हिँडेरै पुगुँला त रोल्पा ?

अहिले म चितवनको मौवा खोला किनारमा थकाई मार्न बसेको छु । काभ्रपलाञ्चोकबाट हिँडेको तीन दिन भयो । पुग्नुपर्ने त रोल्पा हो । रातदिन नभनी हिँडे पनि बुढो मान्छे थाकिजाँदो रहेछु ।

थाकेर डेग चल्न नसक्ने भएपछि यसरी एक छिन आराम गर्छु । मसँगै मेरा साथीहरू पनि छन् । तर थकाई मानेर त भएन, त्यति टाढा पुग्नु छ,  हिँड्नै परो क्यार ! गाडी चढौँ भने छैन । गोडामा जुत्ता छैन, यो चप्पल पनि फाट्न थालिसक्यो ।

घर बनाउने काम गर्थेँ म । बन्द (लकडाउन) भएपछि मालिक पनि घर गयो । उसले दिएर गएको पैसा सकियो । उधारो पनि पाइन छाड्यो । इँटा भट्टामा माटो खाएर बस्ने कुरा भएन, अनि हिँडेको ।

अर्काको गाउँमा भोकै मर्नुभन्दा त हिँडेरै भए पनि घर जाऊँ भनेर आएको । हिँडेकै दिनदेखि भात खाएको छैन । बाटोमा मान्छेहरूले चाउचाउ, पानी दिन्छन् त्यही खान्छु । चाउचाउ र पानी खाएर रोल्पा पुगौँला त म ?

थकाइले निन्द्रा पनि लागेको छ । सुत्ने ठाउँ पाए त निदाउन मन छ तर कहाँ पाउनु सुत्ने ठाउँ ?

दिउँसो पख त बाटोमा पुलिसले रोक्छ । हिजो काठमाडौँमा पुलिसले ३ घण्टा रोकेर राख्यो । बाटो हिँड्दा पनि पुलिसको आँखा छलेर हिँड्नुपर्छ । कतिखेर चर्को घाम लाग्छ, कतिखेर पानी पर्छ आनन्दले हिँड्न पनि पाइँदैन ।

५५ वर्ष पुगेँ । यही लौरीको सहारामा बाटो हिँड्छु । अहिले गोजीमा पाँच सय रुपैयाँ मात्र छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४ मा हो मेरो घर । परिवारमा ५ जना छौँ । एउटा छोरो अशक्त छ । एक छोरी सानै छे, अर्कोको बिहे भइसक्यो । परिवार त मैले नै पाल्नुपर्छ ।

ठुलाबडाहरू गाडी चढेर हिँडेको देख्छु । हामी जस्ता गरिब गुरुवाको कसलाई पो मतलब हुन्छ र ? जीवनमा दुःखै दुःख मात्र लेखेको रहेछ । केही गर्‍या पनि सुख नपाउनु भनेको रहेछ कर्ममा । यी जवान (आफ्ना साथीहरू) त ठमठमी हिँड्न सक्छन्, जसोतसो घर पुग्लान् म त के पुगौँला र ? बाटैमा मरिजान्छु जस्तो लाग्छ । घरमा बुढी पिर गर्ली भनेर हिँडेर आउन लागेको कुरा पनि भनेको छैन ।

सानी छोरी १२ वर्षकी भई,  उसलाई लत्ता कपडा पनि किनेर लान सकिन । मालिक तलब नदिकनै हिँडिगयो, छोरीले आस मानेकी हुन्छे । घर पुगिगएछु भने पनि छोरीलाई, के भनेर मुख देखाउने मैले ?

यो कथा तिलकराम डाँगीसंग ४ वैशाखमा गरिएको कुराकानीमा आधारित भएर सागर चन्लेले लेख्खिनुभएको  हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।