लकडाउनमा एक्लै हुँदा !

लकडाउनमा एक्लै हुँदा !

तीन छोरी र एक छोराकी आमा हुँ । मेरा सबै छोराछोरी बाहिर बस्छन् । एउटी छोरी, ज्वाईं र नाति अमेरिकामा बस्छन् । एक छोरा र छोरी काठमाडौंमा । अनि अर्की छोरी र नातिनीहरु दाङमै छन् । अहिले ज्वाईं चितवनमा हुनुहुन्छ ।

कोरोना भाइरसको महामारी फैलिएका समाचार आउन थालेपछि मेरो मन साह्रै आत्तियो । जतिजति यस्ता समाचार सुन्थें छोराछोरी सम्झिन्थें । मनमा अनेक कुराहरु खेलिरहन्थे । जसोतसो रात कटाउँथें । भोलिपल्ट बिहान उठेर छोराछोरीलाई फोन गरेर सबै जना सकुशल रहेको खबर सुनेपछि बल्ल मन अलि हलुङ्गो हुन्थ्यो ।

सबैतिर कोलाहल भएर होला घरमा नभएका छोरा, छोरी र ज्वाईं अनि नातिनातिनाको यादले सताइरहन्छ । धन्न इन्टरनेट छ र कुरा गर्न पाएकी छु । दिनहुँ कुरा त भइरहन्छ तर पनि मन कहाँ मान्थ्यो र ! छोराछोरी आफ्नो नजिक नहुँदा आमाको मन कहिल्यै स्थिर हुँदैन । छोराछोरीलाई आफ्ना वरिपरि नदेख्दासम्म चित्त नबुझ्ने रहेछ ।

लकडाउन भन्ने शब्द मैले ५२ वर्ष भइसक्दा पनि सुनेकी थिइनँ । चैत ११ गतेदेखि सरकारले लकडाउन गर्‍यो । स्कुलहरु पनि बन्द भए । म शिक्षिका हुँ । त्यही भएर पनि मलाई स्कुल बन्द हुने कुराले असर गर्छ । लकडाउन हुने नहुने अन्योलमा हामी अलिपछि सुनाउने गरी परीक्षाफल तयार गरिरहेका थियौं । लकडाउन भएपछि रिजल्ट सुनाउन सकेनौं ।

बन्दाबन्दीमा टिभीमा समाचार हेर्दै र छोराछोरीहरुसँग इन्टरनेटमा कुरा गर्दै दिन बित्न थाले । समाचार जति हेर्‍यो मन उति आत्तिन्थ्यो ।

काठमाडौंबाट मान्छेहरु हिंडेरै आफ्नो गाउँघर फर्केको सुन्दा र हेर्दा त म झन् तर्सिन्थें । आफ्ना छोराछोरी पनि डेरामा बस्छन् । उनीहरु भन्न त ठीक छौं भन्छन् । तर के हो कसो हो, अर्काको ठाउँमा भने जस्तो कहाँ हुन्छ र ! यस्तो विपत्‍को घडीमा पनि काठमाडौं धेरैका लागि आफ्नो हुन सकेन भन्ने समाचार आइरहन्थे । दिमागमा अनेक कुरा खेल्थे । मनमा अनेक तर्कना आइरहन्थे ।

अमेरिकामा भर्खरै जन्मिएको नाति, छोरी र ज्वाईंलाई सम्झन्थें । घरी काठमाडौंमा रहेकी छोरी । यही दाङमै भएकाको त खासै चिन्ता गर्नु पर्दैनथ्यो ।

कहिले मोबाइलको ग्यालरीमा रहेको भिडियो हेरेर चित्त बुझाउँथें । यसो गर्नुबाहेक अरू उपाय थिएन मसँग । न आफू उनीहरु भए ठाउँमा जान सक्ने न उनीहरु आउन सक्ने । सबैभन्दा धेरै चिन्ता अमेरिकामा भएकी छोरीको लाग्थ्यो । ‘सुरक्षित बस, पैसासैसा कमाउनु पर्दैनु’ त भन्थें तर के गर्नु अर्काको ठाउँ ? काम नगरी नहुने । आफ्नै देशले त परेको बेला हेर्दैन भने अर्काको देशको के भर पर्नु !

अमेरिकामा लकडाउन किन नगरेको होला भनेर अमेरिकाको राष्ट्रपतिलाई गाली गर्न समेत भ्याएँ । उता अमेरिकामा मानिसहरु दिनदिनै मरिरहेका थिए यता मेरो मन रोइरहेको थियो । चाहेर पनि केही गर्न नसकेकोमा पहिलो पटक आफूलाई लाचार र निरीह महसुस गरेँ । अरू बेला त आमा भएर गर्नुपर्ने सबै कर्तव्य निभाएँ जस्तो लाग्छ तर कोरोनाको यो कहरले निकै लाचार बनाइदियो । घरीघरी अब कसैलाई पनि विदेश जान दिन्नँ भन्ने नानाथरी सोच आउँथ्यो ।

पति गुमाएको पीडा बिर्सिएर बल्लतल्ल सम्हालिने कोसिस गरिरहेकी थिएँ । कोरोना भाइरसले झन् पीडा थपिदियो । हुन त यो समस्या विश्वभर छ । तर आफूलाई मात्र समस्या परे जस्तो लाग्ने रहेछ । छोराछोरी समस्यामा पर्दा मुटु पोल्ने रहेछ ।

छोरीसँग दिनहुँ कुरा गर्थें । अमेरिकामा समाचारमा आए जस्तो गरी त्रास भने रहेनछ । उनीहरु धेरै सतर्क भएका थिए । छोरीले घरमै बसेर काम गरिरहेको खबर सुन्दा अलिकति भए पनि मन रमाउँथ्यो । तर टिभी र फेसबुकमा आउने समाचार पढ्दा मन आत्तिन्थ्यो । त्यसपछि मैले समाचार हेर्नै छाडें । छोरी ज्वाईंकै कुरामा विश्वास गर्न थालें र उहाँहरुलाई सम्झाउने सिकाउने गरेर मन बुझाउन थालें ।

म घरको काममा व्यस्त रहन थालें । फूलको सौखिन भएकोले फूल रोप्न र गोडमेल गर्न थालें । तरकारी रोप्न थालें । यसरी काम गर्दा मनको डर कम हुँदै गयो ।

काठमाडौंमा रहेकी छोरी केही समयपछि घरमा आइन् । तनाव अलि कम भयो । दुई जना छोरी अनि नातिनातिना आँखा अगाडि भएपछि चिन्ता अलिक कम भयो । गफ गर्ने, हिम्मत दिने मान्छे आफ्ना अगाडि हुँदा त कोरोना आओस् कि जेसुकै आओस्‌झैं लाग्ने रहेछ । अप्ठेरो परेका बेला सम्हालिएर बस्न गाह्रो त हुन्छ तर सकारात्मक कुरा सोचेर एकअर्कोको सहारा बन्न सक्दा अप्ठेरासँग लड्ने साहस मिल्दो रहेछ । त्यसैले अप्ठेरोमा परेकाहरुलाई साथ दिनुपर्छ ।

आमाबाहेक शिक्षिका पनि भएकीले मैले विद्यार्थीका लागि पनि सोच्नुपर्छ भन्ने लागिरहन्छ तर केही गर्न सक्दिनँ । लकडाउन भएको दुई महिना बितिसक्दा पनि उनीहरुका लागि न मैले केही गर्न सकेँ न स्कुलले ।

सरकारले अनलाइन शिक्षा दिन सकिन्छ भन्यो । त्यसपछि हाम्रो गम्भीर छलफल भयो तर हामीले यसो गर्न सकेनौँ । हाम्रो ठाउँमा मोबाइलको नेटवर्क त राम्रो टिप्दैन अनलाइन क्लास परिकल्पनाको बाहिरको कुरा हो । सबै विद्यार्थी र शिक्षक इन्टरनेटमा नजोडिएकाले अनलाइन कक्षा हाम्रा लागि कागलाई बेल पाक्यो हर्ष न विषमात भन्या जस्तै भयो ।

यो लकडाउनमा मैले इन्टरनेटको महत्व बुझें । इन्टरनेट सुविधा भएको भए आज हजारौं विद्यार्थीको पढाइ बिग्रँदैनथ्यो होला । लकडाउनमा पनि घरभित्रै बसेर कक्षा सञ्चालन गर्न सकिन्थ्यो । धेरै देशमा यसरी पढाइयो भनेर सुनेकी छु ।

यो महामारीले धेरै कुराहरु सिकाएको छ । हरेक कुरालाई बेवास्ता गर्ने हाम्रो आनीबानी फेर्नुपर्ने भएको छ । संकट बाजा बजाएर आउँदैन । त्यसको सामाना गर्न हरदम तयार भएर बस्नुपर्छ भन्ने चेतना यसले दिएको छ । यस्तो दु:ख अब कहिले पनि कसैले भोग्नु नपरोस् । नेपालबाट मात्र होइन विश्वबाटै यो महामारी छिटै हटोस् भनेर आजकल हरेक दिन भगवानसँग प्रार्थना गर्छु ।

1 comments On लकडाउनमा एक्लै हुँदा !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।