लकडाउनमा कुशको पुरोहित

लकडाउनमा कुशको पुरोहित

धादिङ जिल्लाको चरौंदीमा बस्छु । म, श्रीमती, छोरी, कान्छो छोरा-बुहारी र नाति-नातिना गरेर हाम्रो ८ जनाको परिवार छ । सुःखदुःख जीवन चलेकै छ। म सामान्य खेती किसानी गर्छु। खेतीपाती गर्नेको दिनचर्या त्यस्तै हो घर र खेतबारी । तर झण्डै डेढ महिनादेखि धेरै चीज बदलिएका छन् अनि मेरा काम पनि ।

विश्वभर कोरोना फैलियो । नेपालमा पनि आयो त्यो कोरोना । यसले अलिक बढी उमेर भएका र पहिलेदेखि नै शरीरमा रोग भएकालाई चाँडै समाउँछ भन्ने पनि सुनेको थिएँ बजारको टोले गफमा । यसैबीचमा कोरोना रोक्न सरकारले लकडाउन गर्‍यो ।

टिभीले बारम्बार कोरोनाबाट जोगिन लकडाउन पूर्ण पालना गर्नुपर्छ भन्ने सन्देश, समाचार दिन थाले । जेठो छोराले पनि भीडभाडमा जानु हुन्न, कुराकानी गर्दा समेत अरू मानिसबाट टाढै बस्नुपर्छ भनेर सम्झायो । हामीसँगै बस्ने कान्छो छोरा-बुहारी, छोरी, सबैले घर सल्लाह गर्‍यौं र हामी गाउँघरका मान्छेबाट टाढा बस्न थाल्यौं । हामी सबै आत्तिएका थियौं किनभने घरमा श्रीमतीलाई सुगर छ भने छोरीलाई पनि दमको समस्या छ । म पनि पूरै स्वस्थ मान्छे होइन । त्यसैले हामीले अरूलाई नछोइकन अलग्गै घरभित्रै बस्ने योजना बनायौं ।

हुन त हाम्रो घरमा पहिले पनि मान्छेहरुको त्यत्तिसारो आवातजावत हुँदैनथ्यो । तर लकडाउनपछि सबै मान्छे फुर्सदमा हुने भएकाले गफसफ गर्न एकदुई, एकदुई गर्दै मानिस आउलान् र समस्या होला भनेर हामीले घरको गेटैमा ताल्चा लगाइदियौं — न आफू बाहिर जाने, न बाहिरकालाई भित्र आउन दिने ।

कोही आए पनि गेट नखोली भित्रबाटै गफ गर्थ्यौं। फलामको डन्डी मिलाएर बनाएको गेट हुनाले गेटबाट बाहिर देख्न सकिन्छ। त्यसैले कोही आइहाले पनि हामी भित्रैबाटै कुरा गर्छौं । घरमा हामीसँग महिना दिनलाई पुग्ने खानेकुरा थियो । घर पछाडिको बारीमा हामीलाई पुग्दो तरकारी पनि लगाएका छौं । त्यसैले खानाका लागि समस्या थिएन, अहिलेसम्म छैन । त्यसैले बाहिर निस्किने खास जरुरत परेन ।

हाम्रो समाज जे गर्दा पनि अरूको कुरा काट्नुपर्ने । घरको मूलढोकामा ताल्चा लगाएकोमा धेरैले नानाथरी कुरा काट्न थालेछन् । केहीले भनेछन् — कत्ति न ताल्चा लगाउनुपरेको, ताल्चा लगाएपछि कालबाट जोगिन सकिन्छ जस्तो ।

समाजमा थरीथरीका मान्छे, थरीथरीका कुरा गर्छन् त्यसमा केही मतलब भएन ।

लकडाउन भएको डेढ महिनाभन्दा बढी भइसक्यो । बारीको तरकारी कुहिन थाल्यो । आफन्तकहाँ पठाउन पनि सकिँदैन । मेरो एक भाइको परिवार काठमाडौंमा बस्छन् । तर के गरौं तरकारी पठाउने उपाय छैन ।

लकडाउनको २० दिनसम्म म कतै पनि गइन । केही दिनसम्म कोरोनाको निकै डर लाग्यो । विश्वमा छिनछिनमा कोरोनाबाट भएको मृत्युका खबरले मन साह्रै अत्यायो । हामीलाई पनि केही भयो भने भनेर हरेक क्षण मन अशान्त भइरहन्थ्यो । तर फेरि हामी सबै परिवार घरभित्रै बसेकोले एक किसिमले ढुक्क पनि थियौं ।

पहिले बस्तुभाउ पाल्थें, अहिले घरमा बस्तुभाउ छैनन् । बस्तुभाउ भएको भए लकडाउनमा पनि घाँस काट्न र चराउन जानुपर्थ्यो होला ।

लकडाउन सुरु भएको ३० दिन जतिमा घरबाट १५-२० मिनेट टाढाको लिचीको बगैंचा जानुपर्‍यो भन्ने लाग्यो । लिचीमा फल लाग्ने बेला भएकोले अहिले विषादी हाल्नुपर्छ नभए पछि कीरा लागेर खानै नहुने हुन्छ भनेर कसैलाई नछोईकन बारीसम्म पुग्न भनेर घरबाट निस्किएँ ।

गाउँमा मान्छेहरु यताउता छरिएर बसेका थिए । अरूबाट टाढा बसेका थिएनन् । देख्दै विरक्त लाग्ने । म हिँड्दै थिएँ । मेरो हिँडाइको चालले गाउँलेले मलाई चिनेछन् । एक ठाउँमा पाँच-छ जना बसेका थिए । त्यहाँबाट आवाज आयो —कता जान लागेको ? कति पछि बाहिर देखिनुभयो ? आउनुहोस्, एकछिन गफगाफ गरौं ।

मलाई समस्या भयो । मलाई लाग्यो उनीहरुलाई म अरू मान्छेभन्दा टाढा बसेको कुरा थाहा रहेनछ । यसबीचमा म दिनैपिच्छेजसो पुग्ने, मेरो घरभन्दा ६-७ घर परको साहिंलो भाइकोमा पनि पुगेको थिइनँ । ऊ पनि मेरोमा आएको थिएन । मेरो घरबाट ४ किलोमिटर जति टाढा जेठो छोरोको राफ्टिङ कम्पनी छ रोयल बीच क्याम्प। ऊ नेपाल हुँदा त्यहीं बस्छ । पहिले ऊ दिनैपिच्छे मेरो घर आउने गर्थ्यो तर लकडाउन भएयता क्याम्पमै बस्थ्यो यता आउँदैन थियो ।

मलाई ती मानिसहरुलाई भन्न मन थियो, “अहिले यसरी सबै जना एकै ठाउँमा बस्नु हुन्न, के थाहा कसैबाट कोरोना सर्ने हो ? अरूबाट टाढै बस्नुपर्छ।” तर “धेरै जान्ने भएको” भन्लान् भनेर त्यसो भनिनँ । भनेँ, अहिले हतार छ, लिचीबारी जान लागेको ।

मलाई लाग्छ पछि पछुताउनुभन्दा अहिले नै सतर्क हुनु बेस । हामीले अहिलेसम्म पनि बाहिरका मानिसहरुसँग भेटघाट गरेको छैन । टाढैबाट देखादेख मात्रै भएको छ । मेरा दाइभाइ, आफन्तहरुसँग भने फोनमा कुरा हुन्छ । अहिलेको जुगमा फोन नभएको भए हामी के गर्थ्यौं होला ? धन्न यो फोन छ र घरमै थन्किएका बेला आफन्त तथा साथीभाइको खबर पाइन्छ । यसले हामी सबैलाई नजिक बनाएको छ ।

यसैबीच बुबाको वार्षिक श्राद्धको तिथि थियो । बाको श्राद्धको तिथिमिति अघिपछि गर्न नमिल्ने । पुरोहित बोलाउँ भने उनी थुप्रै ठाउँ गएका होलान् । कति जनालाई टीका लगाइदिएका होलान् । उनी पनि हामी जस्तै बाहिरका मानिसहरुलाई नभेटी बसिरहेका होलान् र ?

तिथिमा श्राद्ध नगरे पितृ रिसाउँछन्, घरपरिवारमा अनिष्ट होला। फेरि म जेठो छोरा । के गरुँ । दुविधा भएर माइलो भाइलाई फोन गरें । ऊ पनि पुरोहित काम गर्छ । हामी चार दाजुभाइ । म र साहिँलो धादिङमै बस्छौं । माइलो भाइ चितवन र कान्छो भाइ काठमाडौं बस्छन् । माइलो भाइसँग सल्लाह गरें। हामीले कुशको पुरोहित बनाएर श्राद्ध गर्ने निधो गर्‍यौं । घरको आँगनमा रहेको तुलसीको मठ नजिकै बसेर बाको श्राद्ध सुरु गर्‍यौं । हामीले पुरोहितलाई दुई मिटर टाढा बस्ने आसन बनाएका थियौं । अनि एउटा कुशको पुरेतको पनि स्थापना गर्‍यौं, टीका पनि तिनै कुशको पुरेतलाई लगायौं र पुरेतको हातको टीका पनि नलगाई आफैले आफ्नो परिवारका अरूलाई टीका लगाइदिएँ। बाको श्राद्धमा आफन्त, नातेदारलाई बोलाएनौं । भान्जाहरुलाई बोलाएको भए बाइक चढेर आउँथे कि के गर्थे कुन्नि ! तर हामीले कसैलाई पनि बोलाएनौँ । नजिकै रहेको साहिंलो भाइलाई पनि बोलाइनँ ।

पहिले हामी चार जना दाजुभाइ र आमा एकै ठाउँमा जम्मा भएर बाको श्राद्ध गर्थ्यौं। यस पटक हामीले बाको श्राद्ध सबैले आ-आफ्नो हिसाबले गर्‍यौं । माइला आफै पुरेत उसले चितवनमै श्राद्ध गर्‍यो । अरु दाजुभाइले घरबाट सिधा उठाएर नजिकका पुरोहितलाई दिएछन् । कोरोनाले के के गराउँदैछ !  अझै के के गराउने हो !

 यो कथा बलराम सिल्वालसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।