समाचारको हेडलाइन फेरिएको छ लकडाउन कथा

मैले पढ्ने समाचारको हेडलाइन फेरिएको छ

म दोलखाको रेडियो शैलुङ्गमा समाचार पढ्छु । पहिला प्रायःजसो नेताका सहमति, गुट-उपगुट, प्रधानमन्त्री तथा मन्त्रीका प्रतिबद्धता जस्ता कुरा मैले पढ्ने न्युजका हेडलाइन हुन्थे । अहिले न्युजका हेडलाइन फेरिएका छन् । कोरोनाको महमारीले देशलाई आक्रान्त पारेको छ । एक, दुई गर्दै कोरोना लागेका मानिस बढ्दै गएको समाचार रेडियोमा महत्वका साथ पढ्नुपर्छ ।

यससँगै मानिसले भोग्नुपरेका अभाव र पीडाका समाचार पनि पढ्छु । लकडाउनले गर्दा जन्मथलो फर्किन नपाएका, कैयौँ कि.मि पैदल हिँडेर घर फर्केका/फर्किंदै गरेका मानिसका पीडा, लकडाउनले गर्दा दुःख पाएका गर्भवती/सुत्केरी महिलाका वेदना, नेपालको सिमानामा आइपुगेर पनि नेपाल पस्न नपाएका मानिसका पीडा र कामका लागि विदेश गएका युवाका कहालीलाग्दा समस्या अहिले मैले पढ्ने न्युजका हेडलाइन बनेका छन् । किसानले उत्पादन गरेका फलफूल, तरकारी तथा माछामासु बेच्न नपाएको पीडा अनि दूध बिक्री नभएर सडकमा पोखेको समाचार पढ्दा धेरै नरमाइलो लाग्छ । तर विडम्बना हामी केही गर्न सक्दैनौँ । हामी सञ्चारकर्मीलाई दिक्क लाग्ने कुरा यही हो । हामीसँग मानिसले कति ढुक्क भएर आफ्नो समस्या पोख्छन् तर हामी उनीहरूको पीडालाई समाचार र हेडलाइन बनाउनबाहेक केही गर्न सक्दैनौं ।

अर्को मनले यसरी मध्यस्तकर्ता बनिदिने पनि त कोही हुनुपर्छ र हामी त्यही गर्दैछौँ भन्छ । दबाब दिन निरन्तर आवाज उठाइदिन त हामीले सहयोग गरिरहेकै छौं नि । त्यसैले होला हामीलाई आवाजविहीनहरूको आवाज भनिएको । अनि केही सहयोगी मानिसले पीडामा छट्पटाइरहेकाहरूलाई सहयोग गरेको समाचार वाचन गर्दा मन प्रफुल्लित हुन्छ ।

अरूको पीडाको हेडलाइन पढ्दा-पढ्दा कुन बेला मनमा आफ्नै पीडाको समाचार कसले भनिदेला भनेर तर्कना आउँछ । म पनि कहाँ आफ्नो घरमा आफ्नो पूरै परिवारसँग छु र यो सङ्कटको बेला । धन्न भाइ लकडाउनले गर्दा काठमाडौं जान पाएको छैन र मलाई साथी भएको छ । नत्र म पागल हुन्थें होला ।

मलाई पनि घरमा आमाबाबासँग समय बिताउन मन छ । विपत्‌मा घरको न्यास्रो अलि बढी नै हुँदो रैछ । घरबाट बाबाआमाको फोन आउँछ केही बेर कुरा गर्छु । अनि उही सधैंको कुरा दोहो¥याउनुहुन्छ ‘सबै जना शहरबाट गाउँ आएका छन् तिमीहरू घर कहिले आउँछौ ?’

हाम्रो काम पनि त महत्वपूर्ण छ । ‘यसपालि हाम्रो जिम्मेवारी अलि बढी छ त्यसैले बिदा लिन मिल्दैन’ भनेर छोराछोरी आउने बाटो कुरिरहेकी आमाको मन थमथमाउने कोसिस गर्छु तर पनि आमा न हो केही बेर माने जसो गर्नुहुन्छ, भोलिपल्ट फोनमा उही गुनासो गर्नुहुन्छ । ‘छोरीको न्यास्रो लागे एफएम बटार्नु, अनि सम्झिनु छोरी अगाडि बसेर फत्फताई रहेकी छ, सुरक्षित छ अहिलेसम्म’ भनेर हँसाइदिन्छु चिन्ताले आँसु मात्र झार्न नसकेको आमाको मनलाई ।

२०७२ साल वैशाख १२ र २९ गतेको भुइँचालोका बेलामा त घर बसिएन । अब के डराउनु । त्यो समय अझै याद छ मलाई खुला ठाउँमा स्टेसन बनाएर पनि समाचार प्रसार गरेको । त्यसैले त त्यति बेलाको विपत्‌मा स्थानीय रेडियोहरूले महत्वपूर्ण भूमिका खेले भनेर धेरैले सराहना गरे ।

कहिलेकाहीं छुट्टी मिल्यो भने हिँडेरै पनि घर जान्छु । चरिकोटबाट केही किमि मात्र टाढा छ मेरा गाउँ जिलु । बुबा त अरू बेला पनि हिंडेरै तरकारी बेच्न जिरी आइपुग्नुहुन्छ । हामी पनि कहिलेकाहीं हिंड्दा केही हुँदैन जस्तो लाग्छ । अनि हिड्छौँ बिहानै पुलिसको आँखा छलेर ।

हुन त हामी सञ्चारकर्मी पनि अहिले पहिलो घेरामा बसेर काम गर्नेहरूमा पर्छौं । तर हाम्रो अवस्था भने गएगुज्रेको छ । हामीलाई पनि डर त लागिहाल्छ नि । काठमाडौंतिर त कुनकुन एफएमले हो घरबाटै कार्यक्रम चलाउन सुरु गरे भन्ने सुनेको छु तर यहाँ त्यस्तो सम्भव छैन । रेडियो स्टेसन जान करै लाग्छ । धन्न मैले रिपोर्टिङ गर्न फिल्ड जानुपर्दैन । रेडियो स्टेसन कोठा नजिकै छ । बाहिर गएर रिपोर्टिङ गर्नुपर्ने अथवा अफिस टाढा हुनेहरूलाई कति गाह्रो होला । म काठमाडौंका सञ्चारकर्मी साथीहरूलाई सम्झिन्छु । केही चिनेजानेको हालखबर सोधिरहन्छु । अनि राम्रोसँग काम गर्नु, पहिला आफ्नो सुरक्षा गर्नु अनि बल्ल अरू कुरा गर्नु भन्छु ।

केही साथीहरू त हाम्रो भाग्यमा त्यस्तो कहाँ र पनि भन्छन् । हुन पनि हो पिपीईको त कुरा परै जाओस् मास्क र स्यानिटाइजरका लागि पनि मरिहत्ते गर्नुपर्छ हामी सञ्चारकर्मीले । न साहूले बुझ्छ न सरकारले । केही ठूला मिडिया हाउसहरूले बेतलबी बिदा बस भनेर धेरै सञ्चारकर्मीहरूलाई भने रे भन्ने पनि सुनेको छु । धन्न हामी जिल्लाकै भए पनि त्यो स्थिति आइसकेको छैन अहिलेसम्म ।

अहिले रेडियोमा ड्युटी पालैपालो गरेर छ । एक जना प्राविधिक र एक जना कार्यक्रम चलाउने मात्र जान पाउँछ । त्यसले गर्दा केही राहत भएको छ भन्नुपर्‍यो । पहिला-पहिला हामी गाउँ-गाउँबाट वृद्धवृद्धा, युवा, अधबैंस सबैलाई बोलाएर दोहोरी कार्यक्रम गर्थ्यौं स्टुडियोमै । श्रोताले सबैभन्दा धेरै मन पराउने कार्यक्रम थियो त्यो। तर अहिले त्यसरी उनीहरूलाई बोलाएर कार्यक्रम गर्न सकिँदैन । तर पनि कोरोनाको समाचारले श्रोतालाई दिक्क लागिसक्यो होला भनेर एक-दुई जनालाई बोलाएर भजन कार्यक्रम गर्छौं । यसो गर्दा एक अर्काबाट टाढा बस्छौँ, सुरक्षाका उपाय अपनाउँछौँ ।

हामीले दिने समाचारले, हेडलाइनले श्रोतालाई दिक्क बनाउँछ भनेर हामी ख्याल गर्छौँ । तर पनि राजनीतिक नेतृत्वमा हुनेहरू हामीलाई हौस्याउने, उत्साह थप्ने समाचार र हेडलाइनभन्दा पनि निराशा र दिक्क लाग्ने समाचार र हेडलाइन पढ्न बाध्य तुल्याउँछन् । कस्तो दया माया भन्ने कुरा नभएको होला जस्तो लाग्छ । अझ सञ्चारकर्मी/पत्रकारहरू आफ्नो स्वास्थ्यको परवाह नगरी मान्छेका समस्या, पीडा ल्याउन लागिपरेका छन् । सरकार उसैलाई आफ्नो प्रतिपक्ष देख्छ । जहिले पनि ठुँगुला जस्तो गरेर बसिरहेको हुन्छ । यो देख्दा विरक्त लाग्छ । हुन त स्वास्थ्यकर्मीको उत्साह त नथप्नेहरूले पत्रकारको उत्साह त झन् के थप्थे । पत्रकार जहिले पनि उनीहरूका तारो नै त हो भनेर चित्त बुझाउँछु ।

धेरै देशहरूमा पत्रकारहरूलाई कोरोना लागेको छ भनेर कहिलेकाहीं डर लाग्छ । हाम्रो देशका सञ्चारकर्मी/पत्रकार साथीहरू सुरक्षित रहुन् अब छिट्टै हामीले पढ्ने समाचारका हेडलाइन सकारात्मक बनुन् ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।