अहिल्यै खानुपर्नेले हामीलाई खाना त दिन सक्दैनौ, पानी त खान देऊ भनेर झगडा गर्दै आउनुपर्छ । चार वटा भाँडा पालैपालो कोठासम्म पुर्‍याउनुपर्छ । पानीका भाँडा पुर्‍याएर फर्किदा हात रित्तै हुन्छ । रित्तै देखेपछि पुलिसले गाली गर्छ । अस्ति त कति बेरसम्म पुलिसले रोकेर राख्यो ।

 लकडाउन अगाडीसम्म म गलैँचा उद्योगमा काम गर्थेँ । श्रीमान् निर्माण मजदुरको काम गर्थे । अहिले त हामी दुवै जनाको काम रोकिएको छ । चामल किन्ने पैसा नभएको समयमा पानी त झन् के किनेर खान सकिन्थ्यो र !

 अहिले त मलाई कोरोनाभन्दा पनि बढ्ता त घरभेटीको डर लाग्या छ । ३ हजार कोठा भाडा तिर्नुपर्छ । ३ महिना भइसक्यो भाडा तिर्न सक्या छैनौँ । घर भाडा माग्या माग्यै छन् ।

 पानीको लागि लाइन र भिडभाडमा ठेलमठेल नगर्ने हो भने त पालो आउँदैन । अनि पानी खान पनि पाइँदैन। कोठामा पानी आउँदैन, खान, लुगा धुन, नुहाउन यही पानी यही प्रयोग गर्ने हो । यहाँबाट पानी लिन नपाए त हामी पानी नपाएरै मछौं ।  खाने पानी त नपाउने हामी जस्तालाई पटक पटक हात धोऊ भन्छन् । खानेपानी त छैन कसरी हात धुनु ? आज पनि धेरै सानो आछ । सानो पानी आउने यो धारोमा २० लिटरको एक भाँडो पानी भर्न आधा घण्टा लाग्छ । आधा दिन त पानी खोज्दै बित्छ । यहाँ पानी लिन आएको यत्रो बेर भइसक्यो । साँझको ५ बजिसक्यो, आज त यही रात पर्छ जस्तो छ ।

 यसरी बाहिर निस्कँदा मान्छेसँग सम्पर्क भयो भने कोरोना लाग्छ कि भन्ने डर त लागेको छ । तर के गर्नु किनेर खाऊँ भने काम छैन, पानी नखाई बाँच्न सकिँदैन । पानी त खान पाउनुपर्‍यो नि ! पैसा भए त किनेरै खान्थ्यौ नि । नभएर पो यसरी दुःख गर्नु परेको । फेरी यसरी दुःख गरेर लागेको पानी कसरी त्यो पटक पटक हात धोएर खर्च गर्नु भन्या ।

यो कथा कुमारी श्रेष्ठसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।