मेरो नाम सोमबहादुर लामा हो । अहिले ज्वरोले मेरो जिउ थरथर काँपिरहेको छ । खोकी पनि चर्को लागिरहेको छ । ज्वरो र चर्को घामले मुख सुकेको छ । बेलाबेला रिगंटा लाग्ला जस्तो हुन्छ । किनभने मलाई कोरोना लागेको छ ।
तर अहिले म सडक किनारमा छु । बारा, निजगढ नगरपालिका वडा नं ८ मा मेरो घर हो । अहिले ६२ वर्ष पुगेँ म । काठमाडौँमा डकर्मीको काम गर्छु । लकडाउन भएपछि म हिँडेरै घर गएको थिएँ । १ असारमा लकडाउन खुलेपछि म ५ सय भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ भाडा तिरेर काठमाडौँ आएँ ।
काठमाडौँ आइपुगेपछि मैले साँखुमा काम पाएँ । काम ३ दिन मात्र भयो । ठेकदारले बिचमै काम रोक्यो । त्यसपछि म १७ दिन जति साँखुमै बसेँ ।
साँखुमा पनि रासन पानी सकिएपछि कामको खोजीमा सहर तिर आएँ । काम थिएन, पैसा पनि थिएन पशुपति मन्दिरमा बास बसेँ । त्यसपछि फेरी निषेधाज्ञा भन्दै बन्द भयो ।
घर पनि जान पाइएन । जति खोजे पनि काम पाइएन । घरमा कमाउने कोही छैन । दुई चार पैसा कमाउँछु भनेर आएको त यस्तो पो भयो । घरमा जहान मात्रै छे । मैले कमाएर ल्याउँछ भनेर पर्खिरहेकी होली, आफू भने यहाँ कोरोना लागेर सडकमा बसेको छु ।
आज – भोलि काम पाइएला भन्दा भन्दै सडकमै रात बिताएँ । कामको खोजीमा दौडिदा दौडिदैं, अरूले दिएको खाना थापेर खाँदा खाँदै म सङ्क्रमित भएँ ।
असोजको १६-१७ गतेतिर मलाई ज्वरो आयो । बेलाबेला खोकी पनि लाग्न थाल्यो । पाटीमा सुतेका हुनाले चिसो लाग्यो कि भनेर मैले सुरुमा त वास्ता गरिन । तर ज्वरो र खोकी बढ्दै गयो । खाना खाने रुचि पनि हराउँदै गयो । साँझ-साँझ बेतोड ज्वरो आउन थाल्यो, खोकी पनि लाग्न थाल्यो । त्यसपछि मलाई शङ्का लाग्यो ।
साह्रै नै गाह्रो भएपछि मैले मैतिदेवी क्षेत्रमा खाना वितरण गर्ने प्रदीप घिमिरे सरलाई २० असोज साँझ आफूलाई ज्वरो आएको, खोकी लागेको कुरा सुनाएँ । सरले मलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसम्म जाने गाडी भाडा भनेर १ सय रुपैयाँ दिनुभयो ।
२१ गते बिहानै जँचाउन भनेर टेकु पुगेँ । जाँचका लागि स्वाब दिएँ । २२ गते बिहान साढे ६ बजे नै रिर्पोट लिन अस्पताल पुगेँ । डाक्टरले यो औषधी किनेर खानुहोस् भन्यो । आराम गर्नुहोस् मात्र भन्यो । कोरोना लाग्यो पनि भनेन, लागेन पनि भनेनन् ।
पछिल्लो दिन (२२ असोज)मा प्रदीप सरलाई डाक्टरले दिएको रिर्पोट देखाएपछि मात्र मैले थाहा पाएँ मलाई कोरोना लागेको रहेछ ।
अस्पताल जाऊँ पैसा छैन । घर जाऊँ सक्दिन । अब त सडकमै मर्छु जस्तो लागेको छ । अस्पताल जाऊँ खर्च छैन । रोग लिएर घर जान सक्दिन । ‘खर्च न पर्च, बाटैमा मर्छ’ भन्या जस्तो हुन्छ ।
दसैँ आउन थाल्यो अलि अलि पैसा कमाउन पाए, खर्च हुन्छ भनेर आएको त यस्तो हालत भयो ।
धन्न मैले प्रदीप सर र नरोत्तम सरको सहयोगमा आज नै सडकबाट अस्पताल जान पाउने भएँ । सायद अब बाच्छु होला । उहाँहरूलाई धन्यवाद !
(यो कथा २५ असोजमा लामासँग बत्तिस पुतली स्थित सडक पेटीमै रहेको अवस्थामा सागर चन्दले गरेको कुराकानीमा आधारित भएर लेखिएको हो । उनलाई सोही दिन बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यसँग र प्रदीप घिमिरेको सहयोगमा दह चोक स्थित मनमोहन अस्पतालमाको आइसोलेसनमा पठाइयो । अहिले सङ्क्रमण मुक्त भएर अहिले उनी बारा स्थित आफ्नै घरमा छन् ।)