बैंकिङ क्षेत्रमा आफ्नो भविष्य

जागिर थाल्ने बित्तिकै कर्मचारी कटौतीको हल्ला

मैले बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन खोजेको थिएँ । स्नातकसम्मको पढाइ सकेपछि सुरुमा मैले प्राइम बैंकको कलंकी शाखामा काम गरें । सात महिनादेखि थानकोट शाखामा कार्यरत छु । मेरो घर र मैले काम गर्ने शाखा थानकोटमा भएकोले अफिस जान-आउन मलाई अरूलाई जस्तो समस्या छैन । लकडाउन सुरु भएपछि हप्तामा एक-दुई पटक मात्र अफिस जानुपर्छ ।

लकडाउन भएको दुई-चार दिन रमाइलै भयो किनभने त्यति बेलासम्म नेपालम कोरोनाको संक्रमण खासै देखा परिसकेको थिएन । त्यसैले हप्तामा एक-दुई दिन बैंक खोल्ने निर्णय भयो ।

थानकोट शाखा नयाँ भएकोले सेवाग्राहीहरू त्यति भइसकेका छैनन् । अहिले लकडाउनका बेला एक दिनमा १२ देखि १५ जना ग्राहक आउँछन् । अहिले बैंकमा नगद कारोबार भनेको पैसा राख्ने र निकाल्नेबाहेक अरू काम खासै हुँदैन जस्तै इन्सुरेन्स र ऋण डिपार्टमेन्टको काम अनि चेक र एटिएम बनाउन, नयाँ खाता खोल्न पनि मान्छेहरू आएका छैनन् ।

मलाई काम गर्न खासै डर लाग्दैन । अलिअलि डर लागे पनि काम नगरौं जस्तो भएको छैन । जति ग्राहक आए पनि सेवा दिन गाह्रो छैन । तर ग्राहकले पैसा जति धेरै जम्मा गर्छन् उति धेरै डर छ, किनभने पैसा कति जना मान्छेका हात परेको हुन्छ । पैसा हातले पनि गन्न पर्ने हुन्छ । मेसिनले गन्दा पनि त्यसले निकालेको हावा पूरै शरीर र र अनुहारमा आउँछ । यस्तो बेला भने मलाई साँच्चै डर लाग्छ । कहिले काहीँ डिपोजिट गर्ने ग्राहक चाहिँ नआए पनि हुन्थ्यो जस्तो लाग्छ ।

मेरा धेरै साथीहरू अहिले सातै दिन घर बस्छन् । म चाहिँ हप्तामा दुई दिन अफिस जान्छु । यस्तो बेलामा डर लाग्नु स्वाभाविकै हो । आफू सुरक्षित हुनपाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ तर मलाई मनैदेखि अफिस जान नपरे हुन्थ्यो जस्तो भने लाग्दैन। मैले पेशा भर्खर थालेको छु । मलाई काम गरिरहन मन लाग्छ । त्यसैले बैंकले हप्तामा दुई दिन अफिस बोलाउँदा मलाई आपत्ति छैन ।

बैंकहरू बन्द गर्नुपर्छ भन्ने पक्षमा म छैन । यस्तो महामारीको बेलामा कसरी सकिन्छ राम्रो सुविधा दिनुपर्छ जस्तो लाग्छ । सबैले धेरै पैसा घरमा राखेका हुँदैनन् । यस्ता बेलामा बैंक बन्द भए भने मान्छेले पैसा झिक्न पाउँदैनन् । उनीहरूलाई घर खर्च चलाउन समस्या हुन्छ ।

अहिले बैंकमा पैसा राख्नेभन्दा झिक्ने ग्राहकको भीड बढेको छ । यस्तो बेलामा बैंक बन्द भयो भने सेवाग्राहीले समस्या भोग्नुपर्छ । स्टाफसँगसँगै ग्राहकको पनि सुरक्षालाई ध्यानमा राखेर बैंक हप्तामा दुईदेखि तीन दिन खुल्नपर्छ ।

हाम्रो बैंकमा स्टाफलाई मास्क, पन्जा र स्यानिटाइजर उपलब्ध छ । सेवाग्राहीलाई पनि स्यानिटाइजरको व्यवस्था गरिएको छ । तर हामीले जति ध्यान दिए पनि कोही ग्राहकहरू मास्क पनि नलगाई आउनुहुन्छ । हामीले उहाँहरूलाई नम्र भएर मास्क लगाउन सुझाव दिने गरेका छौँ ।

हामी जति नै सर्तक भए पनि नगद कारोबार गर्दा जोखिम हुन्छ । मास्क र पन्जाले मात्र पूरै सुरक्षित हुन सकिदैन । पूरै सुरक्षित हुनलाई त अस्पतालमा जस्तै पीपीई लगाउनुपर्ला । हाम्रा हात ज्यादै चञ्चल हुन्छन् । मास्क, पन्जाले शरीरमा छोइहाल्छन् । नचाहँदा नचाँहदै पनि अनुहारमा छोइन्छ । त्यसैले घर आएपछि म नुहाएर मात्र परिवारका अरू मानिसको नजिक हुन्छु ।

मेरो घरमा सा–साना नानीबाबुहरू छन् । मसँग ज्यादै झुम्मिन्छन् । त्यसैले पनि कतै निस्किएँ भने एकदम ख्याल गर्ने गरेको छु ।

म क्यास काउन्टरमा बस्छु । डर आफ्नो ठाउँमा छ तर मलाई पछुतो भएको छैन । अहिलेसम्म आफ्नो इच्छा अनुसारको काम गरिरहेको छु र यसैलाई आफ्नो पेशा बनाउन पाएकाले खुसी पनि लागेको छ । हाम्रो काममा खासै फुर्सद हुँदैन तर अहिले भने हामी फुर्सदिला छौँ ।

बैंकका कर्मचारीको काम पनि फ्रन्टलाइनमा काम गर्ने कर्मचारीको कामभन्दा कम खतरनाक छैन । हामीले पनि मान्छेहरूसँग नजिक भएर काम गर्नुपर्छ । यो चुनौतीपूर्ण काम हो । हामीले काम गर्न छाड्यौं भने झनै डाँवाडोल हुन्छ । त्यसैले जोखिम भए पनि अरूलाई सेवा दिन पाउँदा रमाइलै लागेको छ ।

घरमा कोभिड-१९ को कुरा हुँदा चिन्ता, डर भइहाल्छ तर काम गर्न नजाऊ भन्नुभएको छैन । समाजले बैंकका कर्मचारीलाई स्वास्थ्यकर्मीलाई जस्तो हटक गरेका छैनन् । हुन पनि हाम्रो काम सधैँ हुँदैन । हप्ताको दुई दिन काम गर्दा पनि हामी सावधान भएर गर्छौं ।

अहिले बैंकहरूले स्टाफ घटाउँछन्, धेरैको जागिर जान सक्छ जस्ता हल्ला सुनिन्छन् । यस्तो हल्लाले कर्मचारीहरूलाई निराश बनाउन थालेको छ । अब ५-६ महिनाभन्दा बढी नै लकडाउन भयो भने केही भन्न सक्ने अवस्था हुँदैन । तर पनि यी कुरा हल्ला मात्र होलान् जस्तो लाग्छ । कर्मचारी कटौती गर्नु ठीक होइन । जसरी हुन्छ उनीहरूलाई हौसला दिएर उनीहरूले अझ राम्रोसँग काम गर्न सक्ने वातावरण सृजना गर्नुपर्छ । यस्तो अवस्थामा हामी पनि आत्तिनु हुँदैन, सकारात्मक दृष्टिकोण राखेर सुरक्षित भई काम गर्नुपर्छ ।

आफ्नै घरमा बिरानो भएर बस्नुपरेको छ

यस्तो दिन देख्नुपर्‍यो !

lockdown stories लकडाउनले सिकाएको पाठ

लकडाउनले सिकाएको पाठ

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।