नेपालमा ५० दिन बढीको क्वारेनटाइन बास

मेरो घर दाङ हो । म भारतको दिल्लीमा एउटा होटेलमा काम गर्थेँ । त्यहाँ पहिलो पटक गरिएको लकडाउन १४ अप्रिलमा खुल्ने भनिएको थियो । १४ अप्रिलमा लकडाउन खुल्छ भनेर हामी भारतमै बसेका थियौँ । तर लकडाउन लम्बिँदै गयो, सङ्क्रमणको डर पनि बढ्दै गएपछि घर परिवारसँग अब भेट नै हुँदैन कि जस्तो लाग्न थाल्यो ।

भारतमा रहेका नेपालीहरू हिँड्दै सीमासम्म पुगिसकेका थिए । त्यही बेला प्रधानमन्त्रीले भारतमा रहेका नेपालीलाई ल्याएपछि सङ्क्रमण फैलिन्छ भनेपछि त हामी नेपाल छिर्नै पाउँदैनौँ कि जस्तो लागिसकेको थियो ।

लामो समयको हार गुहारपछि बल्ल सरकारले भारतमा रहेका नेपालीलाई नेपाल भित्र्याउने भन्यो । त्यसपछि मैले मेरा घर रहेको बंगलाचुली गाउँपालिकामा सम्पर्क गरेँ । गाउँपालिकाकाले आउनुहोस् नाकामा बस पठाउँछौ भन्यो ।

त्यसपछि ८ जेठमा म लगायत धेरै मान्छेहरू दिल्लीबाट बस चढ्यौँ । ९ जेठको दिउँसो हामी कपिलवस्तुको कृष्णनगर नाकामा आईपुग्यौं । मुख्य नाकाबाट छिर्न नपाइने भएपछि हामी जङ्गे पिलरको किनारै किनार ५ किलोमिटर हिँडेर चोर बाटोबाट नेपाल छिर्‍यौँ । यसरी चोर बाटोबाट नेपाल छिर्ने हामीहरू १५ सय जना जति थियौँ होला ।

हामीहरूले मास्क, पन्जा लगाएका थियौँ । स्यानिटाइजर पनि प्रयोग गरिरहेका थियौँ । तर यो भिडमा सामाजिक दुरी कायम गर्न सकिने अवस्था पटक्कै थिएन । यसरी हिँड्दा जेठको गर्मीमा थाकेर धेरै मान्छेहरू रुखको छहारीमा बसेका देखिन्थे । कतिपय साथीहरू त भोकै थिए, उनीहरू सगोलमा बसेर चिउरा, चाउचाउ खाँदै थिए ।

हामीसँगै सगोलमा हिडेकाहरु चोर बाटोबाट नेपाल निस्केर बसिरहेका थियौँ । साँझ ७ बजे हामीलाई लिन भनेर गाउँपालिकाले पठाएको बस आयो । अनि हामीमा चढ्यौँ । हामीलाई लिन भनेर गाउँपालिकाले ३ वटा बस पठाएको थियो । ३ वटा बस पठाउँदा पनि मान्छे नअटेपछि कोही साथीहरू छतमा समेत चढ्नुभयो । कोही भने गाडी भित्रै उभिनुभयो ।

यसरी १० गते बिहान हामी हाम्रो गाउँपालिकाको वडा नं २ मा रहेको कालिका प्राविमा बनाएको क्वारेन्टाईनमा पुग्यौँ । यो क्वारेन्टाईनमा हामी ३५ जना बस्यौँ । हामी ३५ जनाले प्रयोग गर्ने शौचालय, धारा एउटै थियो ।

स्कुलको क्वारेन्टाईनमा हामी बसिसकेपछि गाउँलेहरूले स्कुलको बाटो हिँड्न समेत छाडे । भारतबाट फर्केको भनेपछि गाउँलेहरू डराए । परिवारका सदस्यले पनि ल्याएको खाना टाढै राखेर फर्किन्थे ।

क्वारेन्टाईनमा १४ दिन बसिसक्दा पनि हाम्रो पिसिआर जाँच भएन । त्यसपछि हामीले पीसीआर जाँच गराउनुहोस् भनेपछि १५ औँ दिन (२५ जेठ)मा पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरियो ।

तर  हामीसँगै भारतबाट आएर अर्को क्वारेन्टाईनमा बसेका ३ जनामा कोरोना पोजेटिभ देखिएपछि हामी बसेको क्वारेन्टाईनमा पनि माहौल त्रसित बन्यो । तर कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण भने देखिएको थिएन । एकातिर लक्षण नदेखिएको अर्कोतिर पीसीआरको नतिजा पनि समयमा नआएपछि दुई जना साथीहरू त क्वारेन्टाईनबाट भाग्नुभयो ।

पीसीआरको नतिजा आउन ढिला भएपछि त गाउँपालिकाले नै केही मानिसहरूलाई क्वारेन्टाईनबाट घर पनि पठायो ।  १८ औँ दिन (२८ जेठ)मा हामीसँगै एकै क्वारेनटाइन बसेको एक जना साथीलाई ज्वरो आयो । त्यसपछि उहाँलाई तुरुन्तै सदरमुकाम घोराही पठाइयो। अनि उहाँमा कोरोना सङ्क्रमण रहेको पुष्टि भयो ।

एकैसाथ क्वारेन्टाईनमा बसेको मान्छेलाई कोरोना पुष्टि भइसक्यो । हाम्रो स्वाब पनि सङ्कलन भइसक्यो तर नतिजा भने स्वाब सङ्कलन भएको १६ दिनपछि (१० असार)मा मात्र आयो । नतिजा अनुसार क्वारेन्टाईनमा बसेका हामी ३५ जना मध्ये ३३ जनामा नै कोरोना सङ्क्रमण रहेको पुष्टि भयो ।

३३ जनामा कोरोना सङ्क्रमण देखिएपछि क्वारेन्टाईनबाट घर पठाइएका र भागेर गएका साथीहरूलाई पनि फेरि क्वारेन्टाइनमा ल्याइयो । सङ्क्रमण पुष्टि भएकै दिन हामीलाई हामी बसिरहेको क्वारेन्टाईनबाट गाडीमा राखेर सदरमुकाममा रहेको पद्मोदय क्याम्पसमा बनाइएको आइसोलेसनमा राखियो ।

सङ्क्रमण देखिएपछि हामी क्वारेन्टाईनमा बसेकाहरू निराश भएका थियौँ । अब के कसो हुने हो ? मरिने हो कि बाँचिने हो भन्दै कति साथीहरू त रुनु पनि भएको थियो । अर्कोतिर घर परिवार पनि रुँदै फोन गर्थे ।

यता सदरमुकामको आइसोलेसनमा हामी ७५ जना सङ्क्रमित बसेका थियौँ । ७५ जनामा ५५ वर्षका वृद्ध देखि ३ वर्षका बालकसम्म थिए । त्यहाँ पनि शौचालय, पानी धारा भने हामी सबैको एउटै थियो । एउटा कोठामा हामी ३ जनासम्म सङ्क्रमित बसेका थियौँ ।

त्यहाँ बसेका हामी कसैलाई पनि ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने जस्ता केही लक्षण देखिएन । तैपनि हामी डराएका ठुयों । एउटै क्वारेन्टाईनमा ३३ जनामा सङ्क्रमण देखिएपछि गाउँका मान्छेहरू पनि त्रसित भएका थिए ।

हाम्रै कारणले गाउँमा सङ्क्रमणको खतरा हुन्छ कि भनेर हामी पनि डराएका थियौँ । एकातिर गाउँमा सङ्क्रमण फैलिन्छ कि भन्ने डर थियो अर्कोतिर आफूलाई के हुने हो भन्ने डर थियो ।

त्यसमाथि डाक्टरहरूले हामीलाई एक दिन पनि हेरेनन् । हामी सबैलाई एउटा  थर्मोमिटर दिइएको  थियो । हरेक दिन बिहान र बेलुका आफ्नो तापक्रम नापेर डाक्टरलाई सुनाउनुपर्थ्यो । आइसोलेसनमा बस्दा हामीलाई कुनै प्रकारको औषधी पनि दिइएन । डाक्टर त हाम्रो नजिक कहिल्यै पर्नु भएन । अन्य रोग लागेका साथीहरूले खाने औषधी मगाउँदा पनि समयमा ल्याइदिँदैन थिए ।

सङ्क्रमण पुष्टि भएको १४ दिन आइसोलेसनमा बसिसकेपछि हामीलाई कुनै लक्षण नदेखिएको हुँदा पीसीआर नगरीकनै घर पठाउने भनियो । हामीले हुँदैन पीसीआर गरेर मात्र हामी घर जान्छौँ भन्यौँ तर हाम्रो कुरा कसैले सुनेनन् । एक पटक सङ्क्रमण देखिसकेको छ, सङ्क्रमण ठिक भए नभएको निधो नगरी हामी कसरी घर जाने ? के भनेर घर जाने भन्दै हामीले विरोध गर्‍यौँ ।

तर त्यहाँ रहेको डाक्टर, नर्सले पीसीआर गर्न सकिँदैन लक्षण देखिएको छैन घर जानुहोस् भने । त्यसपछि हामीले हामी बसेको क्याम्पसको छतमा गएर सोसियल मिडियामा लाइभ गर्दै पीसीआर जाँच गर्न माग गरेर विरोध प्रदर्शन नै गर्‍यौँ ।

त्यसपछि प्रहरी, डाक्टर र स्थानीय जनप्रतिनिधिको रोहबरमा पीसीआर जाँच गर्ने भनियो । तर पीसीआर जाँचका लागि हामी थप १४ दिन आइसोलेसनमा बस्नुपर्ने भनियो ।

अगाडि नै हामी क्वारेनटाइन र आइसोलेसन गरेर करिब ५० दिन बसिसकेका थियौँ । फेरि १४ दिन बस्न कोही मानेनन् । बल्लतल्ल विदेशबाट देश आइपुगेको छ । तर  दुई महिना बितिसक्दा पनि घर जान नपाएका हामी कसैले पनि १४ दिन फेरि आइसोलेसनमा बस्न मानेनौँ । त्यसपछि हामीलाई एम्बुलेन्समा राखेर घर पठाइयो । घर पठाउँदा हामीलाई अझै केही दिन एकान्त बासमा बस्नु भनिएको थियो ।

आईशोलेसनबाट कोरोना ठिक भए नभएको निश्चिन्त नै नगरी म पनि घर फर्केँ । मेरो घरमा श्रीमती र दुई छोरीहरू छन् । आईशोलेसनबाट फर्केको ७ दिनसम्म म घरमै एकान्त बासमा बसेँ । परिवारकै सदस्यहरूको सम्पर्कमा पनि आइन । त्यसपछि १४ दिनपछि भने म घरबाहिर निस्केँ ।

तर म सङ्क्रमित भएको थाहा पाएपछि समाजमा मेरो परिवारका मान्छेसँग अलिक दुरी बनाउने, मेरो परिवारका सदस्य बाहिर ननिस्के हुन्थ्यो जस्तो व्यवहार भयो । करिब ५० दिन बढिको क्वारेनटाइन र आइसोलेसन बसाइँमा मलाई कुनै लक्षण देखिएन । तर आइसोलेसन र क्वारेनटाइन बसाई भने कत्ति पनि सहज थिएन । त्यसमाथि आईशोलेसनबाट बाहिर निस्कँदा पीसीआर नगरेकाले म र मसँगै बसेका साथीहरूलाई गाउँमा घुलमिल हुन भने अप्ठेरो भयो ।

तर अहिले पनि मलाई डर भने लाग्छ । मान्छेहरूले सङ्क्रमितलाई विभेद गर्छन् । हेप्छन् भन्ने थाहा पाएर म आफू पनि कोरोना सङ्क्रमित थिए भनेर परिचय खुलाउँदिन । कतिपय मान्छेहरू म पनि सङ्क्रमित थिएँ भन्ने थाहा पाएपछि नराम्रो व्यवहार पनि गर्छन् । अहिले पनि म गाउँलेहरूले हेप्लान्, अपमान गर्लान्, नराम्रो व्यवहार गर्छन् कि भन्ने डरले घरबाट बाहिर निस्कन्न ।

यो कथा नुमेष घर्तिमगरसंग २३ साउनमा गरिएको कुराकानीमा आधारित भएर लेखिएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।