शुक्रराज ट्रपिकल अस्पताल होइन मन्दिर हो !

मेरो नाम कमला रेग्मी हो । म अहिले ५३ वर्ष पुगेँ । म भर्खरै कोरोना सङ्क्रमणबाट निको भएर फर्किएकी हुँ । १७ दिन म टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसियु (इन्टेन्सीभ केयर युनिट)मा बस्नुपर्‍यो । ३ दिनसम्म त म बेहोस थिएँ ।

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मेरो लागि मन्दिर हो । मैले नयाँ जीवन पाएको ठाउँ हो यो अस्पताल । डाक्टरहरू कोरोना लागेका मान्छेलाई छुँदैनन्, ढोकाबाट हेरेर जान्छन् भन्ने सुनेकी थिएँ । तर होइन यहाँ त हामीलाई झ्याप्प अँगालो हाल्छन् । बिरामीलाई साह्रै माया गर्छन् । यहाँका डाक्टर त भगवान् हुन् ।

म भदौ १२ गते अचानक बेहोस भएँ । त्यसपछि मलाई आफन्तले भैँसे पाटीबाट मेडीसिटि अस्पताल पुर्‍याए । त्यहाँ मलाई कोरोना सङ्क्रमण भएको पुष्टि भयो । त्यसपछि भने मलाई त्यो अस्पतालले भर्ना गरेन । मलाई त्यहाँ चार घण्टा अस्पतालमा राखेको थियो होला । तर त्यहाँ त्यो अस्पतालले ८२ हजार रुपैयाँ उठायो । त्यसमा  ३० हजार रुपैयाँ त विभिन्न मास्क र पिपिईको नै तिर्नुपर्‍यो । तर पनि  त्यो अस्पतालले मेरो उपचार नै गरेन । कोरोना लागेको थाहा नहुँदासम्म पैसा असुल्यो । कोरोना लागेको थाहा पाएपछि मलाई अस्पतालबाट निकाल्यो ।

त्यसपछि म यो टेकुको अस्पतालमा भर्ना हुन आइपुगेँ । हुन त मेडसिटि अस्पतालले त मलाई ह्याम्स अस्पताल पठाउन खोजेको थियो । मेरा आफन्तले टेकु लान्छौँ भन्दा पनि त्यो अस्पतालले मलाई टेकु पठाउन मानेन । सरकारी अस्पतालमा पठाउँदैनौँ भनेर उल्टै मेरा आफन्तसँग झगडा गरेछ । पछि जर्बजस्ती गरेर टेकुको अस्पतालमा आइपुगेँ । यहाँ मैले १७ दिन आइसियुमा बस्दा एक रुपैयाँ पनि तिर्नु परेन । हामीसँग भएको सबै पैसा निजी अस्पतालमा सकिसकेको थियो । मलाई त अहिले पैसा मात्र लुट्ने निजी अस्पतालले हामी जस्ता मान्छेलाई त उपचार नगराईकनै मार्छन् कि जस्तो पो लाग्छ किनकि मेरो भोगाई यस्तै रह्यो । मलाई टेकुको अस्पताल ल्याएपछि मात्र मेरो ज्यान जोगिएको हो भन्ने लाग्छ ।

यो सरकारी अस्पताल भए पनि यहाँ सबै सुविधा छ । डाक्टर र नर्सहरूको व्यवहार पनि राम्रो छ ।

कस्तो अचम्म हेर्नुहोस् त ! उपचार नै नगर्ने अस्पतालमा ८२ हजार खर्च भयो । जहाँ उपचार गराएर निको भयो त्यहाँ खर्च नै लागेन ।

यो कथा कमला रेग्मीसंग भदौमा गरिएको कुराकानीमा आधारित भएर लेखिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।