पैदल घर हिडेकाहरु इच्छा कामना गाउँपालिका पुगेपछि गाडी चढ्न पाइन्छ भनेर खुसी हुन्थे

यो चितवनको एक मात्र गाउँपालिका हो । यहाँ  सुविधा सम्पन्न अस्पताल छैन तर पनि नागरिकलाई हामीले कसरी सुरक्षित राख्न सकिन्छ भनेर आफ्ना तर्फबाट सबै प्रयास गर्‍यौँ ।

लकडाउनको घोषणा गरिसकेपछि पनि राजमार्ग क्षेत्रमा पूर्णरुपमा लकडाउन हुन सकेन किनकि राजमार्गमा अत्यावश्यक सेवाका लागि पनि सवारी साधनहरू चल्ने नै भए । लकडाउन सुरु हुनुभन्दा पहिलादेखि नै हामीले टोल सुधार समितिहरूको भेला गर्‍यौँ । वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सबैको भेला गरेर नागरिकको घर दैलोमा गएर चेतनामुलका कार्यक्रम गर्नुपर्छ भन्ने निष्कर्ष समेत निकाल्यौँ ।

कोरोना भाइरस भनेको के हो? कसरी सर्छ ? यसको सङ्क्रमणबाट बच्नका लागि भौतिक दुरी कायम गर्ने, साबुन पानीले हात धोएर खाना खाने, मास्कको प्रयोग गर्ने लगायतका सन्देशहरू हामीले जनतालाई दियौँ । टोल टोलमा साबुन र पानीको व्यवस्था समेत गर्‍यौँ ।

लकडाउनको सुरुवात भइसकेपछि घरबाहिर निस्किन हुँदैन यसले कोरोना भाइरसको सङ्क्रमण हुन्छ भनेर समुदायलाई सन्देश दिने काम भयो जसले गर्दा जनताले सरकारको योजनालाई सहयोग गरे तर यो असाध्यै चुनौतीपूर्ण काम रह्यो । किनभने नागरिकलाई थुनेर राख्दा उनीहरूको व्यापार व्यवसाय अनि कृषि उपज बेचेर खानेहरूलाई गाह्रो भयो । अब यसलाई कसरी समाधान गर्नपर्छ भनेर हामीले योजना बनायौँ । त्यस्तै काम गर्नका लागि विदेश गएका मजदुरहरूको सूची तयार पार्ने र उनीहरू स्वदेश फर्किदा कसरी सुरक्षित तरिकाले फर्काउने भनेर समेत छलफल गर्‍यौँ ।

हामीले स्वदेशमै काम गर्न गएका मजदुरहरूलाई घर फर्काउने काम गर्‍यौँ । प्रत्येक वडामा कम्तीमा दुई वटा क्वारेनटिन राखेर सुरक्षित तरिकाले घर पठायौँ । मजदुरी गरेर खानेहरू छन् उनीहरूलाई राहतको समेत व्यवस्था भयो । कम्तीमा पनि १० हजारभन्दा बढी घर परिवारलाई पटक पटक राहत दियौँ । विदेशबाट आउनेहरूलाई क्वारेनटिनमा राखेर स्वास्थ्य परीक्षण गर्ने लगायतका कामहरू भए ।

गाउँपालिकामा रहेका ९ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरेर शंकास्पदहरुको पिसिआर गर्ने काम भयो । स्वास्थ्य सेवामा खटिएकाहरूलाई  सय प्रतिशत भत्ताको व्यवस्था गरेका छौँ । ३ सय भन्दा बढिलाई कोरोना परीक्षण गराइएको छ जसमध्ये ३५ जनालाई कोरोना भाइरसको सङ्क्रमण देखियो पनि ।

गाउँपालिकाले क्वारेनटिनको साथै आइसोलेसनको पनि व्यवस्था गर्‍यो । अहिले १० बेडको अस्पताल निर्माण गरिरहेका छौँ । सबै नाकामा स्वास्थ्यकर्मी राखेर स्वास्थ्य परीक्षण गरिएको थियो ।

विशेष गरेर लकडाउनको बेलामा राजमार्गमा अलपत्र परेका जनतालाई हामीले गन्तव्यमा पुग्नका लागि सहयोग गर्‍यौँ । लकडाउन भएपछि सङ्घीय सरकारले सबैलाई घर पठाउने व्यवस्था मिलाउन सकेन । ठाउँ ठाउँमा मजदुरहरू अलपत्र अवस्थामा हिँडिरहेका थिए । कोही काखमा नानी बोकेका, पेटमा बच्चा भएका दर्दनाक अवस्थामा हिँडेकाहरूलाई उद्धार गरेर गन्तव्यमा पुर्‍याउने काम भयो । उनीहरूलाई हामीले खाली ट्रकमा पठाउने काम गर्‍यौँ । इच्छा कामना गाउँपालिका पुगेपछि हामी गाडीमा चढेर जान पाउँछौँ भन्ने पैदल यात्रुलाई लाग्न थालेको धेरैले सुनाए । उहाँहरूलाई यसो गाह्रो समयमा यसरी सहयोग गर्न पाएकोमा हामी धेरै खुसी थियौँ ।

हामीलाई प्रदेश सरकारबाट १० लाख रुपियाँ आएको हो । त्यो भन्दा अरू सहयोग भएन । अरू खर्च गाउँपालिकाले नै व्यवस्थापन गरेको हो । हामीले अरू खर्चबाट कटाएर त्यो बेलामा खर्च गरेका थियौँ । किनकि जनता रहेमा विकास जहिले पनि गर्न सकिन्छ भन्ने लाग्यो त्यति बेला । एउटा जनप्रतिनिधि भएर यसरी सोच्नु हुन्थ्यो हुन्थेन थाहा भएन तर हामीले यही अनुरूप काम गर्‍यौँ । त्यसैले आपतकालिन बजेट छुट्ट्याएर काम गर्‍यौँ । गाउँपालिकामा रहेको स्थापित संस्था, बाहिरबाट आएका एनजिओ आइ एनजिओले पनि हामीलाई सहयोग गरे ।

हामीले जिल्ला प्रशासनसँग पनि मिलेर काम गर्‍यौँ । सिडिओका कारण हामीलाई धेरै ठुलो समस्या भएन । हाम्रो गाउँपालिकामा प्रशासनबाट असहयोग भन्ने खासै भएन । सुरक्षा निकाय र प्रशासनसँग मिलेर बैठकहरू समेत भए । हामी आफैले पनि राजमार्गमा निगरानी गर्‍यौँ र त्यसमा सबैको साथ रह्यो ।

जनतासँग प्रत्यक्ष जोडिने हामी नै भएकाले यस्ता महामारीमा स्थानीय तहको महत्त्व अझै बढी हुने रहेछ । सायद घर गाउँको सरकार महसुस हुने यस्तै बेलालाई चाहिने होला । अहिले सबै वडामा जनप्रतिनिधि छन् । ठाउँ ठाउँमा टोल समितिहरू छन् । सबै क्षेत्रमा जिम्मेवारी बाडफाड गर्‍यो भने सजिलो हुँदो रहेछ भन्ने ठुलो कुरा सिकियो । कोही रातमा आइपुग्यो भने पनि सबैको नम्बर राखेर अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षको समेत नम्बर राखेर सहयोगको काम गरियो । हामीले स्कुल स्कुलमा क्वारेनटिन बनाएर समेत बाहिरबाट आएकाहरूलाई राख्यौँ ।

स्थानीय तहलाई दिएको जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न सक्छन् भन्ने पनि प्रमाणित भएको छ । अधिकार थोरै मात्र दिएर हुँदैन भन्ने पनि अनुभव भएको छ । जस्तो, पिसिआर टेस्ट गर्ने बेलामा सात दिन आठ दिनसम्म पनि रिपोर्ट नआउँदा उसलाई कोरोना लागेको हो या होइन भनेर थाहा पाउन कठिन भयो । लागेको भएदेखि फेरि कति दिन बस्नुपर्ने भन्ने हुने रहेछ । यस्तो बेलामा स्थानीय तहलाई पिसीआरको अधिकार दिने अनि राम्रा चिकित्सकहरू उपलब्ध गराइदिएको भए अझै राम्रो हुन्थ्यो कि भन्ने हो । तर पनि यस्तै भयो, धेरै महिनासम्म अस्तव्यस्तैमा चल्यो । नागरिकहरू अझै पनि असुरक्षित छन् । कुन बेला कोरोना भाइरस लाग्ने हो कुन बेला कति मानिस मर्ने हो थाहा छैन तर गाउँपालिकामा हामीले ज्वरो आएको छ भन्ने थाहा पाउनासाथ स्वास्थ्यकर्मी, र जनप्रतिनिधि घरमै पठाएर उसको अवस्था के छ, पिसिआर गर्नुपर्ने हो कि होइन भनेर समेत बुझ्ने काम गरेका छौँ ।

कोरोना भाइरसबाट बच्नका लागि जनताले लकडाउनमा राम्रो सहयोग गरे । उनीहरू घरमै बसेर भौतिक दुरी कायम भयो । त्यस्तै मास्क र स्यानिटाइजरको समेत प्रयोगले सुरक्षित रहन सहयोग भयो ।

कोरोना सङ्क्रमणले शिक्षामा असाध्यै ठुलो असर पार्‍यो । शिक्षा र व्यावसायिक क्षेत्रमा असर परेको छ । विद्यालयमा विद्यार्थी पढ्न नपाउँदा घर घरमा थुनिएर बसेका छन् । उनीहरू मानसिक तनावमा छन् कि भन्ने परेको छ । यो गाउँपालिकामा ३५ किमी राजमार्ग भए पनि दुर्गम ठाउँहरू धेरै छन् । रेडियोबाट समेत शिक्षा दिन नसक्ने अवस्था छ । नौलो माध्यम र दूर शिक्षा भनेर छुट्टै खालको अभियान चलायौँ पनि । शिक्षकहरूमा असहज परिस्थिति भएको हो कि भन्ने पनि लाग्थ्यो घरीघरी । कुन विषयको शिक्षक कुन टोलमा जाने भनेर  समेत समस्या भएपछि अहिले जोर बिजोर शिक्षा प्रणाली अपनाएका छौँ । कम्तीमा १५ जना विद्यार्थी राखेर पढाएका छौँ । १ कक्षा ३ कक्षा अनि ५ गरेर जोर बिजोर प्रणाली लागु गरेका छौँ ।

गाउँपालिकाले अब आउने दिनमा कसरी सुरक्षित रहने भनेर सचेतना अपनाएको छ । मजदुरी गर्न जाने नागरिकलाई गाउँपालिका भित्रै रहेका योजनामा काम गर्न लगाउने उनीहरूलाई आर्थिक समृद्धिसँग जोड्न प्रयास गर्ने योजना छ । स्वस्थ र खानपिनमा परिवर्तन ल्याउनुपर्छ भनेर हामी लागिरहेका छौँ । त्यही अनुसार प्रशिक्षण दिँदै स्वास्थ्य शाखाका कर्मचारी खटाएका छौँ । गाउँपालिकाले स्वास्थ्य पाठ्यक्रम तयार पारेको छ । कृषिमा सबै आत्मनिर्भर हुनुपर्छ भनेर योजना बनाएका छौँ । यस क्षेत्रका पर्यटकीय सम्भावना पनि प्रशस्त रहेको छ । मन्दिर दर्शन, छहराको अवलोकन अनि र्याफ्टिङ लगायतमा  सम्भावना छन् । यसमा स्थानीय नागरिकलाई त्यही अनुसारको शिक्षा दिएर अगाडि बढाउने योजना बनाएका छौँ ।

यो कथा इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङसंग गरिएको कुराकानीमा आधरित भएर लेखिएको हो ।

श्रीमान्‌लाई कुरिरहेकी छु

पढाउन नपाउँदा !

कोरोनाको भन्दा पनि तलबको चिन्ताले सतायो

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।