आफ्नै अवस्था देख्दा अहिल्यै मरौँ जस्तो लाग्छ !

कोरोना महामारी नआएको भए यतिखेर म होटेलको भान्सामा परिकार पकाइरहेको हुन्थेँ । सेतो ह्याट र एप्रोनमा सजिएर ग्राहकको इच्छा अनुसारका मेनु तयार गरिरहेको हुन्थेँ । तर कोरोना महामारीले जीवन नै फेर्‍यो ।

सयौँ मानिसलाई खाना खुवाउने मान्छे म अहिले आफै खुलामञ्चमा खाना खान धाइरहेको छु । आफै मागेर पेट भर्दै छु ।

मेरो घर काभ्रे पाँचखाल हो । नाम सञ्जीव राई । मेरो कोठा थियो वसन्तपुरमा । बौद्धको थकाली भान्सा घरमा कुकको जागिर पनि थियो । लकडाउनसँगै काम खोसियो । बेरोजगार भएँ । चैतमा पाएको अलिकति तलबले कोठा भाडा तिरेँ ।

आम्दानी रोकिएपछि कोठा भाडा तिर्न सकिएन । कोठामा खानेकुरा पनि सकियो । लकडाउनमा घर जाने गाडी पाएपछि घर गएँ । १ असारमा लकडाउन खुलेपछि काम पाइएला भन्ने आशले काठमाडौँ फर्किएँ । तर काम पाउनु त कता हो कता भात खान पनि सडकमा आउनुपर्‍यो ।

तीन महिना भयो कोठा भाडा तिर्न नसकेको । कोठा भाडा तिर्न नसकेपछि घरभेटीले कोठामा ताल्चा लगाइदियो । बस्ने ठाउँ कतै नभएपछि म आजभोलि सडकमै बास बस्न थालेको छु । मैले घरबेटीलाई भनेको छु ‘दुई महिना जति पर्खिनु, सामान कसैलाई नदिनु, म जसरी पनि तिर्छु ।‘

३० वर्षभन्दा बढी समय भयो कुकको काम गरेको । जीवनमा यसरी मागेर खानुपर्ला भन्ने त सोचेकै थिइनँ । के भयो जीवनमा ? यही हातले कतिलाई खाना पकाएर खुवाएको हुँ । आज मेरो हालत यस्तो भयो । गरिखाऊँ कि मरिजाऊँ भयो ।

जागिर खोज्न विभिन्न ठाउँ गएको हुँ । तर सबै ठाउँमा प्याक छ भने । यस्तो फोहोरी हालतमा देखेपछि कसैले नपत्याउने रहेछन् । २७ साउनमा हृदय घातका कारण दिदीको मृत्यु भयो । दिदी काठामाडौंमा बस्थिन् । घरभेटीले जफत गरेको कोठामा मेरो दिदीले बर्थ डे गिफ्ट दिनुभएको कालो कोट, पाइन्ट छ । मलाई केही चाहिएन दिदीले दिएको त्यो सामान निकाल्न पाएँ भने मलाई कोठा पनि चाहिँदैन ।

पाँचखालमा मेरा तीन भाइ छन् । गाउँमा पनि आर्थिक अवस्था निको छैन । घर गएर पनि के गर्नु, उता उस्तै हालत छ । झन् साह्रो छ । काठमाडौँमा खाना नपाएर गाउँ आएको भन्ने थाहा पाएपछि समाजले झन् के भन्ला ? यहाँ खाना खान नपाएको कुरा गाउँमा, घरमा कसैलाई भन्यो भने आफ्नै खिल्ली उड्छ ।

लामो समय सडकको वास हुँदा आँखा सुन्निँदो रहेछ । जिउ गल्दो रहेछ । अनुहार पनि सुन्निँदो रहेछ । अनि मान्छेले जड्याहा भन्छन् । एक छाक भात खान नपाएर सडकमा आएको मान्छेलाई कसैले जड्याहा भनेर बोलाउँदा त अहिल्यै मरौँ कि जस्तो हुन्छ ।

यस्तो दिन आउला भन्ने कहिले सोंचेको थिईन, यसरी मागेर खानु पर्ला जस्तो कहिल्यै लागेको थिएन । कुनै समय यहाँ माग्न बसेका मान्छेलाई पनि एक/दुई रुपैयाँ दिएको ज्यान यही हो, आज आफैँ भिखारी भएँ !

जागिर खाँदा कमाएको पैसाले जोडेको एउटा मोबाइल छ मसँग । केही सिप चलेन भने यही मोबाइल भए पनि बेच्छु । भेटेकोहरुलाई  केही काम खोज्दिनुहोस् न भन्छु तर खै के हुन्छ अब । काम पाइयो भने त म जसरी पनि कोठा उकास्छु ।

यो कथा ९ असोजमा सञ्जीव राईसंग गरिएको कुराकानीमा आधारित भएर सागर चन्दले लेख्नुभएको हो।

**उनको बारेमा  नयाँ पत्रिकामा पनि समाचार आएपछि उनले कीर्तिपुरको एक रेष्टुरेष्टमा कुकको रोजगारी पाए । 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।