‘नामका लागि काम होइन कामका लागि काम गर्दै आएका छौं’

चैतको पहिलो सातासम्ममा कोरोना महामारीले विश्व नै त्रसित बनिरहेको थियो । त्यति बेलासम्म नेपालमा एक जना मात्रै कोरोना सङ्क्रमित फेला परेको समाचार बाहिर आएको थियो । नेपाल पनि कोरोना सङ्क्रमणको जोखिममा कुनै बेला पनि पर्न सक्छ भन्ने आङ्कलन केही विज्ञहरूले गर्न थालेका थिए । त्यति बेलै काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको थियो । सङ्घीय सरकारले समेत कोष स्थापना नगरेको त्यो बेला हामीले सम्भावित सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै पत्रकार सम्मेलनको आयोजना नै गरी कोष स्थापना गरेको घोषणा गरेका थियौँ । उक्त कोषबाट सुरुमै महानगरपालिकाका साना मझौला र ठुला वडाहरूलाई २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकासा समेत गरेका थियौँ । महानगरपालिकाका विभिन्न स्थानमा स्वास्थ्य जनशक्ति, स्वास्थ्य सामग्री, प्रचार सामग्रीसहितको हेल्थ डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा स्यानिटाइजर वितरण गर्ने जस्ता कार्य पनि हामीले अघि सारेका थियौँ । चैतको पहिलो सातामै थप एक जना कोरोना सङ्क्रमित फेला परेपछि सरकारले चैत ११ बाट मुलुकभरि नै लकडाउनको घोषणा गर्‍यो । त्यसपछि महानगरपालिकाले सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्दै महानगरपालिका भित्र रहेका मठ, मन्दिर, मस्जिद, गुम्बा जस्ता धार्मिक, सामाजिक सम्पदा क्षेत्रमा भिडभाड नगर्न आग्रह गर्‍यौँ । महानगरपालिका भित्र मनाइने जात्रा, पर्वहरूमा परम्परागत पूजा बाहेक अन्य कुनै भिडभाड नगर्न पनि हामीले आग्रह गर्‍यौँ । ती सबै आग्रहलाई यहाँका स्थानीय र सबै नागरिकले स्वीकार गर्नुभयो । त्यही अवधिमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा राहत वितरण गर्ने, नि:शुल्क भोजनको व्यवस्था गर्ने जस्ता कार्यमा महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधि निरन्तर खटे । लकडाउनको अवधिमा मात्रै काठमाडौँ महानगरपालिकाले १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने कार्य गर्‍यो ।

लामो समयको लकडाउनपछि पनि कोरोनाको महामारीबाट मुक्त हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिका क्षेत्र भित्र बसोबास गरिरहेका काम गर्न सक्ने तथा कोभिडका कारण बेरोजगार भएकाहरूलाई उनीहरूको सामर्थ्य र सिपको आधारमा रोजगारी दिई काठमाडौँ महानगरपालिकाले जीवन निर्वाहका लागि पारिश्रमिक दिने कार्यको थालनी गरेको पनि जानकारी गराउन चाहन्छु ।

त्यसका लागि कार्यपालिकाको बैठकले जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ नै पारित गरिसकेको छ । उक्त कार्यविधिमा उनीहरूलाई वडा कार्यालयबाट सार्वजनिक पूर्वाधार विकास, सार्वजनिक पूर्वाधार मर्मत सम्भार, ढल निकास तथा फुटपाथ व्यवस्थापन, सम्पदा संरक्षण र सौन्दर्यीकरण जस्ता काममा लगाउने उल्लेख छ ।

अहिले पनि कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही पनि महानगरवासी हुनुहुन्छ भने उहाँहरूले आफू बसेको सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरेको अवस्थामा उहाँहरू कसैलाई पनि भोकै बस्न नपर्ने गरी सहयोग गर्न काठमाडौँ महानगरपालिका प्रतिबद्ध छ ।

काठमाडौँ महानगरपालिकाले मानव सेवा आश्रमको सहकार्यमा विगत तीन वर्षदेखि सडकमा रहेका बेवारिसे, मनोरोगी तथा अशक्त–असहायको उद्धार गरी पालनपोषण, औषधोपचार तथा परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आएको थियो । लकडाउन अवधिमा पनि त्यो कार्यलाई निरन्तरता दिएको थियो ।  काठमाडौँ महानगरलाई सहयोगापेक्षी सडक मानव मुक्त सहर बनाउने घोषित नीति अनुसार नै उक्त कार्य अघि बढेको थियो जुन अहिले पनि जारी छ ।

लकडाउनकै अवधिमा हामीले नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका थियौँ । हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा मार्फत लकडाउन अवधिभरमा एकतर्फी करिब तीन हजार र दुईतर्फी करिब ४ हजार पाँच सयलाई सेवा दिएको थियो । लकडाउनका बेला हृदयाघात, मिर्गौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले सो सेवा सुरु गरेका थियौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा  लकडाउन अवधिभर ६ हजार बढीले सम्पर्क गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले ‘नामका लागि काम होइन कामका लागि काम गरेको थियो र गर्दै आएको छ ।‘ तपाईँ– हामी सबैलाई जानकारी नै छ । स्वास्थ्य क्षेत्र नेपाल सरकार र प्रदेश सरकारको क्षेत्रभित्र पर्दछन् । यद्यपि, काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरेर अघि बढेको छ । काठमाडौँ महानगरपालिका सङ्घीय राजधानीको पालिका हो । महानगर क्षेत्र भित्र रहेका राष्ट्रिय स्तरका सरकारी अस्पताल हाम्रो क्षेत्राधिकार भित्र पर्दैनन् । त्यसैले हामीले अरू स्थानीय तहले जस्तै यो हाम्रो क्षेत्राधिकार भित्रको अस्पताल भन्न सक्ने अवस्था छैन । वीर अस्पताल, टिचिङ अस्पताल, टेकु अस्पताल, सिभिल अस्पताल सबै हाम्रो क्षेत्रभित्र पर्छन् तर हाम्रो क्षेत्राधिकार भित्र पर्दैनन् । सबै राष्ट्रिय स्तरका अस्पताल भएकाले यहाँका वडाध्यक्ष र महानगरपालिकाले हाम्रो अस्पताल भन्न नपाउने अवस्था छैन । यी अस्पतालबाट देशभरिका नागरिकले सेवा पाउनुपर्छ र सेवा दिइरहेका पनि छन् । यस्ता सबै कुरालाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिकाले ती अस्पतालको सेवा विस्तारमा सहकार्य गर्दै आएको छ ।

महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरहरूले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएका स्वास्थ्य सामाग्री यस अघि पनि वीर अस्पताल, कान्तिवाल अस्पताल  र थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई हस्तान्तरण गरिसकेको छ । कोरोनाको परीक्षणका लागि ती अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराउन चाहन्छु । अहिलेसम्म महानगरपालिकाले मात्रै करिब ३५ हजारको स्वाब सङ्कलन गरेको छ । स्वाब सङ्कलनका लागि मोबाइल भ्यानको समेत व्यवस्था गरेको छ । यी कार्यका लागि प्रदेश र सङ्घीय सरकारबाट पनि समन्वय र सहकार्य हुँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाको २६ औँ स्थापना दिवसको अवसर पारेर मिर्गौला बचाऔँ अभियान घोषणा गरेको छ । आगामी दिन हामी स्वास्थ्य क्षेत्रमा अझै धेरै गर्न चाहन्छौँ । यस अघि पनि सहिद गंगालाल अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, कान्ति बाल अस्पतालसँग पनि हामीले सेवा विस्तारका लागि विभिन्न सहकार्य गरेका छौँ । हामीले त्योसँगै जनस्तरबाट सञ्चालन गरिएका अस्पतालसँग पनि हामीले सहकार्य गर्दै आएका छौँ । काठमाडौँको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्र पाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ अनुदान दिएको र  नयाँ भवन निर्माणका लागि पाँच करोड दिने प्रतिबद्धता व्यक्त गरेका छौँ । जनचिकित्सालय, डल्लु सामुदायिक स्वास्थ्य परिषद्सँग पनि सहकार्य गरेर अघि बढेका छौँ ।

यो कथा काठमाडौँ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो । 

 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।