लकडाउनमा श्रीमानले कुटेपछि छोरी सहित घर छाडेँ !

मेरो नाम रिमा तामाङ (परिवर्तित नाम) हो । अहिले म काभ्रेपलान्चोकको नमो बुद्धमा रहेको एकल महिला घरमा बसिरहेकी छु । म यहाँ बसेको एक हप्ता जति भयो होला । मेरो साथमा १० वर्षे छोरी पनि छ ।

मेरो माइतीघर रामेछाप हो । घर  भने यहीँ तल भकुण्डेबसीमा पर्छ । मैले पहिलो विवाह गाउँकै एक पुरुषसँग गरेकी थिए । विवाहपछि हामी काठमाडौँ आएर क्षेत्रपाटीको इँटा भट्टामा काम गर्न थाल्यौँ ।

श्रीमानको सडक दुर्घटनामा मृत्यु भयो । पहिलो श्रीमानबाट बच्चा जन्मिसकेको थियो । एकल महिला त्यो माथि मजदुरी काम साह्रै दुःख कष्टसँगै मेरो दैनिकी बित्दै थियो । त्यसैले पनि उनको मृत्यु भएको ६ वर्षपछि मैले दोस्रो विवाह भकुण्डेबेसीका पुरुषसँग गरेँ ।

अर्को श्रीमानले मलाई घर (भकुण्डेबेसी) लिएर आए । घर आइसकेपछि परिवारले निको गरेनन् । दिनहुँ जसो गाली, गलौज गर्ने गर्थे ।

तर  यो बन्द सुरुभएपछि झन् सबै घरमा नै हुने । त्यसपछि त झन् धेरै कुटपिट गर्न थाले । लकडाउन भएपछि श्रीमानको काम पनि रोकियो । घरमा खाना सकिन थाल्यो । त्यसपछि त परिवारका सबै मान्छे मिलेर मलाई कुट्ने गाली गर्ने गर्न थाले । मलाई देवरको बातसम्म लगाउँथे । राँडी,  रण्डी जस्ता शब्द भनेर गाली गर्थे र कुट्थे  । मलाई मात्र होइन मेरो सानो छोरीलाई पनि कुट्ने घरमा नबस अर्को बाटो जा भन्ने गर्थे ।

फेरि मेरो विवाह दर्ता पनि भएको छैन । मेरो नागरिकता पनि छैन । अहिले यो बन्दमा अन्त जाने ठाउँ पनि भएन । जे जस्तो भए पनि सहेर नै बसेकी थिएँ । तर मेरो यो दैनिकको दुःख देखेर असह्य भएपछि मलाई छिमेकीहरूले १९ वैशाखमा यो आश्रय घरमा ल्याई पुर्‍याएका हुन् ।

यो एकल महिला घरले म र मेरो छोरीलाई कति दिनसम्म राख्छ भन्ने थाहा छैन । तर अहिले म आश्रय घरमा बसिरहेकी छु ।

यो कथा उहासंग  २० वैशाखमा गरिएको कुराकानीमा रहेरे लेखिएको हो ।

‘चिन्ता मान्न छाडेकी छु’

काम गर्न नपाउँदा !

कोरोनाको डरमा कतिञ्जेल थुनिएर बस्ने?

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।