कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरण पनि देखा पर्न सक्छ भनेर हामी तयारी अवस्थामा छौँ

कोरोना कहरको बेलामा पनि हामी सामान्य अवस्थामा जस्तै खट्न पर्ने भयो । यो हाम्रो जिम्मेवारी पनि हो । सङ्क्रमणको जोखिम हुँदाहुँदै पनि उच्च सतर्कता अपनाएर खटिरहेका छौँ । अहिले कोरोनाको सङ्क्रमण पनि बढिरहेको छ । हामीकहाँ ३ हजार भन्दा बढीमा सङ्क्रमण देखिएको छ । अझै ३ सयमा सङ्क्रमण बाँकी नै छ । हामीले आफ्नै श्रोत र साधनमा पिसिआर परीक्षण सुरु गरेका छौँ । त्यसकै आधारमा कनट्र्याक्ट ट्रेसिङ अनि ट्रेसिङमा परेकाहरूलाई परीक्षण गर्ने काम गरेका छौँ । परीक्षण गर्दै आइसोलेसनमा बसे नबसेको पनि निगरानी गरेका छौँ । घरमा बस्न नमिल्नेहरूका लागि आइसोलेसनको व्यवस्था गर्ने र गाह्रो भएकाहरूलाई अस्पतालमै व्यवस्था गर्ने अनि आइसियुको व्यवस्था गर्ने शवको व्यवस्थापन गर्ने समेत काम भइरहेको छ । सबै गर्दागर्दै समय गएको समेत पत्तै नहुने रहेछ । हामी त्यसमै लागिरहेका छौँ ।

मध्यपुरको हकमा भन्ने हो भने प्रदेश सरकारको खासै अस्तित्व छैन । त्यही भएर खासै सहकार्य हुने कुरा पनि भएन । सङ्घीय सरकारसँग भने सहकार्य हुन्छ । हामी सिसिएमसीमा पनि छौँ । सिसिएमसीको बैठकहरूमा जान्छौं । सिडिओहरूसँग छलफल गर्ने समन्वय गर्ने काम भइरहेको छ।

सिडिओहरूबाट त्यस्तो अप्ठ्यारो भएन । किनकि हामी जनताको सम्पर्कमा रहिरहने र फिल्डमै रहने भएकाले धेरै समस्या भएन । नगर बासीलाई बेलैमा पिसिआर गराउने अनि अस्पताल र आइसियुको समेत व्यवस्था गरिएको हुनाले समस्या भएन । हामी आफै सक्षम भएकाले पनि समस्या भएन । सिडिओ समानान्तर संस्था भएन तर कहिलेकाहीँ भने समस्या देखियो । हामीले निषेधाज्ञा लगाउन खोज्दा अलि नीतिगत समस्या भयो किनकि यो अधिकार सिडिओलाई मात्रै दिइएको छ तर हामीले गरेका निर्णयका हकमा भने सहयोग नै भएको थियो । कतिपय अवस्थामा केही समन्वय नभएजस्तो भयो । सङ्घीयता कार्यान्वयनको अवस्थामा केही नीतिगत समस्या भने देखियो ।

जनस्तरबाट आवश्यक मात्रामा सहयोग भयो । कनट्र्याक्ट  ट्रेसिङ गर्ने काममा सुरुमा केही समस्या भयो किनकि सुरुवाती समयमा उहाँहरू धेरै आत्तिनु भएको थियो जसले गर्दा फोनहरू गर्दा पनि आत्तिने अवस्था थियो पछि भने मिल्दै गयो तर जसरी नियमहरू पालना गर्नुपर्थ्यो त्यो भने भएको पाइएन । मास्क लगाएर हिँड्नुपर्ने दुरी कायम गर्नुपर्ने भिडभाड गर्न नहुने जस्ता समस्याहरू भने समाधान हुन सकेन । भोज भतेर गर्ने जस्ता कुराहरूमा लापरबाही भएको पाइयो । यसमा अलि असहयोग भयो ।

कोरोना फैलिसकेपछि र लक्षण देखिएपछि सम्पर्कमा आउने कुरामा सहयोग पाइएको छ । आम रूपमा अलिकति लापरबाही भएको हामीले पायौं ।

हाम्रो समाजमा आधिकारिक सूचनामा विश्वास गर्ने भन्दा पनि लहलहैमा फेसबुकमा आएको सूचनाहरूमा विश्वास गर्ने परिपाटी बढेको पाइयो । हल्लाहरूमा बढी लागेको पाइयो । यसो हुँदा दुई कुरा बढी भएको पाइयो । एउटा कोरोना केही पनि होइन भन्ने हाउगुजी मात्रै हो भनेर अत्यन्तै लापरबाही गरेको पाइयो । विशेष गरी युवाहरूमा हामीलाई लागेर के हुन्छ र हामी मरिँदैन भन्ने खालको पाइयो । अर्को कुरा कोरोना भयङ्करै भयावह हो । घरबाटै निस्किनै हुँदैन । यसमा अत्यधिक केयर जरुरी पर्छ अनि लागेपछि बाचिँदै बाचिँदैन भन्ने बढी डर पनि देखियो । यो दुवै अति खालको भ्रम पाइयो ।

स्थानीय तहले धेरै पाठ सिकेका छन् । कुनै पनि खालको विपद् आउँदाखेरि सङ्घीय प्रदेश सरकार भए पनि अन्तिममा खट्नुपर्ने स्थानीय सरकार नै हुँदो रहेछ भन्ने थाहा पाइयो । यो काम स्थानीय जनप्रतिनिधिले नै गर्ने रहेछ भन्ने महसुस भयो । अरू तहको त नीतिगत तहमा मात्रै हुँदो रहेछ भन्ने पायौं । त्यसो भएको हुनाले विपद्सँग लड्नको लागि आवश्यक तयारी गर्नुपर्छ । बजेटको पर्याप्त व्यवस्था गर्नुपर्छ भन्ने पाठ सिकिएको छ । टोल टोलमा विपद् व्यवस्थापन संयन्त्र चाहिन्छ भन्ने पाठ सिकिएको छ । त्यो अनुसार विपद् व्यवस्थापन र स्वास्थ्यमा तयारीको लागि बजेट विनियोजनमा लागेका छौँ ।

अहिले अलि थामिएको जस्तो देखिएको छ । यो परीक्षण कम भएर यस्तो भएको हो । त्यसैले केसहरू पनि कम देखिएको हो । चिसो मौसममा कोरोनाको समस्या बढी हुने विज्ञहरूले भनिरहेका छन् । अहिले जुन रूपमा सक्रिय सङ्क्रमितहरू देखिरहेका छन् । यो सङ्क्रमितहरू काठमाडौँ उपत्यकामा भएकाले अझै पनि भयावह स्थिति नै छ ।  यो ढुक्क हुने स्थिति छैन । त्यसैले कोरोनाबाट बच्दै स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने देखिएको छ । दोस्रो लहर पनि आउन सक्छ । त्यसको लागि तयारी अवस्थामा बस्नुपर्छ भनेर हामी मानसिक रूपमा तयार भएर बसिरहेका छौं ।

यो कथा मध्यपुर थिमी नगरपालिका, प्रमुख मदन सुन्दर श्रेष्ठसंग गरिएको कुराकानीमा रहेर लेखिएको हो ।

संकटलाई अवसरमा बदल्ने विचार

संकटलाई अवसरमा बदल्ने विचार

कोभिड–१९ संक्रमित भएपछि बाँच्न गाह्रो

कोरोना संक्रमण भएपछि बाँच्न गाह्रो

न पढाइ, न व्यवसाय

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।