भारत र अन्य देशमा रहेका नेपालीहरू घर फर्केसँगै उनीहरूलाई क्वारेन्टाईनमा राख्न थालियो । क्वारेन्टाईनमा राखिएका नेपालीहरूको स्वास्थ्य अवस्था चेक, जाँच गर्न हामी नियमित रूपमा क्वारेन्टाईनमा जानुपर्थ्यो ।
११ जेठ देखि म नियमित जसो क्वारेन्टाईनमा पुगेर स्वास्थ्य परीक्षणको काम गर्थेँ । नियमित क्वरोन्टाईनमा गइरहनुपर्ने भएपछि स्वास्थ्य केन्द्रमा मैले नै म सहित अन्य स्टाफको आरडीटी परीक्षण गरेँ । अरू स्टाफको नेगेटिभ देखियो तर मेरो आरडीटी नतिजा भने शङ्कास्पद आयो ।
त्यसपछि मैले १ असार, २०७७ मा पीसीआर परीक्षणका लागि स्वाब दिएँ । स्वाब दिएपछि म नतिजा कुरेर घरमै बसेँ । स्वाब दिएको ९ दिनपछि ९ असारमा नतिजा आयो । नतिजामा मलाई सङ्क्रमण देखिएको पुष्टि भयो ।
असारमा रोपाइँको मौसम हो । परिवारका सबै मान्छे रोपाइँमा गएका थिए । म सङ्क्रमित भएको थाहा पाएपछि त उनीहरू रुँदै, कराउँदै काम छाडेर घरमा आए । चिन्ताले रोइरहेका परिवारका सबै सदस्यलाई मैले केही हुँदैन, निको हुन्छ भनेर सम्झाएँ ।
मलाई कुनै लक्षण देखिएको थिएन । त्यसैले मैले होम आइसोलेसनमा बस्न खोजेकी थिएँ । तर मलाई अस्पतालकै आइसोलेसनमा जानुपर्छ भनियो । लक्षण नभएरै सङ्क्रमण देखिएपछि मलाई एक छिन त अचम्म लागेको थियो । डर पनि लागेको थियो । तर लक्षण छैन, केही हुँदैन, निको भइन्छ भनेर आत्मबल बलियो बनाएँ । त्यसपछि म अस्पतालकै आइसोलेसनमा बस्नको लागि गएँ।
अस्पतालको आइसोलेसनमा बस्दा अलिक नराम्रो भने महसुस हुँदो रहेछ । त्यहाँ त पशु जस्तो या भनौँ कैदी जस्तो व्यवहार हुँदो रहेछ । हामीलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको थियो । अनि पोलिथिनमा खाना दिइन्थ्यो । त्यहाँ बस्दा हामीलाई एक प्रकारले बाहिरिया जस्तो वा भनौँ न ठुलै पाप गरेको पापीजस्तो व्यवहार गरिन्थ्यो ।
म त स्वास्थ्य सेवा प्रदान गर्दा गर्दै सङ्क्रमित भएकी थिएँ । तर पनि मानिसहरूले भने सङ्क्रमितलाई हेला नै गर्दा रहेछन् । जसरी सङ्क्रमित भएको भए पनि के मतलब सङ्क्रमित हुनु ठुलो गुनाह हो जस्तो गरी हेर्दा पनि रहेछन् । तर मेरो मनमा भने हामी सङ्क्रमणको जोखिम मोलेर नखटिएको भए पो नराम्रो मान्नु भन्ने कुरा आउँथे । आफ्नो काममा होमिँदा सङ्क्रमित हुनु त सामान्य नै हो भनेर एक्लै चित्त बुझाउँथेँ । तर पनि फेरि मनमा हामीले हाम्रो जीवन नै दाउमा राखेर काम गरेर सङ्क्रमित हुँदा पनि किन हामीलाई राम्रो व्यवहार गरिएन भन्ने कुराचैं मनमा आइरह्यो ।
एउटा कोठामा हामी तीन जना सङ्क्रमित बसेका थियौँ । त्यो बेला आइसोलेसनमा रहेका अरूहरू परिवारको फोन आउँदा रुन्थे । के हुने हो ? कसो हुने हो भन्दै डराउँथे । म आफै सङ्क्रमित भए पनि म उनीहरूलाई केही हुँदैन । यसरी चिन्ता गर्नु हुँदैन । मन बलियो बनाउनुपर्छ भनेर हौस्याउँथे । किनकि मलाई थाहा थियो सङ्क्रमण हुँदैमा मानिसको मृत्यु हुँदैन भनेर ।
आइसोलेसनमा लक्षण देखिएका नदेखिएका सबैलाई एउटै कोठामा राखिएको थियो । शौचालय एउटै थियो । यसले गर्दा लक्षण नदेखिएका व्यक्तिलाई पनि गम्भीर प्रकारको सङ्क्रमण हुन्छ कि भन्ने चिन्ता भने मनमा हुने नै भयो ।
यसरी म सङ्क्रमित भएर अस्पतालमा बसिरहँदा मेरो परिवारलाई भने म सङ्क्रमित भएकै कारण अप्ठ्यारो भयो । म सङ्क्रमित भएकै कारण गाउँले र छरछिमेकले रोपाइँमा मेरो परिवारलाई सहयोग गरेनन् । समाजमा मेरो कुरा काटे । मेरो परिवारका मानिस पनि सङ्क्रमित छन् भनेर हल्ला फैलाए । अन्ततः मेरो परिवारलाई निषेध जस्तै गरे । म र मेरो परिवारलाई विभेद गरे । तर जसले म र मेरो परिवारलाई छि छि दुरदुरको व्यवहार गरे । उनीहरूले यो सत्य कसरी भुल्न सकेका होलान् म उनीहरूकै सन्तान वा आफन्तलाई क्वारेन्टाईनमा जाँच गर्दा सङ्क्रमित भएकी हुँ भन्ने । मलाई अझै पनि लाग्छ मानिसहरू किन त्यस्ता भएका होलान् । हामी स्वास्थ्यकर्मीहरू तपाईँहरूकै उपचार गर्ने क्रममा सङ्क्रमित भएका हौँ । किन यो कुरा भुलेर मानिसहरू सङ्क्रमित स्वास्थ्यकर्मीहरू र उनीहरूको परिवारलाई दुर्व्यवहार गर्न अघि सर्छन् होला । सङ्क्रमित व्यक्ति मानिसक, मनोवैज्ञानिक रूपमा स्वास्थ्य भएन भने शारीरिक रूपमा पनि स्वास्थ्य हुन सक्दैन । अनि मानिस मानसिक तथा शारीरिक रूपमा मानिस कमजोर भयो भने रोगसँग लड्न सक्दैन । त्यसैले धेरैजसो सङ्क्रमितहरू यही तनावका कारण गम्भीर सङ्क्रमणको सिकार भएका छन् । र कतिपय त मरेका पनि छन् ।
समाज, छरछिमेक, साथीभाइले अपमानजनक व्यवहार गर्दा निकै ठुलो मानिसक तनावको सामना गर्नुपर्दो रहेछ । त्यस्तो तनाव नचाहँदा नचाहँदै मैले पनि भोग्नु पर्यो तर यही अवधिमा मेरो सिनियर डाक्टर, नर्सहरूले भने मेरो हौसला बढाउन सहयोग गर्नुभयो । उहाँहरूले दैनिक जसो फोन गरेर मेरो आत्मविश्वासमा ऊर्जा थप्नुभयो । त्यसले पनि शरीरमा छुट्टै ऊर्जा दिने काम गर्थ्यो ।
१४ दिनको आइसोलेसन बसाइँपछि १५ औँ दिनमा म सङ्क्रमण मुक्त भएर घर फर्के । तर अझै पनि स्वास्थ्यकर्मीलाई जोखिम नै छ । विशेष गरी दूर दराजमा काम गर्ने हामी जस्ता स्वास्थ्यकर्मीलाई कोभिडको विषयमा पर्याप्त तालिम छैन । सुरक्षा उपकरणको अभाव छ । मास्क, पन्जा पनि भनेको समयमा उपलब्ध हुँदैनन् । यसका बाबजुद पनि स्थानीय स्तरमा हामी खटिएका छौँ । र निरन्तर खटिन्छौँ पनि । तर कोही पनि सङ्क्रमित हुँदैमा विभेद भने पटक्कै नगरौँ । झन् स्वास्थ्यकर्मी त तपाईँहरूको जीवन जोगाउन आफ्नै जीवन दाउमा राखिरहेका छन् त्यसैले हेला र अपमान नगरौँ ।
यो कथा सुशीला बोहोरासंग गरिएको कुराकानीमा आधारित भएर लेखिएको हो ।