अब बेरोजगारीको समस्यालाई सम्बोधन गर्नुपर्ने छ

कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा फैलिँदै छ भनेपछि हामीले केही पूर्व तयारी सुरु गर्‍यौँ । हामीले नगरपालिका र स्वास्थ्य शाखाको बिचमा छलफल सुरु गर्‍यौँ । हामीले केही विद्यालयमा क्वारेनटिन बनाउनपर्छ भन्ने योजना बनाएर सबै वडाका एउटा\एउटा विद्यालयमा ‘भोलि पर्‍यो भने क्वारेनटिन बनाउनुपर्छ’ भनेर निर्णय गर्‍यौँ । त्यसका लागि राजमार्गको नजिक रहेका विद्यालय पहिलो प्राथमिकतामा परेका थिए ।

जब चैत ११ गतेदेखि लकडाउन सुरु भयो, त्यसपछि बाहिरबाट आउनेहरूसँग पनि स्थानीयहरू डराउन थाले । पोजेटिभ नदेखिए पनि बाहिरबाट आउनेहरूसँग डराउँथे ।  हुन त त्यति बेला अवस्था नै त्यस्तै थियो किनकि त्यो बेलामा अहिलेजस्तो मानिसहरूमा सचेतता थिएन भने कोरोनाको धेरै त्रास थियो । बाहिरबाट आएका संकास्पदहरुलाई ल्याउनका लागि हामीले एम्बुलेन्सको समेत व्यवस्था गरेका थियौँ । एम्बुलेन्स चालक र सञ्चालन गर्ने संस्थासँग बसेर हामीले उनीहरूलाई दिनुपर्ने सबै सुरक्षाका सामाग्रीहरू दिने प्रतिबद्धता जनायौँ । त्यसपछि उहाँहरु पनि त्यसका लागि तयार भए ।

त्यसका लागि एम्बुलेन्सलाई पार्टेसन गर्ने अनि चालकलाई पिपिई दिने निर्णय भयो । उनीहरूको लागि आवश्यक पर्ने पन्जा, स्यानिटाइजर र मास्क लगायतका सुरक्षित हुने सबै सामग्री दिने समेत सहमति गरियो । जोखिम भएका जिल्ला र बाहिर देशबाट स्थानीय आउने भएपछि हामीले तीन वटा विद्यालयलाई तत्कालै क्वारेनटिनका रूपमा सुरु गर्‍यौँ । हामीकहाँ सुरुवाती चरणमा कोरोना भाइरसका संक्रमिमतहरु देखिएकाले हामी अझै बढी सचेत हुनुपर्ने थियो । जति बेला देश भरी १० जना पनि सङ्क्रमित देखिएका थिएनन्, त्यो बेलामा हङकङबाट आएका दुई जनालाई सङ्क्रमण देखिएको थियो । उहाहरुसँग आएकाहरूलाई हामीले विद्यालयको क्वारेनटिनमा राख्यौं ।

लकडाउनको समयमा हामीले विभिन्न खालका जनचेतनामूलक कार्यक्रम गर्‍यौँ । लकडाउन लामो भयो । त्यो बेलामा ६५ लाख बराबरको चामल, तेल, नुन, दाल र साबुन बाँड्यौ । हामीले ६ हजार घरलाई राहत बाडयौं । बाँड्नु त एक पटक बाडेको हो तर सबैलाई व्यवस्थित ढङ्गले दियौँ । सबै राजनीतिक दल, सङ्घ संस्था सम्मिलित संयन्त्र बनाएर राहत बाँड्ने काम गर्‍यौँ । जति पनि राहत बाँडिएको थियो, त्यो सबै एक द्वार प्रणालीबाट वितरण गरिएको हो । पिपिई, स्यानिटाइजर, मास्कलाई सम्बन्धित ठाउँमा पुर्‍याउने काम पनि नगरपालिकाले नै गरेको हो ।

हामीले बाहिरबाट आएका जम्माजम्मी ३ सय ३५ जनालाई क्वारेनटिनमा राख्यौं । कतिलाई त महिनौँसम्म क्वारेनटिनमा राखियो । उहाँहरुलाई क्वारेनटिनमा राख्ने मात्रै होइन खुवाउने र व्यवस्थित गर्ने काम गर्‍यौँ । यो अवधिमा १६ सय ६७ जनाको परीक्षण गर्दा २ सय ९८ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

कोरोनाका बिरामी बढ्दै गएपछि हामीले आइसोलेसनमा धेरै ध्यान दियौँ । त्यसको लागि कृषिको तालिम केन्द्रको भवनलाई प्रयोग गर्‍यौँ । कोही बिरामीलाई अस्पताल पुर्‍याइयो भने कोही बिरामीलाई घरमै आइसोलेसनमा बस्न भनियो । जसको आफ्नो घरमा बस्न मिल्ने ठाउँ छैन उनीहरूलाई पब्लिक आइसोलेसनमा राख्ने काम भयो । कोरोनाको समयमा काम गर्दा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पनि हामीलाई ठूलो सहयोग गरे ।

यो बेलामा सङ्घबाटै धेरै सहयोग भयो । खर्च हुन नसकेको रकम कोरोना भाइरसको रोकथामका लागि खर्च गर्नु भनेर सघीय सरकारले भनेपछि हामीले पनि त्यही गर्‍यौँ । विशेषगरि विपद् व्यवस्थापनका लागि राखिएको बजेट खर्च भयो ।

क्वारेनटिनको लागि नगरपालिकाले व्यवस्थापन गर्ने र  खानाको व्यवस्था सुरक्षाकर्मीले गर्ने भनेर परिपत्र आएको थियो तर यसो हेर्दाखेरि खाना व्यवस्थित देखिएन । क्वारेनटिनमा बस्नेहरूलाई खाना खुवाउने, रमाइलो गराउने काम भयो । जति सक्यो राम्रोसँग व्यवस्थित गरेर स्वास्थ्यकर खाना खुवायो भने नै कोरोनालाई जितिने भएकाले त्यसमा पनि नगरपालिका सचेत भएको थियो । काम गर्ने क्रममा प्रशासनबाट हामीलाई असहयोग भएन । जिल्ला प्रशासन कार्यालय अनि अन्य स्थानीय तहसँग समन्वय गरेर हामीले काम गर्‍यौँ ।

जनताको साथ र सहयोग राम्रो रह्यो । यो नगरपालिका पहाडी भेगमा पनि पर्छ । यहाँका जनता धेरै कृषिमा आबद्ध छन् । कृषकहरू बाहिर निस्किन पर्‍यो । त्यसलाई असहयोग गरेको भन्न मिलेन । केही नटेर्ने खालका मानिसहरू जहाँ पनि हुन्छन् त्यो जमात यहाँ पनि थियो तर जनताकै तहबाट भने असहयोग भएन । ठूला ठूला भेला नगर्ने, समूहमा नबस्ने त्यसपछि अनावश्यक भीड हुने काम गरेनन् । त्यसमा जनताले सहयोग नै गरे ।

विशेषगरि समुदायमा जे हो त्यो प्रस्टसँग भन्नुपर्छ । यस्तो गरियो भने जनताले पनि विश्वास गर्छन् । यो महामारी हो, यसको भाइरसलाई देख्न सकिँदैन । लापरबाही गर्‍यो भने सबैलाई सर्न सक्छ, सबैले मिलेर भाइरससँग लड्ने हो भनेर जनतालाई बुझाएपछि उनीहरू पनि सुरक्षित भएर बसे ।

यो विपदबाट स्थानीय तहले, हामी जनप्रतिनिधिले धेरै ठुलो पाठ सिकेका छौ किनकि यो खालको महामारी हाम्रो पुस्ताले कहिल्यै भोगेको थिएन र सोचेको पनि थिएन । अब जुनसुकै बेलामा पनि यस्ता विपद्को सामना गर्न तयार हुनुपर्छ भन्ने पाठ हामीले सिकेका छौं । सबैसँग समन्वय गरेर सबै जनतालाई सहकार्य गरी अघि बढ्नुपर्ने रहेछ, पूर्व तयारी गर्नुपर्ने रहेछ, हाम्रा विपद्का तयारीहरू बजेटहरू अनि आकस्मिक तयारी समेत हुनुपर्ने रहेछ।

जनतालाई सेवा दिनका लागि स्थानीय तह नै चाहिने रहेछ । जनतालाई समस्या पर्न सक्ने सम्भावित अवस्था बुझेर सरकार आफैँले योजना बनाउनुपर्ने रहेछ भन्ने महसुस भएको छ ।

अझै पनि कोरोना सकिएको छैन। जाडोको समय आउँदैछ हामीले सबैलाई तपाईं सुरक्षित साथ रहनुपर्छ, भिडभाडमा जान हुँदैन पनि भनेका छौं । कोरोना सङ्क्रमण भएमा घरमै आइसोलेसनमा बस्न भनेका छौं । घरमा बस्न नसक्नेहरूलाई पब्लिक आइसोलेसन वार्ड पनि बनाएका छौं ।

आगामी दिनमा बेरोजगारीको समस्या बढ्ने अनुमान लाउन सकिन्छ । यसको पूर्व सङ्केत यस्तै देखिन्छ । कोरोना कहरले विदेशबाट पनि टन्नै फर्किएका छन् । यसलाई व्यवस्थित गर्नु अबको ठुलो चुनौती देखिन्छ तर जसरी पनि बेरोजगारी समस्यालाई सम्बोधन गरेर अघि बढ्नुपर्छ नै । त्यसका लागि नगरपालिकाले गर्न सक्ने योजना बनाउदैछौं।

 यो कथा राप्ती नगरपालिका प्रमुख प्रभा बरालसंग गरिएको कुराकानीमा रहेर तयार गरिएको हो ।

 

 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।