म कर्णाली प्रदेशको मुख्य नाका बबईमा राखिएको हेल्थ डेस्कमा कार्यरत छु । यहाँ काम गर्न सहज छैन । कोरोनाको डर छ । यो ठाउँ मेरा लागि नयाँ छ । काम गर्ने ठाउँमा बस्न खानका लागि संघर्ष गर्नुपर्छ । यस्ता कुराले म र मेरो टिमलाई यो डेस्कमा बस्न अप्ठ्यारो पारेको छ ।
सुरुमा त परिस्थिति ठिकै थियो । नेपालमा कोरोना संक्रमण देखिएको थिएन । गाडीहरूको लर्को हुन्थ्यो । सुरक्षाकर्मी र हामी स्वास्थ्यकर्मीको समन्वयमा सबै यात्रीको तापक्रम नापेर पठाउथ्यौं । यो प्रक्रिया हालसम्म पनि चलिरहेकै छ । जाँच गराउन आएका हरेक मानिसका कुरा सुनेको छु मैले । कसैले ‘आहा ! गजब नेपालको स्वास्थ्य प्रणाली कति राम्रो’ भनेर आफू नेपाली भएकोमा गर्व गर्थे । कतिले जाँच गर्ने कामलाई ‘कहीँ नभको जात्रा हाँडीगाउँमा’ भन्थे ।
बुझ्ने जतिलाई त बुझायौ । नबुझेझैं गर्नेलाई पनि बुझाउने भरपूर कोसिस गरिरह्यौँ । पछि बिस्तारै मानिसहरूले पनि जाँचलाई सकारात्मक तरिकाले लिन थाले । पैलेपैले गाह्रो हुन्थ्यो, भीडभाड हुन्थ्यो, सयौं गाडी आउँथे तर लकडाउन भइसकेपछि गाडी छिटफुट मात्र आउन थाले । त्यसपछि भीड त घट्यो तर संक्रमणको डर भने बढ्दै गयो ।
लकडाउनका बीचमा पनि पैदलयात्रीहरू थुप्रै आउन थाले, कैयौं दिन हिँडेर बल्लतल्ल बबई आइपुगेको सुनाउँथे उनीहरू । आउनेमा धेरैजसो बाहिरका जिल्लामा पढ्न तथा काम गर्न गएकाहरू थिए । तिनीहरूमध्ये धेरैजसो जवानै थिए । कहिले बूढापाका स्याँस्याँ र फ्याँफ्याँ गर्दै आइपुग्थे । कहिले आमाहरू दूधे बालक तार्दै आइपुग्थे आँधीहुरी र औधी बर्सातका बीचमा पनि । उनीहरूको अवस्था साँच्चिकै दयनीय थियो । उनीहरूको पीडालाई व्यक्त गर्न सक्दिनँ म ।
यो अवस्थामा राज्य संयन्त्रबाट कुनै पहल नभएपछि हामीले आफूले सक्ने सहयोग गर्थ्यौं । पानी चाउचाउभन्दा बढी कुरा बन्दोबस्त गर्न हाम्रो हैसियतले भ्याउँदैनथ्यो । हामी स्वास्थ्यकर्मीका लागि भनेर बनाएको टेन्टमा आफू नबसी नसुती भए पनि उहाँहरूलाई सुत्ने मेलोमेसो मिलाउथ्यौँ । पछि हामीले सरकारलाई हारगुहार गरेपछि चाहिँ दालभात जुटेको थियो ।
कोरोनाले गर्दा उत्पन्न मानसिक त्रास घटाउन हामी कहिले क्याम्प फायर गर्थ्यौं त कहिले नाचगान गर्थ्यौं । कहिले बबई डाइभर्सनतिर घुम्न जान्थ्यौँ त कहिले पौडी खेल्न । कहिले क्यारेम खेल्थ्यौँ त कहिले ब्याडमिन्टन । कहिले मोटिभेसनल पुस्तक पढ्थ्यौँ । कहिले त जिम गर्थ्यौं । यी कामले आफूमा ऊर्जा थपिएझैँ हुन्थ्यो ।
समय बित्दै जाँदा नेपालगन्जमा पनि कोरोना संक्रमण देखिन थाल्यो । सो अवस्थामा कर्णाली प्रदेशले नाका सिलबन्दी गर्यो । यसको भयानक असर हामी स्वास्थ्यकर्मीमा देखिन थाल्यो । हामीले हेल्थ डेस्क कर्णाली प्रदेश पुलवारि राखी काम गरिरहेका थियौं । हाम्रो बसाइ भने पुलपारिको प्रदेश न. ५ को बर्दिया जिल्लामा थियो । त्यहाँका मानिसले हामीलाई पुलमा रोक्ने, जिस्काउने र धम्काउने गर्न थाले । हामी अहिले बस्न त सोही ठाउँमा बसेका छौँ तर हाम्रो सुरक्षाको ग्यारेन्टी छैन । झोलीझाम्टा जिम्मा लाएर कहिले लखेट्ने हुन थाहा छैन ।
स्वास्थ्य परीक्षण गर्न फिल्डमा खटिएका हामी स्वास्थ्यकर्मीले खान बस्नलाई बार्गेनिङ गर्नुपरेको छ । बबईको हालखबर के छ भनेर धेरैले सोधिरहनुहुन्थ्यो । उहाँहरूको प्रश्न अनुत्तरित नै हुन सक्छ । यो वृतान्त यहाँ प्रस्तुत गरिरहँदा मेरो दिमागमा केही प्रश्न आएका छन् ।
स्वास्थ्यकर्मी र सुरक्षाकर्मी दुवै जनसेवामा लागेका हुन् भने उनीहरूलाई आफूलाई पायक पर्ने ठाँउमा रहने अधिकार नहोला र !
उनीहरूको नराम्रो व्यवहारले हामीलाई सकस भएको छ । यो अमानवीय र अनैतिक काम होइन र ? लगभग दुई महिना हुन लागिसक्दा पनि हामी स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यक सामान इन्फ्रारेड थर्मोमिटर र सुरक्षाकवच (मास्क, पन्जा, सेनिटाइजर र पीपीई) पर्याप्त मात्र छैनन् । यसले गर्दा काम गर्न कठिन हुन्छ तैपनि हामीले जेनतेन काम गरेका छौँ । यस्तो अवस्थामा, कर्णालीको प्रवेशद्वारमा रहेको यो हेल्थ डेस्कमा हामीले अझै कति महिना बिताउनुपर्ने हो थाहा छैन ।
यो कथा जिवानन्द पाण्डेसँग गरिएको कुराकानीका आधारमा दिनेश गौतमले लेख्नुभएको हो ।