झन् पीडा दिने अस्पताल लकडाउन कथा

झन् पीडा दिने अस्पताल

मेरो नाम प्रकाश गुप्ता हो । मेरो घर उदयपुरमा पर्छ । उदयपुरको गाईघाट बजारमा सामान्य कपडा व्यापार गर्छु । लकडाउन भएपछि हामी घरभित्रै बस्थ्यौँ । श्रीमती गर्भवती थिइन् । प्रत्येक महिना गर्ने जाचँ नजिकैको गाईघाट प्राइभेट अस्पतालमा गराइरहेका थियौँ। महिनामा जाँच गर्ने अस्पतालका डाक्टरले डेलिभरीको लागि किन टाढा जानुहुन्छ यहीँ गराउनुस् भन्नुभएको थियो । साढे चार वर्षअघि पहिलो सन्तान छोरीलाई नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरेर जन्माएकाले दोस्रो बच्चा पनि नोबेलमै जन्माउने योजना हामीले बनाएका थियौँ। यो गाह्रो समयमा पनि मलाई नोबेलको अलिक बढी भरोसा लाग्यो । लकडाउन पनि छ, पहिला गएकै अस्पताल जाँदा सजिलो होला भन्ने लाग्यो । छोरी जन्मने बेला शल्यक्रियापछि पाँच दिन अस्पताल बसेका थियौं । छोरीलाई पाचँ दिन अक्सिजन दिएर राख्नुपरेको थियो। त्यो बेला नोबेल अस्पतालमा राम्रो व्यवहार गरेकाले यस पटक बच्चा उतै जन्माउँ भन्ने लाग्यो ।

डाक्टरले हामीलाई वैशाख १५ गते यो पटक बच्चा जन्मने दिन तोकिदिनुभएको थियो । पहिलो बच्चा शल्यक्रिया गरेकोले यसपालि पनि शल्यक्रिया गर्नैपर्छ भन्ने थियो । वैशाख १५ गतेसम्म सामान्य रूपमा पनि सुत्केरी व्यथा लागेपछि हामी चुपचाप बस्यौँ । आमाले पनि कहिलेकाहीँ एक-दुई दिन ढिलो-चाँडो हुन्छ, एक दिन पर्खौं भनेकोले हामीले अस्पताल जाने वचार गरेनौं । तर त्यही राती श्रीमती सरस्वतीलाई दुखाइ हुन थाल्यो । १६ गते बिहान बढी दुखेपछि एम्बुलेन्स बोलाएर म, मेरी आमा नोबेल मेडिकल कलेज विराटनगर गयौँ । एम्बुलेन्स बोलाउन कठिन भएन । एम्बुलेन्स चालकले राम्रो व्यवहार गरे र सजिलो तरिकाले अस्पताल पुर्‍याउनुभयो । बेलुका ४ बजे अस्पताल पुग्यौँ । मैले सजिलो र छिटो होस् भनेर पहिलो बच्चा जन्मिँदाको कागज पनि बोकेको थिएँ । अस्पतालमा ज्वरो लगायतका सामान्य जाँचपछि शल्यक्रियाका लागि तयारी गर्न डाक्टरले भन्नुभयो ।

एबी पोजेटिभ रगत चाहिने भो । न कोही आफन्त न कोही साथी विराटनगरमा । जताततै फोन गरेँ । ढिला गरी पत्ता लाग्यो जेठानका एक जना चिनजानका मान्छे हुनुहुँदो रैछ । उहाँले रगत दिनुभयो । ढिला भएकोले त्यो दिन शल्यक्रिया नहुने भो । अस्पतालले भन्यो ‘तपाईंको भोलि ८ बजे शल्यक्रिया गर्ने’ सुत्केरी व्यथाले अत्तालिएकी श्रीमती, आमाको मलिन अनुहार, सानी छोरी अगाडि देख्दा मन रोएको थियो तर पनि हिम्मत बटुल्नुपर्थ्यो दु:खी नभएको जस्तो देखाउन ।

१७ गते बिहान ८ बजे शल्यक्रिया गर्ने तयारी भयो । श्रीमतीलाई शल्यक्रिया कक्ष लगियो । सुत्केरी व्यथाले अत्ताल्लिएकी सरस्वतीलाई चाँडै बच्चा र आमाको स्वास्थ्य ठीक छ भन्ने खबर सुन्नपाऊँ भन्दै भगवानसँग पुकार गरेर बसेँ । भित्र लगेको केही समयमा आरसिटी परिक्षण गर्ने भन्दै सरस्वतीलाई बाहिर निकालियो । एकछिनमा उदयपुरका भएकाले हामी शल्यक्रिया गर्न सक्दैनौँ भन्नुभयो । मैले र मेरी आमाले बिन्ती गर्‍यौं, हामीलाई कोरोनाको केही लक्षण छैन । कोरोना भेटिएको गाउँभन्दा हाम्रो घर टाढा छ र हामी लकडाउन भएपछि घरबाहिर निस्केका छैनौँ, मेरी गर्भवती भएकी श्रीमती झन् यो लकडाउनमा कहाँ निस्कनु? भनेर भन्यौँ । तर मेरो पुकार सुन्नुभएन । अन्तिममा नर्सलाई बिन्तीभाउ गरेँ –  प्लिज मेरो पीडामा यति त सुनिदिनुस् । बरु कोरोना छ छैन जाचँ गर्न परे पनि कहाँ गराएर आउने हो, म जाँच गररे ल्याउँछु । अप्रेसन चाहिँ गर्दिनुहोस् भनेर बिन्तीभाउ गरें ।

तर उहाँले ‘यहाँ हुँदैन भाइ तपाईं खुरुक्क गइहाल्नु त डेन्जर जोनको जिल्लाबाट आएकोलाई हामी सक्दैनौं’ भन्नुभयो । मन अत्तालियो के गर्ने कसो गर्ने । अनि पुर्जी पनि तल पठाइदिनुभयो र पुर्जीमा ‘रिफर टु कोशी जोन हस्पिटल बिकज पेसेन्ट फ्रम उदयपुर’ भनेर लेखिदिनुभयो ।

कोशी पुर्‍याउँदासम्म केके हुने हो । मन साह्रै अत्तालियो । रिस पनि उठ्यो सेवा दिने अस्पतालको यस्तो हर्कत देखेर । डाक्टर नर्सहरूको त मनमा दया हुन्छ भन्ने लाग्थ्यो तर साह्रै निर्दयी हुँदा रहेछन् । त्यो दिन थाहा पाएँ । तर पनि हामीले के गर्न सक्थ्यौं र । आफूलाई सम्हाल्ने कोसिस गरें किनकि आफू कमजोर भइयो भने आमा र श्रीमती झन् कमजोर हुन्छन् ।

नजिकैको प्राइभेटमा जाऊँ कि भन्ने पनि सोचेँ फेरि होइन ढिला भयो भनेँ के के हुने हो । फेरि त्यहाँको पनि ताल त्यस्तै होला जस्तो लाग्यो । कोशीमा पनि लिन मान्ने हो होइन यस्तै डरैडरमा एम्बुलेन्स चढ्यौँ । कोशी अस्पतालतिर जोडले हुइकियौं । सुत्केरी व्यथाले दुई दिनदेखि अत्तालिएकी सरस्वतीलाई देखेर एम्बुलेन्स भित्रै आँसु झर्‍यो । कोरोनाको लक्षण नभएका बिरामी ढुक्कसँग जाचँ गर्छौँ भनेर टिभी पत्रिकामा गफ दिनेहरू सम्झेर एकदम रिस उठ्यो। कोशी अस्पताल पुगेपछि सरस्वतीको शल्यक्रिया गर्ने तयारी सोचेभन्दा छिट्टै भयो । शल्यक्रिया नसकेसम्म मनमा अनेक तर्कना खेले – ढिलो भएकाले उनलाई केही भयो भने के हुन्छ? अस्पताल जस्तो संवेदनशील ठाउँमा त्यस्तो गर्न कसरी सक्छन् ? मलाई त्यो डाक्टर र नर्सहरू सम्झेर पारो तात्न थाल्यो ।

कोशी अस्पतालमा डा.जीवन धमलाको टोलीले गरेको शल्यक्रिया सफल भयो । उहाँहरू हाम्रो भगवान बनेर आउनुभयो । कोशी अस्पताल हाम्रो पुकार सुन्ने मन्दिर जस्तै लाग्यो । शल्यक्रिया भएपछि छोरा जन्मियो । मैले नोबेलमा उदयपुरको भएका कारण कोरोना छ भनेर शल्यक्रिया गर्नुभएन भनेपछि अस्पतालमा कोरोनाको र्‍यापिड जाँच गर्नुभयो । रिजल्ट नेगेटिभ आयो। केही दिन अस्पताल बसेपछि श्रीमतीको स्वास्थ्य लाभ भयो । त्यसपछि घर फर्कियौं । अहिले छोरा र आमाको स्वास्थ्य सामान्य छ। उदयपुरको भएकैले हामीलाई अस्पतालले गरेको व्यवहारले मन धेरै दुख्यो । पीडा भयो । अस्पतालले पत्रकारसँग ज्वरो आएको कारण रिफर गरेकोसम्म भन्न भ्याएछ । उहाँहरूले ज्वरो आएको कुनै पुर्जा दिनुभएको छैन । ज्वरो आएको भए त कोशी अस्पतालले कसरी शल्यक्रिया गर्थ्यो ? सामान्य मान्छेले पनि बुझ्ने कुरा हो । कोशी अस्पतालले पनि भनिसकेको छ ज्वरो थिएन भनेर । यो समय सहयोग गर्ने समय हो । तर नोबेल अस्पतालले झन् बढी पीडा दियो । हामी कोशी अस्पताल जाने बेला त्यहाँ मेरो फोन नम्बर पनि लिनुभएको थियो । त्यसपछि एक पटक अस्पतालले फोन गरेर माफीसम्म पनि मागेन । गल्ती महसुस पनि गरेन । प्राइभेट अस्पतालहरूको यस्तो रवैयाले मलाई अब प्राइभेट अस्पतालमाथि विश्वाश लाग्न छोड्यो । पहिला महँगै भए पनि सेवा राम्रो हुन्छ जस्तो लाग्थ्यो । अहिले त्यो सबै देखावटी सेवा रहेछ, त्यो त खालि पैसाका लागि मात्र रहेछ । बरु सरकारीले परेको बेलामा साथ दियो । म कोशी अस्पतालको यो गुन कहिल्यै बिर्सिन्न ।

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के क्षेत्रमा कोरोना सङ्क्रमित भेटिएको थियो । तर मेरो घर उदयपुर गाईघाटको ११ नम्बर वडामा पर्छ। हामीमा न कोरोनाको लक्षण छ न कोरोना भएको व्यक्तिसँग हामीले सम्पर्क गरेका छौँ । लकडाउन भएदेखि हामी घरभित्रै थियौं । उदयपुरको भएकैले हामीले उपचार नपाउनु गलत हो । यो गल्ती छोप्न ज्वरो आएकाले रिफर गरिएको भन्नु पनि गलत हो । हामी जत्ति बोल्ने मान्छे भएर समाचार या पिडा सुनाउन पायौं । अरू कति जनालाई अस्पतालले अनेक बहाना बनाएर पठाएको होला । अस्पतालले कोरोनाको यो सङ्कटमा सहयोगको सट्टा दु:ख दिनु गलत हो । धन्न मेरी श्रीमती र बच्चालाई केही भएन । केही भएको भए त्यसको जिम्मेवारी कसले लिन्थ्यो ? मैले र मेरो परिवारले भोगेको पीडाको महसुस कसले गर्न सक्छ ? मानवीय संवेदना नभएका यस्ता अस्पताललाई सरकारले कार्बाही गरोस् ।

यो कथा प्रकाश गुप्तासंग गरीएको कुराकानीमा रहेर नबिन सिल्वालले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।