सबैको वेग रोक्न सक्ने तागत

सबैको वेग रोक्न सक्ने तागत

किसान खेती गर्दै थिए । मजदुर मजदुरी गर्दै थिए । व्यापारीको व्यापार अनि कालो बजारीको कालो बजार चल्दै थियो । एउटा फरक वेगमा हुइँकिरहेको थियो संसार । रेल, जेटभन्दा पनि फरक गतिमा किनभने रेल र जेटको त कतै केही छिनका लागि भए पनि रोकिने स्टेशन हुन्छन् तर यो संसारको वेग रोकिने स्टेशन थिएन । यस्तो वेगलाई पनि परास्त गर्न सक्ने एउटा फुच्चे जीवाणु जन्मियो जसको नाम कोरोना राखिएको छ ।

म यही विश्वको एउटा कुनाको केही वर्गमिटर ओगटेर बसेकी उन्नाइस वर्षीया किशोरी जसको सपनालाई बर्सातको भेलले बगाएर लगेको छ र केही पर पुर्‍याएर थुपारिदिएको छ । म थुनिएकी छु । लकअपमा हैन लकडाउनमा

आमाको करले भान्छासम्म पुग्छु । अनि बाबाको करले करेसाबारीसम्म । पेरिस्, सिडनी, बाली जाने सपना देख्थेँ म । अहिले मैले पुग्ने सबैभन्दा टाढाको स्थान नुन पसल भएको छ । प्रकृतिको काख नजिकै हुर्किएर होला झरना, छहरा, खोलासँग मेरो छुट्टै नाता छ तर अचेल म तिनलाई टाढैबाट हेरेर मात्र बसेकी छु ।

मैले यो लकडाउनमा केही पाएकी छु । महँगा किबी, स्ट्रबेरी, ड्रागन फ्रुट खान नपाए पनि ऐंसेलु र काफल चाखेकी छु । नयाँ मान्छे भेट्न नपाए पनि आफ्ना मान्छेहरूसँग बसेर बाँच्न पाएकी छु । सामाजिक गतिविधि विनाको समाज देखिरहेछु जुन मेरा लागि नौलो कुरा हो ।

समय कटिरहेछ । दिन बितिरहेछन् । मनमा अलिअलि डर छ, किनभने यति बेला मैले आफूलाई सन्तुष्ट पार्ने केही पनि काम गरेको छैन । पढाइको डर छ । भविष्यको डर छ । जिन्दगी नै नरहला भन्ने डर छ । डरैडरमा पनि नडराइ बस्नुपरेको छ । यस्तो बनाएको छ कोरोनाले । कोरोनाले ल्याएको लकडाउनले ।

सामाजिक सञ्जाल खोलेर यसो हेर्‍यो थरीथरीका परिकार देख्छु । मुखमा पानी आउँछ । त्यो पानी ननिल्दै अर्को सोचाइ आउँछ — हिजो उब्जाएकोले त आज मज्जाले खाइरहेका छौं । आज घरभित्र आरामले बसिरहेका छौं, न केही उत्पादन छ न खेती छ न उद्योग न त त्यतातिर ध्यान । आज त खायौँ । यसरी नै लकडाउनका दिन थपिंदै गए भने भोलि के खाने ?

अल्लारे दिमाग त हो ! यस्तो खाली समय पाएपछि केके सोच्छ केके ! कहिले आकाशको तारा भए ठाउँ पुग्ने कुरा सोच्छ । छिनभरमै आकाश पुग्न त धरती छोड्नुपर्छ भन्ने डरले सताउँछ । यस्तै कुरा सोच्दै झ्याल छेउमा बसिरहेकी थिएँ, नानी… नानी … भन्ने आवाजले मेरो सोचाइ भङ्ग भयो । अलिअलि झस्किएँ । आमा हुनुहुँदो रहेछ । बोलिरहनुभएथ्यो, “फेरि लकडाउन थपियो रे । कति दिनलाई थपिएछ हेर न ।”

कोरोनाले रोकेको कारोबार

आँखाकान बन्द गरेर बसेको सरकार !

प्लेन नउडेपछि ...

प्लेन नउडेपछि …

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।