काम गर्न केहि अप्ठ्यारो छ तर आत्तिनु हुन्न

चीनमा कोरोना भाइरसको सङ्क्रमण सुरु  भएसँगै हामीले हाम्रो नेपालमा कुनै पनि बेला आउँछ भनेर पूर्वानुमान गरेका थियौँ । त्यही अनुसारको तयारी गर्नुपर्छ भनेर सानातिना काम समेत सुरु गर्‍यौँ । हरेक माघ १६ गतेलाई हामीले रक्तदान दिवसको रूपमा मनाउने निर्णय गरेका थियौँ तर २०७६को माघ १६मा भने हामीले कोरोना सचेतना कार्यक्रम समेत गर्‍यौँ । त्यसपछि हामीले दुई तरिकाले कार्यक्रम अघि बढायौँ । एउटा विद्यालय र अर्को समुदायमा गयौँ । नेपाल रेडक्रस सोसाइटीको पनि सहयोग लिएर हामीले सचेतनामुलक कार्यक्रम गर्‍यौँ । नगर स्तरीय वडा स्तरीय अनि टोल स्तरीय कार्यक्रमहरू सम्पन्न भए । विद्यालय स्तरीय कार्यक्रमहरू पनि सँगै भए।

कोरोना चीनबाट नेपालतिर नआएर युरोप, अमेरिका अनि भारत हुँदै नेपाल आउँदा त्यसले समय पनि लियो । यसले गर्दा हामीलाई तयारी गर्ने अवसर पनि दियो ।

बिस्तारै भारत लगायत तेस्रो मुलुकमा रहेका मानिसहरू फर्किन थाले । उहाहरुसँगै कोरोना आउन सक्छ भनेर विभिन्न ठाउँमा स्वास्थ्य डेस्कहरू स्थापना गर्‍यौँ ।

स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री खरिद गर्ने अनि क्वारेन्टीन बनाउने काम पनि सुरु हुन थाल्यो । त्यो क्रममा विदेशबाट आएका मानिसहरूलाई नगरपालिकाको आकस्मिक कोषमा रहेको ५० लाख र २५ लाख थपेर रोजगारीका लागि पहल गरियो ।  जनतामा आह्वान गर्दा झन्डै २८ लाख जम्मा भएको थियो । विभिन्न सङ्घसंस्थाबाट पनि सहयोगहरू आएका थिए ।

हामीले राहत पनि वितरण गर्‍यौँ । राहत वितरण गरेर सम्भव नहुने देखेपछि राहतका लागि काम अभियान चलाएको हो । हामीले यस्तो काम असारदेखि सुरु गर्‍यौँ । त्यस्तै सुरुमा १० र पछि ५० बेडको आइसोलेसन वार्ड पनि निर्माण भयो । बिस्तारै होम आइसोलेसनमा जानुपर्छ भनेर अवधारणा आयो । अहिले त्यो प्रभावकारी भइरहेको छ ।

कोरोना सङ्क्रमणको बेला अग्रपंक्तिमा  खट्टीनेहरुका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौँ । उहाँहरूको २५ लाख बराबरको बिमा गरिएको छ । व्यापक मात्रामा जनप्रतिनिधि सुरक्षाकर्मी स्वास्थ्यकर्मी सङ्घसंस्थाका प्रतिनिधि परिचालित भएर व्यवस्थापन गर्ने काम भयो ।

यो बेलामा हामीले सङ्घ र प्रदेश सरकारसँग पनि समन्वय गरेर काम गर्‍यौँ । हामीले सङ्कलन गरेको स्वाब केन्द्रीय तहबाट परीक्षण भएको छ । सङ्घले २८ र प्रदेश सरकारले १५ लाख रुपैयाँ दिएको छ । यो अवधिमा हामीले ३ करोड भन्दा बढी खर्च गर्‍यौँ । झन्डै १ करोड राहतको काममा खर्च भयो ।

सङ्क्रमित व्यक्तिले उपचार पाउने मापदण्ड बनाएका छौँ । कोही पनि व्यक्तिले महामारीका कारण खान पाइएन भन्न नपरोस् भन्नेमा हामी सचेत छौँ । हामीले विदेशबाट फर्किएका र यही पनि काम नपाएकाहरूलाई कृषिमा काम लगाउनुपर्छ भनेर योजना बनाएका छौँ । हामीले कृषि र पर्यटनमा बढी जोड दिएका छौँ । यो पर्यटकीय क्षेत्र पनि हो भने कृषिमा पनि ध्यान दिनुपर्छ । नगरपालिकाले करिब ६ करोड रुपैयाँ कृषि र पशुपालनका लागि युवालाई स्वरोजगार बनाउनका लागि लगानी गर्न खोजेको छ । मसला उत्पादन फलफूल उत्पादन र तरकारी उत्पादनमा जोड्नेगरि काम अघि बढाइएको छ ।

जनस्तरबाट अत्यन्त राम्रो सहयोग भइरहेको छ । सुरुमा अलि अप्ठ्यारो भयो । बिस्तारै जनताले हामीलाई साथ दिन थालेका छन् । राजनीतिक दलको पनि सहयोग भयो । जनप्रतिनिधि पनि धेरै खट्नुभएको छ जसले गर्दा हामीलाई सजिलो भयो ।

यो कोभिडले हामीलाई धेरै सिकाएको पनि छ । हामी अत्यन्तै अराजक रहेछौँ भन्ने देखायो । सुधार्न पर्ने पनि धेरै छन् भन्ने देखाएको छ । शिक्षा, चेतना र स्वास्थ्यको क्षेत्रमा परिवर्तन गर्न जरुरी छ । हाम्रो समाज आधुनिकतर्फ लम्किँदै गर्दा पनि हामी धेरै कुरामा अलिकति अव्यवस्थित र अस्तव्यस्त रहेछौँ । चेतनाको दृष्टिकोणले अलि पछाडि रहेछौँ भन्ने कुराको अनुभूति पनि भयो । यी सबै कुरालाई व्यवस्थित गरेर कार्यक्रम तय गर्ने गरी नगरपालिका अगाडी बढेको छ ।

राज्यको पुन संरचना गरेर शासकीय स्वरूपलाई बदल्दा पनि हाम्रो स्वरूप उस्तै हो कि जस्तो अनुभूति हुन्छ तर राज्यको पुन संरचना नभइदिएको भए अहिले कति गाह्रो हुन्थ्यो होला भन्ने पनि लाग्छ । हामी स्थानीय तहमा आएपछि नजिकबाट जनताको सेवा गर्ने अवसर पाएका छौँ । हामीले गरेका गतिविधिहरू साँच्चै ठिक छ त भनेर एक पटक मूल्याङ्कन गर्ने मौका पनि मिलेको छ । त्यसो भएकाले समाजलाई सही ढङ्गले अगाडी बढाउनका लागि हाम्रा सोचहरू बदल्नुपर्छ । हाम्रा बानी व्यवहार बदल्नपर्छ भन्ने पनि सिकाएको छ । राज्य पुन संरचनालाई संस्थागत गर्ने मौका पनि मिलेको छ ।

प्रमुख जिल्ला अधिकारीबाट असहयोग भएको भन्ने भएन । उहाँले नगर प्रमुखहरूसँग छलफल गरेर मात्रै निर्णय गर्नुहुन्थ्यो ।

अचानक लकडाउन घोषणा भएपछि थुप्रै मानिसहरु अत्तालिए । झन् लकडाउन कहिले खुल्ने हो टुङ्गो नभए पछि त झन् धेरै आफ्नो घर छोडेर अन्य ठाउँमा काम गर्न गएकाहरु अलपत्र परे । यस्तो कठिन समयमा हामीले एक नगरपालिकाबाट अर्को नगरपालिकामा मानिसहरू पुर्‍याउन सहयोग गर्यौं । अलपत्र परेका थुप्रैलाई कैलाली पुर्यायौं । त्यस्तै कतिलाई बाँके पुर्यायौं । थुप्रै छिमेकी नगरपालिकाका मानिसहरूलाई आ-आफ्नो घर पुर्‍याउन सहयोग गर्‍यौँ । देशका विभिन्न ठाउँमा अलपत्र भएका हाम्रो स्थानीय तहको मान्छेहरूलाई ल्यायौँ । यो कहरमा काम गर्दै गर्दा नकारात्मक अनुभवहरू एकदमै कम छन् र सकारात्मक धेरै छन् । काम गर्दै जाँदा केही अप्ठ्यारो त हुन्छ अनि बिग्रिने पनि सम्भावना हुन्छ तर आत्तिनु हुन्न ।

यो कहरमा जनप्रतिनिधि बहर काम गरिरहँदा मैले के महासुह गरें भने यस्तो गाह्रो समयमा पनि हाम्रो काम गर्ने शैली उस्तै थियो । अनि लाग्यो हामीले अब हाम्रो काम गर्ने शैली बदल्नुपर्‍यो, जनप्रतिनिधिलाई बदल्नुपर्‍यो, राजनीतिक दललाई सँगै हिडाउनुपर्यो, विभिन्न सङ्घ संस्थालाई डोर्याउनपर्यो, नागरिकहरूलाई पनि आफूसँगै हिडाउनुपर्यो ।

यति मात्र होइन यो विपद्ले नागरिक सचेत नभई केही उपलब्धि हुँदैन  भन्ने पाठ सिकाएको छ । यो कोभिड १९को सवाल मात्रै होइन । यसमा स्वास्थ्य, शिक्षा, व्यवसाय धेरै कुरा थियो । रोजगारी गुमाएको अनि समृद्धिको यात्रालाई रोकेको स्थिति थियो । यो सबै कुरालाई हेर्दा खेरी स्थानीय तहहरूले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्छ भन्ने अनुभूति भएको छ । नागरिकलाई रोजगारी सिर्जना गराउने कुरामा अगाडी बढाउनु पर्छ भन्ने पाठ सिकाएको छ र हाम्रो आगामी कार्यक्रमहरू यसैमा लक्षित भएर अगाडी बढेको छ ।

यो कथा ठाकुरबाबा नगरपालिका प्रमुख,घननारायण श्रेष्ठसंग गरिएको कुराकानीको आधारमा लेखिएको हो ।

सम्झिदा अहिले पनि रुन मन लाग्छ

क्वारेन्टाइन बनाउने ठाउँ नै पाइएन ।

प्लेन नउडेपछि ...

प्लेन नउडेपछि …

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।