नेपालमा कोरोना कहर सुरु भएपछि कोरोनाको हट स्पट बनेको थियो वीरगन्ज । म यहाँका ओम अस्पताल र सीता अस्पतालमा नर्सका रूपमा कार्यरत छु । नियमित कामकै सिलसिलामा मलाई २३ साउनमा कोरोना सङ्क्रमण भएको पुष्टि भयो ।
तपाईँहरूलाई अचम्म लाग्ला मैले दुई वटा अस्पतालमा किन काम गर्नुपर्यो भनेर ? खासमा नर्सहरूको तलब निकै थोरै हुन्छ, तपाईँले कल्पना गरेको भन्दा त कहाँ हो कहाँ थोरै हुन्छ । परिवार पाल्नुपर्ने बाध्यता भएकै कारण मैले दुई अस्पतालमा काम गरेकी हुँ ।
मुलुकमा कोभिड कहर सुरु भएपछि हाम्रो ड्युटी अवधि ६ घण्टाबाट बढेर १२ घण्टा पुग्यो । त्यसमाथि पर्याप्त सुरक्षा सामाग्री उपलब्ध गराईएन । पर्याप्त सुरक्षा सामाग्री नभएकै कारण म कोभिड सङ्क्रमित भए । सङ्क्रमित भएर होम आइसोलेसनमा बस्दा मैले अस्पतालमा नियमित ड्युटी गर्न सकिन । ड्युटी गर्न नसकेपछि तलब काटियो । नर्सलाई काम गरेको घण्टाको हिसाबले तलब दिन्छन् । ड्युटी गरेपछि तलब पाइन्छ, गरेन भने पाईदैन ।
तर कामकै सिलसिलामा संक्रमति भएर आईशोलसनमा बसेको समयको पनि तलब कटौती भयो । कोभिडको रोकथाम तथा नियन्त्रणमा खटिएका सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मीलाई सरकारले प्रोत्साहन भत्ता दिने भने पनि निजी अस्पतालमा हामीलाई तलब पाउनै मुस्किल छ, भत्ता त परको कुरा हो ।
लामो ड्युटीमा खाना, खाजा त आफ्नै पैसाले खानुपर्छ भने अरू त के सुविधा त झन् के दिन्थे र ? परिवार पाल्नुपर्ने बाध्यता भएरै दुई अस्पतालमा काम गर्नु परेको हो । तलब थोरै हुन्छ । एक अस्पतालको तलबले त खान पनि पुग्दैन ।
त्यसमाथि निजी अस्पतालले भनेको समयमा तलब दिदैंनन् । समयमा तलब नपाएपछि लकडाउनका समयमा पसलेले उधारो दिन बन्द गरे । घरभेटीलाई भाडा तिर्न नसक्दा कोठाबाट निकाल्ने धम्की सहनुपर्यो । यस्तो अवस्थामा पनि हामी निरन्तर काममा खटिएका छौं, तपाईं कल्पना गर्नुहोस् हाम्रो अवस्था कस्तो होला ?
लाखौँ रुपैयाँ ऋण गरेर वर्षौँको लगानी गरेर नर्सिगं पढेका हुन्छौँ । त्यसमाथि कम तलब, त्यही पनि समयमा नपाउँदा साह्रै पीडा हुन्छ ।
सरकारले नर्सहरूका लागि न्यूनतम १८ हजार रुपैयाँ तलब भने पनि निजी अस्पतालमा काम गर्ने अधिकांश नर्सहरूले ६ देखि १२ हजार रुपैयाँ तलबमा काम गर्नु परेको छ । पिसिएल नर्सिगं पढ्न ३ वर्षमा १० लाख जति खर्च लागेको हुन्छ । यत्रो रुपैयाँ खर्च गरेपछि जसरी पनि जागिर गर्नुपर्ने बाध्यता हुन्छ । निजी अस्पतालले हाम्रो यही बाध्यताको फाइदा उठाउँछन् ।
निजी अस्पतालहरूले यति दिन्छौं, काम गर्ने भए गर नगर्ने भए नगर भन्छन् । काम गरे गर नगरे नगर भन्छन् । पैसा, समय लगानी भइसकेको हुनाले शोषण सहेर काम गर्नुबाहेक अर्को विकल्प हुँदैन ।
हाम्रा कति साथीहरूले अझै पर्याप्त पिपिई (पर्सनल प्रोटेक्स इक्विपमेन्ट) र उपयुक्त मास्क पाएका छैनन् । लकडाउन (११ चैत) अगाडी एक पटक पिपिई पाएका थियौं, त्यसयता पाएका छैनौं । मास्क पन्जा आफै किन्नुपर्छ । कतिपय अवस्थामा हाम्रो लागि पनि बिरामीलाई मास्क, पन्जा किन्न लगाउनुपर्छ ।
लकडाउन भएपछि नर्सहरूमाथि चर्को शोषण भएको थाहा पाएपछि १५ वैशाखमा सरकारले राजपत्र मार्फत् नै स्वास्थ्यकर्मीको सेवा र सुविधामा कटौती नगर्न निर्देशन दिएको थियो । तर नर्सहरूको तलब, भत्ता कटौती मात्र होइन रोजगारीबाटै निकाल्न थालेपछि नेपाल नर्सिगं सङ्घले नर्सलाई रोजगारीबाट ननिकाल्न आग्रह गर्दै दुई पटक विज्ञप्ति नै निकाल्यो । १६ जेठ र १९ असारमा नर्सलाई जागिरबाट निकाला नगर्नु, तलब भत्ता कटौती नगर्नु भन्ने अनुरोध सहित नर्सिगं सङ्घले विज्ञप्ति निकाल्यो । सरकार र सङ्घ कसैको भनेको मानेनन् निजी अस्पतालहरूले ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० लाई नर्स र मिडवाईफहरुको वर्ष घोषणा गरिरहँदा नेपालमा भने नर्सहरूलाई जागिरबाट निकाला गरियो । तलब कटौती गरियो । समयमा तलब दिइएन। पर्याप्त सुरक्षा सामाग्री दिईएन ।
निजी अस्पतालहरूले गरेको शोषणको बारेमा सार्वजनिक मिडियामा बोल्दा जागिरबाट निकालिदिन्छन् । अर्को अस्पतालमा पनि जागिर नपाउने अवस्था सिर्जना गरिदिन्छन् । यही कारण अधिकांश नर्सहरू बोल्न डराउँछन् ।
स्वास्थ्यकर्मीलाई असुरक्षित तरिकाले काममा लगाएको । तलब कम दिएको । र स्वास्थ्यकर्मीमाथि भएका हिंसाका घटनाले संसारभरका स्वास्थ्यकर्मी हतोत्साही भएको पनि एमनेस्टीले इन्टरनेशनलले हालै सार्वजनिक गरेको आफ्नै रिर्पोटमा उल्लेख गरेको छ । महामारी विरुद्ध अग्रपङ्क्तिका योद्धा स्वास्थ्यकर्मीको जीवनलाई गंभिरतापूर्वक लिन समेत एमनेस्टीले आग्रह गरेको छ ।
असुरक्षाबिच महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मीमा मानसिक समस्या पनि देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले स्वास्थ्यकर्मीहरूमाझ गरेको छुट्टा, छुट्टै अध्ययनले कोभिड–१९ का बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमा एन्जाइटी, डिप्रेसन र ‘साइकोलोजिक डिस्ट्रेस’ जस्ता समस्यासँग जुधिरहेको देखाउँदा पनि हाम्रो सरकार तथा निजी अस्पतालले वास्ता गरेनन् ।
बिरामीसँग सबैभन्दा पहिले सम्पर्कमा नर्सहरू आउँछन् । बिरामीको सेवाका लागि चौबिसै घण्टा सक्रिय रहनेभए पनि हाम्रो मानसिक र आर्थिक शोषण हुन्छ । बिरामीको उपचारमा सबैभन्दा धेरै सक्रिय हामी नै हुनुपर्छ । तर हाम्रो न तलब राम्रो हुन्छ न त हामीमाथि गरिने व्यवहार राम्रो हुन्छ ।
यस्तो महामारीमा सुरक्षा सामाग्रीको नहुँदा हाम्रो मात्र होइन बिरामीको ज्यान पनि जोखिममा हुन्छ । एउटै पिपिई एक महिनासम्म धोएर लगाउनुपर्छ । पिसिआर जाँच आफ्नै पैसाले गराउनुपर्छ । सङ्क्रमित भएर अस्पताल, होटेल जहाँ बसे पनि आफैले पैसा तिर्नुपर्छ । त्यसमाथि सङ्क्रमित भएर आइसोलेसन बसेको अवधिको तलब पाईदैन । अनि यस्तो अवस्थामा हामी कसरी मोटिभेट हुन सक्छौ ?
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीमाथि गरेको दमनकारी व्यवहारका कारण स्वास्थ्यकर्मी र बिरामी दुवै मर्कामा परेका छन् । स्वास्थ्य र आर्थिक दुवै पक्षको सुविधा नभएपछि स्वास्थ्यकर्मीले राम्रोसँग बिरामी हेर्न सक्दैनन् ।
यो कथा सरिता परियारसंग गरिएको कुराकानीमा आधारित भएर लेखिएको हो ।